समाचारको ‘तिमी’ सम्बोधनप्रति असन्तुष्टि

राजनीति

काठमाडौं । भाषण भनेपछि सबैलाई निद्रा नै लाग्छ । तर, देशका प्रधानमन्त्री केपी ओली जब भाषण सुरु गर्दछन्, सबैको ध्यान उनीतिरै हुन्छ । उखान र टुक्का जोडेर आफ्नो विपक्षलाई ठहरै बनाउन सिपालु ओलीलाई अहिले उखानेश्वर पनि भन्न भ्याइसकेका छन्, केहिले । उनी जब मञ्चमा पुग्छन् सबैलाई कौतुहल हुन्छ, अब के बोल्छन् भनेर । प्रसंग रहेको छ, ८ माघको, आफूहरू पेरिसडाँडामा जस्तो कालो झनडा फहराउने नभएको भन्दै व्यंग्य गरे ।
आफू पक्षीय प्रेस संगठन नेपालको भेलालाई काठमाडौंमा सम्बोधन गर्दै ओलीले आफूसँग आक्रोश, आवेग र प्रतिशोध केही नभएको बताएका छन् । ‘हामी आक्रोश, आवेग, प्रतिशोधमा छैनौँ । हामी रातो झन्डा फहराउने हो, पेरिसडाँडामा जस्तो कालोझन्डा फहराउने होइनौँ,’ ओलीले भने, ‘हामी सडकमा रातो झन्डा बोक्ने हौँ, कालोझन्डा बोक्ने होइनौँ । हामी रातो, उज्यालो भविष्यतिर छौँ, हामी कालो, अँध्यारो गन्तव्यतिर छैनौँ । हामी गन्तव्यमा स्पष्ट छौँ ।’ मान्छेको अन्तिम गन्तव्य सुख भएकाले सरकारले सुखी नेपाली समृद्ध नेपालको लक्ष्य लिएको प्रधानमन्त्री ओलीले बताएका छन् । लोकतान्त्रिक विधिलाई सही दिशामा लैजाने उनको भनाइ छ । ‘हामीले जिम्मेवारीपूर्वक राजनीतिक लडाइँ जारी राखेका छौँ, भयरहित वातावरणमा सुखी नेपाली समृद्ध नेपालको यात्रामा अघि बढिरहेका छौँ,’ उनले भने । त्यस्तै, पत्रकारहरुले आफ्नो क्षमताको प्रयोग सही ढंगले गर्नुपर्नेमा ओलीले जोड दिए ।
प्रधानमन्त्री ओलीले देशको ठूलो समस्या पीत पत्रकारिता भएको बताएका छन् । सञ्चार माध्यममा प्रकाशित÷ प्रशारित हुने सामग्रीप्रति असन्तुष्ट जनाउँदै उनले सञ्चार माध्यमले झुटो छाप्ने÷ प्रशारण गर्ने गरेको बताए । ‘अहिले देशको ठूलो समस्या पीत पत्रकारिता पनि हो । महात्मा गान्धीका तीन बाँदरजस्तै छन्, केही पत्रिका र सञ्चार माध्यमहरु । राम्रो कुरा देख्नुपर्छ भने बरु आँखा छोप्छु । राम्रो कुरा सुन्नुपर्छ भने बरु कान थुन्छु । राम्रो कुरा बोल्नुपर्छ भने बरु मुख थुन्छु । तर सुन्दिनँ, हेर्दिनँ र बोल्दिनँ भन्ने केही छन् । अनि तिनले झुटो छाप्छन्, गलत छाप्छन् र जनतालाई दिग्भ्रमित पार्न,’ बिहीबार काठमाडौंमा आयोजित आफू पक्षीय प्रेस संगठनको भेलामा उनले भने । उनले अहिले सञ्चार माध्यमले प्रशारण÷ प्रकाशन गरिरहेका सामग्री देशको हितमा नभएको बताए । ‘यो काम राष्ट्रको राष्ट्रको हितको पक्षमा छँदै छैन । कुनै हालतमा छैन र हुनै सक्दैन यस्तो काम । तर कुरा के हुन्छ भने जब मान्छे स्वार्थबाट अन्धो हुन्छ । अथवा जब मान्छे आत्मा बेच्छ, त्यसपछि नर्क पर्छ ।’ प्रधानमन्त्री ओलीले पीत पत्रकारिता आफैँ पछि लाग्ने बताए । सञ्चार माध्यमले विदेशीको नक्कल गर्दै आफूभन्दा ठूलालाई तिमी सम्बोधन गर्दै समाचार लेख्ने गरेकोमा पनि असन्तुष्टि जनाएका छन् । भारतीय समाचार च्यानललाई आफूले दिएको अन्तर्वार्तामा खोट लगाउने कुनै ठाउँ नपाएपछि सगरमाथाको विषयलाई लिएर देशभक्तिमाथि धावा बोलिएको बताए । उनले भने, ‘भारतले सगरमाथा खान्छु भनेको छैन ।’ जनतालाई झुक्याउने तत्वबाट सजग गराउन प्रेसको महत्वपूर्ण भूमिका हुने प्रधानमन्त्री ओलीले बताए । संसदलाई सांसद किनबेचको थलो बनाउने प्रयास सफल हुन नदिने उनको भनाइ छ । प्रधानमन्त्री ओलीले पत्रकारहरुलाई पाठ पढाएका छन् । प्रेस संगठनको आफू पक्षीय कार्यकर्ताहरुको भेलामा बोल्दै उनले समाचार लेख्दा उल्लेख हुने ‘तिमी’ सम्बोधनप्रति आक्रोश ब्यक्त गरे ।
‘सबैलाई तिमी भन्नुहुन्छ । लेख्नुहुन्छ । अंग्रेजले यु सिकाएको छ । तिमी लेख्नुहुन्छ । बिबिसीले यु भन्दियो, युको अनुवाद गरेर तिमी चलाइदियो,’ उनले अगाडि भने, ’हामीले हाम्रो भाषा, हाम्रो संस्कृति त्यो छाडिदिएर ‘यु’ वालामा गयौँ, गर्वका साथ ।’ त्यत्तिमै उनी रोकिएनन् । ‘हामी न्युक्लियस फेम्लीजस्तो चराको गुँड होइन । एउटा बा एउटा आमा एउटा अण्डा । अण्डाबाट चल्ला निस्किन्छ । यसको प्वाँख पलाउँछ, भुर्र उड्छ । बाआमा एक्लै । बा आमालाई पनि तिनले चिन्दैनन् । हामी त्यस्तो होइन । पुरानो इतिहास र सभ्यता भएका हौँ । अहिले हेर्नुस्, हाइ ड्याडी हाइ मम । ओ हेलो, हाउ आर यु मम,’ उनले भने, ‘सिस्टताले केही बिगार्दैन । हाम्रो तरिका त्यो छ । अहिले हामी आदरका साथ अभिभावकसँग व्यवहार गर्दैनौँ । पहिला तिमी भन्न सिकायो । तिमी भने पछि अरु सिकायो ।’ (गत ८ माघमा प्रधानमन्त्रीबाट दिएको मन्तव्यबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *