प्रधानमन्त्रीको नयाँ प्रयोग बौरिने कि पतनको बाटो ?

लेख

कमलराज राई
प्रधानमन्त्री केपी ओलीले नवौँ अश्चर्यको कुरा गरेर जग हँसाएका छन् । यसले उनका समर्थकहरुलाई केही ढाडस मिल्यो होला, पत्रपत्रिकाको समाचारमा मसलाको काम ग¥यो होला तर वास्तवमा यस्ता हावादारी कुरा गरेर जनताको ध्यानलाई अर्कोतिर मोड्नेभन्दा अरु केही काम भएको छैन । प्रधानमन्त्रीजस्तो व्यक्तित्वले आफूमाथि भौतिक आक्रमण हुने भनेर भन्न खोजेको के ? लोकतन्त्रमा कानुनी शासन हुने हुनाले यहि व्यवस्था ल्याउन जनताले बलिदानी दिएका हुन् न कि नेताहरुको खेलाँची । ३ सय जनाभन्दा बढी सुरक्षाकर्मीको घेरामा रहने प्रधानमन्त्रीलाई ‘सुरक्षा थ्रेट’ छ भनेर प्रोपोगान्डा मच्चाउनुले अहिलेका लागि नाफा होला नै तर यसले कालान्तरमा हानी नै पु¥याउने देखिन्छ । यदि प्रधानमन्त्रीमाथि नै सुरक्षा थ्रेट हो भने यसको वास्तविकता जनतासामु खोल्नुपर्छ । प्रधानमन्त्रीमाथि सुरक्षा थ्रेट हुनु भनेको देशका लागिसमेत लाजमर्दो कुरा हो । प्रधानमन्त्रीले आफूमाथि शारीरिक हमला वा ज्यान तलमाथि भइहाल्यो भने पनि अनौठो नमान्न कार्यकर्ताहरूलाई ढाडस दिनुले मुलुकमा हलचल मच्चिएको छ । मुलुकमा प्रधानमन्त्रीको सुरक्षा छैन भने जनताले के हेरेर बाँच्ने ?
मुलुकको शान्ति सुरक्षाको जिम्मा गृहमन्त्रीको हो । प्रधानमन्त्रीले आफ्नो ज्यान तलमाथि हुने भनिरहँदा गृहमन्त्रीले के हेरेर बसेका छन् ? प्रधानमन्त्रीजस्तो व्यक्तित्वको कुरामा विश्वास गर्नैपर्छ । कार्यकारी अधिकारीलाई सुरक्षा थ्रेट भइरहँदा मुलुकको सुरक्षा निकाय के हेरेर बसेको छ ? यस्तो बेला सुरक्षा अधिकारी मात्र नभएर, गृहमन्त्रीले समेत नैतिकताको आधारमा राजीनामा दिनुपर्छ । प्रधानमन्त्रीले पार्टीको नेतृत्वमा रहेका हुनाले, यस पार्टीलाई अघि बढाइरहेको हुनाले, सरकार प्रभावकारी र गतिशील ढंगले सञ्चालन गरिरहेको हुनाले, विकास निर्माणको कामहरूले गति लिइरहेको हुनाले आफूमाथि प्रहार केन्द्रित रहेको बताएका छन् । देश र जनताको खिलाफमा काम गर्ने को हुन् ? किन उनलाई पक्राउ भएका छैनन् ? यदि प्रधानमन्त्रीमाथि नै आक्रमणको तयारी भएको हो भने सुरक्षा निकाय के हेरेर बसेको छ ? प्रधानमन्त्रीले आफूमाथि कुनै शारीरिक हमला मात्र नभएर आफ्नो ज्यान तलमाथि भइहाल्यो भने पनि कुनै अनौठो नमान्नु भनेर भन्नु कतिसम्मको जायज होला ?
प्रधानमन्त्रीको सुरक्षामा सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी चौबिसै घन्टा तैनाथ हुन्छन् । यसका बाबजुद प्रधानमन्त्री कसरी असुरक्षित हुन सक्छन् ? देशको प्रमुख कार्यकारीले नै आफूलाई असुरक्षित महसुस गर्ने हो भने नेपाली जनताको सुरक्षा अवस्था कस्तो होला र उनीहरुले कसरी आफूलाई सुरक्षित महसुस गर्ने ? प्रश्न उठ्नु स्वाभाविक नै हो । तर, यस्तो बेला पनि गृह प्रशासनले भने केही गरेको देखिएको छैन । प्रधानमन्त्री भन्नेबित्तिकै कुनै एक व्यक्ति मात्र होइनन्, देशको प्रमुख कार्यकारी पनि हुन् । यसर्थ उनका भनाइलाई कसैले हलुका रुपमा लिने धृष्टता गर्नु हुँदैन । उनको कुरामा सत्यता हुन सक्छ, तर यत्तिका सुरक्षाका बीचमा पनि उनीमाथि धावा बोल्ने को हुन् ? यसबारे पत्ता लगाउनु गृह प्रशासनको काम हो । प्रधानमन्त्री भन्नेबित्तिकै सिंगो राज्यसंयन्त्र हो । उनको सुरक्षामा सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी चौबिसै घन्टा तैनाथ हुने हुनाले उनीमाथिको धावा निक्कै महँगो नै हो । यत्तिको सुरक्षा घेरामा बसेका व्यक्तित्व कसरी असुरक्षित भए त ? देशको कार्यकारी प्रमुखले नै आफूलाई असुरक्षित महसुस गर्ने हो भने नेपाली जनताको सुरक्षा अवस्था कस्तो होला र उनीहरुले कसरी आफूलाई सुरक्षित महसुस गर्ने ? प्रश्न उठाउनै पर्ने भएको छ । यत्तिको अवस्थामा गृह प्रशासन, प्रहरी (दुवै), सेनाले के हेरेर बसिरहेको छ ?

देशको कार्यकारी प्रमुख असुरक्षित भएको देशमा जनताले कसरी बाँच्ने ? प्रधानमन्त्रीले देश र जनताको चिन्ता गर्नुपर्ने बेलामा आफ्नै सुरक्षामा शंका गरेपछि अरुको सुरक्षा के होला भन्ने चिन्ताको विषय हो । यत्तिको सुरक्षा घेरामा रहेका प्रधानमन्त्रीमाथि नै धावा बोलिएपछि नेताहरु, प्रतिपक्ष नेताहरु, नागरिक समाजका मानिसहरुको सुरक्षा झन् खतरामा परेको सन्देश गएको छ । प्रधानमन्त्रीमाथि आक्रमण भइहाल्यो भने यसले सिंगो राज्यलाई नै कमजोर पार्ने छ । मान्छेमा त्रास उत्पन्न भएको छ । यसबारे प्रधानमन्त्रीले थप प्रस्ट पार्नै पर्छ । प्रधानमन्त्रीले आफूमाथि कहाँबाट सुरक्षा थ्रेट आयो ? कोबाट सुरक्षा थ्रेट छ ? यसबारे छर्लंग पार्नुपर्छ । जनताले गाँस काटेर तिरेको करबाट भात, भान्छा चलाउनेहरुले जनतालाई यस्तो कुरा भन्नैपर्छ ।
सुरक्षाजस्तो विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति निकै संवेदनशील विषय नै भएको छ । सत्तारुढ दलको आन्तरिक विषयलाई लिएर पक्कै उनले त्यसरी बोलेका नहुन सक्छ । सुरक्षाजस्तो संवेदनशील विषयमा ख्याल ठट्टा गर्नु हुँदैन । प्रधानमन्त्रीलाई नै थ्रेट भएपछि यस्तो विषयलाई चानचुन आँक्नु हुँदै हुँदैन । प्रधानमन्त्रीमाथिको सुरक्षा थ्रेटले सामान्य मानिसमा एक किसिमको त्रास फैलिएको छ । प्रधानमन्त्रीसँग विभिन्न स्रोतबाट सूचनाहरु आउने भएकाले उनको दाबीमा सत्यता पनि हुन सक्छ । तर, प्रधानमन्त्रीले जनताबाट सहानुभूति बटुल्नका लागि यस्तो अभिव्यक्ति दिनु भने हुँदैन । अहिले प्रधानमन्त्रीको निर्णयलाई सर्वोच्चले उल्टाइदिएपछि जनताले उनलाई गलत ठानिरहेका छन् । त्यसैले जनताको सहानुभूति पाउनका लागि प्रधानमन्त्रीले यस प्रकारको विषय उठाएको हो भने उनी प्रधानमन्त्री बन्न लायकका होइनन् । आफ्नो व्यक्तिगत फाइदाका लागि अनर्गल प्रचार गरेर आफ्नो सत्ता लम्ब्याउने हो भने योभन्दा अर्को बेइमानी हुनै सक्दैन । राजनीतिक रुपमा आफ्नो साख गुम्दै गएपछि, आफूले चालेका कदमहरु असफल हुँदै गएपछि सहानुभूति बटुल्नका लागि प्रधानमन्त्रीले यस्ता हलुका टिप्पणी गर्न थालेको हो भने जनताले उनलाई कहिल्यै पनि माफी दिने छैनन् । हुन त प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा उठाएका अधिकांश कदमहरु गलत साबित हुँदै गएका छन् । यसैले जनताबाट सहानुभूति बटुल्नका लागि उनले यस्तो कुरा गरेको अड्कालबाजी गर्नेहरु पनि धेरै छन् । तर, सुरक्षा थ्रेटजस्तो विषयलाई प्रधानमन्त्रीले हलुका रुपमा टिप्पणी गर्नु हुँदैन । प्रधानमन्त्रीको यो अभिव्यक्तिले नेपालको सुरक्षा निकाय असफल छ भन्नेजस्तै देखिएको छ । प्रधानमन्त्रीले सुरक्षा थ्रेटको सूचना पाउनु भएकै हो भने यस विषयमा सुरक्षा निकायसँग बसेर छलफल गर्ने बेला भएको छ । त्यो सूचना सही हो वा होइन भन्ने विश्लेषण गरेर त्यसअनुसार सुरक्षा सतर्कतालाई अझ व्यवस्थित गर्नतिर लाग्नुपर्छ । तर, प्रधानमन्त्रीले राजनीतिक फाइदाका लागि यस्तो प्रचार गरेको हो भने यसले जनतामा सकरात्मक सन्देश गएको छैन ।
प्रधानमन्त्री भनेको एउटा व्यक्ति मात्र नभई देशकै प्रमुख कार्यकारी भएकाले त्यस्तो व्यक्ति सामान्य सुरक्षामा रहँदैनन् । वास्तवमा भन्ने नै हो भने उनीमाथि कहीँ कतैबाट खतरा छ भन्दा पत्याउन गाह्रो छ । यत्तिका शक्तिशाली व्यक्तिमाथि हमला गर्ने हिम्मत कसैले राख्ला र ? प्रधानमन्त्रीको यो भनाइपछि उनीमाथि आफ्नै मुलुकका सुरक्षा निकायमाथि पनि अविश्वास रहेछ भन्ने देखाउँछ । देशका सारा सुरक्षा निकायलाई नेतृत्व गरिरहेका व्यक्तिले यस्तो हल्का टिप्पणी गर्दा कम्तीमा एकपटक सोच्नुपथ्र्यो । प्रधानमन्त्रीको सुरक्षामा नेपाल प्रहरीको डिएसपीको नेतृत्वमा दुई जना प्रहरी निरीक्षक, अन्य जुनियर अधिकृतसहित करिब सय जनाभन्दा बढी संख्यामा प्रहरीको टोली खटिएको हुन्छ । यसमाथि नेपाली सेनाको प्रमुख सेनानीको नेतृत्वमा सयभन्दा बढी संख्यामा सैनिक अधिकृत, जुनियर अधिकृत तथा जवानहरु सुरक्षामा तैनाथ हुन्छन् । त्यसमाथि सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३५ देखि ४० जनाको टोली प्रधानमन्त्रीको सुरक्षामा खटिने हुन्छन् । प्रधानमन्त्रीको सुरक्षामा तैनाथ सैनिकसँग अत्याधुनिक हतियारसमेत हुने भएकाले सुरक्षा दायरा त्यति कमजोर नहुँदासमेत आफू असुरक्षित छु भनेर अभिव्यक्ति दिनु भनेको निक्कै नै संवेदशील कुरा हो ।
तर, प्रधानमन्त्रीले यस्तो बेला पनि अनेकौँ प्रोपागान्डा मच्चउनका लागि हल्ला फिँजाएको देखिन्छ । यो त लोकतन्त्रको उपहास हो । जनतालाई गुम्राहमा राखेर सत्तामा सधैँ टिकिरहने चालभन्दा अरु केही दखिँदैन । लोकतन्त्रको प्रमुख विशेषता भनेको नै नैतिकता हो । त्यसैले त अहिले लोकतन्त्रलाई अधिकांश मुलुकहरुले अँगालिरहेका छन् । तर, नेपालमा भने नेताहरु इमानदार नबन्दा लोकतन्त्रको उपहास भइरहेको छ । प्रधानमन्त्रीले संसद विघटन गरे । अब त्यहि संसदमा गएर रुन्चे हाँसो हाँस्दै मलाई विश्वासको मत देऊ भनेर भन्नु नैतिकताले नदिनु पर्ने हो । हुन त मानवजातिकै निम्ति धब्बा बलात्कारजस्तो जघन्य अपराधको संख्या नपुगेको भन्ने गृहमन्त्री यहि मन्त्रिमण्डलमा छन् । मुलुकको शान्ति सुरक्षाको ठेक्का लिएको गृहमन्त्रीले जनताको जीउ, धनको सुरक्षा गर्नुपर्ने बेला उनैबाट छोरी चेलीहरुको खिलाफमा बोलिरहँदा उनीमाथि कारबाही नहुनुले पनि प्रधानमन्त्रीको असलियत थाहा पाइएको थियो । आज आफैँले विघटन गरेको संसदमा नै विश्वासको मत लिन्छु भन्नेहरुले लोकतन्त्रको खिल्ली उडाइरहेका छन् ।
आफूलाई ठीक नलागेको संसदमा विश्वासको मत माग्नु साँच्चै लाज लाग्नुपर्ने हो । यो भनेको एक नजिर हुन सक्छ । आफूलाई मन लाग्यो, संसद विघटन ग¥यो, मन लाग्यो, त्यहि संसदमा विश्वासको मत माग्यो । कस्तो अजिबको शासन व्यवस्था ? आफूलाई अविश्वास प्रस्ताव राखेर हटाउन प्रधानमन्त्रीले चुनौती दिएका छन् । मुलुकको कार्यकारी अधिकार प्राप्त व्यक्तिले गरेको निर्णय उल्टिएपछि नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बेला उनैको ठूलो स्वर देखिनु यो उचित छैन । यो हुँकारले केही समयका लागि आफ्नो जयजयकार होला तर पछि जनताले यसको फैसला गर्दा छाम्दा नभेटाइने ठाउँमा पु¥याए भने यो पिँढी त बितेर जालान् तर राजनीतिमै भविष्य खोज्ने युवाहरुको हालत त निक्कै महँगो सावित होला । खासगरी प्रधानमन्त्रीको वरिपरि बस्नेहरुले उक्साएको भरमा उनले यस्तो निर्णय गरेका छन् । फैसालको छिद्र खोजेर प्रधानमन्त्रीलाई टिकाउने र यसको नाममा आफू मालामाल हुने भएपछि अहिले प्रधानमन्त्रीलाई उक्साइरहेका छन् । प्रधानमन्त्रीले यहि संसदमा विश्वासको मत लिने हो भने अब लोकतन्त्रमा हुने नैतिकता पनि सकिने देखिन्छ ।
प्रधानमन्त्रीले सरकार ठिक ढंगले चलेका कारण आफूमाथि प्रहार तीव्र गतिमा केन्द्रित भएको बताएर आफू अझै निरन्तर रहने संकेत गरेका छन् । कतिपयका कुरालाई मान्ने हो भने संसद किनबेचको काम हुन थालेको छ । आफ्नो सत्ता टिकाउनका लागि राज्यको ढुकुटीबाट सांसद किनबेच भयो भने यो मान्य हुने छैन । यस्तो बेला प्रधानमन्त्रीले आफूमाथि शारीरिक हमला नै हुन सक्ने आँकलन गरेर मुलुकलाई चकित पारेका छन् । प्रधानमन्त्रीमाथि शारीरिक हमला भन्ने कुरा आजसम्म कोही कसैले सोचेका छैनन् । नेपालजस्तो मुलुकमा प्रधानमन्त्रीमाथिको हमला कोही कसैबाट सोच्न नै सकिँदैन । यस्तो गलत कुरा बोलेर अरुको मन जित्न खोज्ने कदम आफैँ लाजमर्दो देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *