काठमाडौं– पछिल्लो समयमा बलात्कारको घटना दिन–प्रतिदिन बढिरहेको छ । जताततैबाट अवाज पनि उठिरहेको छ । तर, आजको २१ औँ शताब्दीमा पनि प्रहरीले बलात्कारका घटनाहरूलाई किन न्यूनिकरण गर्न सकेको छैन ? कसैको इच्छाबिना करकाप, डरधम्की, ललाइ–फकाइ वा नानाथरिको प्रलोभनमा पारी जबरजस्ती गरिने यौन सम्पर्क गर्नुलाई बलात्कार भनिन्छ । एउटा महिलामाथि थुप्रै कारणले बलात्कार हुनसक्छ । अशिक्षा, बेरोजगारी, गरिबी, वैदेशिक रोजगार, स्कुल तथा कलेजमै ब्वाइफ्रेण्डको कारणले, विवाह नगरी लिभिङ्ग टुगेदरका कारणले पनि बलात्कारको घटनाहरू हुने गरेको पाइन्छ । बलात्कारको घटना पनि आफ्नै चिनजानकै व्यक्तिबाट भएको देखिन्छ ।
अमृता सुनार(नाम परिवर्तन) उनी एउटा गरिब परिवारमा जन्मेकी महिला हुन् । उनको घर कालीकोटमा पर्छ । उनको घरमा भाइ, बहिनी र आमा मात्र छन् । उनको बुबाले कान्छी श्रीमती लिएर भारतको गुजरातमा काम गर्छन् । अमृताले आफू बलात्कारमा परेको घटना यसरी सम्झिइन् ।
मलाई एकदमै पढ्ने इच्छा थियो, तर घरको आर्थिक कमजोरीको कारण मैले आठ कक्षासम्म मात्र पढ्न पाए । त्यसपछि अरुको घरमा काम गर्न थाले कसैको घरमा लत्ता कपडा धुनेकाम गर्थे त कसैको घरमा घाँस काट्ने र बाख्र चराउने काम गर्थे । यसरी दिन बितिरहेको थियो । समयसँगै एकदिन हाम्रै गाउँको स्कुलमा पढाउने एक शिक्षकसँग भेट भयो । उहाँले भन्नुभयो, ‘अमृता तिमी किन स्कुल आउदैँनौँ, तिमी त पढ्नमा पनि राम्री छौँ, अमृता मेरो घरमा काम गर्ने एकजना महिला पनि चाहिएको छ तिमी मेरो घरमा कामप नि गर र म तिमीलाई पढाइदिन्छु ।’ त्यसपछि म पनि पढ्न पाइन्छ भनेर हुरुक्क भएँ ।
त्यसपछि अमृता आफ्नो घर गइन् । घरमा गएर आफ्नी आमालाई भनिन्, ‘आमा म हाम्रै गाउँमा पढाउने सरको घरमा काम गर्छु र त्यही बसेर स्कुल पनि पढ्छु ।’ आमाले पनि, ‘हुन्छ’ भनिन् । अमृतो भन्छिन्, ‘म आफ्नो लत्ताकपडा लिएर सरको घरमा गएँ । सरको घरमा आमा बुवा मात्र हुनुहुन्थ्यो । उहाँहरूले मलाई एकदमै माया गर्नुभयो । म सरको घरमा बाख्रा चराउने, घाँस काट्ने र घरमा सरको आमालाई सघाउने काम गर्थे । सरले मलाई ९ कक्षामा भर्ना गरिदिनुभएको थियो । म स्कुल पनि जान थाले । समय बित्दै जाँदा एकदिन आमाबुवा नभएको बेला सरले मलाई आफ्नो कोठामा बोलाउनुभयो र मेरो संवेदनशील अंगमा छुन थाल्नुभयो । मसँग जबरजस्ती शारीरिक सम्पर्क गर्नुभयो र मलाई धम्की पनि दिनुभयो । यो कुरा कसैलाई केही नभन्नु, यो कुरा कसैले थाहा पायो भने मार्नेसम्म डर धम्की दिनुभयो ।’ अमृताले थप सुनाइन्, ‘म डराएँ र डरले कसैलाई केही भन्न पनि सकिन । म बारम्बार आफ्नै सरबाट बलात्कृत भइरहेँ । दुई वर्षसम्म लगातार यो यातना सहिरहेँ ।’
अमृता भन्छिन्, ‘मजस्तै धेरै नारीहरू वाध्यताका कारण विवश भएर बलात्कृत भइरहेका छन् ।’ आफ्नो आमाबुवाको इज्जत र समाजमा बेइजत हुने डरले कसैलाई भन्न नसकेको उनी बताउँछिन् । यौनजन्य घटनामा जस्तोसुकै वर्ग र समुदायका मानिसहरू आबद्ध भएको देखिन्छ । निकै पढेलेखेका व्यक्तिले पनि यस्तो यौनजन्य घटनामा संलग्न भएको देखिन्छ ।