ललितपुरमा फेकोफनको संगठन विस्तार संस्मरण

लेख शिक्षा/स्वास्थ समाचार

सामुदायिक वन उपभोक्ता समूहहरुको छाता संस्था फेकोफन केन्द्र आफैँले सक्रिय भई जिल्ला अधिवेशनको पहल गरेको एक मात्र जिल्ला ललितपुरको भन्दा कुनै फरक पर्दैन । ०५२ साल जेठमा केन्द्रीय तदर्थ समिति बनेको थियो । त्यसै वर्षको फागुनमा पहिलो महाधिवेशन पनि आयोजना भयो । फेकोफनको केन्द्रीय कार्यालय रहेको काठमाडौं उपत्यकामा जिल्लाहरुको संरचना सशक्त हुन सकिरहेको थिएन । उपत्यका ती जिल्लामध्ये पनि ललितपुरमा सामुदायिक वन उपभोक्ता समूहहरुको संस्था धेरै भए पनि त्यहाँ जिल्ला अधिवेशनसमेत हुन सकिरहेको थिएन । उपत्यकाका ३ वटै जिल्लामा सशक्त संगठन हुन सकेमा राष्ट्रिय स्तरका वन अभियान सञ्चालन गर्न पनि सजिलो हुने महशुस भइरहेको थियो । यसै सोचका साथ फेकोफनको तत्कालिन नेतृत्वले राष्ट्रिय सचिवालयले नै गठनको पहल गर्ने भनी हामी ४ जना (ज्ञानबहादुर गुरुङ, हर्कबहादुर थापा, चुपबहादुर थापा र म) लाई परिचालन गरेको थियो । यो रणनीति तयार गर्न फेकोफनको तत्कालिन अध्यक्ष हरि न्यौपाने, सदस्य सचिव भीमप्रसाद श्रेष्ठ र वाग्मती अञ्चल प्रतिनिधि भई स्थायी समिति सदस्य अप्सरा चापागाईको महत्वपूर्ण भूमिका थियो ।
ललितपुर भनेको नै जावलाखेल
ललितपुरमा रेपो अधिवेशनहरु गर्नका लागि हामी पटक–पटक त्यता गएका थियौँ । ०५५ भदौ महिना र ०५६ सालमा पनि । पहिलोपटक हामी दक्षिण ललितपुरका तत्कालिन गाविसतिर गएका थियौँ । ललितपुर भनेको जावलाखेल भन्ने लाग्थ्यो, मलाई । कसैले घर ललितपुर भन्यो भने मेरो दिमागले सहरको मान्छे रहेछ बुझ्थ्यो । सायद अरु साथीहरु पनि सोही मानसिकताको हुनुहुँदो रहेछ क्यार । हामी दक्षिण ललितपुर जाने मान्छे ३ बजेतिर लगनखेलबाट गाडी चढ्यौँ । त्यो भन्दा अघि लतितपुर फेकोफन तदर्थ समितिका अध्यक्ष चन्द्र दुलालसँग भेटी केही सम्पर्क व्यक्तिहरुको नाम र ठेगाना लिएका थियौँ । अनि, वन कार्यालयबाट सामुदायिक वनहरुको नाम र ठेगानामा पनि संकलन गरेका थियौँ । रिङ रोडभन्दा बाहिर मेरा लागि सबै नयाँ थियो । हामी चढेको बस चापागाउँ पुगेर रोकियो । त्यहाँभन्दा उता जाने बस पाइएन तर कच्ची सडक त थियो । हिँड्न थाल्यौँ । केही पर पुगेका थियौँ । दूध वबेक्ने गाडी भेटियो । हात उठायौँ, रोकियो, चढ्यौ । दूध हाल्ने भाँडो (क्यान) मा बस्यौँ । लेलेमा गएर रोकियो । त्यहाँभन्दा अगाडि कुनै सवारीसाधन पाउने संभावना थिएन । हिँड्नुको कुनै विकल्प थिएन । त्यहाँ पनि हामीले सम्पर्क गर्नु पर्ने केही व्यक्ति थिए । एक जनाको नाम अहिले पनि सम्झना छ, कृष्ण तिमिल्सना । भेट गरी केही छलफल गरियो, जानकारी लिइयो । बास यतै बस्नु पर्ने भयो । बास पाउन मुस्किल प¥यो ।
हवाइजहाज दुर्घटनाको सम्झना
अर्को दिन बिहानै झोला पछाडि भिरेर हामी लाग्यौँ । अलि अली उकालोजस्तो बाटो । सडक त रहेछ तर मोटर नगुड्ने । यो रोड ०१३ सालमा नै खनेको रे । यतैबाट हेटौँडा जाने गरी तर प्राथमिकतामा परेनछ । यसको नाम चाहिँ कान्ती राजमार्ग भनिथ्यो तर गाडी दौड्न लायक थिएन । हामी तीनपाने भञ्ज्याङ पुग्यौँ । खाना खायौँ । त्यो ठाउँ काठमाडौं उपत्यका छिर्ने चार भञ्ज्याङमध्ये एक हो भन्थे । त्यहाँबाट केही तेर्सो अनि ओरालो झ¥यौँ । भट्टेडाँडा पुगियो । यो ठाउँको नाम दुर्घटनाको कारणले याद थियोे । यहाँ १२ असोज ०४९ मा पाकिस्तानी हवाइजहाज दुर्घटना भएको थियो । त्यस दुर्घटनामा १६७ जनाको ज्यान गएको थियो । भट्टे डाँडामा रोप वे पनि थियो । इकुडोलदेखि भट्टेडाँडासम्म दूध तथा कृषिजन्य उपज ओसारपसारका लागि विदेशीले वनाइदिएको भन्ने सुनियो ।
हामी भट्टे डाँडाको ओरालो झरी खानी खोला त¥यौँ । अनि उकालो लाग्यौँ । हामीले सबैभन्दा टाढाको रेञ्जपोस्टबाट काम सुरु गर्ने सोचका साथ अगाडि बढेका थियौँ । ललितपुर जिल्ला यत्ति विकट होला भन्ने मैले कल्पनासम्म गरेको थिइनँ । उकालो ओरालो कति हो कति ? हामी प्युटार जाने सोचले हिँडिरह्यौँ । वाग्मतीको किनार पुग्यौँ । बास बस्यौँ । माछा र भात खायौँ । धुलिखेलका एक नेवार थरका परिवारले कुटानी पिसानी, तोरी पेल्ने मेसिनसमेत चलाएका रहेछन् । साथमा सानो पसल अनि पशुपालन पनि थियो । खोलाको किनारमा कसरी बसेका होलान् भन्ने लागेको थियो । तर उनको बहुरुपी पसल भएकाले नै हामीले मिठो खान, आरामले बस्न पाएका थियौँ ।
छाता र फेकोफन उस्तै
त्यहाँबाट हामी २ टोलीमा विभाजन भई एक टोली आस्रङ र अर्को टोली प्युटारतिर लाग्यौँ । हामीसँग सामुदायिक वनको नाम र ठेगाना थियो । सोही अनुसार अध्यक्ष वा पदाधिकारीहरुको नाम सोध्दै भेटघाट गर्दथ्यौँ । समितिको बैठक बस्न आग्रह गर्दथ्यौँ । हामी समूहमा पुग्दा उनीहरुको खातापाता हेथ्र्यौँ । बैठक प्रक्रियाका बारेमा छलफल हुन्थ्यो । त्यतिबेला सामुदायिक वनमा एक किसिमको जागरण र लगाव भेटिन्थ्यो । समूहका पदाधिकारीहरु हामीलाई खातापाता देखाउन पाउँदा खुसी मान्थे । केही सुधार गर्नु पर्ने भेटिए सुझाव पनि दिन्थ्यौँ ।
बैठकमा फेकोफनको अवधारणा र हामी आउनुको उद्देश्य प्रस्ट्याउँथ्यौँ । उनीहरुको कुरा सुन्थ्यौँ । समूहका गतिविधि बताउँथे । कुनै कठिनाइ परेको भए सुनाउँथे । कठिनाइमा काम गर्न संगठन चाहियो नी भनी उनीहरुलाई फेकोफन आफ्नै संगठन रहेछ भनी महसुस गर्ने गरी छलफल चलाउँथ्यौँ । फेकोफन भनेको छाता संगठन हो । कुनै पनि मान्छेले सधैँभरी छाता प्रयोग गर्दैन, जुन बेलामा पानी पर्छ त्यो बेलामा छाता खोल्ने हो । तर, साथमा छाता भए ढुक्क भइन्छ । त्यसैगरी फेकोफन सधैँभरी सामुदायिक वनलाई चाहिन्न तर कुनै कठिनाइ परेमा चाहिन्छ । त्यो बेलामा प्रयोग गर्नु पर्दछ । तर पानी परेको बेलामा छाता करङ मात्र भई पानी छेकेन भने काम लाग्दैन । त्यसै गरी सामुदायिक वनलाई परेको कठिनाइमा पनि वास्ता नगर्ने संगठन हुनुहुँदैन । कामकाजी संगठन बनाउने काम पनि तपाईहरुको हो भनेर छलफल गराउँथ्यौँ । हाम्रो छलफलपश्चात कुनै पनि उपभोक्ता फेकोफनको सदस्य बन्न आनाकानी गर्दैनथे । खुसीले सदस्य बन्थे । त्यो बेलामा फेकोफनको सदस्यबापत २३५ रुपैयाँ शुल्क लाग्थ्यो । त्यसमध्ये रु ३५ सोझै केन्द्रमा जान्थ्यो बाँकी रकमको प्रतिशतको आधारमा रेपो, जिल्ला र राष्ट्रिय महासंघमा बाँडफाँड गर्ने व्यवस्था थियो । केन्द्रमा जाने रकम पनि अक्षय कोषमा राख्ने चलन थियो । फेकोफन सदस्यता नवीकरण गर्दा वार्षिक रु १०० शुल्क लाग्थ्यो । यो रकम पनि प्रतिशतको आधारमा नै बाँडफाँट हुन्थ्यो । हरेक समूहबाट महिला पुरुप बराबरी प्रतिनिधिहरु रेपो अधिवेशनका लागि चयन हुन्थे । प्युटार रेञ्जपोस्टअन्तर्गत साविक गाविसहरु आश्राङ, इकुडोल, माल्टा र प्युटार पर्दथे । हामी सबै गाविसमा पुगेका थियौँ । प्युटार रेपो स्तरीय महासंघ अधिवेशनबाट अध्यक्ष ऋषिमान स्याङ्तान र सचिव एन्टी बजगाईँ भएको समिति चयन भएको थियो ।
दोस्रो कोसिस
०५६ जेठमा पनि यसै जिल्लामा रहेका सामुदायिक वन आवद्ध र रेपो अधिवेशनका लागि गयौँ । चरम द्वन्द्वको अवस्था भएकाले प्रहरी कार्यालयमा शान्ति सुरक्षा सम्बन्धी पत्र बुझाएका थियौँ । यसपटक पनि २ टोलीमा रेपो नै बाँडेर काम गरेका थियौँ । बुरुञ्चुली रेपोभित्र रहेका सामुदायिक वन आवद्ध गरी ८ वटा समूहहरुको प्रतिनिधिको सहभागितामा १५ जेठमा अधिवेशन गरी लक्ष्मण वजागईँ अध्यक्ष र नरबहादुर लामा सचिव भएको समिति गठन भयो । सोही १७ गते लेले रेपोको अधिवेशन सम्पन्न भयो । १० वटा सामुदायिक वनका प्रतिनिधिहरुको सहभागिता रहेको अधिवेशनबाट केशवराज सिलवाल र कृष्ण तिमल्सिना सचिव भएको २१ सदस्यीय समिति गठन भएको थियो । गोटिखेल रेपोमा २४ गते अधिवेशन आयोजना भयो । अध्यक्ष श्याम लामा र सचिव ठाकुर दुलाल भएको २२ सदस्यीत समिति गठन भयो । चौघरे रेपो अधिवेशन पनि २४ गते नै गरी तत्कालिन भारदेउ गाविसका उपाध्यक्षको अध्यक्षतामा १७ सदस्यीत समिति बनेको थियो ।
तेस्रो कोसिस
०५६ भदौ, असोज महिनामा पुनः बाँकी रेपो अधिवेशनका लागि गयौँ । विसंखुनारायणमा करुणा पाठकको अध्यक्षता समिति गठन भयो । सोही भदौ २६ मा नौधारा (गोदावरी) रेपो अधिवेशनबाट विन्दु पौडेल अध्यक्ष, उपाध्यक्ष रविराज आचार्य, बालमुकुन्द घिमिरे सचिव र राममाया महत कोषाध्यक्ष भएको ९ सदस्यीय समिति गठन भयो । घिमिरे त्यतिबेला नै कानुन व्यवसायी थिए, अहिले फेकोफनको केन्द्रीय सदस्य र वडा अध्यक्षसमेत छन् । उनले वकिलको संगठन भएकाले हामीलाई काम गर्न सजिलो भएको छ त्यसैगरी सामुदायिक वनको पनि संगठन बनाउनु पर्छ हामीलाई सहज हुन्छ भनी संगठनको महत्व बताएको अझै पनि ताजै याद रहेको छ ।
यहि प्रक्रियाले बज्रवराही रेपोमा पनि काम गरियो । त्यसैगरी गोटीखेल, ठूलादुर्लङ, सिस्नेरी, बडिखेललगायत सबै रे.पो. अधिवेशन पनि सम्पन्न भयो । ललितपुरका तत्कालिन गाविसहरु मध्ये हामी ठूलादुर्लङ चाहिँ पुगेनौँ । अरु गाविसमा रहेका पुगी छलफल गरी फेकोफनको सदस्यता प्रदान गरी प्रतिनिधिहरु छनोट गरी रेपो अधिवेशनसमेत गर्न सहजीकरण गरेका थियौँ । सबै रेपो अधिवेशन र अन्य विवरण सम्झन सकिएन ।
चोपिलो तिउन
त्यो बेलाका केही परिदृष्यहरु अहिले पनि ताजै छन् । कालेश्वर गाविसभित्र रहेका समूहसँग कामका लागि हर्कबहादुर थापा र मेरो जिम्मेवारीमा परेको थियो । एक दिन अलि लेकतिरको सामुदायिक वनको अध्यक्षको घरमा पुग्यौँ । बास बसियो । मकै पोलेर दिए त्यो त मजा नै लाग्यो । बेलुकाको खानामा कर्कलो (फाँडो)को तिउन र मकैको ढिँडो दिए । मलाई यी दुवै चिज मन नपर्ने । खाने बेलामा हर्क दाइले जिब्रो पट्काउँदै ‘आहा कति चोपिलो छ है, भोला भाइ’ भने । मलाई मुस्किल प¥यो नमिठो छ भन्नु भएन मिठो लागेको थिएन । मैले जबरजस्ती रुञ्चे स्वरमा ‘अँ…, दाइ’ भन्न पुगेछु । पछिसम्म हर्क दाइले मलाइ यहि कुरा भनेर गिज्याइरहथे ।
तातोपानीमा ओरालेको मासु र गालीको वर्षा
हामी ४ जना २ टोली भई काममा लागे पनि बेला बेला भेट हुने चाँजोपाँजो मिलाउँथ्यो । एक दिन इकुडोलमा भेटेर सिडिएफपीले बनाइदिएको सार्वजनिक घरमा बास बस्ने कुरा मिलायौँ । दक्षिण ललितपुरतिर त्यो संस्थाले ठाउँ ठाउँमा यस्ता घरहरु बनाइदिएको रहेछ । तुलनात्मक रुपमा यी घरहरु ठूला र आकर्षक थिए । बस्नलाइ पनि आनन्द हुने । गाउँमा आउने पाहुनाहरुलाई यहाँ बसाउने चलन रहेछ । त्यहाँ बस्ने पाहुनालाई खाना वनाइदिने पालो लगाउँदा रहेछन् । हामीलाई पनि खानाको व्यवस्था एकजना दिदीले गरिदिइन् । हामी पनि ४ जना जम्मा भएकाले रमाइलोका साथ मिठो खान कुखुरो किनेर ल्यायौँ । हर्क दाइले काटकुट पारे । ती दिदीले पकाइन् । त्यता मरमसला हाल्ने चलन रहेनछ कि क्या हो । दिदीले त पहिला पानी भकभक उमालिन्, अनि मासु ओइ¥याइन् । माम्री निकालेर राखेको तर नमाझेको कराहीमा ढिँडो पकाइन् ।
सायद इकुडोलमा नै हुनुपर्दछ । एक जना नेतासँग भेटियो । सायद उनी सामुदायिक वनको अध्यक्ष भएकाले भेट भएको हुन सक्छ । उनी नेकपा एमालेबाट फुटेर गएको मालेतिर लागेका रहेछन् । फेकोफनको नाम सुन्नासाथ हामीसँग जाइलागे यो एमालेको संगठन भन्दै भरमार गाली गरे । हामीलाई बोल्न नै दिएनन् । अनि हामीले सुनिरह्यौँ, गालीको वर्षा गर्न थाकेपछि विस्तारै आफ्ना कुरा राख्यौँ । संगठनको मर्मको कुरा बतायौँ । उनी सहमत नै भएनन् । अन्त्यमा, मचाहिँ यस संगठनमा लाग्दिनँ, अरु साथीहरु जानुस्सम्म भने । यी मान्छे ०५६ सालमा भएको आमनिर्वाचनमा नेकपा मालेबाट सांसदको उम्मेदवार पनि भएको थाहा पायौँ । मैले अहिलेसम्म त्यति एकोहोरो गाली गर्ने भेटेको छैन ।
चलाखीपन
चुपबहादुर थापा र मेरो भागमा विसंखुनारायण, नौधारा, बज्रबराही रेपो परेको थियो । हाम्रो टोलीले यसपटक फरक जुक्ति लगायो । पहिला–पहिला हरेक समूहमा जाने अध्यक्षलाई भेट्ने बैठक राख्ने अनि रेपो भेला राख्ने गर्दथ्यौँ । यसपटक भने गाविस कार्यालयमा जाने अध्यक्षसँग भेट्ने सोच्यौँ । पहिलो प्रयोग विसंखुनाराणमा ग¥यौँ । अध्यक्ष राधाकृष्ण बस्नेतसँग भेट्यौँ । उनले गाविसमा भएका सबै सामुदायिक वनहरुलाई पत्र लेखेर यही कार्यालयमा बोलाइदिन्छु अनि छलफल गरौँ भने । हामी त फुरुंग भयौँ । तिथिमिति निर्धारण गरेर हरेक सामुदायिक वनबाट कम्तीमा आधिकारिक १ जना महिला १ जना पुरुष अनिवार्य आउनु भनी पत्र लेख्ने काम गाविसबाट भयो । हामी भने विसंखुनारायण मन्दिर घुम्न गयौँ ।
गाविसले पत्राचार गरेको मितिमा हामीले फेकोफनका तत्कालिन सदस्य सचिव भीमप्रसाद श्रेष्ठलाई पनि आमन्त्रण ग¥यौँ । भीमप्रसाद श्रेष्ठ र फेफोफनका तत्कालिन लेखापाल रामप्रसाद पौडेल मोटरसाइकलमा त्यहाँ पुगे । हामी बिहानै त्यहाँ पुगी सबै तयारीमा लागिसकेका थियौँ । गाविसले पत्राचार गरेकाले समूहका प्रतिनिधिहरु सभाकक्ष भरी टन्न जम्मा भए । गजबसँग अधिवेशन उद्घाटन सत्र सञ्चालन भयो । गाविस अध्यक्ष र फेकोफन केन्द्रका सदस्य सचिवले मन्तव्य व्यक्त गरेपछि सबै समूहका प्रतिनिधिहरु खुसी भए । गाविस अध्यक्ष बस्नेतले तपाइहरुले संगठन बनाउनु भयो भने त्यही संगठनमार्फत गाविसले सहयोग गर्न पनि सजिलो हुन्छ, हरेक समूहसँग हामीले काम गर्न मुस्किल हुन्छ भनी भाषण गरे । हामी सबै समूहहरुलाई फेकोफनका सदस्यता फारम भर्न र रसिद काट्न थाल्यौँ । सबै समूह आवद्ध भए ।
यहि प्रक्रिया नौधारा र बज्रबराहीमा रेपोमा पनि अपनायौँ । नौधारा रेपोअन्तर्गत गोदाबरी गाविस मात्र पर्ने भएकाले हामीलाई झन् सजिलो भयो । गोदावरी गाविसको अध्यक्ष श्याम सिलवाल थिए । एक दिन गाविस अध्यक्षलाई भेट्ने पत्र लेख्न लगाउने, अर्को एक दिन अधिवेशन गर्ने काम तमाम ।
हाम्रो अर्को टोलीले चाहिँ पुरानै शैली अपनायो । हामीले भने फिल्डको काम छिटो छरितो बनाइहाल्यौँ । अनि हामी भने गोदावरी घुम्यौँ । चिडियाखाना घुम्यौँ । दशरथ रंगशालामा सार्क स्तरीय आठौँ गेमको तयारी भइरहेको थियो । त्यही हेरी दिन बिताउँथ्यौँ । त्यो बेला ललितपुरका मुख्य ठाउँहरु घुम्न बाँकी राखेनौँ ।
गाविसको खर्चमा अधिवेशन
पछिल्लो चरणमा गाविसबाट पत्र लेख्न लगाई गाविस अध्यक्षको प्रमुख आथित्यतामा अन्तक्र्रिया कार्यक्रम गर्ने अनि समूह आवद्ध गराउने प्रक्रिया अपनायौँ । त्यसो गर्दा प्रभावकारी भयो, अनि गाविससँग सामुदायिक वनको सम्बन्ध पनि हुने भयो । त्यसैगरी, ती छलफल, अन्तक्र्रिया वा भेलाको खाजा तथा स्टेसनरी खर्चसमेत गाविसबाट नै खर्च व्यहोरिएको थियो ।
रुखबिनाको सामुदायिक वन
बुङ्मतीमा एक सामुदायिक वन खोज्दै गइयो । अध्यक्षसँग भेट भयो । वन कार्यालयको रेकर्डमा ०५० सालमा वन हस्तान्तरण भएको देखिन्छ । एउटा पाखोसम्म भेटियो । उपभोक्ताहरु कसैलाई पनि थाहा छैन । तर कसरी सामुदायिक वन भनियो त भन्दा तत्कालिन प्रधानमन्त्री आएर बिरुवा रोपेका थिए रे सोही ठाउँलाइ सामुदायिक वन बनाएको रहेछ । रुख छैन, विधान अनि कार्ययोजना पनि छैन ।
बाजागाजासहितको जिल्ला अधिवेशन
१३ पुस ०५६ मा जिल्ला अधिवेशन आयोजना भयो झरुवारासी भन्ने स्थानमा । प्रमुख अतिथि थिए तत्कालिन वन मन्त्री महन्थ ठाकुर । अतिथिहरु फेकोफनका अध्यक्ष हरिप्रसाद न्यौपाने, जिविस ललितपुरका सभापति माधव पौडेल, प्रजिअ कुलचन्द्र श्रेष्ठ, जिवअ किरण श्रेष्ठका अतिथिहरुले मन्तव्य भाषण गरेका थिए । वन मन्त्रीले प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको भाषणलाइ आधार मानी वन मन्त्रालयले हरियो रुख काट्न प्रतिबन्ध लगाउने गरेको परिपत्रको बचाउ गरेका थिए । फेकोफनका अध्यक्ष हरि न्यौपानेले वनमाथि जनअधिकारका सम्बन्धमा अत्यन्त प्रभावकारी भाषण गरे । उद्घाटन सत्रमा रामशरण घिमिरेबाट १ लाख ९९ हजारको आयव्ययसहितको बजेट प्रस्तुत भयोे । घिमिरे सिस्नेरी रेपो महासंघको अध्यक्ष हुँदै यो अधिवेशन प्रतिनिधि थिए साथै त्यो समयमा संसद सचिवालयमा सहसचिव पनि थिए । सायद सामुदायिक वनको अध्यक्ष पनि थिए की ! उनी जत्तिको बहालवाला उच्चपदस्थ कर्मचारी सामुदायिक वनको अध्यक्ष भएको मलाइ याद छैन । उनी साह्रै सरल र भलाद्मी मान्छे लाग्थ्यो । उनीसँगै मेरो बास भएको थियो, स्थानीय विमला घिमिरेको घरमा । त्यो समयमा कस्लाई अध्यक्ष बनाउँदा ठीक होला भनी केही रणनीति बवनाएका थियौँ । त्यो रणनीति आंशिक सफल भयो । बाजागाजा झाँकीसहित भव्य रुपमा अधिवेशन भएको थियो । यस अधिवेशनसमेतका लागि नार्मसापले रु ७२ हजार सहयोग गरेको रहेछ ।
अधिवेशनका प्रतिनिधिहरुसँग हामी ४ जनाको राम्रो सम्पर्क थियो । सबैले चिन्थे । हामी पनि चिन्थ्यौँ । कस्लाई के बनाउने कुन मान्छे कस्तो छ भनी सोधिरहन्थे । सो अधिवेशनबाट मदनबहादुर केसीको अध्यक्षतामा कार्यसमिति गठन भएको थियो । सो समितिको उपाध्यक्ष मिठु दुलाल, सचिव रेवती सिलवाल र कोषाध्यक्ष जगदिश घिमिरे रहेका थिए । यस अधिवेशनमा १२ वटा रेञ्जपोस्टमध्ये ११ वटाको मात्र प्रतिनिधित्व भएको थियो । यसपछि ललितपुर जिल्लामा फेकोफनका गतिविधिहरुले निरन्तरता पाइरहेको छ । यहि प्रक्रियाले केन्द्रकै प्रत्यक्ष पहलमा अरु जिल्ला गठन पनि गर्नु परेको छैन । धेरथोर प्रयास गर्नु परेको त पक्कै होला । क्रमशः

Leave a Reply

Your email address will not be published. Required fields are marked *