ओली सरकारका सम्झनलायक उपलव्धी

लेख

दिनेश कार्की
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पहिलो पटक प्रधानमन्त्रीबाट हट्दैगर्दा संसदमा भनेका थिए, ‘देशी–विदेशी मिलेर चक्रव्यूह रचिएको छ, तर कलियुगको अभिमन्यूले चक्रव्यूह तोड्नेछ । ..यो नै अन्तिम होइन सुरूआत मात्र हो, हामी फेरि फर्किनेछौँ जनताको आदेश लिएर ।’ नभन्दै ओलीले त्यसबेला चक्रव्यूह तोडेर कलियुगका अभिमन्यूको रूपमा पुनः करिब दुई तिहाईको जनादेशसहित सिंहदरबारमा फर्किए । तर, उनको दोस्रो प्रधानमन्त्रीकाल भने सुरूदेखि नै भद्रगोलपूर्ण रह्यो ।
नगर्नु एकता गरेपछि उनले नेकपा जोगाउन सक्नुपथ्र्याे । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालमध्ये एकजनाको साथ लिएको भए उनी बलियो हुन्थे । तर, त्यसो हुन सकेन र नेकपा विभाजित हुँदै आज एमाले पनि विभाजित अवस्थामा हुँदा एमालेको माधव नेपाल समूहकै कारण उनी सत्ताच्यूत हुन पुगे ।
ओली आज सर्वोच्च अदालत संवैधानिक इजलासको परमादेशबाट बिदाई हुँदा चौतर्फीरूपमा उनको विरोध मात्र भइरहेको छैन, उनको पालामा सम्पन्न भएका, थालिएका र तीव्रता लिएका मूलतः विकास निर्माणका कामहरू भने उनी प्रधानमन्त्रीबाट हटेको धेरै वर्षपछि पनि सम्झनयोग्य नै छन् । राजनीतिकरूपमा ओलीको आलोचना गर्ने धेरै ठाउँ होलान्, तर ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने उनको एजेण्डा हो, जसलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि चीनका राष्ट्रपति सी जिनपिङसम्मले समझदारी गरेका छन् ।
ओलीमा पाँच वर्षभित्रै केही गरौँ, जुन कामले आफूलाई सधैं सम्झाइरहोस् भन्ने नै थियो, तर त्यसअनुसार उनले आफ्नो पार्टी व्यवस्थापन गर्न सकेनन् । एक्लै हिँड्न खोज्दा ओलीले पाँच वर्ष शासन चलाउन त पाएनन् नै, सोचेजस्तो काम गर्न पनि सकेनन् । तर, पनि उनले साढे तीन वर्षमा जति काम गरे, राजनीतिक विवादहरूलाई बाहिर राखेर विश्लेषण गर्दा केही सम्झनायोग्य काम गरेका छन् । राजनीतिक रूपमा पृथकतावादी र हिंसात्मक युद्धमा गएका डा.सिके राउत, नेत्र विक्रम चन्द ‘विप्लव’ समूहलाई राज्यको मूल प्रवाहमा ल्याउने चुनौतीपूर्ण काममा सफलता पाएका छन् ।
उनको एक्लो प्रयास थियो, सानातिना सशस्त्र समूहलाई पनि हतियारसहित मूल प्रवाहमा ल्याए । मुलुकको नक्साबाट गायब भएको अतिक्रमित कालापानी, लिपुलेक र लिम्पियाधुरा भूमि समेटेर राजनीतिक नक्सा जारी मात्र गरेनन्, त्यसकारण भारतसँग उनको सम्बन्धसमेत नराम्ररी बिग्रियो । यसबीचमा ओलीले अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको उपस्थिति देखिने र सुनिने बनाएकै हुन् । सार्क सम्मेलन आयोजना हुन सकेन, तर विमस्टेक आयोजना गरे । खोप कूटनीतिमा उनले राष्ट्रपतिसमेत लगाएर सफलता पाए । चीनबाट ४० लाख र अमेरिकाबाट १५ लाख खोप ल्याउने तयारी पूरा गरे । नयाँ सरकारले धेरै मेहनत गर्न नपर्ने गरी खोपको व्यवस्थापन गरेर गएका छन् ओली ।
यसबीचमा संविधानको पूर्ण कार्यान्वयन भएको छ । संविधान जलाएकाहरूलाई पालैपालो सरकारमा ल्याएर ओलीले संविधान सर्वस्वीकार्य बनाएकै हुन् । एसिड आक्रमणकारी र बलात्कारीलाई कडा सजाय दिने कानुन ल्याएर उनले सामाजिक न्यायको पक्षमा उल्लेख्य काम गरे ।
सामाजिक सुरक्षामा उनले प्राथमिकता दिए र पाँच वर्षभित्र ५ हजार वृद्धभत्ता पु¥याउने घोषणाअनुरूप तेस्रो वर्षमा ४ हजार पु¥याए । भूकम्पपछिको पुनर्निर्माण लगभग टुंग्याएर गएका छन् ओली । राजधानीबासीको २५ वर्षदेखिको सपना मेलम्ची खानेपानी, माथिल्लो तामाकोशीजस्ता आयोजनाहरूको कामलाई उनले आफ्नो कार्यकालमै टुंग्याउन तदारुकता दिएर सम्भव भयो । देशभरका स्थानीय तहमा १५ शैय्याका अस्पताल एकै दिन शिलान्यास भए र सम्भवतः अर्को वर्ष अधिकांश निर्माण हुनेछन् ।
धेरै ठूला पूर्वाधार विकासका आयोजनाहरू ओलीले अघि बढाएका छन् । अब जुन सरकार आए पनि ती आयोजना रोकिँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *