कोरोना महामारीबीचको दसैँ र जनप्रतिनिधिको भत्ता

लेख

कोरोना महामारीको बीचमा यो वर्षको हिन्दूको सबैभन्दा ठूलो चाड दसैँ पनि सम्पन्न भएको छ । दसैँको यो अवसरमा अघिपछि जस्तै राजनीतिक क्षेत्र आमजनताको चर्को आलोचनामा परेको छ । सांसदलगायत जनप्रतिनिधिले दसैँ भत्ता भनेर एक महिनाबापतको पारिश्रमिक लिएपछि आमजनताबाट समेत उनीहरुको चर्को आलोचना भएको हो । कोरोना महामारीको कारण थिलथिलो भएको अर्थतन्त्रलाई जोगाउने प्रयास गर्नु पर्ने ठाउँमा उल्टो कर्मचारीले जस्तो दसैँ खर्च भनेर भत्ता लिएकोमा चौतर्फी आलोचना भएपछि प्रदेश तथा संघीय संसदका कतिपय सांसदले उक्त भत्ता फिर्ता गर्ने घोषणा गरेका छन् ।
यस सम्बन्धमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले भने संस्थागत रुपमा नै निर्णय गरेर दसैँ भत्ताबापतको रकम कोरोना संक्रमणको उपचारमा खर्च गर्ने गरी फिर्ता गर्ने निर्णय गरेको छ । तर सत्तारुढ नेकपाले भने संस्थागत रुपमा यस सम्बन्धमा केही निर्णय गरेको छैन । सांसदले दसैँ खर्चबापत लिएको भत्ताको सम्बन्धमा यसरी चर्को आलोचना भइरहँदा आर्थिक वर्ष ०७७÷७८ को वार्षिक बजेट पेस गर्दा तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले कोरोना महामारीको कारण अर्थतन्त्रमा धक्का लागेको उल्लेख गर्दै यो आर्थिक वर्षमा कुनै प्रकारको भत्ताको व्यवस्था नभएको उल्लेख गरेका थिए ।
अर्थमन्त्रीले वार्षिक बजेटमा नै समावेश नगरेको अवस्थामा संघीय संसद सचिवालय र प्रेदश सचिवालयहरुले आफ्ना सांसदलाई दसैँ खर्चबापत एक महिना बराबरको भत्ता दिने निर्णय कसरी गरे भन्ने प्रश्न अहिले उठेको छ भने कोरोना संक्रमणको यो भयावह समयमा धार्मिक चाडबाड नै नमान्ने तथा दसैँ मान्ने व्यक्ति कम्युनिस्ट होइन भन्ने टिप्पणी गर्ने सांसदले समेत दसैँ भत्ताबापतको रकम लिएर आफ्नो राजनीतिक मान्यता नै ढोँग र आडम्बर भएको प्रष्ट पारेका छन् ।
कतिपय सांसदले सदासय राखेर दसैँ खर्चबापतको रकम फिर्ता गरेर अलिकति भए पनि मुलुकप्रतिको आफ्नो जिम्मेवारी पूरा गरेका छन् । यसैगरी आमनेपालीले पनि वर्षमा एकपटक आउने यो वर्षको दसैँलाई औपचारिक रुपमा मात्र मनाएर कोरोना महामारीलाई केही हदसम्म नियन्त्रण गर्ने काम गरेका छन् । कोरोना महामारीकै त्रासकै कारणले गर्दा भए पनि यो वर्षको दसैँमा कुनै प्रकारको तडकभडक देखिएन । यसलाई आमजनताले महसुस गरेको जिम्मेवारीको रुपमा समेत लिनु पर्ने हुन्छ । तर दसैँ सकिएसँगै मुलुकमा ठण्डी बढ्ने क्रम सुरु भएसँगै ठण्डीमा कोरोनाको प्रकोप बढ्ने स्वास्थ विशेषज्ञहरुको चेतावनीले नेपाली जनतालाई थप चिन्तामा पु¥याएको छ । र, अब नेपाली जनताले यो महामारीको विरुद्ध लड्नका लागि थप सतर्कता अपनाउनु पर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *