सिमेन्ट बिक्रीमा कमी आउँदा घाटामा कम्पनी सञ्चालन भइरहेको छ

अन्तरवार्ता अर्थ/वाणिज्य कर्पोरेट वाग्मती प्रदेश

कोरोना महामारीको बीचमा पनि सरकारले निर्माण कार्यहरुलाई प्राथमिकता दिइरहेको छ । सबैतिर ठप्प हुँदा निर्माण कामहरुले तिव्रता पाइरहेका छन् । यसबीचमा सिमेन्ट उद्योगहरुले कसरी काम गरिरहेका छन् । उदयपुर सिमेन्ट उद्योगले कसरी काम गरेको छ ? कर्मचारी व्यवस्थापन र सिमेन्ट वितरणका हिसाबले कहाँ कसरी पठाइरहेको छ ? लगायतका विषयमा केन्द्रित रहेर तामाकोशी सन्देश साप्ताहिकका संवाददाता एल.बी.विश्वकमाले उदयपुर सिमेन्टका महानिर्देशक नवलकिशोर शाहसँग गरेको कुराकानीको सम्पादित अंश…
० कोरोना महामारीको बेलामा सबैतिर ठप्प छ । यस बेलामा तपाईंहरुले कसरी काम गरिराख्नु भएको छ ?
कोरोना महामारीको बेलामा काम गर्न कठिन छ । निर्माणका कामहरु भइरहेका छन् । हामीले कम्पनीलाई ठप्प पारेर रोक्न पनि सक्दैनौँ । यतिबेला तीव्र रुपमा काम गर्न सकेको अवस्था पनि छैन । सरकारले पहिलो चरणमा लकडाउन गर्दा हामीले पनि कम्पनी बन्द गरेका थियौँ । यो रोग कस्तो हो ? कसरी सर्छ ? यसका सिम्टमहरु के–के हुन् ? कसरी सुरक्षित रहने ? भन्ने कुनै पनि किसिमका सूचनाहरु बाहिर आएका थिएनन् । यसकारण हामीले पनि बन्द गर्नुपरेको थियो । पछि जब सुधारात्मक रुपमा अगाडि बढेपछि हामीले काम गरिरहेका छौँ । अहिले सरकारका मापदण्डसहित काम गरिरहेका छौँ । सरकारले ढुवानी सुरु नगर्दासम्म हामीले पनि रोकिनु परेको हो । पहिलो चरणमा एउटा कारण त्यो पनि थियो । सरकारले पछि ढुवानी सुरु ग¥यो । यसपछि हामी पनि तात्तिएका थियौँ । असारपछि सुरु भएको हो ।
० कोरोना कहरकाबीच काम गर्न जोखिम कत्तिको छ ?
यो कोरोनाको कारणले यातयात अवरुद्ध भएको छ । अहिले सडकमा निजी सवारीहरु मात्र गुडिरहेका छन् । सार्वजनिक यातायात गुडेका छैनन् । यसैले गर्दा अलिक टाढा बसिरहेका हाम्रा कर्मचारीहरुलाई पनि आवत्जावत गर्न कठिन भइरहेको स्थिति छ । सरकारले स्वास्थ्यका मापदण्डहरु फ्लो गर्नुपर्ने भएका कारण हामी जोखिम उठाउन बाध्य भएका छौँ । हामीले असारमा पनि सञ्चालन ग¥यौँ । साउनमा कम्पनीमा ठूलो समस्या आएर बन्द भयो । त्यसपछि भदौमा पुनः लकडाउनको बाबजुत पनि हामीले उत्पादन सुरु गरेका छौँ । यो कम्पनी खोलिसकेपछि धेरै समस्याहरु हामीले फेस गरिरहेका छौँ । जस्तै यो कोरोका कारण जारी गरिएको लकडाउन पालना गर्नुपर्ने, सोसियल डिस्ट्यान्सिङ कायम गर्नुपर्ने, सरकारले दिएका मापदण्ड प्रयोग गर्नुपर्ने, मास्क, सेनिटाइजर सामानहरुको अनिवार्य प्रयोग बढाउनु पर्नेजस्ता नियमहरु छन् । हरेक बीस–बीस मिनेटमा हात धुनुपर्नेजस्ता नियमहरु पनि छन् । यी नियमहरुलाई हामीले पूर्ण रुपमा पालना गरिरहेका छौँ । अब यहाँ काम गर्ने मान्छेहरुलाई पटकपटक सामानहरु छाइरहुनपर्छ । सरसफाई गर्नुपर्ने हुन्छ । उनीहरुलाई सहज रुपमा काम गर्ने वातावरण हामीले सिर्जना गरेका छौँ । स्वास्थ्यको प्रोटोकलहरु छन् । भिडभाड गर्न पाइँदैन, यी समस्याको ठूलो चुनौती नै छ । त्यो समस्याका बाबजुत कामा गरिरहेका छौँ ।
० सिमेन्ट सहज रुपमा बिक्री वितरण भइरहेको छ त ?
अहिले सिमेन्ट बिक्रीमा समस्या आइरहेको छ । सबैतिर सबै कामहरु ठप्प छन् । कुनै पनि किसिमका कामहरुले तिव्रता लिन सकेका छैनन् । आर्थिक बजार खस्किँदै गइरहेको बेलामा हामीलाई पनि यसले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हानी पु¥याएको छ । निर्माण कामहरु केही मात्रामा सञ्चालनमा आएका भए पनि धेरै निर्माणका कामहरु ठप्प छन् । निजी आवास र तथा अन्य संरचनाहरु निर्माणको कामले तिव्रता पाउन सकेको छैन । ठप्प नै छ भनौँ । यसकारण कमी आएको हो ।
० सिमेन्ट बिक्रीमा कत्तिको ह्रास आएको छ ?
अहिले बिक्री नै छैन । के छ भन्नु ? २६ प्रतिशत मात्र बिक्री भइरहेको छ । यसलाई के बिक्री भन्ने ? सामान्य बिक्री पनि होइन नी यो त । पहिला हामीले दिनमा ८ देखि १० हजार बोरा बिक्री गथ्र्यौँ । अहिले त्यस्तो छैन । अहिले जम्मा–जम्मी २–३ हजार मात्रै बोरा सिमेन्ट मात्र बिक्री भइरहेको छ । यो भनेको केहि होइन । सामान्य हो । किनकि मार्केट खुल्ला छैन । हार्डवेयर पसलहरु बन्द छन् । यस कारण हाम्रो सिमेन्ट बिक्री नै भइरहेको छैन ।
० आम्दानीको हिसाबले नाफा घाटा के छ ?
आम्दानीको कुरा गर्दा धेरै घाटा छ । अहिले नाफा हुने त चान्सै छैन । तर, हामी बेस्सरी घाटा ब्यहोरिरहेका छौँ । अघिल्लो पटकको लकडाउनमा हामीले ६५–७० करोडको घाटा ब्यहोर्नु परेको थियो । अहिले पनि अब घाटा नै छ । यी विभिन्न समस्या कारणले प्रडक्सन कस्ट बढी आइरहेको छ । मार्केटमा पनि डिमान्ड छैन । सिमेन्टको मूल्य पनि एकदमै कम छ । यसकारण घाटा नै घाटा छ ।
० मूल्य कम छ भने, कति प्रतिशत मूल्य घटाउनु भएको हो नी र किन ?
कोरोना महामारीपछि लकडाउनका कारण हामीले मूल्य घटाएका हौँ । अहिले पनि लकडाउनको समय छ । सबै मार्केटहरु बन्द छन् । ती मार्केट तत्काल ओपन हुने स्थिति छैन । मार्केटहरु त सबै बन्द छन् । त्यसकारणले यसबीचमा प्राइभेट सिमेन्ट उद्योगहरु पनि आफ्नो भाडा घटाएका छन् । हामीले पनि सोही कारणले भाडा घटाएका छौँ । यो घटाएरै बेच्नुपर्ने बाध्यता पनि छ । यो पनि एक किसिमको घाटा नै हो नी । अहिले हामीले पहिलेभन्दा झण्डै–झण्डै बोरामा एक सय ५० देखि २ सयसम्म घटाएर बिक्री वितरण गरिरहेका छौँ । यो लकडाउनको पिरेडमा नै हामीले घटाएका छौँ ।
० कोरोना महामारी बढ्दै गएको छ । यसबीचमा सरकारले निर्माणका कामहरु तिव्रता दिएको छ । सबै क्षेत्रलाई चुनौती थपिएको छ । यसबीचमा काम गर्नका लागि तपाईले कुनै रणनीति बनाउनु भएको छ ?
यसका हामीले विषेश खालको व्यवस्था कुनै पनि गरेका छैनौँ । त्यो आवश्यक पनि देखिएको छैन, तत्काल । हामी आवश्यकता अनुसार त्यसको बारेमा सोच्ने छौँ । तर, तत्काल सरकारले भनेका स्वास्थ्यको प्रोटोकल अपनाउने गरेका छौँ । यसैगरी, बाहिरबाट आउने कर्मचारीलाई गेटमा साबुन पानीको व्यवस्था गरिएको छ । सबै कर्मचारीहरुलाई अनिवार्य स्यानिटाइजरको व्यवस्था गरिएको छ । अब सक्दो सोसियल डिस्ट्न्सिङ मेन्टेन गरेका छौँ । अरु कुनै मेसिन बिग्रियो भने धेरै डिस्ट्यान्स मेन्टेन गर्न सकिँदैन । त्यो चाहिँ ठूलो चुनौती हो । डिस्ट्यान्सको कुरा जतिसुकै कुरा गरेपछि डिस्ट्यान्समा समस्या हुन्छ । अब यसमा पनि चुनौती चाहिँ छ । त्यो ठूलो चुनौतीको विषय हो । अहिलेसम्म ठिकै भइरहेको छ । भोलि कुनै सामान्य समस्या देखियो भने पनि सञ्चालन गर्नै कठिन हुने स्थिति आउन सक्छ । यसकारण हामीले समेत भएर काम गर्नुपर्ने बाध्यता छ ।
० उत्पादन कत्तिको गरिराख्नु भएको छ ?
उत्पादनमा धेरै गाह्रो आएको छैन । राम्रो उत्पादन भइरहेको छ । अहिले समस्या त्यसको होइन । केही मात्रामा कमी आएको छ । त्यो विस्तारै सामान्य स्थिति हुनेबित्तिकै सुधार आइहाल्छ । तर, अहिले पनि हामीले ७०–८० प्रतिशत सिमेन्ट उत्पादन गर्न सफल भइरहेका छौँ । विगतमा पनि यस्तै थियो । हाम्रो उद्योग चलेको बेलामा उत्पादनमा खासै समस्या आउँदैन । अहिले पनि आएको छैन । तर, के भने सञ्चालन गर्नु नै ठूलो चुनौती हो, आजको दिनमा ।
० अहिले त्यहाँ कतिजना कर्मचारीहरु दैनिक काम गरिरहेका छन् ?
हामीले कर्मचारी संख्या घटाएका छैनौँ, जतिजना हुनुहुन्छ सबैजना यहाँको स्थायी हुनहुन्छ । यसकारण हामीसँग भएका झन्डै २ सयको हाराहारीमा रहेको संख्या अहिले पनि ठिक छ । यहि किसिमले हामीहरु अगाडि बढिरहेका छौँ । काम गरिरहेका छौँ । अन्य यसबेला कम्पनीलाई जोगाई राख्न र कर्मचारी पालिराख्नु चुनौती हो । हामीले वागमती प्रदेश, प्रदेश १ र २ मा सिमेन्ट पठाउँदै आएका थियौँ । अहिले त्यहाँ सिमेन्ट पठाउन सकेका छैनौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *