०५५ को हिउँदतिरको महिना हुनु पर्छ । सहकर्मी चुपबहादुर थापा र म काठमाडौंबाट दैलेखतिर लाग्यौँ । साथमा झोला थियो । झोलाभित्र हाम्रा लुगा, केही प्रशिक्षण गराउँदा आफूलाई पढ्ने अध्ययन सामग्री, तालिममा प्रयोग गरिने ब्राउनपेपर, मेटाकार्ड, मार्कर हुन्थ्यो । फेकोफनको संगठन सुदृढीकरणका लागि पाँचदिने तालिमका लागि हामी त्यता जाँदै थियौँ । तालिम खर्च रु ४ हजार २ स य पनि बोकेका थियौँ । आफ्ना लागि बाटोको गाडी भाडालगायत सामान्य खर्चका लागि केही पेश्की रकम साथमा हुन्थ्यो । त्यो बेलामा दैनिक भ्रमण भत्ताबापत प्रतिदिन ५० रुपैयाँ पाइन्थ्यो र टिकट अनुसारको बसभाडा ।
काठमाडौंवाट सुर्खेतसम्म रात्रि बसबाट गयौँ । कोहलपुरसम्म पिच थियो, त्यहाँभन्दा उता पिच भएकोजस्तो लाग्दैन । रात्रि बसले दोस्रो दिन मध्याह्नतिर सुर्खेत जिल्लाको सदरमुकाम वीरेन्द्रनगर उतारिदियो । बस्नका लागि होटलको कोठा लियौँ । झोला राख्यौँ । देउती बज्यै मन्दिरमा दर्शन ग¥यौँ । बज्ै ताल घुम्यौँ । म पहिला पनि एकपटक घुमिसकेकाले म पथप्रदर्शकजस्तो हुँदा आफैँ फुरंग परेको थिएँ ।
वीरेन्द्रनगरको याद
म, केही महिनाअघि नै अर्थात् ०५५ सालको बैशाखमा वीरेन्द्रनगरमा केही दिन बिताएको थिएँ । त्यो बेलामा जिल्ला फेकोफनले आयोजना गर्ने पाँचदिने सामुदायिक वन गठनसम्बन्धी तालिम सञ्चालन गरेर एक सामुदायिक वन गठनसमेतमा सहजीकरण गर्ने कार्यक्रम तय गरिएको थियो । झुप्रामा एक सामुदायिक वन गठनको अभ्यास गरेका थियौँ । त्यस बेलामा बुलबुले ताल, देउती बज्यैको मन्दिर, काँक्रे बिहार, कालिन्जोर, घन्टाघर, लाटीकोइली, झुप्रा घुम्ने मौका पाएको थिएँ । फेकोफनको सुर्खेतको अध्यक्ष टोपबहादुर डाँगी हुनुहुन्थ्यो । सचिव प्रकास सुवेदी । प्रकास सुवेदी र हितप्रसाद पौडेलसँग म वीरेन्द्रनगरको धेरै ठाउँ घुमेको छु । उहाँहरुले धेरै स्थान घुमाउनु भएको थियो । तालिम अवधिभर मनकामना होटलमा बास बसेको भए तापनि त्यसपछिका धेरै दिन एयरपोर्टनजिकै पदमपुर भन्ने स्थानमा रहेको प्रकाश सुवेदीको घर बास बसेको थियौँ । अहिले सुवेदी कानुन सेवाअन्तर्गत अधिकृत हुनुहुन्छ, पौडेल कुनै एक स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ । अहिले फेसबुकबाट जोडिएका छौँ । सुवेदीसँग त एकपटक काठमाडौंमा भेट भएको थियो तर पौडेलसँग भेटर कुराकानी हुन सकेको छैन । मेरो जीवनमा पहिलोपटक प्रशिक्षकको भूमिका निर्वाह गर्ने मौका पाएको तालिम यहि नै थियो । त्यसैले यससम्बन्धी विविध विषय अर्को कुनै शृंखलामा लेखिनेछ ।
सुर्खेतदेखि दैलेख हुँदै नौमुलेसम्मको यात्रा
यसपटकको यात्रामा सुर्खेतको वीरेन्द्रनगर हाम्रा लागि बाटो मात्र थियो । वीरेन्द्रनगरमा बास मात्र बस्ने हो तर रात पर्न केही घन्टा बाँकी रहेकाले नजिकका स्थानमा घुमफिर गर्न सकेको थियौैँ । वीरेन्द्रनगर पुगेको भोलिपल्ट बिहानै बस चढ्यौँ, दैलेख जानका लागि । सुर्खेत वीरेन्द्रनगरवाट उता त सडक हो की गोरेटो बाटो भनेजस्तो थियो । वीरेन्द्रनगर उपत्यकाको समतल भूमिबाट उकालो लाग्दै लादे नामक डाँडामा पुग्यौँ, त्यसपछि राता नांग्ला अनी गुराँसे पुग्यौँ । गुराँसेमा चिया खानका लागि गाडी रोकियो । हाम्रो गाडी गाईवाध्ना, घोडाबास, चिसापानी, माथिल्लो ढुंगेश्वर, मटेला हुँदै चुप्रा पुगी गाडी रोकियो । अब यहाँबाट हामी हिँड्नुको विकल्प थिएन । त्यहाँ माछा र भात खाएर हाम्रो पैदल यात्रा सुरु ग¥यौँ । लोहोरो खोला तरेपछि साडुँ, तरताङ, थालु डाँडापछि बजार पुग्यौँ । दैलेखको सदरमुकाममा नारायण नगरपालिका थियो । तर नगरपालिका हुनु पर्ने न्यूनतम पूर्वाधारहरु केही पनि देखिँदैनथ्यो । गाडीमा सदरमुकामसम्म पुग्न सकिँदैनथ्यो तर पनि नगरपालिका घोषणा गर्न हतार गरेको होला भन्ने छलफल गर्दै उकालोमा पसिना चुहाइरहन्थ्यौँ । बेलुका अबेर भए पनि हामीलाई पर्खिबस्नु भएको रहेछ, दैलेख फेकोफनका अध्यक्ष मणिराम शर्माले । उहाँले हामीलाई बस्ने व्यवस्था गरिदिनु भयो । सायद फेकोफनका तत्कालिन केन्द्रीय सदस्य मोहनमाया प्याकुरेलको घरका हो कि जस्तो लाग्छ । उहाँको घर बजारमा नै पर्दथ्यो । हाम्रो तालिम स्थल सदरमुकामबाट पनि ५÷६ घन्टाको पैदल दूरी नौमुले भन्ने स्थानमा रहेछ । उफ् अझै हिँडाइ सकिएको रहेनछ । जे जस्तो भए पनि लिएको काम पूरा गर्नुको हामीसँग कुनै विकल्प थिएन ।
सुर्खेतमा गठन भएको दैलेख फेकोफन
दैलेखमा फेकोफन गठन अन्यत्रभन्दा फरक भएको इतिहास रहेछ । फेकोफन केन्द्रको तदर्थ समिति ०५२ साल जेठमा गठन भएपछि ६ महिनाभित्र महाधिवेशन गर्ने सोचका साथमा जिल्ला स्तरका संरचना वनाउन जिम्मेवारी बाँडफाँड भएको रहेछ । पश्चिमतर्फको संगठन विस्तारका लागि भीमप्रसाद श्रेष्ठ र भीमलाल सुवेदीको जिम्मेवारीमा परेछ ।
नार्मसाप भन्ने एक परियोजना थियो । सरकारी संरचनासँग मिलेर काम गर्दथ्यो । यसको काम पनि सामुदायिक वन प्रबद्र्धन गर्ने नै थियो । त्यो परियोजनाले दैलेख र सुर्खेतका उपभोक्ताहरुलाई सामुदायिक वन भ्रमणको कार्यक्रम राखेको रहेछ । भ्रमण सकेर परियोजनाको कार्यालय वीरेन्द्रनगरमा समीक्षा छलफलको दिनमा दुवै जिल्ला फेकोफनको तदर्थ समिति वनेको रहेछ । यस कार्यको समन्वयकारी भूमिका सुवासचन्द्र देवकोटाबाट भएको रहेछ । जो त्यो बेलामा नार्मसापमा कार्यरत हुनुहुन्थ्यो । पछि केही वर्ष फेकोफनमा पनि काम गर्नु भयो । केन्द्रीय प्रतिनिधिहरु (भीमप्रसाद श्रेष्ठ, भीमलाल सुवेदी, सीता गोइत र जानकी) को उपस्थितिमा २ वटै जिल्लाका तदर्थ समिति गठन भएको रहेछ । सुर्खेतको तदर्थ समितिका अध्यक्ष टोपबहादुर डाँगी र दैलेखको अध्यक्ष मणिराम आचार्य र सचिव रणबहादुर थापा चयन भएको रहेछ ।
४२ सय बजेट ९ सय बचत
प्रसंग दैलेखतिरकै जोडौँ, सदरमुकाममा एक रातको सुताइपछि बिहान चिया खाएर नौमुलेतिर लाग्यौँ । हामी दुई अनि जिल्ला महासंघका अध्यक्ष मणिराम शर्मा खुर्सानी बारी, सोत, तोली खोला तर्दै तोली गाउँ टेक्यौँ । अनि लोहोरे खोला किनारै किनार नौमुले पुग्यौँ । त्यहाँ हाम्रो बासको प्रवन्ध भयो । त्यो स्थान अलि समतलजस्तो अनि स–सानो बजार क्षेत्र नै देखिन्थ्यो । भोलिपल्ट तालिम भएकाले केही तयारीतिर जुट्यौँ । खास गरी ब्राउन पेपरमा प्रस्तुत गर्ने सामग्री रातभर तयार गर्ने गर्दथ्यौँ । ५ दिनसम्म बजारनजिकै रहेको माध्यामिक विद्यालयको एक कोठामा तालिम सञ्चालन गरियो । सामुदायिक वनको अवधारणा, कानुनी व्यवस्था, फेकोफनको अवधारणा सामुदायिक वन सञ्चालन प्रक्रिया केन्द्रित विषय वस्तुहरु समावेश गरिएको थियो । तालिमको छलफलका आधारमा सामुदायिक वन र फेकोफनको संस्थागत सम्बन्ध विकास गर्नका लागि कार्ययोजना बनाई सहभागीहरु बीच जिम्मेवार बाँडफाँड भएको थियो । तालिमको अन्तिम सत्रमा के कति खर्च भयो भनी सबै हिसाबको फाँटवारी प्रस्तुत जिल्ला फेकोफनले गर्ने गर्दथ्यो । केन्द्रले उपलव्ध गराएको ४ हजार २ सय रुपैयाँ । जिल्ला फेकोफनलाई दिई हामीले भरपाई लियौँ । सहभागीलाई दैनिक भ्रमण भत्ताको चलन थिएन । आफ्नो संगठनको अर्थात् उपभोक्ताको कार्यक्रम हो भनेर कसैले आसा पनि राख्दैनथे । राष्ट्रिय महासंघले उपलव्ध गराएको रु ४ हजार २ सयबाट सहभागीहरुलाई खाना, खाजा, सहभागीलाई स्टेसनरी सबै खर्च गर्दा पनि ९ सय रुपैयाँ । बचत भएकाले जिल्ला फेकोफनले आम्दानीमा बाँधेको थियो । सायद, अहिलेको सार्वजनिक सुनुवाइ हामीलाई त्यत्तिबेला थाहा थिएन तर भए गरेको खर्चको विवरण तयार गर्ने प्रस्तुत गर्ने चलन बसालेका थियौँ ।
बाँदरको मासु चर्को
हाम्रो बसोबासका लागि तालिम कक्ष नजिक व्यवस्था गरिएको थियो । तालिम समापन भएको दिन भने सहभागी गोरे जैसीले आफ्ना घरमा जान धेरै आग्रह गर्नु भयो । उहाँ असाध्यै सक्रिय अनि गाउँघरको चल्ती फिर्तीको अगुवा पनि हुनुहुँदो रहेछ । गोरै जैसीको घरमा पाहुना लाग्न गयौँ । हाम्रा लागि विशेष प्रकारको मासुको प्रबन्ध गर्नु भएको रहेछ । हामी दबवै जना मासु खान रुचाउने थियौँ । के को मासु भनेर सोध्यौँ कि सोधेनौँ ? याद भएन । सायद सोच्यौँ, होला बाहुनको घरमा हामीले नखाने मासु त पक्कै पाकेको छैन भन्ने पनि लाग्यो होला । मासु टन्न दिनु भयो । मासु असाध्यै चर्को थियो । खाने बेलामा उहाँले भन्नुभयो– यो त अझै चर्को हुन्थ्यो धेरै पखालेर र जडिबुटी हालेर पो यस्तो भएको भन्नुभयो । होला भन्ने ठान्यौँ । खायौँ । यत्ति चर्को थियो की स्वाद लिएर खानै सकिएन । तर मासु भनेजस्तो पनि मिठो लाग्ने हामीले राम्रै मात्रामा खायौँ । के को मासु खाइयो कुनै मेसो पाइएन । पछि सुर्खेत आएर यस्तो मासु खाइयो असाध्यै चर्को रहेछ भनी गफ लाएको त हामी वसेको होटलवालाले गुणाको मासु खानु भएछ भने । फेरि अर्को आपत्, गुणा भनेको के हो त्यो पनि बुझिएन । होटलवालाले भन्न चाहेन । पछि पो थाहा पाइयो त्यो बाँदरको मासु पो रहेछ ।
आत्मीय सम्बन्ध
अर्को दिन बिहानै गोरे जैसीको घरबाट बिदावारी भएर बाटो ततायौँ । उहाँको श्रीमतीले हामीलाई बाटामा खानका लागि भट्ट भुटेर हालिदिनु भयो । हाम्रोतिर भटमास भन्छौँ तर त्यता भट्ट मात्र भन्ने चलन छ । हिँडेको केही समयपछि पानी पर्न थाल्यो । जंगलको बीचमा थियौँ । कुनै ओत लाग्ने ठाउँ पनि थिएन । रुझ्दै हिँडिरह्यौँ । सकेसम्म केही रुखको ओत लाग्ने कोसिस ग¥यौँ तर काम लागेन । जंगलको नजिकै एक घर देखियो । त्यत्तै लागियो । मान्छे नबस्ने भत्केको घर रहेछ । त्यही पनि केही वेर ओत लागेर बस्यौँ । पानीले घरको माटो झरी रहन्थ्यो हामीसँग कुनै विकल्प थिएन । केही वेर वसेपछि पानी पर्न केही कम होला जस्तो लाग्यो । अनि फेरि कस्सेर हिड्यौँ । पानी दर्किरह्यो । सबै लुगा भिज्यो । कहीँ बस्ने कुरै भएन । ज्यानबाट पानी झरिरहेको छ । फेकोफनको केन्द्रीय सदस्य मोहनमाया प्याकुरेलको घरमा गएर मात्र लुगा फेर्ने भनी कस्सेर हिँडिरह्यौँ । उहाँको घरमा पुग्यौँ । लुगा फेर्न झोला खोतल्छौँ त सबै लुगा भिजेका छन् । भट्टको झोला पनि भिजेछ । भटमास त फुलेर साना गोलभेँडाजस्तो पो भएछ । हामीसँग केही उपाय भएन । मोहनमाया दिदीले आगो बालिदिनु भयो । आगामा लुगा सेकायौँ । त्यो रात त्यही बास वस्यौँ ।
फेकोफनका संरचनामा भएका बीचमा असाध्यै गहिरो भावनात्मक सम्बन्ध हुन्थ्यो । बसपार्कमा गाडी पुग्नु पहिले नै त्यहाँ कुरी बसेका हुन्थ्ये अनि बसपार्कसम्म बिदाइ गर्न पनि आउँथे । हामी दैलेखबाट सुर्खेत झर्न तरखर गर्दै थियौँ । ती गोरे जैसी त्यही पो टुप्लुक्क आइपुगे । सरहरु नमस्कार गर्दै, तपाइँहरुले हिजो धेरै दुःख पाउनु भयो होला । मलाइ पनि रात भर निन्द्रा लागेन, तपाइहलाई भेट भइहाल्ला भनी बिहानै ४ वजे उठेर हिँडेको जे होस् भेट भयो भने । हामी छक्क प¥यौँ । सँगै एक एक कप चिया पियौँ । मोहनमाया दिदी र गोरे जैसीसँग बिदा माग्दै ओरालो दौडियौँ । पछि, गोरे जैसी जनयुद्धतिर लाग्नु भएछ । दोहोरा भिडन्तमा उहाँको मृत्युको खबर रेडियोबाट सुन्यौँ । क्रमशः