कोरोना महामारीमा सरकारको जिम्मेवारी

Uncategorized

सम्पादकीय
भयावहरूपले फैलिराखेको कोरोना महामारी नियन्त्रण गर्न सरकारले स्थानीय प्रशासनमार्फत् ७७ मध्ये मनाङ, मुस्ताङ, खोटाङ र तेह्रथुमबाहेकका ७४ जिल्लामा कफ्र्यु लगाएको छ । सरकारले कोरोनाको चेन ब्रेक गर्न भनेर ७४ जिल्लामा कफ्र्यु लगाएको भए पनि कोरोना महामारी भने थप भयावहरूपमा फैलिराखेको छ । कोरोनाको चेन भत्काउन भनेर कफ्र्यु लगाउने स्थानीय प्रशासनले कफ्र्युको मामिलामा भने कडाइ नगरेर नरम नीति अख्तियार गरेको कारणले, सँगै यो महामारी रोकथाम गर्ने सामान्य औषधि र अक्सिजनको समेत अभाव हुँदा यो महामारीले भयावह रूप लिँदै गएको हो । यो महामारी नियन्त्रण गर्न अहिले अक्सिजनको सबभन्दा बढी आवश्यकता देखिएको छ । र, अक्सिजनको अभावमा कतिपय अस्पतालले कोरोना संक्रमितको उपचार गर्न असमर्थता व्यक्त गरी राखेका छन् ।
सन् २०१९ को अन्त्यबाट चीनको वुहान प्रान्तबाट सुरु भएको यो महामारी अरु केही समयसम्म कायम रहने चेतावनी स्वास्थ्य विषेशज्ञहरूले दिएका थिए र यो महामारीले नयाँ रूप लिएसँगै खतराको स्तर पनि बढ्ने उनीहरूको चेतावनी रहेको थियो । एक वर्षभन्दा अगाडि नै स्वास्थ्य विशेषज्ञहरूले कोरोना महामारीले थप भयावह रूप लिने चेतावनी दिँदा पनि नेपाल सरकारले भने यो चेतावनीलाई गम्भीरतापूर्वक लिएन । यही कारणले गर्दा नै अहिले कोरोना संक्रमितले अस्पतालको शैय्यासँगै अक्सिजनसमेत पाउन सकिराखेका छैनन् । र, शैय्याको अभावमा उपचार हुन नसकेपछि र अक्सिजनको अभावमा समेत कतिपय संक्रमितको ज्यान गइराखेको छ । सरकारले सहजरूपमा उपचारका लागि अस्पतालको शैय्या र अक्सिजन उपलब्ध गराएको भए यो महामारीबाट निधन हुनेको संख्या निश्चितरूपमा यति धेरै हुने थिएन । तर, सरकारको लापरबाहीको कारण आवश्यक शैय्यासँगै अक्सिजनसम्मको व्यवस्था सरकारले गर्न सकेको छैन । र, त्यसको परिणाम आम जनताले मृत्युलाई वरण गरेर चुकाइराखेका छन् ।
सन् २०१९ को अन्त्यबाट सुरु भएको यो महामारी नियन्त्रण गर्न सन् २०२० बिदा हुनै लाग्दा विश्वका कतिपय मुलुक खोप निर्माण गर्न सफल भएका थिए । विश्वका केही मुलुक कोरोनाविरुद्धको खोप निर्माण गर्न सफल भएसँगै दक्षिण एसियामा भारतपछि कोरोनाविरुद्धको खोप आफ्ना नगारिकलाई लगाउने नेपाल दोस्रो मुलुक बन्न पुगेको थियो । भारत सरकारले नै अनुदानमा १० लाख खोप उपलब्ध गराइदिएपछि नेपाल सरकारले आफ्ना नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको हो । तर, खोपले मात्र यो महामारी नियन्त्रण हुन नसक्ने भएकै कारणले गर्दा अहिले भारतलाई समेत उछिन्दै नेपालमा कोरोना संक्रमितको र निधन हुनेको संख्या बढिराखेको छ । यसरी कोरोना महामारी बढिरहँदा सरकार भने १५ दिन भित्र अक्सिजन प्लान्ट स्थापना गर्न निजी अस्पतालहरूलाई हावादारी निर्देशन दिएर जिम्मेवारीबाट पन्छिने गरेको छ । यही निर्देशन सरकारले एक वर्ष अगाडि दिएको भए र अस्पतालहरूमा शैय्या थप गर्नसमेत निर्देशन दिएको भए यो कोलाहालको वातावरण निश्चितरूपमा आउने थिएन । सरकारले १५ दिनभित्र अक्सिजन प्लान्ट स्थापना गर्न निजी अस्पताललाई निर्देशन दिनुलाई घर आगलागी भएपछि कुवा खन्न थाल्नुजस्तो मूर्खताका रूपमा लिइएको छ । सरकारले यो महामारी नियन्त्रण गर्न अहिलेसम्म निजी अस्पताललाई १५ दिनभित्र अक्सिजन प्लान्ट स्थापना गर्न निर्देशन दिने र अधिकांश जिल्लामा कफ्र्यु लगाउनेबाहेक अन्य काम गरेको छैन । कफ्र्यु लगाउने स्थानीय प्रशानले त्यो कफ्र्युलाई कडाइका साथ पालन हुने वातावरण बनाएको भए पनि निश्चितरूपमा यो महामारीबाट संक्रमित हुने र मर्नेको संख्या यसरी बढ्ने थिएन । त्यस कारण यो महामारी नियन्त्रण गर्न कफ्र्यु लगाउनभन्दा लगाएको कफ्र्युलाई कडाइका साथ पालन गर्ने वातावरण बनाउनुसँगै अस्पतालमा आवश्यक बेड र अक्सिजन थप्ने काम गरेर आफ्नो जिम्मेवारी पूरा गर्नु पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *