प्रधानमन्त्रीको निर्देशनः गाउँ हिँडेकाहरु जहाँ छन्, त्यहीँ रोक्नू, खानेबस्ने व्यवस्था स्थानीय तहले गर्छ

राजनीति

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ बाहिर जानेहरुलाई रोक्न निर्देशन दिएका छन्।

लकडाउनका कारण उपत्यकाभित्र बेखर्ची भएका मानिसहरु भोकैप्यासै हिँडेर घर जान थालेपछि सरकारको व्यापक आलोचना हुन थालेको थियो।
प्रधानमन्त्री ओलीले शुक्रबार बालुवाटारमा कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति र सीसीएमसीमा सहभागी मन्त्री तथा सुरक्षा निकायका प्रमुखलाई त्यस्तो निर्देशन दिएका हुन्। लकडाउन लम्बिएपछि खान÷बस्नकै समस्या परेको भन्दै हुलका हुल मजदुरहरू कासौं टाढा पैदलै हिँडेरै घर जान थालेपछि प्रधानमन्त्रीको त्यस्तो निर्देशन आएको हो।

प्रधानमन्त्रीले विश्वका मै हुँ भन्ने शक्ति राष्ट्रसम्मलाई कोरोनाले आच्छु–आच्छु पारिरहेको बेला नेपालले यो संवेदनशील अवस्थालाई खेलाँची गर्न नहुने भन्दै अत्यावश्यक सेवावाहेक अन्यको आवतजावत पूर्णरूपमा बन्द गराउन निर्देशन दिएका हुन्। ओलीले अहिले जो जहाँ छन्, उनीहरूलाई त्यहीं नै सुरक्षित रूपमा खान र बस्नको ब्यवस्था मिलाउन पनि निर्देशन दिए।

‘यो सरकारको दायित्व पनि हो, अहिले जो जहाँ छन्, उनीहरूलाई त्यँही खान र बस्नको प्रबन्ध मिलाउने काम सरकारको हुनुपर्छ’, प्रधानमन्त्रीको निर्देशन उद्धृत गर्दै सहभागी एक मन्त्रीले भने, ‘अहिलेको विषम परिस्थितीलाई सवैले वुझिदिनुपर्छ। खानै नपाएर पैदलै दिनरात नभनी घण्टौं हिँडेर घर जान खोजेका हुन् भने उनीहरूलाई खान र बस्नको ब्यवस्था मिलाऔं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *