भ्रष्टाचारी र अपराधी मनोवृत्ति हाबी

प्रमुख लेख

सरकार प्रमुखको जन्म दिन मनाउनु र त्यसमा केक काटिनु चलन चल्ती कै कुरा हो । प्रधानमन्त्री केपी ओलीले पनि सोही गरेका छन् तर उनले किन यति धेरै बद्नाम हुनु परेको छ ? उनको टिममा जुकाझँै टाँसिएर बसेका भ्रष्टाचारी र अपराधीहरुले उनको जन्म दिन मनाउने सामान्य कुरालाई पनि उनलाई नै बद्नाम तुल्याउने हिसाबले प्रयोग गरेका छन् ।
नेपालको नक्साको आकारमा बनाएको केक प्रधानमन्त्रीको जन्म दिन मनाउने बहानामा उनलाई नै काट्न लगाएर एकातिर नेपाली जनताको मनोभावनामा आघात गर्ने प्रयास गरिएको छ भने अर्कातिर संसारको नजरमा प्रधानमन्त्री ओली बद्नाम भएका छन् । चट्टानझैँ बलियो देखिने ओली राष्ट्रवाद र अडान छिन्मै खरानी भएको छ र हावाले उडाएर लगेको छ । उनले नेतृत्व गरेका नेकपा सरकारभित्र छिरेर महत्वपूर्ण पद ओगटेर बस्न सफल भ्रष्टाचारी र अपराधीहरुले उनको जन्म दिनलाई भव्य बनाउने बहानामा उनलाई नै बद्नाम गर्न उपयोग गर्न सफल भएका छन् ।
प्रधानमन्त्री ओलीले सातदशक लामो अथक प्रयास गरी कमाएको राजनीतिक सौर्य छिन्मै स्वहा पारेका छन् । डेढ करोड खर्च गरी ठूलो तामझामका साथ उनको जन्म थलो तेह्रथुममा मनाएको जन्म दिनको कारण एकातिर उनीमाथि भएको नेपाली जनताको आस्था टुटेको छ भने अकातिर दुनियाँको नजरमा उनलाई नेपालमा हाल सक्रिय भ्रष्टाचारी र अपराधीहरुको नायककै रुपमा प्रस्तुत गरेको छ । अहिलेसम्म सबैले शंका मात्रै गरेका थिए भने अब विश्वासै गर्न बाध्य भएका छन् । प्रधानमन्त्री ओली यसरी एकाएक राष्ट्रको नायकबाट खलनायकमा रुपान्तरित भएका छन् ।
जन्म दिन मनाउने कार्यक्रम नेपाली संस्कारअनुसार नगरी पश्चिमी शैलीमा गरिएको थियो । त्यहाँ पूजापाठ र दानधर्म गर्नुको साटो नेपालको नक्साको आकारमा बनाइएको १५ किलोको केक काटिएको थियो भने केकको ढुवानी र सुरक्षा गर्नका लागि चारवटा हेलिकोप्टरहरु परिचालन गरिएको थियो । प्रधानमन्त्री ओलीलाई व्यवसायी यति होल्डिङ्स्सित भित्रभित्रै साँठगाँठ गरी नेपाल ट्रष्टको जंगल र जमिनहरु कौडीको भाउमा एकलौटी धेरै वर्षका लागि लिजमा उपभोग गर्ने अधिकार दिएको आरोप पनि लागेको छ । त्यहि व्यवसायी यति समूहका हेलिोकप्टर र कर्मचारीहरु पनि उक्त जन्म दिन मनाउने कार्यक्रमको व्यवस्थापनमा खटिएको सञ्चार माध्यममा आएको फोटोहरुमा पनि प्रष्टैसित देखिएका छन् । यसबाट के बुझिन्छ भने भूमाफिया यति समूहलाई नेपालको कानुन नै संशोधन गरी–गरी नेपाल ट्रष्टको नाममा रहेको सरकारी जंगल र जमिनहरु एकलौटी रुपमा लामो समय उपभोग गर्ने गरी कौडीको भाउमा लिजमा दिन प्रधानमन्त्री ओलीलाई नेकपा सरकारभित्र सक्रिय भ्रष्टाचारी र अपराधीहरुले नै बाध्य पारिरहेका छन् ।
संसारको सिएनएन र बिबिसीजस्ता प्रमुख सञ्चार माध्यमहरुले पनि प्रधानमन्त्री ओलीको जन्म दिन मनाएको प्रसंगलाई जोडेर समचार प्रसार गरेका छन् र नेपालको प्रधानमन्त्री र मन्त्रीहरुले नै भ्रष्टाचारीहरुको नेतृत्व गरेको भनेका छन् । यसरी संसारभर भ्रष्टाचारको दुर्गन्ध फैलिएको छ तर पनि केहि अपराधी र भ्रष्टाचारीहरु केकमा नेपालको नक्सा राखी त्यसलाई काटेर खाने कामले राष्ट्रलाई सम्मान गर्ने काम सरकारले गरेको छ भन्दै हिँडेका पनि छन् । सबैलाई थाहा भएकै कुरा हो अहिले सत्तामा बसेको राजनीतिक दल नेकपा अपराधकै मार्गबाट त्यहाँ पुगेको हो । तर सत्तामा पुगेपछि राजनीतिक दलहरुको भूमिका बदलिन्छ र सोहीअनुसारको आचरण र व्यवहार अंगीकार गरी राष्ट्रलाई अगाडि बढाउँदै लानु पर्ने हुन्छ । पहिले अपराधी थियौँ र धेरै अपाराधहरु गरेका थियौं भन्दै सत्तामा बसेर पनि तिनै अपराधीहरुको गुनगान गर्नु उचित राजनीतिक आचरण होइन ।
नेकपा सरकारले धमाधम अपराधीहरुलाई कडा कारबाही गर्नको साटो चोख्याउने काम गर्दै आएको छ । दीपक मनाङेजस्ता गुन्डाको नाइके प्रदेश सांसदको साथ साथ नेकपाको सक्रिय सदस्य भएका छन् । त्यसैगरी अर्का गुन्डाको नाइके अमिर गुरुङलाई प्रदेश नं १ सरकारको मन्त्री नै बनाइएको छ । भ्रष्टाचारीहरु को को नेकपाभित्र छिरेर सक्रिय छन् भन्ने कुराको त कुनै लेखाजोखा नै गर्न सकिन्न । भ्रष्टाचार र अपराधलाई परास्त पारी यसरी सदाचारिता राष्ट्रमा कायम गर्न सकिन्न । त्यसका लागि राष्ट्रको डाडु पुन्यू हातमा लिएर बसेका राष्ट्रका नेताहरु नै स्वच्छ छवि भएको हुन जरुरी छ । पहिले अपराध गरी सत्ता हासिल गरेको भए तापनि सत्तारोहन पछाडि बदलिएको भूमिका निर्वाह गरी राष्ट्रको हित हुने दायित्व बोक्नु अनिवार्य सत्ताको सर्त हो ।
भ्रष्टाचार र अपराधबाट राष्ट्रको हित गर्न सकिँदैन भन्ने कुरा जगजाहेर नै छ । त्यसैले भ्रष्टाचारी र अपराधीहरुलाई महत्वपूर्ण जिम्मेवारी दिएर राष्ट्रको नेतृत्वले चोख्याउने काम गर्न मिल्दैन । कुनै समूह वा राजनीतिक दल अपराधको मार्गबाट सत्तामा पुग्न सफल भएको घटनालाई उदाहरण बनाएर र कुनै पनि व्यक्तिलाई अपराध गर्न छुट दिन मिल्दैन । पूर्वसञ्चार मन्त्री गोकुल बाँसकोटा एक खुँखार डनको भूमिकामा सफल रहेका थिए भने हाल मन्त्रीको भूमिकामा भने सफल हुन सकेन । उनको पृष्ठभूमिको अध्ययन नगरी राजनीतिक नेतृत्वले उनलाई सञ्चार मन्त्री बनाएको हुनाले नै उनले राष्ट्रलाई यति धरै धोका दिन सफल भएका छन् । उनले नेपाल राष्ट्र र नेकपा सरकारलाई संसारभर बद्नाम तुल्याएका छन् ।
विशेष गरेर उनलाई संरक्षण गर्ने प्रधानमन्त्री ओली स्वयंलाई सय भोल्टको झट्का लागेको दखिन्छ । हाल पुनः मन्त्री बन्ने चर्चामा रहेको महेश बस्नेतको पृष्ठभूमिको पनि मूल्यांकन गर्नबाट राजनीतिक नेतृत्व चुक्नु हुन्न भन्ने सबैको सुझाव छ । फुर्सदमा पश्चताप गर्नुको साटो अहिले नै सावधानी अपनाउन सकेमा राष्ट्रलाई पछाडि धोका हुने छैन । नेपालमा अपराध मनोवृत्ति हाबी भइरहनुमा राजनीतिक दलहरुले अपराधीहरुको सहयोग लिने र तिनीहरुको संरक्षण गर्ने गरेकाले नै हो । त्यसरी राजनीतिक संरक्षण पाएका अपराधीहरुले नेपालको कानुनलाई नटेर्ने र कनुनको रेखदेख गर्ने नेपाल प्रहरीलाई नगन्ने गरेका छन् ।
अपराधीहरुलाई अनेक पापड बेलेर नेपाल प्रहरीले ज्यानको बाजी लगाएर कारबाही चलाई नेपालको अदालतसम्म लान्छन् तर अदालतले उल्टै अपराधीकै प्रभावमा परी सजाय दिनको साटो सफाइ दिने काम गर्दछन् । नेपालमा भ्रष्टाचारको अवस्था पनि अपराधको जस्तै छ । जसरी अपराधीहरु अदालतबाट छुट्छन् त्यसरी नै भ्रष्टाचारीहरुले पनि अदालतबाट सफाई पाएर छुट्छन् । भ्रष्टाचारजन्य अपराध गरेबापत नेपालमा हलुका सजाय हुने कनुन भएको र अदालतलाई धनको प्रयोग गरी सजिलै प्रभावमा पार्न सकिने भएकाले भ्रष्टाचार बढेको बढेकै छ । भ्रष्टाचारले गर्दा नेपाल सरकारको काम कारबाहीहरु सबै प्रभावित भइरहेको छ र नेपाली जनताले अति आवश्यक सरकारी सेवाहरु लिनका लागि सरकारी अधिकारीहरुलाई घुस खुवाउँदै हिँड्नु पर्ने अवस्था अहिले नेपाल राष्ट्रैभरी विद्यमान रहेको छ ।
चिनाजानी नभएका र आफ्नो नजिकको मान्छे पदमा नभएकाहरुका लागि नेपालमा सामान्यभन्दा सामान्य काम गर्न र गराउनका लागि पनि फलामको चिउरा चपाएर खाएसरह नै छ । नेपालमा हाल चलन चल्तीमा रहेको सरकारी सुशासनको हालत बयान गरेर साध्य छैन तर पनि नेकपा सरकार भने आफ्नो सुशासन र सदाचारिताको चर्चा गर्न कहिले पनि चुक्दैन । झापामा जमिन्दारको टाउको काट्नेहरु र १४ हजार जनता मारेकाहरु सत्तामा छन् भनी राख्नु पर्दैन किनकि त्यो सबैले बुझिराखेकै कुरा हो । अहिलेको अवस्थामा नेपाली जनताले नेकपा सरकारको मूल्यांकन गर्ने आधार भनेको उसले हालैमा गरेको राम्रो कामहरु नै हो । तर नेकपा सरकारले हालैमा गरेको राम्रो कामहरुको उदाहरण सिला खोज्दा पनि पाउन कठिन भएको छ ।
नेकपा सरकार एकपछि अर्को नराम्रो प्रकरणहरुमा जाकिँदै जाने क्रम बढेको छ । एमसिसीको विवाद टुंगिन नपाउँदै प्रधानमन्त्री ओलीको केक प्रकरण आएको छ । यो अप्रत्यासित केक प्रकरणले नेपाली जनताको आस्थामाथि आघात भएको छ । नेकपा सरकारभित्रै डेरा जमाए बसेका केहि अपराधी मनोवृत्ति भएका स्वार्थी तत्वहरुले प्रधानमन्त्रीको जन्म दिन मनाउने कुरालाई उपयोग गरी राष्ट्रमा घृणा फैल्याउने कामलाई अन्जाम दिएका छन् । नेपालको नक्साको आकारमा बनाएको केक प्रधानमन्त्री स्वयंलाई काट्न लगाई मुख मीठा गर्ने काम भएको छ ।
नेपाल आमाको प्रतिकको रुपमा बनेको केक र त्यसलाई टुक्रटुक्रा पारी काटेर खाएको दृश्यले सबै नेपालीको मनलाई छियाछिया पारेको छ । कतिले यो राष्ट्रलाई मास्ने र देशलाई टुक्राटुक्रा पारेर बिखण्डन गर्ने राजनीतिक संकेतको रुपमा पनि बुझेका छन् । नेपालमा विद्यमान कानुनको आधारमा पनि यस्तो कार्यलाई अपराध मानिएको छ र अपराधीलाई ६ महिनासम्मको कैद र ५ हजार रुपियाँसम्मको जरिवाना हुन्छ भनिएको छ । कतिले अपराधी स्वयं नेपालको प्रधानमन्त्री भएकाले माफी माग्न आग्रह पनि गरेका छन् । यस्तो अपराधिक चुकचुक हुनुमा नेकपा सरकारभित्र डेरा जमाएर बसेका भ्रष्टाचारी र अपराधी मनोवृत्ति भएकाहरुकै हात रहेको हुनाले तिनीहरुलाई तुरन्तै बेघर बनाउनु पर्ने जोडदार सुझाव गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *