कमलराज राई
साँच्चै भन्ने हो भने नेपाल र भारतबीचको सम्बन्ध सधैँ उहि एउटै तहमा रहनुपर्छ किनभने नेपाल र भारत दुवै देश सार्वभौम सम्पन्न हुन् । उनीहरुको भूगोल घटीबढी हुन सक्छ तर मुलुकको हिसाबले एउटै हैसियत हुनुपर्छ । र, यो विश्वव्यापी मान्यता पनि हो । त्यसैले त नेपाल र भारतबीचको सम्बन्ध सधैँ सुमधुर हुनुपर्छ भन्ने तहबाट अघि बढ्नुपर्छ । किनभने यी दुई मुलुक एकअर्काको छिमेकी मुलुक हुन् । मित्र फेर्न सकिन्छ, तर छिमेकी फेर्न सकिँदैन । यस हिसाबले भारतले नेपालमाथि छिमेकीको हैसियतले हेर्नुपर्छ तर भारतले नेपालमाथि सधैँ दबदबा जमाउन खोजेको छ । यत्ति मात्र होइन, कि भारतले नेपालमाथि ठूल्दाइ प्रवृत्ति देखाउने र नेपाली नेताहरूले पनि भारतको पाउ पर्न जाने काम छाड्नुपर्छ । खासमा नेपाली नेताहरुले भारतलाई गुहार्ने संस्कार लिएकाले यसबाट नेपाललाई घाटा भइरहेको छ । भारतले नेपालमाथि थिचोमिचो गर्दा अहिलेका लागि त उसमा दम्भ होला तर भारतमा केही गरी अशान्ति छायो भने यसबेला नेपालको सहयोग उसलाई चाहिँन्छ । अरु त के कुरा, अंग्रेजहरूलाई भारतबाट लखेट्नका लागि नेपालले समेत सहयोग गरेको थियो । त्यसबेला नेपाली सेना गएर भारतीयमाथि दमन गरेको भए आज पनि भारतले अंग्रेजको नोकरी गरिरहेको हुन्थ्यो, तर आज त्यहि सहयोग भारतले बिर्सनु दुर्भाग्य हो ।
आज भारतलाई स्वतन्त्र बनाउन सहयोग गर्ने नेपालमाथि भारतीयको थिचोमिचोले सीमा नाघेको छ । नेपालीले तुइन तर्दै गर्दा उनको हत्या गर्ने मनसायका साथ तुइन काट्नुभन्दा अर्को अमानवीय कार्य के होला र ? यसकारण अहिले नेपाली जनता भारतप्रति आक्रोशित भएका छन् । एक युवा महाकाली नदीमा तुइन तर्न लाग्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा नदीमा खसेर हालसम्म बेपत्ता भएपछि यसविरुद्ध नेपालीले भारतविरुद्ध जनता आक्रोशित भएका हुन् । हुन त भारतले नेपालमाथि बारम्बार ठूल्दाइको प्रवृत्ति देखाउँदै आएकाले नेपालीमा भारतविरुद्ध आक्रोश पाल्दै नै आएका छन् । यो आक्रोश आज केही नदेखिए पनि यसले कालान्तरमा यसले भारतलाई नै असर गर्ने नै छ । भारतले नेपालमाथि समय–समयमा गरेको अनेकौँ हस्तक्षेपको शृंखलाकै क्रममा नेपालीले यस घटनालाई लिएका छन् । नेपालीको ज्यानै जाने गरी गरेको अमानवीय कार्यप्रति नेपालीले प्रशर्दनसमेत गर्दा यसबाट भारतले लाज मान्नुपर्छ । किनभने आफ्नो छिमेकीलाई दुःख दिएको समाचारले भारतलाई फाइदा गर्दैन ।
एक छिमेकीले अर्को छिमेकीको सहयोगी बन्नुपर्छ । तर, भारतले आफ्नो ठूल्दाइ प्रवृत्ति नत्याग्ने हो भने नेपालीले कुनै दिन भारतलाई नै घृणा गर्ने दिन नआला भन्न सकिँदैन । जघन्य अपराधीलाई पनि यस्तो गरिँदैन भने खोला तर्दै गरेको युवाको हत्या गर्ने हेतुले तुइन काट्नुभन्दा अर्को अपराध हुनै सक्दैन । यो घटना नेपाली राष्ट्रिय स्वाधीनतामाथिको भारतीय शासक वर्गको नांगो षड्यन्त्र र हस्तक्षेप हो । यस घटनाका दोषीलाई शीघ्रातिशीघ्र कारबाही गर्न विश्वासिलो छानबिन अगाडि बढाउनुपर्छ । उक्त घटना हेपाहा र षड्यन्त्रमूलकभन्दा अरु केही पनि होइन भारतले भने यस घटनामा आफ्नो संलग्नता नभएको भनेर जोगिन खोजेको छ । तुुइन तर्दै गरेका युुवकलाई मार्ने हिसाबले तुइन काटिँदा पनि नेपाल सरकार बोल्न सक्दैन भने यो सरकार कस्तो हो ? जनताको सुरक्षा गर्न नसक्ने सरकारको आवश्यकता छैन । नेपाली अधिकारीहरूले पनि भारतलाई जोगाउन खोज्नु दुर्भाग्य हो । नेपालीले छाक काटेर पालेको कर्मचारीले नेपालीको रक्षा गर्न सक्दैन भने यस्तो कर्मचारी पाल्नु आवश्यक छ कि छैन ? प्रश्न गम्भीर छ ।
दार्चुलामा महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर एक नेपाली बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय, दार्चुला र जिल्ला प्रशासन कार्यालयले यसलाई विषयान्तर गरेर सजिलो तरिकाले बताइरहे पनि प्रत्यक्षदर्शी र स्थानीय जनप्रतिनिधिहरूले भने तुइन तर्दै गर्दा भारतीय सीमा सुरक्षा (एसएसबी)ले तुइन काटिदिएपछि ती युवक नदीमा झरेका थिए । भारतको यस्तो दादागिरीले हद नाघेकै छ । खासगरी सीमा क्षेत्रका नेपालीहरूलाई भारतीय पक्षबाट नै सधैँ दुःख दिने काम भइरहेको छ । नेपाली सुरक्षाकर्मीहरूले पैदल यात्रु, साइकल र रिक्सा चलाउनेसँग ५ रूपैयाँसम्म पनि असुल्छन् तर नेपालीमाथि भएको अत्याचारलाई वास्ता नगर्नु नेपालीका लागि दुःख लाग्दो कुुरा हो । नेपाली जनताले गाँस काटेर तिरेको करबाट तलब भत्ता खानेले तिनै जनतासँग अवैध रूपमा पैसा असुल्दा पनि लाज नमान्ने व्यक्तित्वहरू राष्ट्रसेवक भनिरहनु परेको छ ।
कुनै पनि घटनाको सबैभन्दा बढी विश्वास भनेको प्रत्यक्षदर्शीलाई मान्नुपर्छ । प्रत्यक्षदर्शीले भारतीय पक्षबाट तुइन काटिएको भनिरहँदा पनि नेपाली अधिकारीहरूको डरछेरुवापनका कारण नेपाली हेपिएर बस्नु परेको छ । तुइन तर्दै गर्दा तुइन काटिएको भनेर भनिरहँदा पनि यसलाई नेपाली अधिकारीहरूले वास्ता नगर्नु बरु भारतीय पक्षलाई बचाउने अनेकौँ तानाबाना बुन्न के नैतिकताले दिन्छ ? प्रत्यक्षदर्शीले मात्र होइन, स्थानीय जनप्रतिनिधिले भारतीय एसएसबीले तुइन काट्दा तुइनबाट ती युवक नदीमा खसेको बताइरहे पनि प्रहरी र जिल्ला प्रशासन कार्यालय दार्चुलाले भने बुझ्दै गरेको भनेर यसलाई आधिकारिता नदिनु लाजमर्दो कुरा हो कि होइन ? यो त दुर्घटना नभएर हत्या हो । ती युवकले तुइन प्रयोग गरिरहेकै बेला भारतीय सीमा सुरक्षा बलका जवानले तुइनलाई काटेको भनेर स्पष्ट रूपमा भनिरहँदा दार्चुला जिल्ला प्रशासन कार्यालयका सहायक सिडिओले घटनालाई विषयान्तर गर्न खोजेकीले उनीमाथि नै छानबिन गर्नु आवश्यक छ ।
सत्तारुढ दलले विज्ञप्ति नै निकालेर सोही आरोप लगाउँदै यस विषयमा सरकारको ध्यानाकर्षण गराएको छ । यसबारे अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन विज्ञप्ति जारी गर्दा पनि सहायक प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रशासनले घटनालाई लुकाउन खोज्नु राष्ट्रघाती कार्य हो । यसबारे वास्तविकता बाहिर ल्याएर आङ्खनो नागरिकलाई न्याय दिलाउन नेपाल सरकारले कुनै कसर बाँकी राख्नु मिल्दैन । तुइन गर्दै गर्दा तुइन काट्नु के मानवीयताको कुरा हो ? ती युवकले दुई देशबीचको सन्धिको खिलाफमा काम गरेकै भए पनि उनको हत्या गर्नु कुनै पनि कोणबाट उचित छैन । त्यसैले घटनाको सम्पूर्ण वास्तविकता सार्वजनिक गर्न, भारतीय पक्षसँग यसबारेमा संवाद गर्न, आङ्खनो नागरिकलाई न्याय दिलाउन, सम्बन्धित परिवारजनलाई राहत दिन÷दिलाउन नेपाल सरकार अघि बढ्नुपर्छ । आङ्खनो नागरिकको जीवन सुरक्षा गर्ने दायित्व बोकेको सरकारले यसलाई अत्यन्तै गम्भीरतापूर्वक लिएर आवश्यक गम्भीर पहलकदमी गर्नु पर्छ । तर, नेपालीको दिनदहाडै हत्या भइरहँदा पनि यसलाई विषयन्तर गर्न खोज्ने प्रहरी प्रशासन र स्थानीय प्रशासनका अधिकारीलाई हदैसम्मको कारबाही गर्नुपर्छ ।
भारतीय पक्षले तुइन काटिदिँदा बेपत्ता भएका युवाका सम्बन्धमा छानबिन गर्न गृह मन्त्रालयले समिति बनाएको छ । तुइन काटेर नेपाली नागरिकको हत्या गरिएको भन्दै सर्वसाधारण र केही राजनीतिक दलहरूले समेत व्यापक विरोध गरेपछि झारा टार्न गृह मन्त्रालयले एक समिति गठन गरेको हो । तुइनबाट महाकाली तर्ने क्रममा एसएसबीले तुइन काटेपछि महाकालीमा खसेको प्रत्यक्षदर्शीहरूले बताउँदै आएको भए पनि यत्ति सजिलो विषयमा सरकारले आनाकानी गर्नु दुर्भाग्य नै हो । त्यसैले अब भारतसँग झुकेर होइन, डटेर सामना गर्नुपर्छ । अहिले नेपालीहरुले भारतमा मजदुरी गरेको समाचार मात्र अघि बढाएर नेपाली सञ्चारमाध्मले नेपालीको अपमान गर्दै आएका छन् । खासगरी भारतबाट हुन्डी लिनेहरुले जति सक्यो, भारतलाई नेपालीको मन बसाउन अनेकौँ हथ्कण्डाहरु रच्दै आएका छन् । उनीहरुले भारतीयहरुकै अनुसार नेपालीको मनमा ‘भारत महान्’ कसरी बनाउन सकिन्छ, त्यहि रुपबाट समाचार सम्प्रेषण गरिरहेका छन् । यथार्थ यो होइन, अहिले भारतले नेपालबाट भित्र्याउने रेमिटयान्स नै पहिलो स्थानमा रहेको छ । नेपालको हरेक क्षेत्रमा भारतीयहरु रहेका छन् । नेपालीभन्दा झन्डै चार गुणा बढी भारतीयले नेपालमा रोजगारी गरिरहेका छन् भने अब नेपाललाई के को डर ? यत्ति मात्र होइन, भारतीय तरकारी नेपाल नल्याउने हो भने कुहिएर जाने अवस्था छ भने नेपालले किन भारतको गुलामी गर्ने ? भारतको सबैभन्दा ठूलो बजार नै नेपाल भएकाले यहि कुरा बुझेर सरकारले भारतसँग लेनदेन गर्ने हो भने नेपाल सामु भारतले घुँडा टेक्न बाध्य हुन्छ । त्यसैले अब भारतको डटेर सामना गर्नु आवश्यक छ ।