ग्लोबल आइएमई बैंक कारबाहीमा

अर्थ/वाणिज्य कर्पोरेट

काठमाडौं– हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक एक भएर ठूलो वाणिज्य बैंक बनिरहँदा अर्काे ग्लोबल आइएमई बैंक भने कारबाहीमा परेको छ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षसमेत रहेका चन्द्र ढकालद्वारा सञ्चालित ग्लोबल आइएमई बैंकलाई एक सरकारी निकायले कारबाहीको पत्र काटेको हो ।
सरकारी निर्णय लागू गर्न अटेरी गरेको चार्जमा ग्लोबल आइएमई बैंकमाथि श्रम मन्त्रालय मातहतको सामाजिक सुरक्षा कोषले कारबाहीको डण्डा बर्साएको हो । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आवद्ध हुन अटेर गर्दै आएको ग्लोबल आइएमई बैंकलाई कोषले कारबाहीको पत्र पठाएको हो । रमाइलो चाहिँ चन्द्र ढकाल आफै सामाजिक सुरक्षा कोषका सञ्चालक समिति सदस्य हुन् । कोषकै सञ्चालकमाथि सामाजिक सुरक्षा कोषले कारबाहीको डण्डा बर्साएको हो । हाल कोषका अध्यक्ष श्रम सचिव सूर्य गौतम छन् भने राष्ट्र बैंकको डेपुटी गर्भनर डा.निलम ढुंगाना, अर्थका सह सचिव धनीराम शर्मा, कानुनका सहसचिव हुमबहादुर केसी, राष्ट्रिय योजना आयोगका सदस्य किशोर जोशी, भूमि मन्त्रालयका सहसचिव ख्यामबहादुर खाती, ट्रेड युनियन महासंघका अध्यक्ष तथा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको साला विनोद श्रेष्ठसहित पुष्कर आचार्य, चन्द्र ढकाल, राजेश अग्रवाल र सृजना राणाहरु व्यवसायीको तर्फबाट त्यहाँ सदस्य छन् ।
सामाजिक सुरक्षा कोषले कोषकै सञ्चालक सदस्य चन्द्र ढकालमाथि कारबाहीको डण्डा बर्साएको हो । कोषले सामाजिक सुरक्षा कोषमा आवद्ध हुन पटक–पटक ग्लोबल आइएमईलाई आग्रह गर्दासमेत अटेर गरेपछि ग्लोबलमाथि कारबाहीको डण्डा बर्साएको हो । यसअघि मारवाडीहरुद्वारा सञ्चालित सनराइज बैंकमाथि यस्तै कारबाहीको डण्डा बर्साइएको थियो । ग्लोबल आइएमई बैंकमा कार्यरत अनन्तकुमार आचार्यको मृत्युपछि उनले मासिक लिँदै आएको ३७ हजार पारिश्रमिकको ६० प्रतिशतका दरले हुने आश्रित परिवार सुविधा योजनाअन्तर्गतको पेन्सन रकम दाबीसहित परिवारले केहिदिन अघि निवेदन दिएका थिए । दाबीअनुसार जम्मा हुन आउने १ करोड ५१ लाख १९ हजार ५ सय ८६ रुपैयाँ ३ महिना भित्र सम्बन्धित व्यक्तिलाई उपलब्ध गराई कोषलाई जानकारी गराउन निर्देशन दिइएको छ । अब मृतककी श्रीमती भावना पााठकको जन्म मिति २०५१ साल साउन २२ गते भएकाले त्यसलाई आधार मानेर नेपालको औसत आयु ७१ वर्षका आधारमा मृतक आचार्यको आधारभूत तलब ३७ हजारको ६० प्रतिशतले एकमुष्ट हुन आउने १ करोड १८ लाख ६५ हजार १ सय ६० रुपैयाँ उपलब्ध गराउनुपर्नेछ । यस्तै मृतकको छोराको शैक्षिकवृत्ति वापत ३२ लाख २९ हजार ४ सय २६ र अन्तिम संस्कार खर्चवापत २५ हजार गरी जम्मा १ करोड ५१ लख १९ हजार ५ सय ८६ रूपैयाँ उपलब्ध गराउनुपर्नेछ । तोकिएको समयभित्र भुक्तानी दिई जानकारी नगराएमा ऐनको दफा ५६ अनुसार कोषले असुलउपर गरी ऐनको दफा १७ को उपदफा २ बमोजिम ग्लोबल बैंकमाथि कारबाही हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *