एमालेमा आफैँमाथि बञ्चरो हान्ने प्रतिष्पर्धा

लेख

रामचन्द्र
काठमाडौं– प्रधानमन्त्री केपी ओलीको पुच्छर हुने की नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पुच्छर हुने भन्ने विवादले जनता समाजवादी पार्टीलाई विभाजनको अन्तिम संघारमा पु¥याएको छ । यसैगरी प्रधानमन्त्री ओलीको पक्ष र विपक्षमा विभाजित भएको कारण सत्तारुढ नेकपा एमाले पनि विभाजनको अन्तिम संघारमा नै पुगेको छ । संसदमा ३२ स्थान रहेको जनता समाजवादी पार्टीमा महन्थ ठाकुरले नेतृत्व गरेको पुरानो राष्ट्रिय जनता पार्टी पक्ष प्रधानमन्त्री ओलीलाई समर्थन गरेर अगाडि जाने पक्षमा छन् र ओलीको वर्तमान सरकारलाई नै थप राजनीतिक शक्ति उपलब्ध गराउनका लागि जनता समाजवादीको ठाकुर पक्ष आठ मन्त्रालयसहित वर्तमान सरकारमा प्रवेश गरी सकेको छ ।
उता ओली नेतृत्वको वर्तमान सरकारलाई विस्थापित गरेर कांग्रेस सभापति देउवाको नेतृत्वमा नयाँ सरकार गठन गर्ने कसरतमा जनता समाजवादीका अर्का अध्यक्ष उपेन्द्र यादव लागि परिराखेका छन् । प्रधानमन्त्रीमा ओलीलाई समर्थन गर्ने की कांग्रेस सभापति देउवालाई समर्थन गर्ने भन्ने विवादले जनता समाजवादीलाई विभाजित गर्ने लगभग निश्चित देखिएको छ । किनभने जनता समाजवादीका अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतोले वर्तमान सरकारमा आफ्नो पार्टीलाई समावेश गर्ने सम्बन्धमा प्रधानमन्त्री ओलीलगायतका वर्तमान सरकारका वरिष्ठ व्यक्तिहरूसँग छलफल गरिरहँदा गत साताको मंगलबार पार्टीको कार्यकारणी परिषद्बाट बहुमतको आधारमा अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारमा सामेल हुने आफ्नो पार्टीका नेता स्वतः निस्कासनमा पर्ने निर्णय गरेको थियो ।
कार्यकारणीको बहुमतको आधारमा यादव पक्षले यो निर्णय गरेको लगत्तै गत साताको मंगलबार नै जनता समाजवादीको ठाकुर पक्षले पनि उपेन्द्र यादवलाई पार्टीबाट निस्कासन गर्ने निर्णय गरेको थियो । अहिले जनता समाजवादीका विघटित प्रतिनिधिसभाका १० जना सांसद आठवटा मन्त्रालयको जिम्मेवारीसहित वर्तमान सरकारमा समावेश भइसकेका छन् । तर, गत साताको जेठ ११ गते कार्यकारणी परिषदले गरेको निर्णयअनुसार वर्तमान सरकारमा सामेल भएका पार्टी नेताहरूलाई निष्कासन गरेको अन्तिम निर्णय जनता समाजवादीको उपेन्द्र यादव पक्षले अहिलेसम्म गरेको छैन । यादव पक्षले वर्तमान सरकारमा समावेश भएका पार्टी नेताहरूलाई निस्कासन गर्ने अन्तिम निर्णय सार्वजनिक गरी नसकेको भएपछि यो पार्टी विभाजनका लागि अब साइत मात्र बाँकी रहेको छ ।
यसैगरी प्रधानमन्त्री अ‍ोलीलाई विस्थापित गरेर कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउने मुद्दाको कारण सत्तारुढ एमाले पनि विभाजनको अन्तिम संघारमा पुगेको छ । संसदीय पद्दतिको आचरण र विशेषताविपरीत एमालेका वरिष्ठ नेता माधव नेपाललगायतका २८ जना एमाले सांसदले आफ्नै पार्टीका अध्यक्ष ओलीलाई हटाएर कांग्रेस सभापति शेरबहादुर देउवालाई मुलुकको प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका छन् । अहिले सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा पुगेको यो विवादकै कारण एमाले विभाजित हुने लगभग निश्चित भएको छ । अहिले एमालेको दुवै पक्ष विभाजनको दोष आफ्नो काँधमाथि नआओस् भनेर मात्र यो पार्टीको औपचारिक विभाजनको घोषणा भएको छैन । ओलीलाई प्रधानमन्त्री पदमा आसिन भएको देख्न नचाहने नेताहरूमा सबभन्दा बढी संख्या प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपा एमालेमा नै रहेको छ । र, नेकपा एमालेका माधव नेपाललगायतका कतिपय नेताहरू प्रधानमन्त्री पदबाट ओलीलाई हटाउने सर्तमा जे–जस्तो सहमति गर्न पनि तयार रहेका छन् । यही कारणले गदौ नै आफ्नो पार्टीका अध्यक्ष ओलीलाई प्रधानमन्त्री पदबाट हटाएर प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सभापति देउवालाई समेत प्रधानमन्त्री बनाउन नेकपा एमालेका नेपालहरू तयार छन् ।
प्रधानमन्त्री ओलीले पार्टीमा विवाद चर्किँदै गएपछि सचिवालय बैठकमा महाधिवेशनबाट पार्टी अध्यक्ष र आम निर्वाचनबाट प्रधानमन्त्री पद परित्याग गर्ने घोषणा पटक–पटक गरेका थिए । र, तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको प्रथम महाधिवेशनको मिति गत चैतको २५ गतेदेखि ३० गतेका लागि तय समेत भएको थियो । तर, महाधिवेशनको तयारी तिरभन्दा पनि विवाद तिर नेकपा मुछिन थालेपछि एकताको महाधिवेशनको मुद्दा पन्छिएर सत्ता बाँडफाँटको मुद्दाले नेकपा नेतृत्वमा प्रवेश पाएको थियो । यही कारणले गर्दा पनि गत वैशाख १७ र २७ गतेका लागि तय भएको आम निर्वाचनसमेत रद्द भएको थियो । गत वैशाख १७ र २७ गते दुई चरणमा आम निर्वाचन सम्पन्न भएको भए ओली प्रधानमन्त्री पदबाट पनि सहजरूपमा किनारा लाग्ने थिए । तर, नेपालमा कम्युनिस्ट शक्ति एक भएको देख्न नचाहने र यो शक्तिमा टुटफुट आएको मात्र हेर्न चाहने देशी–विदेशी शक्तिको कारण गत पुस ५ गते संसद विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गर्ने गरी नयाँ विवादले सत्तारुढ नेकपामा प्रवेश पाएको थियो । र, अहिले न त मध्यावधि निर्वाचन भएर प्रधानमन्त्री ओलीले सहजरूपमा सत्ता हस्तान्तरण गर्ने वातावरण बनेको छ न त महाधिवेशन गरेर पार्टी नेतृत्व नै हस्तान्तरण गर्ने अवस्था बनेको छ । अर्थात् पार्टी भित्रको अनावश्यक विवादले एमालेलाई राजनीतिकरूपले ठूलो प्रहार गर्ने काम भएको छ । सत्ताको कारण आपसमा विवाद आउँदा पार्टीमा यति ठूलो राजनीतिक हानी पुगिरहँदा पनि अहंकारमा मस्त भएका कुनै पनि नेताले सहमतिको सुत्र खोजेर एमालेलाई एक ठाउँमा राखेर अगाडि बढाउने योजना अहिलेसम्म ल्याउने प्रयास भएको छैन । अर्थात् एमालेलाई राजनीतिकरूपमा शक्तिशाली बनाउनेभन्दा नष्ट गर्ने काम नै अहिले दुई भागमा विभाजित भएका एमाले नेताहरूले तछाडमछाड गर्दै प्रतिष्पर्धा गरिराखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *