पत्रकार कल्याणकारी कोष १० करोड

समाचार

काठमाडौं । पत्रकार कल्याणकारी कोष १० करोड हुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले हाल पाँच करोड रहेको पत्रकार कल्याणकारी कोषका लागि पाँच करोड थपेर १० करोड बनाउने बताएका छन् । उनले कोभिड प्रभावित श्रमजीवी पत्रकारहरूलाई राहत प्याकेज ल्याउने घोषणा गरेका छन् । सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले त्यसका लागी आवश्यक सुझाव दिन नेपाल पत्रकार महासंघसहित सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।
उनले भने, ‘कोभिड प्रभावित सञ्चारगृह र श्रमजीवी पत्रकारहरूलाई तत्काल राहत दिनका लागि आवश्यक सुझाव दिन म पत्रकार र पत्रकारहरूको संघ, संगठन सबैलाई आग्रह गर्छु ।’ सरोकारवाला निकायले दिएको सुझावको आधारमा सरकारले राहत कार्यक्रम ल्याउने पनि उनले बताए ।
आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे मन्त्रालयलाई सुझाव दिन सरोकारवाला निकायलाई आग्रह गरेका छन् । उनले पत्रकारहरूले आफ्नो आचारसंहिता पालना गर्ने कामलाई प्रभावकारी बनाउने उपायको विषयमा मन्त्रालयले सरोकारवाला निकायबाट सुझाबको अपेक्षा गरेको स्पष्ट पारे । सरकार प्रेस स्वतन्त्रताको पक्षमा दृढ रहेको मन्त्री गुरुङले बताएका छन् । नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाको २२औँ साधारणसभाको उद्घाटन समारोहमा उनले आफ्नै पालामा दीर्घकालिन रुपमा पत्रकारको समस्याको समाधान गर्ने बताएका हुन् ।
पत्रकार समाज रुपान्तरणको मुख्य अंग भएकाले रचनात्मक तरिकाबाट जिम्मेवारीपूर्वक काम गर्न आग्रह गर्दै उनले पत्रकारले समाजमा सही सूचना प्रवाह गर्नका लागि मात्र आफ्नो कलम अघि बढाउन सुझाव दिए । आगामी वर्षको नीति तथा कार्यक्रमका लागि प्रतिनिधिमूलक ढंगबाट पत्रकारलाई छलफलमा बोलाइ कार्यक्रम अघि बढाउने पनि उनले बताए । विगतका वर्षमा जस्तै आगामी दिनमा पत्रकारले आफ्नो हकअधिकार स्थापित गर्नका लागि आन्दोलन गर्नुपर्ने अवस्थाको कानुनीरुपमा नै अन्त्य गरिने उनको धारणा थियो ।
उनले पत्रकारहरुले आफ्नो आचारसंहिता पालना गर्ने कामलाई प्रभावकारी बनाउने उपायको विषयमा मन्त्रालयले सरोकारवाला निकायबाट सुुझावको अपेक्षा गरेको पनि स्पष्ट पारे । सार्वजनिक प्रसारण सेवाको मर्म र भावना विपरित ल्याइएको विधेयक खारेज हुनुपर्ने बारेमा नेपाल प्रेस युनियनलगायत यस क्षेत्रका जानकारहरुले राखेको धारणाका बारेमा मन्त्री गुरुङले यसबारेमा छलफल गरेर चित्त नबुझेको अवस्थामा फिर्ता लिनेसम्मको प्रक्रिया अघि बढाउने बताएका हुन् । आगामी नीति तथा कार्यक्रममा पत्रकारहरुलाई प्रशिक्षण दिने गरी प्रशिक्षण प्रतिष्ठान संचालन गर्ने गरी नीति तथा कार्यक्रम र बजेटमा समेत व्यवस्था गर्ने प्रतिबद्धता मन्त्री गुरुङले व्यक्त गरे ।
फ्रन्टलाइनमा काम गर्ने पत्रकारहरुका लागि कोभिड १९ खोप काठमाडौंको हकमा सिभिल अस्पतालबाट सुरु गर्ने व्यवस्था मिलाइएको र जिल्लाहरुमा पनि अन्य फ्रन्टलाइनमा काम गर्ने पेसाकर्मीहरुलाई जस्तै पत्रकारहरुलाई पहिलो प्राथमिकतामा राखेर खोप दिलाइने व्यवस्था स्वास्थ्य मन्त्रालयको समन्वयमा मिलाइएको गुरुङले बताए ।
(नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाको २२औँ साधारणसभा उद्घाटन समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राखेको भनाइको सम्पादित अंशः

Leave a Reply

Your email address will not be published. Required fields are marked *