शैक्षिक सत्र र नबनोस अलपत्र

लेख

कोरोना प्रकोपको फैलावटको तीव्रताको प्रवृत्ति हेर्दा संक्रमण अन्त्य हुने समय आँकलन गर्न कठिन छ । यस्तो अन्योलतामा शैक्षिक सत्र ०७७÷७८ लाई अलपत्र हुनबाट कसरी जोगाउने ? कतिन्जेलसम्म विद्यार्थीलाई विद्यालय जानबाट रोक्ने ? सामाजिक, आर्थिक र भौगोलिक विविधतामा हुर्केका विद्यार्थीलाई वैकल्पिक शिक्षण विधिबाट कसरी सहज पठनपाठन गर्न सकिएला ? वैकल्पिक शिक्षण पद्दतिलाई प्रभावकारी बनाउन सरकार, विद्यालय, शिक्षक, अभिभावक, विद्यार्थीको के कस्तो भूमिका हुनु पर्ला ? कस्ता मूल्यांकनका विधिहरु प्रभावकारी हुन सक्लान् ? संघीय सरकारले सञ्चालन गरेका वैकल्पिक शिक्षण कार्यक्रममा स्थानीय सरकारको सक्रियता र स्वामित्व कसरी बढाउन सकिएला ? संविधानअनुसार विद्यालय शिक्षाको समग्र व्यवस्थापनको जिम्मा स्थानीय तहलाई दिए तापनि उदासिनता किन देखिएको छ ? यी र यस्तै जिज्ञासाको सेरोफेरोमा वैकल्पिक शिक्षणको माध्यमबाट शैक्षिक सत्रलाई अलपत्र हुनबाट जोगाउन सकिन्छ ।
शैक्षिक सत्र सुरु हुने समय झन्डै ६ महिना भड्किइसकेको छ । शैक्षिक सत्रलाई कसरी नियमितता दिने भनेर सरकार र सरोकार पक्ष तथा शिक्षाविद्हरु बीच चर्चा चुल्लिएको अवस्था छ । कोरोना कहर चाँडै निमिट्याह्न हुने छाँट देखिँदैन । बालबालिका सँदाझैँ विद्यालयमा गएर पढ्ने वातावरण चाँडै नबन्ने निश्चित छ । अहिलेको विषम् परिस्थितिमा शैक्षिकसत्र बैशाखबाटै सुरु हुनुपर्छ भन्ने तर्क सान्दर्भिक हुन सक्दैन । विद्यालयतहका विद्यार्थीहरुको पढाइलाई कसरी निरन्तरता दिने चुनौतिको विषय बनेको छ । अहिले विद्यालय खुले पनि अभिभावकले ढुक्क भएर केटाकेटी पढ्न पठाउने छाँट देखिँदैन । कोरोना प्रतिरोधका स्वास्थ्य नियम विद्यालय र विद्यार्थीले पालना गर्ने अवस्था देखिँदैन । विश्वका विकसित भनिएका देशहरु अमेरिका, डेनमार्क, कोरिया, जापान, बेलायतलगायत युरोपेली देशहरुमा आंशिक रुपमा विद्यालय खुले तापनि नियमितता छैन । त्यहाँ पालना गरिएका स्वास्थ्य नियम तथा सावधानीहरु हाम्रो परिवेशमा कल्पनाभन्दा बाहिरका विषय हुन् । यस अप्ठ्यारो अवस्थामा पढाइको निरन्तरताको वैकल्पिक उपाय अनलाइन र अफलाइन शिक्षण नै हो । विश्वका अन्य देश तथा हाम्रोमा पनि अधिकांश निजी तथा सामुदायक विद्यालयले शिक्षणका विविध विकल्पहरुको अभ्यास सुरु गरेका छन् ।
अहिले सूचना प्रविधिमा आधारित वैकल्पिक शिक्षणलाई प्राथमिकताका साथ अगाडि अघि बढाउन सबैखाले उपाय र अनुभव अबलम्बन गरिनु पर्दछ । देशको विभिन्न सुगम र दुर्गम भौगोलिक क्षेत्रमा छरिएर रहेका विद्यार्थीलाई समेट्ने गरी अनलाइन शिक्षण कसरी संचालन गर्न सकिएला ? चिन्ता र चिन्तन विषय हो । अनलाइन शिक्षाका लागि आवश्यक उपकरण तथा इन्टरनेटको सहज पहुँचको सुनिश्चितता कसरी गर्न सकिएला ? राज्य गम्भीर छलफलबाट व्यवहारिक निष्कर्षमा पुग्नु पर्दछ । त्यस्तै परम्परागत अध्यापनमा अभ्यस्त अधिकांश शिक्षकहरुबाट अनलाइन शिक्षण सहज होला त ? मौजुदा पाठ्यक्रम र पाठ्यवस्तुहरुलाई अनलाइन सुहाउँदो परिमार्जन नगरिकन शिक्षण सिकाइ उद्देश्यअनुरुप सार्थक होला र ? यी र यस्तै चुनौतिहरुको रौँ चिरा विश्लेषणका आधारमा अनलाइन शिक्षाको तर्जुमा गरिनु पर्दछ । सूचना प्रविधिको प्रयोग गरेर अनलाइन प्रकृतिका शिक्षणको व्यवस्थापन सहज नभए पनि असम्भव छैन । शिक्षामा अनलाइन कक्षा, इ–लर्निङ, भर्चुअल कक्षा आदिको उच्चतम् प्रयोग गरी भविष्यमा डिजिटल नेपालमा रुपान्तरण गर्ने अवसरको रुपामा कोरोना महामारीलाई सदुपयोग गर्नु दूरदर्शिता ठहर्छ ।
अनलाइन सिकाइ संचालनका लागि आधारभूत सर्तहरु कम्प्युटर, मोबाइल तथा इन्टरनेटको उपलब्धता र स्तर कस्तो छ ? आमविद्यार्थीमा सहज पहुँच छ कि छैन ? अनलाइन प्रविधिलाई आत्मसात् गर्ने दक्ष जनशक्ति पर्याप्त छ वा छैन ? वस्तुपरक लेखाजोखा गर्न अल्छी गरिनु हुन्न । नेपाल दूरसंचारले भरखरै प्रकाशित गरेको तथ्यांकअनुसार कुल जनसंख्यामध्ये ७१.७६ मा इन्टरनेट पहुँच छ । जसमध्ये तारसहितको सेवा १६.११ ताररहित मोबाइल आदिमा ५४.९० प्रतिशतको पहुँच देखिन्छ । पहुँच भएका घरमध्ये व्यक्तिगत सुविधा भएका ८ प्रतिशत मात्रै छ । त्यसमा पनि सहरमा १२ प्रतिशत र पहाडमा २ प्रतिशत मात्रै छ । युनिसेफको पछिल्लो अध्ययनअनुसार कम्प्युटर र इन्टरनेट सुविधा भएका विद्यार्थी संख्या ८ प्रतिशत, ३७ प्रतिशत बालबालिकाको घरमा टेलिभिजन, ८० प्रतिशतको घरमा मोबाइल फोन र ३० प्रतिशतको घरमा रेडियो रहेको देखिन्छ । दुर्गम तथा सहरी क्षेत्रमा सूचना प्रविधिका सुविधाहरुको विविधता भएकाले अनलाइन कक्षाको योजना पनि सोही अनुसार गरिनु पर्दछ । साथै दक्ष र जाँगरिलो तथा जवाफदेही शिक्षकको अभावमा अनलाइन शिक्षा कागजी घोडा मात्रै नबन्ला भन्न सकिन्न ।
पठनपाठनलाई निरन्तरता दिन चुनौती भएको छ । अनलाइनमा आधारित शिक्षणबाट ग्रामीण भेग र विपन्न वर्गका बालबालिकालाई समेट्न सम्भव छैन । विभिन्न सुविधामा रहेका विद्यार्थीहरुको पढाइलाई निरन्तरता दिन विविध कार्यक्रमहरु अपनाउन सकिन्छ । कोही रेडियोमा, कोही पुस्तक र सहयोगी छापा, कोही अनलाइन र भर्चुअल, कोही घर टोलमा झुन्ड बनाएर तथा थोरै विद्यार्थी भएका विद्यालयहरुमा आलोपालो उपस्थित भएर पठनपाठनलाई नियमितता दिन सकिन्छ ।
आधारभूत तहका विद्यार्थीका लागि उमेरगत शारीरिक, मानसिक विकास तथा चञ्चले स्वभावका कारण अनलाइन शिक्षा खासै प्रभावकारी हुन सक्दैन । त्यसकारण अहिले कतिपय सामुदायिक विद्यालयले टोल शिक्षण विधि अपनाएका छन् । पायक पर्ने घर वा चौतारीमा भए पनि बालबालिकालाई जम्मा गरेर गृहकार्य दिने, जिज्ञासा र समस्या समाधान गर्ने, सानोतिनो प्रोजेक्ट वर्क दिने, अघिल्लो भेटमा दिएको गृहकार्य जाँच्ने, पृष्ठपोषण दिने, सिकाइलाई दैनिक दिनाचर्यासंँग जोड्ने आदि क्रियाकलाप र अभ्यास टोल शिक्षणमा गरिन्छ । यस पद्दतिअनुसार शिक्षकले समयतालिका बनाएर टोल टोलमा गएर आवश्यकता अनुसार विद्यार्थी र अभिभावकसँग प्रत्यक्ष छलफल र अन्तरक्रियात्मक शिक्षण गर्दछन् ।
पाठ्यक्रममा भएका विषयवस्तुलाई गहन विश्लेषण गरी आफैँले अध्ययन गर्ने, शिक्षकसंग सिक्ने तथा महत्वको आधारमा ३० प्रतिशतसम्म कटौति गरेर लागू गर्ने । श्ैक्षिक सामग्रीहरुको निर्माणको पहल पाठ्यक्रम विकास केन्द्र र स्थानीयस्तरमा शिक्षकहरुको परिचालन गरेर बनाउँदा प्रभावकारी हुन्छ । विद्यार्थीको सिकाइ उपलब्धिको मूल्यांकन परम्परागत तीनघन्टे पेपरपेन्सिल परीक्षाको सट्टा खोज र अनुसन्धानमा आधारित गृहकार्यहरुबाट मौलिकता जाँच्ने नीति उपयोगी हुन्छ । वैकल्पिक शिक्षणको प्रभावकारिता शिक्षकको सक्रियता, इच्छाशक्ति र जवाफदेहितामा मात्र सुनिश्चित हुनसक्छ । विद्यालय तहका अभिभावकलाई स्थानीयस्तरमा विद्यालयगतरुपमा वैकल्पिक शिक्षणको महत्व, अभिभावकले निर्वाह गर्नुपर्ने भूमिका बारेमा प्रशिक्षित गर्नुपर्ने हुन्छ । विद्यालय तथा शिक्षकको निरन्तर र सहज सम्पर्कले मात्रै अनलाइन र अफलाइन शिक्षण विधिहरु सार्थक हुन्छ भन्नेतर्फ हेक्का राख्न बिर्सनु हुन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *