नयाँ देउवा सरकारले किन गति लिन सकेन ?

लेख

काठमाडौं । सुरु–सुरुमा निवर्तमान प्रधानमन्त्री ओलीको हँसाउने पाराको भाषण सुनेर नेपाली जनता दंग परेका थिए । ओली सरकारका पालामा अनेकपटक नेपाली जनता निवर्तमान प्रधानमन्त्री ओलीको हँसाउने भाषण सुनेर पेट मिचीमिची हाँसेका थिए । निवर्तमान प्रधानमन्त्री ओलीले पनि जनभावना बुझेर पूरै नेपाललाई हाँसोमय बनाइदिनु भयो । उहाँको पालामा हावा खानको लागि पहाड हिमालको अग्ला डाँडाको टुप्पाहरूदेखि लिएर तराईका धानखेत घाँसेमैदानहरू सबैमा अग्ला कंक्रिटका टौवाहरू बनाइएका छन् । हावाबाटै बिजुली निकालेर देखाउने गफहरू उहाँले नेपाली जनतालाई धेरैपटक सुनाउनु भएको भए पनि उहाँका शासनकालमा त्यो सम्भव हुन सकेन । बिजुलीबाट चल्ने बसहरू र बिजुलीबाटै चल्ने रेलहरू चलाएर देखाउँछौँ भनी उहाँले भाषण गर्दा कुर्लेर धेरैपटक सुनाउनु भएको भए पनि उहाँको निकै लामो शासनकालमा त्यसको कार्यान्वयन गरी उहाँले देखाउन सक्नु भएन । जनकपुर–जयनगरमा चलाउनका लागि हतारहतारमा आयात गरिएको रेल उहाँले उद्घाटन गरेर पनि दुलही झैँ घुम्टो ओढाएर राखेको वर्ष दिन बित्न लाग्यो । रेल नेपालमा चल्ला वा नचल्ला कुनै तयारी बिना नै कमिशन खानको लागि मात्र हतारमा रेलको आयात गरिएको थियो । त्यसपछि उक्त रेल चलाउनको लागि ओली सरकारले कुनै चासो देखाएन बरु छिमेकी भारतलाई खुसी पारी आफ्नो सत्ता टिकाउनको लागि उक्त रेल चलाउने जिम्मा पनि एक भारतीय कम्पनीलाई नै दिए । रेल विभाग खुलेको धेरै पहिले नै हो । ओली सरकारको पालामा उक्त विभागले नेपालमा विद्युतीय रेल चलाउने भनी अध्ययन अनुसन्धानदेखि रेल मार्गको निर्माणमा खर्बौँ लगानी गरी अलपत्र पारी राखेको छ । त्यत्रो लगानीको प्रतिफल आजको दिनसम्म एक पैसा बराबरको पनि भएको छैन । रेल विभागको यत्रो समस्याको समाधान नखोजी ओली सरकारले पानीजहाजको कार्यलय पनि खोलेर देखाएका छन् । ‘जीउमा छैन लत्ता, चले कलकत्ता’ भनेजस्तै ओली सरकारको पालामा नेपाली जनतालाई विकास गरेको देखाउनको निमित्त बिनाकामका कार्यलयहरू खोलेर सरकारी खर्चको बोझ बढाइएको छ । उहाँको यस्ता कामहरूले नेपालको विकास हुने कुरै भएन तर पनि आफ्ना पार्टीका राजनीतिक कार्यकर्ताहरूलाई उक्त कार्यालयहरूमा रोजगारी दिएर खुसी तल्याएका छन् । ओली सरकारले आफ्नो शासनकालको अन्तिम चरणमा आइपुग्दा विकास भटाभट गरेर देखाउनका लागि एकै दिनमा सयौंको संख्यामा परियोजनाहरूको सिलान्यास अनलाइनबाट गरेका थिए । केही परियोजनाहरूको शिलान्यास सकिन साथै अर्को दिन अनलाइनबाटै उद्घाटन पनि गरिएका छन् । ओली सरकारको पालामा कति परियोजनाहरूको शिलान्यास र उद्घाटन गरिए आजको दिनमा रेकर्ड राख्न र हेर्नको लागि पनि निकै कठिन भएको हुनुपर्छ । त्यस्तो सरकार लगातार ४ वर्ष झेलेको नेपाली जनताको लागि नयाँ देउवा सरकार ‘कागलाई बेल पाक्यो न हर्ष न विष्मत’ पक्कै पनि बन्ने छैन । ओली सरकारले गरेको हावा विकास थाम्न नसेको नेपाली जनताले नयाँ देउवा सरकार आउँदा निकै राहत महसुस गर्दैछन् । ओली सरकारको प्रहसन र लगातारको पत्रकार सम्मेलनको भाषणहरू सुन्दा–सुन्दा नेपाली जनताको कान पाकिसकेकाले अब आनन्दसित केहीदिन कानमा तेल हालेर नेपाली जनता आरामसित बसे हुन्छ । देउवा सरकारले काम गरे पनि वा नगरे पनि यो नेपाली जनताको शून्य समय भएकाले केही फरक पर्दैन । नयाँ देउवा सरकारले बंगरा चलाउनु भन्दा नंग्रा चलाउनुमा नै जोड दिने छन् भन्ने नेपाली जनताले पहिले नै अनुमान लगाएका छन् । बेलायतको प्रख्यात अक्सफोर्ड विश्वविद्यालयमा पढेका प्रधानमन्त्री देउवा कुनै चानचुने मान्छे भने होइन । उहाँ विशेष व्यक्तित्व भएको नेता भएकै कारण पञ्चायती व्यवस्थाका नेताहरूले आफ्नो निशाना बनाएका थिए । नेपाली जनताले उहाँको भाषण राम्रोसित सुन्न नसकोस् र सुने पनि राम्रोसित नबुझोस् भनेरै पञ्चायती जेलमा उहाँलाई यातना दिने काम भयो । उहाँको जेब्रोमा बिजुलीको करेन्ट लगाएर उहाँले बोलेको कुरा नबुझ्ने तुल्याइयो । फलस्वरुप आज आएर नेपाली जनताले उहाँको भाषण राम्रोसित बुझ्ने गरी सुन्न पाएको छैनन् । उहाँ नेपाली कांग्रेसमा आजको मितिमा नाम चलेको प्रखरवक्ता गगन थापाभन्दा पनि उत्तम वक्ता भएकोमा कुनै शंका छैन । जिब्रोमा करेन्ट लगाएर उहाँले बेलेको नेपाली जनताले नबुझ्ने बनाए पनि उहाँको भाग्यलाई भने राजतन्त्रका कसाइँ पञ्चहरूले मेटाउन सकेनन् । उहाँ नेपालको प्रधानमन्त्री पाँचौपटक बन्नु भएको छ । उहाँले नमान्दा–नमान्दै पनि ओली सरकारलाई हटाउन चाहने विभिन्न दलका शीर्ष नेताहरूको अनुरोध टार्न सक्नु भएन । प्रधानमन्त्री देउवा यतिबेला आफ्नो नेतृत्वमा बन्ने विपक्षी दलहरूको सरकारलाई अन्तिम स्वरुप दिन लाग्नु भएको छ । यो त्यति सजिलो काम होइन किनकि गठबन्धन दलहरूभित्र र आपसमा सत्ता र शक्तिको सन्तुलन बनाएर अगाडि बढ्नु पर्ने हुन्छ । सानोतिनो सरकारको गल्तीलाई पनि फुकी–फुकी ठूलो बनाउनको निमित्त निवर्तमान प्रधानमन्त्री ओली पक्षका एमाले दल ब्वाँसो झै कुर्दै, हेर्दै बसेका छन । ओली सरकारले जस्तो यो नयाँ देउवा सरकारले विधि, विधान र संविधान मिच्ने काम गर्दैन । जे काम कुरो विधि, विधान, र संविधानअनुसार छन त्यही काम गर्नको लागि मात्रै नयाँ देउवा सरकारले जोड लगाउने छ । नयाँ देउवा सरकारको ध्यान यो संसदको बाँकी अवधि कुनै दुर्घटना बिना नै पूरै अवधि चलाएर नयाँ संसदको चुनावसमेत गराउनमा केन्द्रित हुनुपर्छ । निवर्तमान प्रधानमन्त्री ओलीले हालेको चारो वा जालमा कुनै पनि हालतमा फँस्ने काम गर्नु हुँदैन । नयाँ सरकारको सत्ता र शक्तिको सन्तुलन निकै नाजुक र संवेदनशील छ । पूर्वप्रधानमन्त्री ओलीको पेलाई धेरै खाएकाले मात्रै जात नमिलेकाहरू एकै ठाउँमा बसेका हुन् भन्ने कुरा मानेर चल्नुपर्छ । जाहेर नै छ प्रधानमन्त्री शेरबहादुर देउवाले जुन जिम्मेवारी लिनु भएको छ, त्यो निवर्तमान प्रधानमन्त्री ओलीको जस्तो सजिलो र सरल छैन । निवर्तमान प्रधानमन्त्री ओलीले दुईतिहाई बहुमत भएको एकलौटी सरकारको नेतृत्व समेत सम्हाल्न सक्नु भएन र अन्तिममा काम चलाउ सरकारको नेतृत्व गर्दै बद्नाम भएर निष्कासित हुन पुग्नुभयो । निवर्तमान प्रधानमन्त्री ओलीलाई जस्तो अवसर अब भविष्यमा कुनै पनि नेपालको प्रधानमन्त्रीहरूले पाउने सम्भावना कमै छ । अब अहिले जे–जस्तो सरकार चलेको छ भविष्यमा पनि त्यस्तै सरकारहरू बन्ने भएकाले आइन्दा राजनीतिक दलहरूले मिलीजुली सरकार चलाउने बानी बसाउँदा राम्रो हुन्छ । ओली सरकारको पालामा विधि, विधान र संविधान मिचेर धेरै राजनीतिक नियुक्तिहरू भएका छन् । एक प्रकारले सत्ता र शक्तिको ओलीकरण गर्ने प्रयास ओली सरकारको पालामा भएको थियो । विभिन्न सरकारी निकायहरूमा गैरकानुनी तरिकाले भए÷गरिएका यस्ता राजनीतिक नियुक्तिका पदहरू लगभग १ हजार जति छन् । नेपालका करिब ४ दर्जन ओली भक्त इन्जिनियरहरूले पनि विभिन्न सरकारी निकायहरूको विभिन्न पदमा राजनीतिक नियुक्ति लिएका छन् । यस्ता पुरानो सरकारका नियुक्तिदारहरू सो पदहरूमा कायम रहेसम्म चुपचाप नयाँ सरकारलाई असफल पार्न भित्रभित्रै कदमहरू चाल्ने छन् । यस्ता ओली सरकारका नियुक्तिदारहरू निजामति सेवादेखि लिएर संवैधानिक आयोग र विदेशस्थित कूटनैतिक नियोगहरूमा सक्रिय छन् । देउवा नेतृत्वमा बनेको नयाँ सरकारले सर्वप्रथम त यस्ता नियुक्तीदारहरूबाट छुटकारा लिनुपर्छ र सो पदहरूमा सरकारमा सहभागी दलहरूका सहयोगीहरूलाई नियुक्त गर्नुपर्छ । कोरोना महामारीको संकटलाई देखाएर ओली सरकारले धमिलो पानीमा माछा मार्ने काम गरेका छन् । राष्ट्रलाई ८ खर्बको ऋण बोकाएर छाडेका छन् र यति धेरै ऋण राष्ट्रलाई कसरी लाग्यो भन्ने देखाउनको लागि ठोस आधार छैन । ओली सरकार विकास, समृद्धि र सुखी नेपाली भनेर कराउन कहिले छाडेन तर, विकासको नाममा एउटा उद्योग खोलेको छैन । नेपालैभरि जताततै धराप झै देखिने कंक्रिटका टौवाहरू बनाएर छाडेका छन् । विदेशी सहयोगमा बनाइएका नमुना परियोजनाहरूलाई ओली सरकारले गरेको विकास भनी बेतुकसित देखाउने गरेका छन् । समय काल र परिस्थितिअनुसार स्वतः भएका विकासलाई ओली सरकारले गरेको विकास भन्दै प्रचार गर्ने गरेका छन् । नेताको योगदान र नेतृत्व गर्ने क्षमताबाट भए गरेका विकासहरू नेपालमा बिरलै छन् । नेपालका नेताहरूको निमित्त विकास भनेको ‘अन्धोलाई हात्ती’जस्तो मात्रै हो । कुनै नेताले ‘नेपाललाई सिंगापुर बनाउँछु’ भन्छन् भने कसैले ‘स्विजरल्याण्ड बनाउँछु’ भन्छन् । तर, नेपाललाई नेपालजस्तै बनाए पुग्छ । नेपाल राष्ट्र उहिलेदेखि नै महान राष्ट्र बनिसकेको छ त्यसैले नेपालीले यसलाई जोगाए मात्रै पनि पुग्छ । नेपाललाई त्यसै संसारले सुन्दर, शान्त र विशाल मुलुक भनेको होइन । वास्तवमा नै यो सुन्दर, शान्त र विशाल छ र यसलाई अरु मुलुकले गरेका आधुनिक विकाससित दाँजेर हेर्न मिल्दैन । भनिन्छ रोम एकै दिनमा बनेको होइन त्यस्तै नेपालको राजधानी कान्तिपुर पनि एकै दिनमा बनेको होइन । ओली सरकारले कन्तिपुरको विनास गरिदिएको छ । कंक्रिटका अग्ला टौवाहरूका बीच कान्तिपुरको पुरानो इतिहास जोगिनको लागि गुहार माग्दै थिचिएर मिचिए बसेको छ । यस्तो पनि विकास हुन्छ र जहाँ थिचोमिचो सहेर बस्नु पर्छ, बेसाहाराले साहारा पाउँदैन र दिन दुःखीहरूको आवाजलाई कसैले सुन्दैन । संयुक्त सरकार भएको हुँदा देउवा सरकारबाट ठूलो अपेक्षा नेपाली जनताले राखेको छैन । तै पनि अवाजहीनहरूको आवाज बन्न, बेसाहाराको साहारा बन्न र सत्यको साथ दिन देउवा सरकार चुक्ने छैन भन्ने नेपाली जनताले सोचेका छन् । ‘विस्तारै गए पुगिन्छ तर हतार गरेमा केही भन्न सकिन्न’ भने झै देउवा सरकारले हतार नगरी कसैलाई नचिढाई अगाडि बढेमा यो संसद पनि पूरै काल चल्नेछ, चुनाव पनि गराउने छ र बहुमतका साथ चुनाव जित्ने पनि पक्का छ ।
०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *