चन्द नेकपासँग भयो महत्वपूर्ण शान्ति सम्झौता

सम्पादकीय

सम्पादकीय

हिंसात्मक गतिविधिमा संलग्न हुँदै आएको नेपाल कम्युनिस्ट पार्टी (चन्द) नेपाल सरकारका बीचमा गत साताको बिहीबार तीनबुँदे सहमति भएको छ । नेपाल सरकार र चन्द नेतृत्वको नेकपाका बीचमा भएको यो तीनबुँदे सहमतिलाई गत शुक्रबार प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष नेत्रविक्रम चन्दले एउटा कार्यक्रममार्फत सार्वजनिक गरेका छन् । मोहन वैद्यले नेतृत्व गरेको नेकपा क्रान्तिकारी माओवादी कार्यदिशाप्रति सहमत हुन नसकेर नेत्रविक्रम चन्दको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी गठन भएको थियो । चार वर्षअगाडि गठन भएको यो कम्युनिस्ट पार्टीले स्थापना कालदेखि नै हिंसात्मक गतिविधि संचालन गर्दैै आएको छ । २०७५ साल फागुन १० गते भैँसेपाटीस्थित एनसेलको कार्यालयमा बम विष्स्फोट गराएको थियो र उक्त बम विष्स्फोटमा एक जना सर्वसाधारण नागरिकको निधन भएपछि ०७५ साल फागुन २८ गते चन्द नेतृत्वको नेकपामाथि सरकारले आतंकवादी घोषणा गर्दै प्रतिबन्ध लगाएको थियो ।
सरकारले प्रतिबन्ध लगाएसँगै नेकपाका कार्यकर्ता तथा नेतालाई पक्राउ गर्ने तथा यो पार्टीको गतिविधि नियन्त्रण गर्ने सम्बन्धमा कडा नीतिसमेत अख्तियार गरेको थियो । सरकारको तर्फबाट प्रतिबन्ध लगाए पनि र कडाइ गरे पनि नेकपाको हिंसात्मक गतिविधिमा भने कमी आएको थिएन । वैज्ञानिक समाजवाद स्थापना गर्ने भन्दै हिंसात्मक बाटो अख्तियार गरेको नेकपाको काम कारबाहीबाट मुलुकको शान्तिपूर्ण वातावरण र संविधानसभाबाट जारी भएको संविधानमाथि नै खतरा उत्पन्न हुन सक्ने आँकलन गरेर ओली सरकारले यो पार्टीलाई पनि मूलधारको राजनीतिमा ल्याउने प्रयास लामो समयदेखि गरेको थियो । र, त्यही प्रयास स्वरुप गत फागुन २० नेपाल सरकारका प्रतिनिधि र नेकपाका प्रतिनिधिका बीचमा तीनबुँदे सहमति भएको थियो । यही सहमतिलाई गत फागुन २१ गते प्रधानमन्त्री ओली र नेकपा महासचिव चन्दले सार्वजनिक गरेका थिए । उक्त सार्वजनिक सभामा नै नेकपामा महासचिव चन्दले अब आफ्नो पार्टी वैज्ञानिक समाजवाद स्थापना गर्नका लागि मुलधारको राजनीतिसँगै शान्तिपूर्ण बाटोमा अगाडि बढ्ने बताएर नेकपाले आगामी दिनमा हिंसात्मक गतिविधि परित्याग गर्ने घोषणासमेत गरेका थिए ।
केपी ओलीको नेतृत्वमा वर्तमान सरकारले यसभन्दा अगाडि पनि स्वतन्त्र मधेसको आन्दोलन चलाइराखेको सिके राउत नेतृत्वको एउटा राजनीतिक शक्तिसँग २०७५ साल बैशाखमा सम्झौता गरेको थियो । उक्त सम्झौता पनि सिके राउत समूहको राजनीतिक शक्ति पनि शान्तिपूर्ण बाटो अख्तियार गर्दै मूलधारको राजनीतिमा आएको थियो र मुलधारको राजनीतिमा लोकतान्त्रिक अभ्यास गर्नकै लागि सिके राउतले जनमत नामक पार्टीसमेत गठन गरेका छन् । सिके राउत मुलधारको राजनीतिमा आएपछि तराईलाई अलग पार्ने गतिविधिसँगै हिंसात्मक गतिविधिमा पनि विराम लाग्न पुगेको छ । यो स्थितिमा हिंसात्मक बाटोमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्ने भन्दै विभिन्न गतिविधि गरी राखेको नेपाल कम्युनिस्ट पार्टीसँग तीनबुँदे सहमति हुनु र यो पार्टी पनि मुलधारको राजनीतिमा आउनुलाई लोकतान्त्रिक अभ्यास र संविधानको स्थायित्वको मामिलामा यो सरकारले प्राप्त गरेको ठूलो उपलब्धि मान्नु पर्दछ ।
केपी ओली सरकारले हिंसात्मक गतिविधिमा सक्रिय भई राखेको चन्द नेतृत्वको नेकपासँग मुलुकको राजनीति अत्यन्त तरल अवस्थाबाट गुज्रिराखेको र सरकारमाथि समेत आफ्नै पार्टीभित्रबाट गम्भीर चुनौती आई राखेको अवस्थामा चन्द नेकपासँग तीनबुँदे सहमति हुनु र हिंसात्मक बाटोमा लागि राखेको नेकपालाई शान्तिपूर्ण बाटोमा ल्याउनुलाई यो सरकारले लोकतान्त्रिक अभ्यास र संविधानको स्थायित्वको मामिलामा गरेको उल्लेखनीय घटना मान्नु पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *