लालगद्दार माधवलाई सरकारमा जान सकस

लेख

 
दिनेश कार्की
लालगद्दारको आरोप लाग्दै आएका नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई साथ दिने नेता कार्यकर्ता र सांसदहरूको सल्लाहअनुसार नै आफू चल्ने भन्दै आएका छन् । आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएका माधव लालगद्दार घोषित भएका छन् । देउवालाई मत दिने पक्षमा त्यसबेला माधव पक्षमा उभिएका २२ जना सांसदसँगको सामूहिक छलफलमा नेपालले आफूलाई ओलीबाट दोस्रो अध्यक्षको प्रस्ताव आएको बताएका थिए ।
एमाले अध्यक्ष ओलीको विश्वास आफूलाई नरहेको भन्दै नेपाल पदलोलुप हो भनेर देखाउन यस्ता प्रस्ताव ल्याएको हुनसक्ने उनको आशंका थियो । नेपालले दोस्रो अध्यक्ष अरु जो बने पनि हुन्छ भन्दै आफूले कार्यदलमा रहेका नेताहरूलाई त्यसमा आफ्नो रुचि नभएको बताइदिएको जानकारी सांसदहरूलाई गराएर आफूले पार्टी एकता नचाहेको, देउवा र प्रचण्डको एजेन्ट बनेको प्रस्ट गरेका छन् ।
वरिष्ठ नेता नेपालसँग २२ मध्ये अधिकांश सांसदहरूले सरकारमा सहभागी हुनुपर्ने सुझाव दिए पनि नेपाल पक्ष देउवा सरकारमा नजाने भएपछि मन्त्री खान देउवालाई भोट हालेका एमाले लालगद्दार नेता र सांसदहरू मुर्छित भएका छन् । नेपालले २२ सांसदलाई मन्त्री बन्ने भए बन्नुस् तर ओलीले सांसद पद खाइदिने भएकाले आफूले हतार नगरेको बताएका छन् । त्यसको जवाफमा सांसदहरूले ‘साथीहरूको सांसद हिजो पनि ओलीले खाएकै हुन्, तपाईंले लडेर ल्याउनुभयो । अहिले सरकारमा गएर शक्ति सञ्चय गर्नुपर्छ, सरकारमा नगए कमजोर भइन्छ’ भन्ने सुझाव दिएर सत्ताको आंकाक्षा स्पष्ट देखाएका छन् । सत्तामा जान हतार गर्दै उनीहरूले ‘सांसद पद गए पनि पर्वाह नरहेको’ भन्दै ६÷६ महिना पालो गरेर मन्त्री बन्नेसम्मका कुरा गरेका थिए । एकजना सांसदले त एमाले मिलेर नेपाल ओलीसँग सहकार्य गर्न गएमा आफू एमालेमा नफर्किनेसम्मको चेतावनी दिएर माधवलाई छाड्नेसम्मको अभिव्यक्ति दिएपछि माधव पक्ष कति सत्तालोलुप, अराजक र अनुशासनहीन अवस्थामा पुगेछ भन्ने कुरा प्रष्ट हुन आएको छ ।
छलफलमा सहभागी सांसदहरूले सरकारमा जानुपर्छ भन्नेमा लगभग एकमत धारणा राख्नु माधव पक्ष सिद्दिनु हो । तर, अर्को दल दर्ता नगरी सरकारमा जाँदा कानुनी समस्या आउने भएकाले यसबारेमा चाँडो निर्णय गर्न नेतृत्वलाई दबाब परेको छ । बैठकमा अब पार्टी एकता गर्ने हो भने पनि चाँडो गरौँ । नत्र कानुनी प्रक्रिया पूरा गरेर दल विभाजन गरौँ, सरकारमा जाऔँ र आउने चुनावमा कांग्रेस र माओवादी केन्द्रसँग गठबन्धन गरेर गयौँ भने माधव गुट ओली एमालेभन्दा ठूलो दल बन्छौँ भन्ने कुरा आएको थियो । यसले माधव पक्ष पार्टी एकता चाहदैँन भन्ने थप पुष्टि हुन्छ । कार्यदलका माधव पक्षका सदस्यको १० बुँदे सहमति देखाउने दात रहेको प्रष्ट हुन आएको छ । एकताको नाममा कार्यदलका नेताहरूले माधव नेपाललाई कमजोर बनाउन खोजेको कुरा माधव पक्षभित्रै उठेको पनि छ ।
वरिष्ठ नेता नेपालले अझैं पनि आफू पार्टी एकताको पक्षमा रहे पनि ओलीबाट त्यो अपेक्षा नगरेको सुनाएका थिए । नेपाल आफ्नै दोस्रो तहका नेताहरूको कारण दबाबमा देखिएका छन् । २२ सांसदको भेलाले सरकारमा जानेलगायतका निर्णय गर्ने जिम्मा माधव नेपाललाई नै दिएको भए पनि माधव भने सरकारमा नजाने र २२ सांसद भने सरकारमा गएर भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गर्ने, चुनावी खर्च जोहो गर्ने, चुनावमा कांग्रेस र माओवादी केन्द्रसँग तालमेल गरी चुनाव जित्ने रणनीतिमा भएको देखियो । पार्टी एकता गर्ने, पार्टीलाई एक ढिक्का बनाउने, छिटो महाधिवेशन गरी नयाँ नेतृत्व चयन गर्ने र आफ्नै बलबुताले चुनाव जित्ने कुरा छाडेर कांग्रेस र माओवादी केन्द्रको शरणमा परेर चुनाव जित्ने लाचार छाँयाजस्तो देखिएका छन् । यो माधवको लालगद्दार बन्ने बाटो मात्र हो । इतिहासले त्यो बिल्ला माधवलाई लगाउने नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *