प्रचण्डको ओली हटाउ अभियान अन्योलमा

समाचार

गत शुक्रबार अबेर रातीसम्म बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकले प्रधानमन्त्री केपी ओलीले राजीनामा गर्नु पर्ने र आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय गरेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल उत्साहित बन्न पुगेका थिए र गत शनिबार कपिलवस्तुमा आयोजित एउटा कार्यक्रममा उनले चाँडै नै नयाँ सरकार गठन हुने दाबी यही आधारमा गरेका थिए । तर गत आईतबारबाट नै यो सरकार विघटन भएर नयाँ सरकार गठन हुने सम्भावना कमजोर बन्दै गएको छ । वर्तमान सरकार विघटन गरेर आफ्नो नेतृत्वमा सरकार गठन गर्ने कांग्रेसको निर्णय प्रति अहिलेको राजनीतिक अवस्थामा निर्णायक तहमा रहेको जनता समाजवादीका अध्यक्ष महन्थ ठाकुरले आपत्ति जनाएपछि प्रधानमन्त्री ओली हटेर नयाँ सरकार गठन हुने सम्भावना टरेको हो ।
नेपाली कांग्रेसको तर्फबाट केपी अ‍ोलीलाई विस्थापित गरेर आफ्नो पार्टीका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन गर्न आवश्यकता भन्दा बढी नै लागि परी राखेका कांग्रेस नेता रामचन्द्र पौडेल गत आईतबार जनता समाजवादीका अध्यक्ष महन्थ ठाकुरसँग यस सम्बन्धमा छलफल गर्न उनको निवास हात्तिगौंडा पुगेका थिए । वर्तमान सरकारलाई विस्थापित गरेर नयाँ सरकार गठन गर्ने सम्बन्धमा भएको उक्त छलफलमा जनता समाजवादीका अध्यक्ष ठाकुरले केपी ओली नेतृत्वको वर्तमान सरकारलाई विस्थापित गरेर नेपाली कांग्रेस, जनता समाजवादी र नेकपा माओवादी केन्द्रको संयुक्त सरकार गठन गर्ने सम्बन्धमा सरकारको नेतृत्व भने विना छलफल आफ्नो पार्टीले गर्ने गरी गरेको निर्णयप्रति घोर आपत्ति प्रकट गरेका थिए । यसैगरी नेपाली कांग्रेसले ओली नेतृत्वको वर्तमान सरकार विस्थापित गरेर नयाँ सरकार गठन गर्ने भनेर निर्णय गरेपछि जनता समाजवादीको संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराईले पनि आफूलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेपछि वर्तमान सरकार विघटन गरेर नयाँ सरकार गठन गर्ने सम्भावना कमजोर बन्न पुगेको हो । ओली नेतृत्वको वर्तमान सरकार विघटन भएर नयाँ सरकार गठन हुने सम्भावना कमजोर भएपछि गत आईतबार बिहान ११ बजेका लागि तय भएको माओवादी केन्द्रको स्थायी समितिको बैठक समेत रद्द गरिएको छ र माओवादी केन्द्रको स्थायी समितिको बैठक अब कहिले बस्छ भन्ने टुंगो पनि लाग्न सकेको छैन ।
प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता लिने प्रमुख एजेण्डामा माओवादी केन्द्रको स्थायी समितिको बैठक गत आईतबार बस्न लागेको थियो । तर माओवादी केन्द्रले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएपनि नयाँ सरकार गठनको मामिलामा नेपाली कांग्रेस र जनता समाजवादी स्पष्ट नभएकाले माओवादी केन्द्रको स्थायी समितिको उक्त बैठकलाई रद्द गरिएको हो । संसदमा ५२ स्थान रहेको माओवादी केन्द्रले दिएको समर्थन फिर्ता लिए वर्तमान सरकार अल्पमतमा पर्न जान्छ र त्यो अवस्थामा प्रधानमन्त्री ओलीले एक महिना भित्र संसदमा बहुमत देखाउनु पर्ने हुन्छ । र, उनले बहुमत देखाउन नसके स्वभाविक रुपले राजीनामा गर्नु पर्दछ । तर बहुमतको अर्को सरकार गठन हुन नसक्ने अवस्थामा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनमा जान संविधानले नै बाटो खुलाउने प्रावधान रहेको छ । प्रधानमन्त्री ओलीको चाहना अनुसार प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनमा जाने अवस्था आफ्नो पार्टीको निर्णयबाट आउन सक्ने स्थिति देखेर नै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिन हतार नगरेका हुन् । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको वैधानिकताले नभएको भन्दै नेकपा एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्कन निर्देशन दिए लगत्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ओली नेतृत्वको वर्तमान सरकारलाई विघटन गरेर नयाँ सरकार गठन गर्ने एक सुत्रीय अभियानमा लागि परी राखेका छन् ।
तर वर्तमान सरकार विघटन गर्नका लागि माओवादी केन्द्र पर्याप्त भएपनि बहुमतको अर्को सरकार गठन गर्न नेपाली कांग्रेस र जनता समाजवादीको समर्थन अनिवार्य भएको कारण माओवादी केन्द्रका अध्यक्ष प्रण्चडले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गरी राखेका छन् । र, जनता समाजवादीलाई उसले उठाएको एजेण्डालाई सम्बोधन गर्दैै संविधान संशोधन गर्ने र अदालतको आदेशबाट आजीवन कारावास भोगिराखेका रेशम चौधरीलाई रिहा गर्ने वचन पनि प्रचण्डले जनता समाजवादीका नेतालाई दिने गरेका छन् । नयाँ सरकार गठनका सम्बन्धमा यसरी गतिविधि बढाई रहँदा प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको सम्बन्धमा चर्को टिकाटिप्पणी हुँदै यो मामिलामा माओवादी केन्द्रले दोहोरो भूमिका निर्वाह गर्न थालेको आरोप लाग्न थालेपछि सरकारलाई दिएको समर्थन फिर्ता लिएर आफ्नो स्थिति स्पष्ट पार्न भनेर अध्यक्ष प्रचण्डले गत आईतबार आफ्नो पार्टीको स्थायी समितिको बैठका बोलाएका थिए । तर कांग्रेसले प्रधानमन्त्री ओलीले राजीनामा गर्नु पर्ने र आफ्नो पार्टीको नेतृत्व गर्नु पर्ने निर्णय गरेपछि र तीन दलको संयुक्त सरकारको नेतृत्वको सम्बन्धमा तीन दलले नै सहमतिबाट निर्णय गर्नु पर्ने भन्दै जनता समाजवादीका अध्यक्ष महन्थ ठाकुरले यो निर्णय प्रति आपत्ति जनाएपछि तत्काल ओली नेतृत्वको सरकारलाई विस्थापित गरेर नयाँ सरकार गठन हुने वातावरण नभएपछि प्रचण्डले आफ्नो पार्टीको गत आईतबारका लागि निश्चित भएको स्थायी समितिको बैठक रद्द गरेका हुन् । र, रद्द भएको माओवादी केन्द्रको स्थायी समितिको बेठक अब कहिले बस्ने भन्ने टुंगो नलागेसँगै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि प्रधानमन्त्री ओलीलाई कसरी हटाउने भन्ने सम्बन्धमा तत्कालका लागि अन्योलमा पर्न गएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *