उडिसा भ्रमण संस्मरण (२)

लेख

अघिल्लो शृंखलामा भारतको उडिसामा भएको वन श्रमिक सम्बन्धी एक सम्मेलनमा जाँदाको संस्मरण प्रस्तुत गरिएको थियो । यस शृंखलामा भने उडिसामा अवस्थित समुन्द्रमा खेल्दाको रोमाञ्चक अनुभूति, भारतमा सम्मेलन सञ्चानलको प्रक्रिया र मन्दिरमा दर्शन गर्न जाँदा अलमल परेको सन्दर्भहरु उल्लेख गरिएको छ ।
पहिलोपटक समुन्द्रसँग कुस्ती
उडिसाको केन्द्र पुरीमा पुग्नासाथ समुन्द्र देखेका थियौँ । समुन्द्रको किनारामा मानिसहरु भेला हुने, खेल्ने, समुन्द्रमा नै प्रवेश गरेकासमेत देखिसकेका थियौँ । हामी पनि रमाउने सुरुमा थियौँ । नभन्दै हामी पुगेको दोस्रो दिन हामीसँग फुर्सद थियो । त्यो दिन दिउँसो समुन्द्रतर्फ उत्साहका साथ गयौँ । सुमुन्द्री किनारामा कट्टु र पेटीगञ्जी मात्र लाएर छालसँग पौठेजोरी खेल्यौँ । समुन्द्रको छाल किनारातिर आउने हामी समुन्द्रतर्फ जान खोज्ने यो रस्साकस्सी लामै समयसम्म चल्यो ।
मलाई यो भन्दा अगाडि थाइल्यान्डको पतायामा समुन्द्रसँग साक्षात्कार गर्ने मौका मिलेको थियो । तर त्यहाँ उडिसा पुरीको जस्तो छाल आउँदैनथ्यो । पतायामा त नाउहरु थिए । त्यसमा चढेर घुमेका थियौँ । समुन्द्रको पानीमाथि नै ३÷४ तले घरसहितको रेस्टुरेन्ट तथा होटलहरु थिए तर यहाँ त्यस्तो कुनै सम्भावना थिएन । किनकि यहाँ समुन्द छाल आठ दश फिटसम्मको हुने गर्दथ्यो । किनारमा समेत राम्रो छाल आउने जाने गरिरहन्थ्यो ।
समुन्द्र तटमा सैयौँका संख्याका मान्छेहरु समुन्द्री छालसँग कुस्ती खेल्न बसेका थिए । हामी चार जना पनि त्यही मिसियौँ । उडिसा पुरीको समुन्द्री छाललाई विश्वमा नै अद्वितीय मानिन्छ भनेको पनि सुनियो ।
रहर पुग्ने गरी समुन्द्रसँग खेली फोटो पनि खिचियो । समुन्द्रको छाल किनारतर्फ आउने अनी फर्कने गर्दोरहेछ । आउँदा हामीलाई किनारतर्फ फाल्न खोज्ने अनी फेरि छाल फर्केर जाँदा हामीलाई पनि तान्ने फेरि समुन्द्रको अर्को छालले हामीलाई बाहिरतिर नै हुत्याउने हुँदोरहेछ । बाँसको लिङ्गे पिङ खेलेजस्तो । फाल्ने तान्ने तर उही ठाउँमा पुग्नेजस्तो । समुन्द्र छालले तान्ने र समुन्द्रतिर मिलाउने सम्भावना हुँदो रहेनछ । तर ८÷१० फिट अग्लो छाल आउँदा भने म साह्रै आत्तिएँ । एकपटक त म पानीभित्र पुरिएर केही सेकेन्ड हराएँ । नाक मुख भित्रसमेत पानी र बालुवा छि¥यो । मेरो त होस हवास् नै उड्यो ।
समुन्द्रको पानी नुनिलो हुन्छ भनेको त सुनेको थिएँ तर उडिसाको समुन्द्रमा स्वाद चाख्न बाध्यता नै भयो । मुखभित्र पानी पसिगयो । जिउभरी बालुवा नै बालुवा भयो । नाक मुखबाट पनि बालुका छि¥यो । अर्को एकपटक ठूलो छालले हुत्याउन थालेपछि नजिकै रहेका दीपकजीलाई अँगालो मार्न पुगेको थिएँ । सरोजजी र दीपकजीसँग हात समातेर छालसँग प्रतिस्पर्धा गर्ने प्रयास गरेँ । तर मेरो के जोड चल्थ्यो र ! अन्ततः मेरो हार सुनिश्चित नै थियो ।
धेरै पल्ट पानीभित्र हराउँदै छालले फाल्दा मुन्टिँदै पटक– पटक आत्तिएँ पनि । तैपनि रमाइलो अनुभूति हुन्थ्यो । यस्तो अनुभूति अरु साथीहरुको पनि थियो । विनाजी त ४ चोटी समुन्द्रभित्र हराएँ भन्दै हुनुहुन्थ्यो । समुन्द्री छालले घोप्ट्याउँदा सरोजजीको त घुँडामा सानो चोट नै लाग्न पुगेको थियो । त्यो चोटले भारत रहँदासम्म सामान्य असर पु¥याइरहेको थियो । हामीमध्ये दीपकजी समुन्द्रको अलि लामो दूरीसम्मको यात्रा गर्नु भयो तर त्यत्ति परसम्म पुग्ने मेरो आँट नै भएन । करिब ४ घन्टा जति समुन्द्रसँग रमाइलो लुकामारी गरियो । समुन्द्रसँग खेल्दा रमाइलो भए पनि पछि ज्यान दुखाइको अनुभूति पछि केही दिनसम्म रहेको थियो ।
हाम्रो बसाइँको निम्ति आयोजकले समुन्द्रको किनारमा व्यवस्था गरिदिएका थिए । केनरा बैंकका कर्मचारी निम्ति बनेको विश्राम घरमा हामी पाहुना भएका थियौँ । हाम्रो कोठावाट नै समुन्द्रको छाललगायत गतिविधिहरु रमाइलोको साथ देखिन्थ्यो । यसै बीचमा फेकोफनको तत्कालिन अध्यक्ष अप्सरा चापागाइँ पनि पुग्नु भयो । उहाँ र हामी एकै भवनमा बसेका थियौँ । बेलुकातिर समुन्द्री किनारतिर घुम्दाको आनन्द शब्दमा वर्णन गर्न नै सकिदैन ।
भाषणको बीचमा नारा
सम्मेलनको आयोजक ‘अखिल भारतीय वनजन श्रमिक युनियन’को पहिलो सम्मेलन थियो । तीनदिने सम्मेलनमा अतिथिका रुपमा नेपालबाट ३ वटा संस्थाको प्रतिनिधित्व रहेको थियो । त्यसमध्ये एक फेकोफनको तत्कालिन अध्यक्ष अप्सरा चापागाई हुनुहुन्थ्यो भने कफ्सन नेपालबाट हामी चार थियौँ । डानर नेपालका अध्यक्ष सुनिल परियारको प्रतिनिधित्व रहेको थियो । आयोजक संस्था पहिला मञ्चको रुपमा काम गर्दै आएकोमा अहिले टे«ड युनियनअन्तर्गत दर्ता भएको रहेछ । भारतका प्रायः सबै प्रदेशबाट प्रतिनिधित्व भएको थियो । हाम्रो कञ्चनपुर तथा कैलालीका आसपास बसोबास गर्ने वनमा आश्रित उपभोक्ताहरु पनि पुगेका थिए । उनीहरुसँग चिनजान तथा बात्चित भयो ।
सम्मेलन सञ्चालन भइरहँदा बेलामा बेलामा, अतिथिको आशन ग्रहणको समयमा र भाषणको अन्त्यमा समेत इन्कलाब जिन्दावाद, वन अधिकार जिन्दावाद भन्ने नारा उत्साहका साथ लगाउँदा रहेछन् । यस्ता नाराले सहभागीको निन्द्रा भगाउने अनि उत्साहित बनाइरहँदो रहेछ । त्यसैगरी बेलामा बेलामा वन विभाग मुद्र्धावाद पनि भन्दा रहेछन् । भारतमा वनमा आश्रित वर्गका लागि वन विभागअन्तर्गतका संरचनाले साह्रै दुःख दिएर होला त्यस्ता नारा पनि लगाएको सुनियो । हाम्रो नेपालमा त्यस्तो हुँदैन । वन विभागसँग बेला बेलामा सवालगत फरकपन आएको छ तर वन विभाग मुद्र्धावाद भन्ने कुरा अहिलेसम्म उठेको छैन । उठ्दैन पनि होला । कोही व्यक्ति खराब हुन सक्छ तर वन विभागको भूमिका वन क्षेत्रमा महत्वपूर्ण हुन्छ ।
यस सम्मेलनमा ३ सयभन्दा बढी वनमा आश्रित वर्गका प्रतिनिधिहरु तथा अभियानकर्मीहरुको सहभागिता हुने कार्यक्रम थियो । यसबाट फोरमलाई युनियनको रुपमा स्थापित गर्ने विधानहरु पारित गर्ने, नयाँ समिति गठन गर्नेसमेत कार्यक्रमहरु तय गरिएको थियो । हामीले पनि कफ्सनका तर्फबाट सम्मेलनका सफलताको शुभकामनाहरु दियौँ । त्यसैगरी, नेपालको वन अभियानका सन्दर्भहरु नेपाल भारत र दक्षिण एसियामा वन क्षेत्रमा सञ्चालन गर्नु पर्ने वन अभियानको बारेमा आफ्ना धारणाहरु लिखित रुपमा समेत दियौँ । त्यसैगरी कफ्सनले आयोजना गर्न लागेको वन सहजकर्ता महासम्मेलनमा समेत युनियनलाई आमन्त्रण ग¥यौँ । उहाँहरु आउने कुरासमेत भयो त्यो समयमा सामूहिक अभियानका बारेमा थप चर्चा गर्ने सल्लाह भयो ।
बिनाजी मन्दिरमा हराउँदा झन्डै रेल छुटेको
पुरीबाट कोलकाता फर्कनका लागि टिकट पाउन मुस्किल थियो । त्यसैले सरोजजी र दीपकजीले टिकटको प्रबन्धमा लाग्नु भयो । रेलको टिकट पाइयो तर कार्यक्रम नसकिँदै । हामीले आयोजकसँग सल्लाह गरी कार्यक्रमको समापनभन्दा १ दिन अगाडि नै हिँड्नु पर्ने बाध्यता आइलाग्यो । कोलकाताबाट पुरी जाँदा पाएको दुःख सम्झेर पनि हाम्रो तालिकाभन्दा अगाडि फर्कन हामी राजी भयौँ ।
हामी पुरी पुगेको दोस्रो दिन बिहान दर्शन गर्न जगन्नाथ धाम गएका थियौँ । त्यो बेलामा बिनाजी अर्को एकपटक दर्शन गर्न आउने छु भनी भाकल गर्नु भएको रहेछ । हाम्रो तालिकाभन्दा पहिला नै फर्कनु पर्ने भएकाले बिनाजीको त्यो भाकल संकट पर्ने भयो । हामीससँग समय थोरै मात्र थियो । त्यसैले सरोजजी र दीपकजी झोलाहरु लिएर रेल प्लेटफर्मतिर जाने अनी म र बिनाजी चाहिँ मन्दिरमा भाकल पूरा गर्न जाने सल्लाह भयो ।
जगन्नाथ मन्दिरमा जुत्ता चप्पल अनी झोलाहरु केही पनि लान नपाइने हुनाले म मन्दिर बाहिर बसेँ । बिनाजी भित्र जानु भयो । मन्दिरको कम्पाउन्ड फराकिलो थियो । कम्पाउन्डमा छिर्नका लागि ४ ढोका थिए । कुनै एक ढोकाबाट बिनाजी मन्दिरको कम्पाउन्डभित्र छिर्नु भयो । त्यो भित्र गएपछि पनि विशाल मन्दिर त अर्कै थियो । मन्दिर रंगरोगन र मर्मतको काम भइरहेको थियो ।
मन्दिरभित्र नपसी बाहिरवाटै नमस्कार गरी ५ मिनेटमा नै फर्किने सल्लाह भएको थियो । तर बिनाजी मन्दिरको कम्पाउन्डभित्र पसेको १५ मिनेटमा पनि बाहिर आउनु भएन । अझ केही मिनेट कुरेँ । मसँग अरु विकल्प पनि केही थिएन । मलाई शंका लाग्यो, बिनाजी अलमलिनु भयो भनेर । तर मैले के गर्न सक्थ्यथेँ र । त्यहाँबाट अन्त खोज्न जाउँ भने पनि फेरि त्यहीँ आएर मलाइ नभेट्दा झन् आत्तिनु होला भन्ने लाग्यो । रेल प्लेटफर्म पुग्ने समय घर्किँदैै थियो ।
म छटपटीमा परेँ । फोन पनि भित्र लान नपाइने भएकाले बिनाजीसँग सम्पर्क हुन सक्ने कुरै भएन । अब रेल छुट्ने भयो भन्ने लाग्यो । बिनाजीलाई छाडेर हिँड्ने कुरै भएन । बिनाजीसँग पैसा पनि थिएन ।
करिब १ घन्टापछि मन्दिरको माइकबाट ‘भोला दाइ, म हराएँ, अस्ति आएको ठाउँमा छु, मलाई लिन आउनु होला’ भन्ने आवाज सुनेँ । यो बिनाजीको स्वर ठम्याउन मलाई कुनै असजिलो हुने कुरै भएन । म त्यही आवाजको पर्खाइमा छटपटिएर बसेको थिएँ । तर, अस्तिको ठाउँ मैले पनि बिर्सिसकेको थिएँ । म हातमा बिनाजीको चप्पल र झोला बोकी यो आवाज कहाँवाट आएको भनी सोध्दै दौडेँ । धेरै टाढा थिएन सायद बढीमा २ सय मिटर मात्र थियो होला । म छिट्टै पुगेँ ।
बिनाजी रातोपिरो अनुहार पारेर उभिनु भएको रहेछ । मैले बिनाजी भन्नासाथ आँसु झार्नु भयो । सायद उहाँलाई आफू छुटेको वा हराएकोमा अत्यास मानिरहनु भएको थियो होला । अरु कुरा केही नगरी हामी हतार हतार रिक्सा लिएर रेल प्लेटफर्मतिर दौडियौँ । बिनाजीले कम्तीमा माइकमा गएर बोलेको हुनाले समयमा नै भेट हुन सक्यो । नत्र हाम्रो रेल पक्कै छुट्ने थियो । क्रमशः

Leave a Reply

Your email address will not be published. Required fields are marked *