काठमाडौं– भन्छन नि ‘भाइ फुटे, गवार लुटे ।’ यस्तै हालतमा पुग्यो पत्रकारहरूको सबैभन्दा ठूलो संस्था प्रेस चौतारी । ‘सौताको रिसले पोइको कपाल लुच्छने’ भने झैँ चौतारी आफैँ दुई खेमा (सरकार र माधव नेपाल पक्ष)मा विभक्त भइदिँदा यसपटक कांग्रेसको पल्लाभारी भयो ।
वामपन्थीहरू नेकपा माओवादी केन्द्र र साना दल समेटेर चौतारी एकै ठाउँमा रही तालमेल गरेको भए परिणाम फरक आउनसक्थ्यो । यस खालको पहल पनि भएको हो, चौतारीका पूराना नेताहरूबाट । तर, बालुवाटारले चौतारीका पूराना नेताहरूको कुरै सुन्न चाहेन । साझा उम्मेदवारको रूपमा शम्भु श्रेष्ठ वा गगन विष्टमध्ये कसैलाई उठाएर पूर्व एमाले एक ढिक्का भई मैदानमा जान प्रस्ताव आएको पनि हो । तर, गणेश बस्नेत र सूर्य थापाहरूको दम्भका कारण यस पटक सरकारी चौतारीको नामो निशान मेटिएको छ । टिकट वितवरणमा पनि उस्तै ज्यादती । पत्रकारितामै जीवन र जवानी बिताएकाहरूले टिकट नपाउने, प्रधानमन्त्री केपी ओली र उनका निकटका नेताहरूको चाकडी र चाप्लुसीमा रमाउनेहरूले टिकट पाउँदा केही पत्रकारहरू बागी बनेर खडा भए । यस्तै कारण झण्डै ५ हजार बढी सदस्य रहेको प्रेस चौतारी पहिलो पटक निलको हालतमा पुगेको छ । सत्ता र शक्तिको दम्भ देखाउँदै आएको बालुवाटार अहिले यसको गम्भीर समीक्षा गर्दै होला । एमाले–एमाले एक भएर त्यसमा माओवादीलगायतका दलमा आबद्ध पत्रकारलाई ‘एलायन्स’ गराएर चुनावी मैदानमा होमिएको भए झण्डै आठ हजार मत आफैंसँग भएर पनि महासंघको नेतृत्वको ताला चाबी युनियनलाई सुम्पनु पर्दैनथ्यो ।
उता झण्डै १३ हजार मतदाता रहेको पत्रकार महासंघमा खसेको मतमध्ये ६ सयभन्दा बढी मत बदर भएको छ । राज्यको चौँथो अंग भनिएको पत्रकारहरूकै संस्थामा यति धेरै मत बदर हुनुले पनि महासंघमा पत्रकारभन्दा गैह्र पत्रकार हाबी भएको स्पष्ट हुन्छ । प्रत्यक्ष निर्वाचन प्रणाली अबलम्बन गरेसँगै पत्रकार महासंघ शुद्धिकरण हुन्छ भनिएको थियो । तर, प्यानल बनाउने नाममा र माधव नेपाल, प्रचण्ड र कांग्रेस निकटका चौतारीबीच एलायन्स गर्ने नाममा जीवनभर पत्रकारिताको प समेत लेख्न नजान्नेहरू जिल्ला–जिल्लाका महासंघमा अटाए । सुन तस्करीमा डामिएका, पार्टीका जिल्ला सदस्य भएकाहरूले समेत पत्रकार भन्दै महासंघमा कब्जा जमाएको स्थिति छ । अहिलेको समीकरण र गठबन्धनले पत्रकार महासंघ कालान्तरमा गैह्र पत्रकारहरूको कब्जामा पुग्ने र वास्तविक कलमजीविहरू पाखामै बस्नुपर्ने स्थिति श्रृजना हुँदैछ ।