सामुदायिक वन अभियानको मुख्य काम वनको संरक्षण गर्ने, वनको सदुपयोगमार्फत उपभोक्ताको समृद्धिमा योगदान गर्ने हो । सबैभन्दा पहिला वन संरक्षण प्रमुख विषय थियो । सामुदायिक वनको सुरुवातको बेलामा प्रायः सबै उपभोक्ताको जीविका साधन वन र वन पैदावर थियो । हिजो सामुदायिक वन सुरु गर्दा दाउरा, घाँसमा धेरै उपभोक्ताको तछाँड–मछाँड हुन्थ्यो । पछिल्लो समयमा दाउरा, घाँस धेरै उपभोक्ताको प्राथमिकतामा परेको भेटिन्न । त्यसैले उपभोक्ताको चाहना र आवश्यकताअनुसारको वनबाट प्राप्त हुने सेवा लिन सक्नु पर्दछ । सोहीअनुसार सामुदायिक वन क्षेत्रको व्यवस्थापन जरुरी पर्दछ । अहिले वन क्षेत्रमा देखापरेको प्रमुख सवाल नै उपभोक्ताको चाहना र आवश्यकताअनुसार वनको व्यवस्थापन हुन नसक्नु हो । अहिले अधिकांश सामुदायिक वनका उपभोक्तालाई दाउरा, घाँसलाई वन चाहिएन त्योभन्दा बढि पाइएन वा लिन जानिएन त्यसकारण सामुदायिक वनप्रति उपभोक्ताको चासो कम हुन थालेको छ । यसको मतलब सामुदायिक वनप्रति उपभोक्ताको जीविका जोडिएको छैन । त्यसैले सामुदायिक वनको सेवालाई फरकपन ल्याउन जरुरी छ । हरेक सामुदायिक वनको आफ्नो हैसियत वा अवस्था विश्लेषण गरी आफ्नो विशिष्ट पहिचान दिने काम गर्नु आजको सवाल भएको छ । यो सवाललाई शैलुङ गाउँपालिका दोलखाको एक सामुदायिक वनले सम्बोधनको कोसिस गरेको छ ।
१८ वर्ष अघि तत्कालिन जिल्ला वन कार्यालय दोलखाले प्रकृयागत रूपमा १३० हेक्टर क्षेत्रफल वनलाई जुँगे दार्खा सामुदायिक वन उपभोक्ता समूहलाई हस्तान्तरण गरेको थियो । यो सामुदायिक वन हाल शैलुङ गाउँपालिका वडा नंं. ३ मा पर्दछ । हाल यस सामुदायिक वनमा ३४८ घरधुरी परिवार सदस्य रहेका छन् । मध्यपहाडी क्षेत्रमा पाइने वनस्पति तथा जीवजन्तु यस वनमा पनि पाइन्छन् । यी विशेषता यस क्षेत्रका अन्य सबै सामुदायिक वनहरूमा हुने नै भए ।
सामुदायिक वन उपभोक्ता समूह भएपछि संस्थागत गतिविधिहरू त हुने नै भए । वर्षको एकपटक साधारणसभा, नियमित समितिको बैठक, आवश्यकताअनुसार वन कार्ययोजना परिमार्जन, कार्ययोजनाअनुसार वन व्यवस्थापनका कार्यहरू भइरहेका छन् । यति मात्रले बदलिदो अवस्थालाई सम्बोधन गर्न सकेको थिएन । वन संरक्षणमा त यो सामुदायिक वनले आफूलाई अब्बल प्रमाणित गरिसकेको थियो ।
अब, उपभोक्ताहरूलाई सामुदायिक वनका कस्तो सेवा प्रवाह भएमा राम्रो होला भन्ने विषयमा सामुदायिक वनका अगुवाहरू छलफल गर्न थाले । मुलुक संघीयतामा प्रवेश गरिसकेको र नेपाल सरकारले समृद्धिका लागि वन भन्ने सोच पनि विकास गरिसकेको थियो । अनि उपभोक्ताको चाहाना सामुदायिक वनबाट दाउरा, घाँसको धेरै अपेक्षा पनि थिएन । यो मौकालाई सदुपयोग गर्ने सोचमाथि उपभोक्ताका अगुवाहरू छलफलमा जुट्न थाले ।
अगुवाहरूले वन र समुदायको क्षेत्रका विशेषतामाथि चिन्तन गरे । अब दाउरा, घाँसलाई वन धेरै चाहिएन । त्योभन्दा के फरक गर्न सकिन्छ भन्ने विषयमा पटक–पटक छलफल भयो । वनका सरोकारवालाहरूसँग पनि परामर्श भयो । छलफल गर्दै जाँदा पर्यटकीय क्षेत्र शैलुङ नजिकै भएकाले त्यससँग कसरी जोड्न सकिएला भन्ने विषयमा चिन्तन चल्यो । महाभारत शृंखलाको सबैभन्दा सुन्दर डाँडै–डाँडाले भरिएको शैलुङ स्थानले पर्यटन गन्तव्य बनिरहेको छ । त्यो स्थानको पूरक केही कार्य गर्न सकिन्छ कि भनी छलफल भइरह्यो ।
शैलुङ क्षेत्रसँगसँगै पर्यापर्यटनमा यो सामुदायिक वनले भूमिका खेल्न सक्छ भन्ने निष्कर्षमा पुग्यो । वनमा विगतमा गरेका कामहरू गरिरहने तर त्योभन्दा थप बाहिरका मान्छेलाई पनि आकर्षण गर्ने क्रियाकलापहरूको खोजीमा समूहभित्र छलफल भयो । स्थानीय सरकार (शैलुङ गाउँपालिका) र सव–डिभिजन वन कार्यालयसँग पनि पटक–पटक कुराकानी भए । कुराकानी उत्साहप्रद नै थिए । त्यही मेसोमा वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वनस्पति विभागको एक सूचना देखियो । समूहको सोचसँग मिल्ने थियो ।
समूहले सोचेको र वनस्पति विभागले खोजेको हँुँदा कुरो मिल्यो । समूहको आवेदन वनस्पति विभागले स्वीका¥यो । यही सामुदायिक वन क्षेत्र भित्र ‘वनस्पति उद्यान’ को अवधारणा लागू हुन थाल्यो । स्थानीय सरकार, वन कार्यालयसँगको प्रत्यक्ष सहकार्यमा वनस्पति उद्यान निर्माणका लागि योजना तयार गरियो । शैलुङ गाउँपालिका वडा नंं. १, ३ र ६ वडा अध्यक्षहरू क्रमशः विर्षबहादुर तामाङ, धु्रवकुमार श्रेष्ठ र राजु खड्काको उपस्थितिमा यो वनस्पति उद्यान व्यवस्थापनका लागि एक समिति गठन भएको छ ।
सामुदायिक वनको कार्ययोजनामा समावेश गर्नका लागि साधारणसभामा छलफल भयो । जिल्लामै नयाँ कामको थालनी गर्न पाउँदा उपभोक्ताहरूको जोश जाँगर थपियो । आफ्नो सामुदायिक वनको पहिचान बढ्ने काम हुँदा को–पो खुसी नहोला र भन्दै धेरै उपभोक्ताहरू जुटे ।
३ हेक्टर क्षेत्रफललाई वनस्पति उद्यान बनाउने सोच विकास भयो । त्यहाँ सुन्दर बगैँचाको कल्पना गरिएको छ । बगैँचाभित्र जडिबुटीको प्रदर्शनी स्थल बनाउने गरी सतुवा, वनमुला, वनलसुन, ठूलोओख्तो, पाखनवेद, पदमचाल, जामुनेमान्द्रोजस्ता बहुमूल्य जडिबुटी रोपन भएको छ । आकर्षक प्रवेशद्वार तयार भयो । मान्छे आउँदा बस्ने, सुस्ताउने गोल तयार भयो । खानेपानीको असाध्यै समस्या भएकोले ३ किलोमिटर टाढाको मुहानबाट पाइप गाडेर पानी ल्याइयो । १० हजार लिटर पानी भण्डारन गर्न मिल्ने गोलो ट्यांकी बनाइयो । आउने पर्यटक महिला पुरुषहरूको लागि अलग–अलग शौचालय तयार भएको छ । यो भौतिक पूर्वाधारको काम गर्नका लागि २८ लाखभन्दा बढि खर्च भइसकेको छ । वनस्पति विभागले रु. २५ लाख अनुदान दिएको छ ।
उपभोक्ताको चाहानामा वनस्पति विभागले सहयोग गरेकोमा उपभोक्ता उत्साही भएका छन् । यो स्थान वाग्मती प्रदेशको गन्तव्यस्थल मध्येको एक शैलुङ जाने सडकको छेउमा छ । अनि यहाँबाट शैलुङ पैदलै जाने हो भने २ घन्टा पनि लाग्दैन । मोटर बाटो छँदैछ । यो स्थानलाई आकर्षकको केन्द्र बनाउने यसैबाट स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने काममा तल्लीन छ, सामुदायिक वनको नेतृत्व ।