जनकपुर पुग्यो ठाकुर र यादवको विवाद

राजनीति

काठमाडौं– गत शुक्रबार राति प्रधानमन्त्री केपी ओलीले विस्तार गरेको मन्त्रिपरिषदमा जनता समाजवादीको महन्थ ठाकुर पक्षका राजेन्द्र महतोलगायत १० जना नेता समावेश भएपछि छटपटी बढेका उपेन्द्र यादवले शनिबार बिहानै नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिसँग प्रदेश २ को सरकारलाई निरन्तरता दिन प्रस्ताव राखेका थिए । नयाँ बानेश्वरस्थित निधि निवासमा यादवले २ नं. प्रदेशमा कायम रहेको लालबाबु राउत नेतृत्वको सरकारलाई निरन्तरता दिन सरकारमा नेपाली कांग्रेससमेत सहभागी हुन प्रस्ताव गरेका थिए । तर, कांग्रेस उपसभापति निधिले २ नं. प्रदेशको कांग्रेस संसदीय दलका नेता रामस्वरुप यादवको नेतृत्वमा संयुक्त सरकार गठन हुनुपर्ने प्रस्ताव गरेपछि यादव र निधि बीचको वार्ता विना निष्कर्ष सम्पन्न भएको थियो । र, निधीसँग वार्ता गरेपछि जनता समाजवादीका अध्यक्ष यादव त्यतैबाट विमानस्थल गएर जनकपुर पुगेका थिए ।
जनकपुर पुगेलगत्तै जसपा अध्यक्ष यादवले २ नं. प्रदेश जनता समाजवादीको संसदीय दलको बैठक बोलाएर मुख्यमन्त्री लालबाबु राउतलाई संसदीय दलको नेता चयन गराएका थिए । २ नं. प्रदेशमा जनता समाजवादीको संसदीय दलमा तत्कालीन संघीय समाजवादीका ३० र राष्ट्रिय जनता पार्टीका २५ जना सांसद रहेका छन् । पार्टीको संसदीय दलको नेता चयनको क्रममा राष्ट्रिय जनता पार्टी पक्षका ६ जना सांसदले मुख्यमन्त्री राउतको पक्षमा मतदान गरेका थिए । यसभन्दा अगाडि मुख्यमन्त्री राउतले मन्त्रिमण्डलको मर्यादा क्रममा दोस्रो हैसियतमा रहेका तत्कालीन राजपाका नेता जितेन्द्र सोनाल र तीन जना राज्यमन्त्रीलाई मन्त्रिमण्डलबाट निष्कासन गरेका थिए ।
अब मुख्यमन्त्री राउत र जनता समाजवादीका अध्यक्ष यादवको प्रयास २ नं. प्रदेश सरकारमा संसदमा १९ स्थान भएको नेपाली कांग्रेस र ९ स्थान भएको नेकपा माओवादी केन्द्रलाई समेत समावेश गर्ने रहेको छ । उता संसदमा २१ स्थान भएको नेकपा एमालेले पनि राउतलाई विस्थापित गरेर नयाँ सरकार गठन गर्ने कसरत सुरु गरेको छ । ओली नेतृत्वको केन्द्रीय सरकारमा ठाकुर पक्षको जनता समाजवादी पार्टी समावेश हुने अन्तिम कसरत हुन थालेपछि गत साताको मंगलबार राष्ट्रिय कार्यकारणीमार्फत् अध्यक्ष उपेन्द्र यादवले ओली सरकारमा समावेश हुने पार्टीका सांसदलाई स्वतः निस्कासन गर्ने निर्णय गराएका थिए । २ नं. अध्यक्ष यादवले यस्तो निर्णय गराएलगत्तै कार्यकारी अध्यक्षसमेत रहेका महन्थ ठाकुरले पनि अध्यक्ष यादवलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेका थिए । तर, ठाकुर पक्ष वर्तमान सरकारमा समावेश भएको साता दिन पुग्न लाग्दा पनि यादव पक्षले कुनै प्रतिक्रिया व्यक्त गरेको छैन भने तत्कालीन राष्ट्रिय जनता पार्टीका नेता रहेका जितेन्द्र सोनालसहितका चार जना ठाकुर पक्षका सांसदलाई राज्यमन्त्रीबाट हटाउँदा पनि महन्थ ठाकुर पक्षले कुनै प्रतिक्रिया व्यक्त गरेको छैन । दुवै पक्षले सार्वजनिकरूपमा कुनै प्रतिक्रिया व्यक्त नगरेको भए पनि दुवै पक्षले पार्टी विभाजनको अन्तिम अभ्यास गरी राखेको विश्लेषण राजनीतिक क्षेत्रले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *