समृद्ध नेपाल र सुखी नेपालीको सपना

लेख समाचार

लामो समयसम्म चलेको नेपालको अस्थिर राजनीतिलाई स्थिर बनाउनका निमित्त नेपाली जनताले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई दुई तिहाई बहुमत दिएका थिए । उक्त पार्टीको शीर्ष नेता प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा बनेको नेकपा सरकारले पनि सुरुमै नेपाल राष्ट्रलाई समृद्ध र नेपाली जनतालाई सुखी बनाउने छौँ भनी मीठो सपना बाँडेका थिए । सोझा नेपाली जनताले त्यतिबेला बांगा कम्युनिस्ट नेताहरुले बाँडेको रमाइलो र मीठो सपनालाई साँचो नै हुन्छ भन्ने मानेका थिए । समय बित्दै गए पनि नेकपा सरकारले सुरुमै देखाएको उक्त सपनाहरु पूरा गर्ने कुनै छाँटकाँट नै ल्याएन । अगुल्टोले हानेको कुकुर बिजुली चम्केको देखेपछि तर्सिन्छ भनेझैँ नेपाली जनता पनि झस्किए । वर्षौँदेखि राजनीतिक दलहरुले अनेक प्रकारको सरकारहरु बनाएरै नेपाली जनतालाई वाक्कदिक्क बनाएका थिए । त्यसैले गत आमचुनावमा त्यसको समाधान स्वरुप नेकपा एक्लैले स्वतन्त्र भएर सरकार बनाउन र चलाउन सक्ने गरी भोट हालेका थिए । सत्ता पाउन साथै नेकपाले पनि नेपालको विकास, समृद्धि र सुखी नेपाली जनताका लागि प्रतिबद्धता जनाउँदै नेपाली जनताको मन जित्न कुनै कसर बाँकी राखेन । नेकपा सरकारले नेपालमा उच्च आर्थिक अनुशासन कायम गरी सदाचारितालाई बढवा दिने अपेक्षा नेपाली जनताले राखेको थियो । लामो समयदेखि नेपालमा चल्दै आएको कुशासनको पनि अन्त्य गर्ने अपेक्षा नेपाली जनतालाई थियो । तर त्यस्तो केहि भएन, उल्टै नेकपा सरकारले नेपालमा भ्रष्टाचार र अपराध बढाउँदै लगी अराजकता र दण्डहस्नताको परकाष्ठमै मुलुकलाई धकेलिदियो । भ्रष्टाचार निवारण गर्नका लागि बनाएको संवैधानिक निकाय अख्तियारलाई पंगु नै बनाएर छाड्यो भने नेपालको न्यायपालिका र नेपाल प्रहरीमाथि अनेक प्रकारको राजनीतिक हस्तक्षेप गरी नेपालमा दण्डहीनता झन् बढाएका छन् । श्रीमतीको हत्या गरी जेल बसेका पूर्वडिआइजी रन्जन कोइरालादेखि लिएर आफ्नै भक्त चेलीलाई बलात्कार गर्ने शिद्धबाबालाई समेत नेपालको सर्वोच्च अदालत र मातहतका अदालतहरुले सफाइ दिएका छन् । अब नेपालको न्यायपालिका र नेपाल प्रहरीदेखि अपराधी होइन, नेपाली जनता नै डराउनु पर्ने भएको छ । न्यायपालिकामा न्यायाधीशहरुको नियुक्ती गर्दा राजनीतिक भागबन्डा मिलाउने दलहरुको अभ्यासले गर्दा नै नेपालका न्यायपालिका धेरै धेरै बद्नाम भएको छ । दलहरुको कोटामा नियुक्त न्यायाधीशहरुले पेसामा भन्दा पैसामा ध्यान दिने गरेको हुँदा उहाँहरुको न्याय कार्य सम्पादन कानुनअनुसार हुँदैन त्यसैले बारम्बार विवादास्पद् फैसालाहरु गरी राष्ट्रलाई लज्जित तुल्याएका छन् । नेपाल प्रहरीमा पनि सरुवा र बढुवा गर्दा उनीहरुको योग्यता नहेरी राजनीतिक भक्ति र नेताहरुप्रति बफादारीता छ कि छैन भनी हेर्ने गरेकाले योग्य प्रहरी अधिकृतहरु स्वतः पाखा लाग्ने र अयोग्यहरु राम्रो ठाउँमा सरुवा र उच्चपदमा बढुवा पाउने भएको हुँदा नेपालमा दण्डहीर्ने परिस्थिति उत्पन्न भएको छ । नेकपा सरकार स्थिर होस् र काम गर्न सकोस् भन्ने उद्देश्यले नेपाली जनताले दुईतिहाई बहुमत दिएकोमा त्यसको सिधै दुरुपयोग भएको छ । नेपाली जनताको हित हुने काम गर्नको साटो नेकपा सरकारले नाफाखोर दलाल व्यापारी र विदेशीको हितमा काम गर्दै आएको छ भने नेपाल राष्ट्रलाई समृद्ध बनाउने र नेपाली जनतालाई सुखी बनाउने राष्ट्र विकासको कार्यहरुमा कुनै ध्यान दिएको छैन । नेकपा सरकारले नेपाली जनताको हितमा कुनै ठोस काम गर्न सकेको छैन भने त्यस्तो काम गर्न सक्नेहरुलाई खोजतलास गरी काम दिन पनि सकेको छैन । नेपाली जनताले चाहेकोजस्तो सक्रियता नेकपा सरकारले देखाउन नसक्दा नेपाली जनता निरास भएका छन् । बुढो गोरुझैँ देखिने नेकपा सरकारले एकातिर भ्रष्टाचार र अपराधलाई रोक्न वा कम गर्न सकेको छैन भने अर्कोतिर निजामति कर्मचारीहरुलाई कर्तव्यनिष्ठ, सदाचारी र अनुशासित तुल्याउन सकेको छैन । नेकपा सरकार आफ्नो डम्फू आफैँ बजाउँदै राम्रो काम गरेका छौँ भन्दै सुनाउँदै प्रचार गरी हिँडेका छन् । राज्य सत्तामा बसेको दलले जनताको सुन्ने र सोही अनुसार चल्न र राष्ट्रलाई चलाउने प्रयास गर्दा राम्रो हुन्छ तर नेकपा सरकारले जनभावनाको कदर गरेको छैन । पाँच वषका लागि नेकपा सरकारले चुनाव जितेको हो भन्दैमा जनभावनाको कदर गर्न सकेन भने जनविद्रोहको हावाहुरी चल्दा सजिलै थेग्न थाम्न सक्ने छैन । नेकपा सरकारले पाँच वर्ष राम्रोसित सत्ता चलाउन दिएन भन्न मिल्दैन किनकि जनताले राम्रो कामको अपेक्षा गरेको हुन्छ त्यसको ठिक उल्टो बाटोमा सरकार हिँडेमा जनविरोध सिर्जना हुन्छ । अहिले नेकपा सरकारले ठोस कामै नगरी आफ्नो तोकिएको कार्यकालको तीन वर्ष बिताइसकेको छ भने बाँकी दुई वर्षका लागि काम गर्ने कुनै ठोस कार्य योजना बनाएको छैन । हचुवाको विकास परियोजनाहरु बनाएर राज्यको अनुत्पादक खर्च बढाएको छ भने तोकिएको समय र लगानीमा राज्यले बनाएका परियोजनाहरु पूरा नहुँदा निष्क्रिय लगानीको बोझ धेरै बढेको छ । ठूलो लगानीमा भारतबाट किनेर ल्याएको रेललाई समेत तोकिएको समयमा चलाउन नसक्दा अनुत्पादक भएर बसेको छ भने रेलका पार्टपुर्जाहरु चोरी भएका छन् । नेकपा सरकारलाई यस्ता लापरबाहीपूर्ण कामहरुले झनै बद्नाम तुल्याएको छ र आगामी आमचुनावमा उक्त पार्टीले यसको मूल्य चुकाउनु पर्नेछ । नेकपा सरकारले परियोजना तहका निर्णयहरु पनि मन्त्रिपरिषद्बाट गराएर नेपालमा भ्रष्टाचार बढाएको छ भने भ्रष्टाचारीहरु र अपराधीहरुलाई कानुनी कारबाही गर्नका लागि बाधा हालेको छ । यसरी राज्य सत्ता चलाउने दलले अख्तियार र न्यायपालिकालाई पंगु बनाएको हुँदा नै नेपालमा अराजकता र दण्डहीनता बढेको हो । नेकपा सरकारको यस्ता गैरकानुनी धन्दाहरु वा गतिविधिहरुका लागि उसलाई नै जवाफदेही बनाउनु पर्छ र सोकाम प्रतिपक्ष दलहरुले नगरेमा नेपाली जनताले उचित समयमा त्यसो गर्नेछन् । नेकपा सरकारले पुरानै पुँजीवादी नीतिहरु बोकेर हिँडेको छ भने नेपाली जनतालाई कोरोना महामारीमा समेत पीडित तुल्याएका छन् । नेकपा सरकारको काम विदेशी बैंकहरुबाट ऋण लिएर नेपाली जनताको थाप्लोमा ऋणको भारी बढाउने, सरकारी कर बढाउने र महँगी बढाउनेबाहेक अन्य देखिएको छैन । नेकपा सरकार कागझैँ भएको देखिन्छ जहिले पनि वैदेशिक र रोजगारी, पर्यटन विकास, आयात व्यापार बढाउने भन्दै हिँडेका छन् । नेपाली जनताको हित हुने कुनै ठोस काम अहिलेसम्म केही गर्न सकेको छैन त्यसैले नेपाली जनता नेकपा सरकारदेखि निरास भएर नेपालमा सरकारै छैन भन्दै हिँड्न थालेका छन् । नेकपा सरकारले नेपाली जनतालाई आडभरोसा दिलाउन नसकेको यो नै सबैभन्दा ठूलो प्रमाण हो । नेकपा सरकारको कर्महीनताले गर्दा यतिबेला नेपाल राष्ट्रलाई नै गतिहीनता र अन्योलताको अवस्थाले गाँजेको छ भने नेकपा सरकारले राज्यको तीनै अंगलाई गतिशील वा चलायमान बनाउन सकेको छैन । नेपालमा भ्रष्टाचार र अपराध मात्रै चलायमान देखिन्छ भने नेकपा सरकार त्यसको ढाकछोप गर्दै हिँडेकोझैँ अनुभव नेपाली जनताले गर्दै छन् । पूरै नेपालभर अहिले अन्योलता र हतोउत्साह छाएको हुँदा नेपाली जनता निरास भएका छन् । धेरै कमजोर तप्काका नेपाली जनता आत्महत्य गर्न बाध्य भएका छन् । गत छ महिनाभित्र नै लगभग ५ हजार नेपाली जनता आत्महत्याको सिकार भएका छन् जसको तुलनामा कोरोनाबाट मर्नेहरुको संख्या धेरै गुणाले कम रहेको छ । यदि नेकपा सरकारले प्रतिज्ञा गरेकोजस्तो नेपाललाई समृद्ध बनाउन सकेको भए नेपाली जनता पक्कै पनि सुखी बन्ने थिए तर अहिले उल्टै भएको छ । यतिबेला न नेपाल राष्ट्र समृद्ध बन्न सकेको छ न नेपाली जनता सुखी भएका छन् । नेपाली जनता सबै निरास, उत्साहहिन र दुःखी भएका छन् भन्ने कुरा आत्महत्या गर्ने नेपालीको संख्याबाट नै पुष्टी भइसकेको छ । नेकपा सरकारले मुठीभरका केही नेपालीहरुलाई असंख्या धनी बनाउने काम गरेको छ भने बाँकी सबैलाई झन् गरिब बनाएर रुवाएका छन् । नेपाली जनतालाई आफैँले मन पराएर चुनावमा भोट हाली जिताएको सरकारले यस्तो दुरअवस्थामा झार्ला भनेर कुनै कोणबाट पनि शंका थिएन तर त्यो आज चन्द्र र सूर्यजस्तै सत्य र प्रष्ट भएको अवस्थामा नेपाल पुगेको छ । प्रधानमन्त्री ओलीको नेतृत्वमा बनेको नेकपा सरकारलाई कामै गर्न दिएन भन्ने गुनासो सुनिन्छ । त्यस्तो नहोस् भनेर नै नेपाली जनताले नेकपालाई दुई तिहाई बहुमत दिएको हो । नेकपा सरकारलाई राम्रो काम गर्नका लागि कतैबाट पनि बाधा भएको छैन । विपक्षी दल नेपाली कांग्रेस भागबन्डा मिलेको हुँदा चुपै बसेका छन् भने अन्य दलहरुसित सरकारको काममा नै बाधा पुग्ने गरी विरोध गर्न सक्ने हैसियत छैन । नेकपा सरकारलाई सुधारको काम गर्नका लागि मातहतका निजामति कर्मचारीहरुले मात्रै बाधा हालेको देखिन्छ भने विकासको काम गर्नका लागि आफ्नै भ्रष्टाचारी नेताहरु र दलाल राजनीतिक कार्यकर्ताले नै बाधा हालेका छन् । तसर्थ नेकपा सरकारलाई कामै गर्न दिएन भन्ने कथन सर्बथा झुटो हो र सत्यरुपमा बोल्दा नेकपा सरकारले कामै गर्न नसको हो । नेपालले सन् २०१५ मा नै अल्पविकसित मुलुकबाट विकासशील मुलुक बन्नका लागि आवश्यक तीन सूचकांकमध्ये दुई सूचकांक पूरा गरेकाले त्यतिबेला नै नेपाल विकाससिल मुलुक बन्नका लागि योग्य भएको थियो । तत्कालिन नेपाल सरकारले तयारी पूरा नभएको भन्दै अल्पविकसित मुलुकमा नै नेपाललाई राख्न चिठी लेखी पठाएको हुँदा हालसम्म पनि नेपाल अल्पविकसित मुलुकमा नै कायम रहेको छ । नेकपाको बलियो सरकार सत्तामा आएको तीन वर्ष पुग्दा पनि नेपाललाई विकाससिल मुलुक बनाउनेतिर कुनै ध्यान दिएन त्यसैले योग्यता पुगेर पनि गत ५ वर्षदेखि हाम्रो राष्ट्र नेपाल अल्पविकसित मुलुकमा नै अल्झेर रहेको छ । नेपालको आम्दानीको सूचकांक मात्रै नपुगेको हो त्यसले नेपाललाई विकासिल मुलुक बन्न कुनै बाधा गरेको छैन किनकि तीनमध्ये कुनै दुई सूचकांकहरु पूरा गरे राष्ट्रको योग्यता पुग्छ । यस्तै कुराहरुले नेपाललाई समृद्ध बन्नबाट रोकेको छ भने नेपाली जनतालाई सुखी हुन दिएको छैन र झुटो सपना बाँड्नेहरु भने झन्झन समृद्ध र सुखी हुँदै गएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *