कर्मचारीमा सरुवा आतंक, बजेट फेर्न अर्थमा मरासिनी

प्रशासन

काठमाडौं । सरकार फेरिएसँगै कर्मचारी सरुवाको मौसम सुरु भएको छ । गृहका कमाण्डर फेरिएसँगै सरकारले केही सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ । गृहमन्त्री बालकृष्ण खाँड आएसँगै गृहको शान्ति सुरक्षा महाशाखा, प्रशासन महाशाखा, आन्तरिक व्यवस्थापन महाशाखा र कारागार व्यवस्थापन विभागका हाकिमहरूको जिम्मेवारीमा हेरफेर गर्न भ्याएका छन् । गृहले प्रवक्तासमेत हेर्ने गरी शान्ति सुरक्षा महाशाखाको प्रमुखमा फणीन्द्रमणि पोखरेललाई मन्त्रालयमा तानिएको छ । यसअघि सो महाशाखा हेर्ने जिम्मेवारी जनकराज दाहाललाई दिइएको थियो । उनी केपी ओलीको निगाहामा झापाको प्रमुख जिल्ला अधिकारी हुँदै काठमाडौंको प्रजिअ बनेका थिए । काठमाडौंको सिडिओ कालिप्रसाद पराजुलीलाई पठाइएपछि दाहाल गृहमा तानिएका थिए । अहिले दाहाललाई कारागार व्यवस्थापन विभागको हाकिम बनाएर पठाइएको छ । यस्तै, गृहले प्रशासन महाशाखाको जिम्मेवारी गोविन्द रिजाललाई दिएको छ भने सो महाशाखा हेर्दै आएका घनश्याम उपाध्यायलाई आन्तरिक व्यवस्थापन महाशाखातिर पठाइएको छ । यद्यपि गृहले १८ महिनादेखि त्यही बस्दै आएका भक्तपुरे सचिव महेश्वर न्यौपानेलाई चलाएको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रवक्ता नयाँ ल्याइएको छ । सहसचिव कृष्णबहादुर राउतले यो जिम्मेवारी पाएका छन् । यता माओवादीले सम्हालेका अर्थ मन्त्रालयमा मधुकुमार मरासिनीलाई नियुक्त गरी शिशिरकुमार ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त समूहमा पठाइएको छ । स्रोतका अनुसार, आरजु राणाको फोनसमेत रिसिभ नगर्दा शिशिरलाई अर्थबाट लखेटेर प्रम कार्यालय अक्तिरिक्त समूहमा थन्काइएको हो । उनी ६ महिनापछि अनिवार्य अवकाश पाउँदैछन् ।
मरासिनी चाहिँ हुलाकबाट निजामती सेवामा प्रवेश गरेका हुन् उनी बीचमा राजस्व सेवामा प्रवेश गरेका हुन् । २५ वर्षदेखि अर्थ मन्त्रालयमै छन् । उनी सचिव बढुवा हुनेवित्तिकै महालेखामा पदस्थापन भएका हुन् । जबकी सचिव बढुवा भएकालाई सुरुमा प्रदेशमा पदस्थापन गर्ने प्रचलन छ । अहिले उसैगरी गृहमा हालै मात्र बढुवा भएका कृष्णहरि पुष्करलाई लैजाने चलखेल हुँदैछ । अर्थ सचिवमा बैकुण्ठ अर्याल र केवलप्रसाद भण्डारीलगायत दौडमा भए पनि उनीहरूलाई पछि पार्दै मरासिनीले अर्थ सचिव बन्ने अवसर पाएका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशमार्फत ल्याएको बजेट यस सरकारले सच्याउने तयारी गरेको छ । शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएसँगै पहिलो संसद बैठकमा अध्यादेश विधेयक टेबल भएको छ । प्रतिस्थापन विधेयकबाट बजेट प्रतिस्थापन गर्ने वा सोही बजेट कार्यान्वयनमा लैजाने हो भन्ने टुंगो संसदले लगाइसकेको छैन । यद्यपि, अर्थमन्त्रालयले अध्यादेशको बजेट सच्याउन भने तयारी गरिरहेको बुझिएको छ । त्यसकै लागि जनार्दन शर्माले मरासिनीलाई अर्थ मन्त्रालयमा तानेको बुझिएको छ । अझैं पाँच मन्त्रालय तथा विभाग खाली छ, सरकारले भने तीन जना सचिवलाई जगेडामा लगेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा थन्काएको छ ।
उता, सहरी विकास सचिव रमेश सिंह सेटिङ मिलाएर त्यही टिक्ने खेलोमा लागेका छन् । वन मन्त्रालयका सचिव प्रेमनारायण कँडेल आफू कांग्रेसी भएको भन्दै बिहान बेलुका नेताहरूको दैलोमा देउसी खेल्दै हिँड्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *