खोक्रो राष्ट्रवादमा अल्झिएको नेपालीको मन

लेख

नेपालमा भारतइतरका भावना धेरै भेटिन्छन् । यसको मुख्य कारक भारत नै हो । हुन त नेपाल र भारतबीच ‘रोटी बेटी’को सम्बन्ध छ भनेर मधेसमा भनाइ छ । तर, खासगरी पहाडी र हिमाली मुलमा भने यस्तो विघ्न ‘रोटी बेटी’ को सम्बन्ध छैन । ती दुवै भेगमा भारतीय उत्पादन नपुग्ने हो भने नेपालीको चुल्हो बल्दैन । चुल्हो त बल्छ तर रित्तै बल्छ । खासगरी माओवादी सशस्त्र आन्दोलनयता नेपालीहरुमा वैदेशिक रोजगारको लत बसेको छ । वैदेशिक रोजगारका कारण नेपालीले आफ्नो तरकारीबारीसमेत बाँझो राखेर रेमिट्यान्सले खरिद गरेर खान थालेका छन् । रेमिट्यान्समा नै भुलेपछि कुनै बेलाको कृषिप्रधान देशका रुपमा चिनिँदै आएको नेपालले खाद्यान्न पनि आयात गर्नुपरेपछि योभन्दा अर्को दुःखलाग्दो कुरा हुनै सक्दैन । नेपाली युवाले खाडी मुलुक भरिँदै गर्दा नेपालीले भने भारतबाट चामल आयत नगर्ने हो भने भोकभोकै मनुपर्ने अवस्था आएको छ । नेपालका प्रधानमन्त्री केपी ओलीले नेपालीले कहिल्यै पनि भोकले मर्नुपर्ने छैन भनेर भनिरहँदा भारतले चामल मात्र नदिने हो नेपालीको बाँच्ने मेलो नै देखिएको छैन ।
तर, यसो भइरहे पनि नेपालीको मनमा भारतप्रति नकरात्मक सोचाइ नै छ । भारतबाट केही नआए नेपालीले भोकै बस्नुपर्छ भनेर जान्दाजान्दै पनि नेपालीले भारतलाई भने कहिल्यै मित्रराष्ट्रका रुपमा हेर्ने गरेका छैनन् । यसको खास कारण भने भारतको ठुल्दाइ प्रवृत्ति नै हो । भारतले नेपालमाथि सधैँ थिचोमिचो गर्दै आएको छ । यस्तो बेला नेपाल भने बोल्नै नसक्ने गरी बसिरहेको छ । राष्ट्रवादी देखाएपछि जनताको मन जित्न सकिने कुरा नेताहरूलाई निक्कै राम्ररी जानेका छन्, त्यसैले नेताहरूले बेलाबेलामा राष्ट्रवादी भई टोपल्दै आएका छन् । खासगरी जब चुनाव आउँछ, त्यसपछि नेपाली नेताहरूले भारतविरुद्ध निक्कै विष वमन गर्दै आएको सुनिन्छ । त्यसो त तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीले आफ्नो सशस्त्र आन्दोलनलाई सफल बनाउनका लागि उसले भारतविरुद्ध सुरुङ युद्धको ऐलान गरी छाडे । त्यसपछि माओवादीले नेपाली जनताको समर्थन पाउन थालेका हुन् । यहि कुरालाई अहिलेको सत्तारुढ दलले पनि भारतलाई गाली गरेको हुनाले नै जनताले बहुमत दिएका थिए । भारतलाई गाली गरेपछि नेपाली जनताले सत्तारुढ दललाई राष्ट्रवादी देखेका थिए ।
तर, भित्री कुरा भने फरक थियो । जब घाम उदाउँछ, तब भारतलाई मरिन्जेल गाली गर्ने र जब घाम अस्ताउँछ तब भारतीय दूताबासमा पसेर नेपालको बारेमा रिपोर्टिङ गर्दै चुनावी खर्च लिने गरेको सबैलाई थाहा थियो नै । अहिले सरकारले भारतलाई गाली गर्न थालेको देखिन्छ । तर, सरकारले नेपाली भूमिबाट भारतीय सेना भने हटाउन सकेको छैन । वास्तवममा भन्ने हो भने अहिले भारतमा नेपालविरुद्ध जनआवाज उठ्न थालेपछि भारतीय सरकारको विरुद्धमा आवाज उठ्न कम गरेको छ । त्यस्तै नेपालमा पनि भारतविरुद्ध आवाज आउन थालेपछि सरकारको विरोध कम हुन थालेको देखिन्छ । दुवै देशका सरकारले एकअर्कामा विरोध गरागर भनेर आफ्नो कुर्सी बचाउने प्रयत्न गरेको देखिन्छ ।
लुम्बिनी भारतमा पर्छ भनेर भन्दा नेपाली जनताले विरोध गर्न नसक्ने तर अयोध्या नेपालमा पर्छ भनेर प्रधानमन्त्रीले भन्दा विरोध गर्नेहरूलाई उचाल्ने को हुन् ? यहाँ कोही न कोही खेलाडी भित्र पसेको छ । प्रधानमन्त्रीले राम नेपालमा जन्मेका र अयोध्या ठोरीमा पर्छ भन्दा मुलुकनै पल्टिने तर भारतले बुद्ध भारतमा जन्मेको भनेर पाठ्यपुस्तक नै छाप्दा पनि त्यसको विरोध नगर्नुको पछाडि खेल भइरहेको देखिन्छ । प्रधानमन्त्रीले पनि भारतलाई चिढ्याउन यस्तो भनेको नभएर आफ्नो विरुद्धमा उठिरहेकाहरूलाई राष्ट्रवादी जाल हानेर कुर्सी जोगाउने प्रपञ्च गरिरहेका छन् भने भारतमा पनि नागरिकताको आन्दोलन चर्किरहँदा यहि राष्ट्रवादी नाराले आन्दोलन मथ्थर गर्ने काम दुवै देशका सरकार प्रमुखहरूले गरिरहेका छन् । सरकारले शान्तिका दूत बुद्ध भारतमा जन्मेका थिए भनिरहँदा त्यसको औपचारिक विरोध गर्न नसक्नेले अहिले रामको नाममा बढी राजनीति गरिरहेको छ । राष्ट्रवादी नारामा नेपाली र भारतीयहरू झुम्मिने कुराको राम्रो ख्याल गरेका सरकारले मिलेमतोमा नै यस्तो उड्डयन्ते कुरा गरिरहेका हुन् । त्यसैले सरकारले आफ्नो कुर्सी जोगाउनका लागि गरेको अनेकौँ तिक्डमबाजीलाई जनताले नचिन्ने हो भने अर्को उड्यन्ते राष्ट्रवादको जालमा नेपाली जनतालाई पार्ने काम सरकारले गर्न बेर लाग्दैन । त्यसैले कुर्सी जोगाउन खोक्रो राष्ट्रवादको नारा अगाडि ल्याउनु उचित देखिँदैन ।
अहिले भारतीय सरकार र नेपाल सरकारको उद्देश्य पूरा भइरहेको छ । बाहिर जे भने पनि भित्रभित्रै भने नेपाल र भारत सरकारको बचाउको कारण नै यस्तै उड्डयन्ते कुराले हो । नेपाल सरकारले नेपालको नयाँ नक्सा सार्वजनिक गरेपछि भारतमा चलिरहेको नागरिकताको आन्दोलन मथ्थर भएको छ । यदि यहि बेला नेपाल सरकारले नयाँ नक्सा सार्वजनिक नगरेको भए भारतमा चलिरहेको नागरिकता ऐनको विषयले मोदी सरकारले बिदा पाइसक्ने थियो । तर, त्यसो भएन किनभने यहि बेला नेपालले सार्वजनिक गरेको नयाँ नक्साले भारतको सरकार बचेको देखिन्छ । भारतमा उर्लिएको नागरिकता ऐनलाई नेपालको नक्साले खाइदिएकाले भारत केही शान्तझैँ भएको थियो तर अब भने यस्तो देखिने छैन । कोरोनाको कहर केही मतथर हुन थालेपछि अब भारतीय शासकलाई जोगाउका लागि नेपाली शासकले फेरि अर्को ब्रह्माअस्त्र फालेको छ, त्यो हो रामको जन्म काण्ड ।
यो काण्डले भारतलाई मात्र होइन नेपाली शासकलाई पनि जोगाउने भएको छ । यो भनाइले भारतमा नेपालीविरुद्ध आवाज उठिरहँदा नेपालमा भने प्रधानमन्त्रीलाई राष्ट्रवादी भनेर प्रस्तुत गर्न थालिएको छ । आफ्नो र भारतीय शासकलाई राहत हुने भएपछि नेपालले राम काण्ड बाहिर ल्याएको देखिन्छ । पछिल्लो समय फेरि सरकारले राष्ट्रवादको जाल फयाँक्न थालेको छ । सरकार प्रमुखले नै भारतलाई देखाएर मुलुक र पार्टीभित्र शासन गर्ने ध्याउन्नमा लागेका छन् । हिजो संविधान बनिसकेपछि पनि अहिलेको सत्तारुढ दल एक्कासि राष्ट्रवादी बनेपछि जनताले बहुमत दिएका थिए । हिजो महाकाली बेच्ने दलले अचानक भारतविरुद्ध नारा लगाएपछि जनताले त्यसबापत बहुमत दिएका थिए । त्यसबेला पनि अहिलेको सत्तारुढ दलले बाहिर बाहिर भारतको विरोध गर्ने तर भित्रभित्रै भारतको पक्षमा काम गरेको केही नबुझेका होइनन् । त्यसबेला भारतले नेपालमाथि नाकाबन्दी लगाएको थियो । यहि नाकाबन्दीलाई कांग्रेसले नाकाबन्दी भन्न नसक्ने तर कम्युनिस्टले भने खुलम्खुला नाकाबन्दी भनेर भनेपछि जनताले पुरस्कृत गरेका थिए । कम्युनिस्टले भारतको विरोध गर्दै गरे पनि तत्कालीन परराष्ट्रमन्त्री र कम्युनिस्टकै केही नेताहरू भारतमा गएर भारतको खुट्टा मोल्ने काम नगरेका होइनन् । तर, त्यहि कुरालाई लुकाएर बाहिर विरोधमा उत्रेपछि जनतालाई बेफकुफ बनाउने काम भएको थियो ।
जब जब नेताहरूलाई समस्या आउँछ, तब तब नेताहरूले भारतीय कार्ड फ्याँक्ने काम गर्दै आएका छन् । भारतको नाममा राजनीति गर्ने नेताहरूका कारण मुलुक सधैँ अप्ठ्यारोमा पर्दै आएको छ । वर्तमान सरकारले आफूलाई पदबाट हटाउन भारतीय दूताबास सक्रिय रहेको र होटल–होटलमा गतिविधि बढेको बताएर भारतको विरोध सुरु गरेका छन् । प्रधानमन्त्रीविरुद्ध यस्तो गतिविधि गर्ने राजदूताबास र राजदूतमाथि कारबाही गर्ने अधिकार सरकारमा छ । कारबाही नगर्ने तर आफूलाई अप्ठ्यारो पर्नेबित्तिकै उहि भारत कार्ड प्रयोग गरेर जनतालाई गुम्राहमा राख्ने अधिकार सरकारलाई छैन । लिम्पियाधुरा, लिपुलेक, कालापानीसहित यसअघि छुटेका भूभाग समेटेर नेपालले नक्सा चल्तीमा ल्याएपछि भारतको सत्ता तरंगित बन्न पुगेकै हो तर अहिलेको सरकार ढाल्ने र राख्ने काम नेपाली जनताले भन्दा बाहेक कोही कसैले गर्नै सक्दैनन् । सन् १९४७ मा भारत स्वतन्त्र भएपछि पहिलोपल्ट नेपालले भारतसँग टक्कर लिएकै हो । तर, यस्तो अवस्थामा सरकारले नेपाली जनताका बारेमा केही काम नगरेकै हो । भारतले सन् १९६२ देखि कालापानी क्षेत्रमा भारतीय सैन्य दस्ताले क्याम्प बनाएर बसेको छ । त्यस वरपरको भूभाग आप्mनो कब्जामा राखेको छ । यसलाई कुनै पनि मूल्य र मान्यतामा हटाइनुपर्छ ।
यसैबीच, सरकार आफ्नै कारण फसादमा परेको छ । पार्टीभित्रको सन्तुलन मिलाउन नसक्दा प्रधानमन्त्रीविरुद्ध मोर्चा बन्दै गरेपछि यस्तो आक्रमणबाट बच्नका लागि भारतको कार्ड अगाडि ल्याउनु सबैभन्दा ठूलो भूल भएको छ । सरकारले नयाँ नक्सा प्रकाशित गरेपछि जनताबाट वाहवाही कमाइरहेको छ । यस्तो बेला भारतले नेपालमाथि धावा बोल्नै सक्दैन, उ आफैँ आफ्नो समस्याभित्र गिजोलिरहेको बेला नेपालको आन्तरिक मामलामा हात हाल्ने काम गर्दै गर्दैन् । यस्तो अवस्थामा पनि सरकारले आफूलाई भारतले हटाउन लागेको भनेर झुठको खेती गरिरहेका छन् । आफ्नो पद जोगाउनका लागि भारतीय कार्ड फ्याँक्ने दुस्प्रयास गरिनु हुन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *