फोहरको नाममा सधैँको राजनीति

लेख

कमलराज राई
रोजगारी तथा कतिपय अन्य कारणले पनि काठमाडौंमा भीडभाड बढ्ने नै भयो । त्यसो त मुलुककै एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, कतिपय प्रशासन अझै केन्द्रिकृत हुँदा आज पनि काठमाडौं धाउनुपर्ने विविध कारण छन् । त्यसो त राजधानी भन्नेबित्तिकै अलिक धेरै भीडभाड हुन्छ नै । भीडभाड नै भएन भने त राजधानीजस्तो पनि हुँदैन नै । भीडभाड भएपछि फोहर पनि बढ्ने नै भयो । यहि फोहरमा राजनीतिक दलहरु सधैँ खेलिरहेका छन् । यत्ति मात्र होइन, काठमाडौंका कर्मचारीहरु पनि यहि काठमाडौंको फोहरमैलामा अत्याधिक राजनीति गरिरहेका छन् । फोहर मैला संकलनदेखि यसको विसर्जनसम्ममा अनेकौँ आर्थिक खेलोफड्को चलिरहेको छ । साँच्चै भन्ने हो भने फोहर मैलाका नाममा केही निजी संघसंस्थाहरुले जनतालाई लुटिरहेका छन् भने त्यहि रकमको केही भाग काठमाडौंका उच्च कर्मचारीसम्म पनि पुगेको छ । त्यसमाथि काठमाडौं महानगरपालिकाकै पनि बजेटको करिब आधा हिस्सा फोहर व्यवस्थापनमा खर्च भइरहेको छ । कतिपय खर्च अत्यन्तै स्वभाविक भए पनि कतिपय खर्च भने अत्यन्तै अस्वभाविक छ, खासगरी काठमाडौं महानगरपालिकाको वातावरण विभागले काठमाडौंको फोहरमैलाको व्यवस्थापनको काम गर्दै आएकोे छ । महानगरको सबैभन्दा बढी बजेट भएको विभागका रुपमा परिचित सो विभागलाई महानगरको भन्सारका रुपमा चिनिन्छ । यहाँ हुने खर्चको मात्रा मात्र पनि हिसाबकिताब गर्ने हो भने जो कोहीले विश्वास गर्नै नसकिने अवस्था छ । त्यसैले त यस विभागीय प्रमुख बन्नका लागि काठमाडौं महानगरमा तँछाडमछाडको अवस्था हुन्छ ।
पछिल्लो समय हरेक नगरपालिकाले नगरबासीहरुको घर–घरबाट फोहर संकलन गर्नका लागि निजी क्षेत्रलाई दिएको छ । कानुनी रुपमा त नगरपालिकाले कुनै पनि निजी संस्थाहरुसँग सम्झौता गरेको छैन तर उनीहरुले नगरबासीहरुलाई सेवा दिएबापत सेवा शुल्क लिइरहेका छन् । वास्तवमा सरकारको स्विकृति नलिई रकम संकलन गर्न पाइँदैन तर व्यापार शास्त्रको सिद्धान्तलाई उपयोग गरेर निजी संंस्थाहरुले सेवा दिएर मासिक रुपमा रकम लिइरहेका छन् । जनतालाई नियमित रुपमा सेवा दिने सर्तमा रकम लिएका हुन् तर उनीहरुले सेवा नदिएको बखतको पनि रकम लिइहेका छन् । उनीहरुले गरेको वाचाअनुसार सेवा दिइरहेका छैनन् । अहिले फोहर संकलनको कार्य बन्द छ । तर, सेवा दिने संस्थाहरुहरुले भने यो सेवा नदिएको अवधिको पनि शुल्क लिइरहेका छन् । त्यसमाथि घरधनीहरुले सो रकम भाडामा बस्नेहरुसँग नै लिइरहेका छन् । नगरबासीहरुमा पनि कुनै समस्या छैन किनभने जति रकम भए पनि सबै रकम भाडामा बस्नेहरुसँग लिने गरेपछि स्थायी बासिन्दाहरुलाई कुनै समस्या छैन तर भाडामा बस्नेहरुले भने सकीनसकी तिरिरहनुपरेको छ ।
जसरी भए पनि गरिब जनता नै मर्ने अवस्थामा छन् । अहिले काठमाडौं उपत्यकाको फोहर संकलन कार्य बन्द अवस्थामा रहेको छ । ल्यान्डफिल साइट कहिले खुल्छ, महानगरपालिकालाई नै थाहा छैन । तीन हप्ता यता फोहर उठेको छैन । तर, फोहर संकलन गर्ने संस्थाहरुले यस अवधिको रकम पनि लिइरहेका छन् । तीन हप्तादेखि काठमाडौं उपत्यका र आसपासका नगरपालिकाको फोहोर उठेको छैन । अझै कति दिन फोहोर उठ्दैन, यसै भन्न नसकिने अवस्था हुँदा सेवा दिने संस्थाहरुले सो अवधिको रकम लिएरै छाड्छन् । यसो हुँदा भाडामा बस्नेहरुले भने निक्कै घाटा सहिरहेका छन् । काम हुँदा त ठिकै छ, अहिले काम नभएको अवस्थामा घरमा उत्पादन भएको फोहर मैला व्यवस्थन गर्नु परेको छ । यस्तो अवस्थामा पनि निजी संस्थाहरुले नगरबासीहरुलाई ठग्ने काम गरिरहेका छन् ।
झरी र हिलोले सडक अस्तव्यस्त भएकोले नुवाकोटको ओखरपौवा (सिसडोल)स्थित ल्यान्डफिल्ड साइटमा गाडी जान नसकेर फोहोर नउठेको हो । काठमाडौं महानगरपालिकाले सूचना नै निकालेर सहरवासीलाई फोहोर बाहिर ननिकाल्न भनेको छ । यस अवधिमा निजी संस्थाहरुले नगरबासीहरुलाई सेवा दिइरहेका छैनन् । यो समस्याले घरधनीलाई भन्दा बढी डेरामा बसेकाहरुलाई समस्या परिरहेको छ । दुई हप्तादेखि तीन हप्तासम्मको फोहोर कोठाभित्रै राख्नुपर्ने समस्या आइपरेपछि कतिपयले रातिराति चोक, सडक र नदी किनारमा फोहोर फालिदिँदा सहरमा सरुवा रोगको महामारी फैलिने जोखिमसमेत बढेको छ । यस्तो अवस्थामा समेत सेवा दिने निजी संस्थाहरुले भने आफ्नो मासिक रकम नछाड्नु व्यापारको सिद्धान्तलाई नै चुनौति दिनुसरह हो । सेवा दिएपछि मात्र शुल्क लिनुपर्ने भए पनि यहाँनिर सेवा नदिएर पनि नगरबासीहरुबाट फोहर संकलनको मासिक शुल्क लिनु पूरै ठगी कामभन्दा अरु केही पनि होइन । नगरपालिकाको स्विकृति नलिई सेवा विस्तार गर्ने र त्यसमाथि पनि सेवा नदिएको अवस्थाको समेत मासिक शुल्क लिने काम बन्द गरेर सेवा दिएबापतको मात्र शुल्क लिने गरी कानुन बनाउनु आवश्यक छ ।
काठमाडौं महानगरपालिकाले नुवाकोटको सिस्डोलमा फोहर थुपारिरहेको छ । तर, फोहोर व्यवस्थापन केन्द्र सिसडोलमा जाने सडक बिग्रिएका कारण काठमाडौं उपत्यकाको फोहोर उठेको छैन । हाल काठमाडौं उपत्यकाका विभिन्न सहरहरुमा फोहोर थुप्रिएका छन् भने महानगरपालिकाले केही दिनदेखि फोहोर उठाउन नसक्दा प्रदूषण बढीरहेको छ । काठमाडौं महानगरपालिकाले यसको दीर्घकालीन समाधान खोज्नुभन्दा पनि अहिले घरभित्रबाट फोहर ननिकाल्न आह्वान गरेर अचम्मका कुरा गरेको छ । काठमाडौंका अधिकांश घर ३÷४ आनामा बनेका छन् । अब यस ठाउँमा फोहर राख्ने ठाउँनै छैन । जति फोहर उत्पादन गर्दिनँ भनेर भने पनि फोहर त उत्पादन भइ नै हाल्छ । यस्तो अवस्थामा फोहर ननिकाल्न भनेर महानगरले दिसा नगर्न भनेझैँ गरेको छ ।
काठमाडौं महानगरपालिकाले वर्षातका कारण सिसडोल सडकखण्डमा पहिरो जाने तथा बिग्रिने हुँदा सहज रुपमा गाडी जान नसकेका कारण फाहोर व्यवस्थापन गर्न नसकेको जनाएको छ । वर्षात् रोकिएमा सहज रुपमा फोहोरको गाडी पठाउन सक्ने तर नरोकिएमा अझै केही दिन फोहोर नउठ्ने बताएर जिम्मेवारीबाट पन्छिन खोजिरहेको छ । बाटोमा पहिरो झरेर अहिले सडक अवरुद्ध छ । पहिरो पन्छाएर सडक खुला गर्नुपर्ने बेला महानगरले समस्याबाट भाग्ने कुरा गरिरहेको देखिन्छ ।सहज रुपमा गाडी जान सकेका छैनन् । त्यसकारण जुन मात्रामा फोहोर संकलन गरेर त्यहाँ व्यवस्थापन गर्नुपर्ने हो त्यो भइरहेको छैन । हरेक वर्षातमा यस्तै केही दिनमा समस्या देखिन्छन् । सरकारले बञ्चरेडाँडामा बनाउन थालेको ल्यान्डफिल साइटको काम सम्पन्न गर्न सकेको छैन । त्यस्तै सिसडोलदेखि बञ्चरेडाँडाँसम्म जाने बाटो पनि सडक विभागले बनाइदिएको छैन । काठमाडौंको फोहरलाई दीर्घकालीन रुपमा व्यवस्थापन गर्नका लागि कुनै पनि सरकारले योजना बनाउन सकेको छैन । तर, राजनीतिक दलहरुले यहि काठमाडौंको फोहरलाई लिएर सरकारमाथि दबाब दिने कामसमेत गरेका छन् ।
बाटो निर्माण गरेर फोहर फाल्नका लागि सहज वातावरण बनाउनेतिर सरकार अघि बढ्दैन । राजनीतिक दलहरुले पनि दीर्घकालीन समाधानको बाटो खोज्न चाहँदैनन् । महानगरले कर उठाउनमा अत्यन्तै जाँगर देखाउँदै आए पनि फोहरको विषयमा भने अहिलेसम्म कहिल्यै पनि गम्भीर भएको छैन । निजी संघसंस्थाहरुले नगरबासीहरुबाट आफूखुसी रकम लिइरहेका छन् । यसो गर्दा पनि महानगरले कहिल्यै सचेत भएको छैन । फोहर उठाएबापत लिइने रकममा एकरुपता छैन । यसको आवाज अहिलेसम्म नगरबासीहरुले उठाएका छैनन् किनभने यो रकम घरधनीहरुले भाडामा बस्नेहरुबाट उठाउने भएकाले यो भार घरधनीहरुलाई परेको छैन । यो भार घरधनीहरुलाई नपर्ने हुनाले यो कुरा अहिले उठेको छैन ।
काठमाडौंको फोहर नउठ्दा वाग्मतीलगायत नदी प्रदूषित बन्ने खतरा बढेको छ । उपत्यकाको फोहर व्यवस्थापन गरिँदै आएको नुवाकोटको ओखरपौवा जाने सडक बिग्रिएका कारण फोहर नउठेपछि नदी किनारका धेरै स्थानमा फोहर थुप्रो लागेको देखिन थालेको छ । वाग्मती नदीमा बहाव बढेकाले फोहरको थुप्रो बगाएर लगेको भए पनि अब पानीका बहाब घट्नेबित्तिकै फोहर नदीमा थुप्रिने सम्भावना बढेर गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *