नेपालले ध्वस्त पारिदिए प्रचण्डको योजना

राजनीति

काठमाडौं– गृहमन्त्री रामबहादुर थापा बादललाई माओवादी केन्द्रले निष्कासन गरेपछि राष्ट्रियसभामा रिक्त रहेको सदस्य पदका लागि भोलि निर्वाचन हुन लागेको छ । यसका लागि नेकपा एमालेले गृहमन्त्री थापालाई नै आफ्नो पार्टीको तर्फबाट उम्मेदवार बनाएको छ । यसैगरी माओवादी केन्द्र, नेपाली कांग्रेसलगायतका अन्य केहीसाना दलहरूले थापाको प्रतिष्पर्धामा खिमलाल देवकोटालाई समर्थन गर्ने भएका छन् । नेपाल मदुर किसान पार्टीले पनि त्यो पदका लागि कृष्णबहादुर तामाङलाई उम्मेदवार बनाएको छ । अहिले साँझसम्म एमालेमा कायम रहेको विवादको स्थितिले राष्ट्रियसभाका लागि रिक्त रहेको यो पदका लागि प्रतिपक्ष दलहरूले उमेदवार बनाएका देवकोटाको स्थिति बलियो थियो । त्यो अवस्थामा माओावदी केन्द्र र कांग्रेसले अगाडि सारेका देवकोटालाई एमालेको माधव नेपाल पक्षले समेत समर्थन गर्ने र मत दिने स्थिति थियो । तर, नाटकीय ढंगले राजनीतिक परिवर्तन भएपछि एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल एक ठाउँमा आएका छन् । र पार्टीभित्र उपत्न्न भएको विवाद समाधान गर्नका लागि एमालेले उच्चस्तरीय कार्यदलसमेत गठन गरेको छ । यो स्थितिमा नेपाल पक्षको मत देवकोटाले प्राप्त गर्ने सम्भावना समाप्त भएको छ र महागठबन्धनको उम्मेदवार बनाइएका देवकोटाको अवस्था यही कारणले गर्दा कमजोर बन्न पुगेको छ । नेपालले प्रचण्डसँगको सहकार्यलाई परित्याग गरेर पार्टीको मूलधारमा नै फर्किएपछि एमालेलाई एक्ल्याउने र उसले लगाडि सारेको उम्मेदवार थापालाई पराजित गर्ने योजनामा पनि गम्भीर धक्का लाग्न पुगेको छ । यसअघि सम्पन्न स्थानीय निर्वाचनसँगै आम निर्वाचनमा समेत सबभन्दा अगाडि रहेको एमालेले एकमुष्ठरूपमा थापालाई भोट दिने भएपछि र राप्रपाजस्ता केही साना दलले समेत समर्थन गर्ने भएपछि थापाको विजय लगभग सुनिश्चित बन्न पुगेको छ । माओवादी केन्द्रले थापालाई निष्कासन गरेर हुन लागेको राष्ट्रियसभाको यो निर्वाचनलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो राजनीतिक प्रतिष्ठाको विषय बनाएका थिए । र विपक्षमा रहेका सबै दलको समर्थनबाट उनलाई जिताउन सक्ने हिसावकिताव पनि माओवादी केन्द्र अध्यक्ष प्रचण्डको रहेको थियो । तर, माधव नेपालले उनको साथ परित्याग गरेर एमालेमा नै फर्किएपछि प्रचण्डको त्यो योजना र हिसावकिताव ध्वस्त हुने पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *