स्वास्थ्यकर्मीहरू बाहेक कसैलाई पनि अस्पताल जान रहर हुँदैन । यहाँ जानु बाध्यताको उपज हो । भाग्यवस, अहिलेसम्म रातै बस्ने गरी अस्पताल बस्नु परेको छैन । बस्नु पनि नपरोस् भन्ने कामना गरिरहन्छु । तथापि यसपटक अस्पताल धेरै पटक आउजाउ गर्नुपर्ने बाध्यता आइलाग्यो । तर, अहिलेको महामारी कोभिड १९ को कारणले भने होइन ।
हाम्रो ८५ वर्षीय बुबालाई पिसावसम्बन्धी समस्या थियो । चरिकोटमा नै सामान्य उपचार भएता पनि अहिले भने पिसाव रोकिएकोले काठमाडौंमा आउनु भएको थियो । सुरुमा काठमाडौंको सिभिल अस्पताल गयौँ । पाइप राखेर पठाइदियो । सबै जाँच गर्दा अप्रेसन गर्नु पर्ने टुंगो भयो । अनि भदौ १७ मा गर्ने निधो भयो । बुबा काठमाडौंमा बस्न मान्नु भएन चरिकोट फर्कनु भयो ।
चरिकोटमा पुगेपछि तल–माथि हिँड्नु भएछ । फेरि समस्या देखाप¥यो । अनि काठमाडौं हतार–हतार ल्याइयो । सोही अस्पतालमा देखाइयो । पाइप साटी दिए । अप्रेसन अलि चाँडो गर्न आग्रह गरियो, सम्भव भएन । बुबाको पीडामा कमी आएन । अनि हामीले अरु निजी अस्पतालमै भए पनि अप्रेसन गर्ने सोच विकास ग¥यौँ । मैले फेसबुकमा पनि कहाँ प्रोष्टेडको अप्रेसन होला भनी पोष्ट गरेँ । धेरै जनाले सल्लाह दिनुभयो ।
हामी अस्पतालहरूमा सल्लाह गर्ने क्रममा चावहिलस्थित हेल्पिङ हेन्डस् सामुदायिक अस्पतालको डा. गुप्तासँग सल्लाह गर्न पुग्यौँ । उहाँलाई कागजात देखाउने बित्तिकै विरामी ल्याउनुस् भन्नुभयो । अनि विरामी तुरुन्तै लिएर गयौँ । जाँच भयो । यस अस्पतालको राम्रो कुरा भनेको अरु ठाउँमा गरेको रिपोर्टलाई पनि मान्यता दिँदो रहेछ । अन्य अस्पतालहरूमा भने त्यही अस्पतालमा नै सबै जाँच गराउन बाध्य गरिन्थ्यो । यहाँ भने सिभिल अस्पतालमा तयार गरेको सबै रिपोर्टलाई मान्यता दिइयो । त्यहाँ नभएका तर आवश्यक परीक्षणमा मात्र गराइयो ।
छिटो अप्रेसन गर्ने गरी भटाभट जाँचका कामहरू गरिए । सिभिल अस्पतालभन्दा शुल्कहरू केही महँगो भएता पनि काम फटाफट हुँदा मनमा आनन्दै लागिरहेको थियो । पिसावको कल्चरको रिपोर्ट आउन दुई दिन लाग्ने भएकोले नदुख्ने औषधि लिइ फर्कियौँ । दुई दिनपछि सो रिपोर्ट हेर्दा खराबी देखियो । तत्काल अप्रेसन हुने भएन । हामीसँग कुनै उपाय थिएन । केही दिनलाई औषधि थपियो ।
औषधिले काम ग¥यो । अर्को पटक पिसावको कल्चर गर्दा पहिलाको खराबी भागेछ । प्राडा. उदयमान डंगोलको टोलीले अप्रेसन गर्ने भयो । यता उता गर्दागर्दै भदौ ९ मा अप्रेसनको साइत जुरेको थियो । हाम्रो परिवारमा मात्र होइन मेरा नजिकका साथीसंगीहरूको पनि अप्रेसन गर्नु परेको याद थिएन । हाम्रो परिवारमा पहिलो पटक अप्रेसन हुँदै थियो । जसरी हुन्छ बुबाको पीडालाई हटाउनु थियो । बुवाको पीडा यस्तो थियो कि सुन्दा पनि हामीलाई झन् पीडा थपिन्थ्यो । अप्रेसनका लागि कोभिड १९ को स्वाब जाँच गर्नुपर्ने थियो । मुखमा सिन्का छिराउँदै दुखेछ । नाकमा हाल्नै दिनु भएन । कराउन थाल्नु भयो । म गर्दिन मलाई मर्न देउ भन्दै कराउन थाल्नुभयो । डाक्टरसहित त्यहाँ रहेका विरामी, कुरुवाहरूसमेतको मेला पो लाग्यो । अनेक फकाएर स्वाब संकलन गरियो । बेलुका रिपोर्ट आयो ‘नेगेटिभ’ । अब अप्रेसनका लागि पोजेटिभ वातावरण तयार भयो ।
भदौ ९ गते बिहानै बुबालाई लिएर जेठो दाजु, जेठी दिदी, कान्छो भाइ र म अस्पताल पुग्यौँ । त्यहाँको प्रकृया पूरा गरेर भर्ना गरियो । अस्पतालले रु. ४२ हजार ३५० प्रोष्टेटको अप्रेसन खर्च र बेडसमेतका लागि रु. ७ हजार धरौटी लियो । अन्य औषधिहरूको थप खर्च गर्नुपर्दछ भनेको थियो । अप्रेसनभन्दा अगाडि दुई पोका रगत ल्याउन भनियो । रगतको नमुनासहित एक कागज पाइयो । रगत कहाँ पाइन्छ त्यो पनि थाहा नभएको । अहिलेसम्म त्यस्तो गर्नु परेको नै थिएन । रेडक्रस सोसाइटीको व्लड बैंक भएको सुनेको थिएँ । रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष चिनेको हुँदा फोन गरें । उठेन । सहकोषाध्यक्ष होम पाठकलाई फोन गरें । उहाँले अनेक कोसिस गर्नुभयो । पुल्चोक र कालिमाटीमा १÷१ पोका छ, त्यता जानु भन्नुभयो । कान्छो भाइ र म त्यता दौडियौँ । रगतको संकट रहेको थाहा पाइयो । पसलमा सामान किनेजस्तै रगत किन्ने हिँड्ने होला भनेको त त्यहाँ त क्रसिङ भन्ने काम गर्नु पर्दाे रहेछ । एक घन्टाभन्दा बढी समय लाग्दो रहेछ । अलग–अलग ठाउँबाट रगत लिनु पर्दा दुवै ठाउँमा क्रसिङ गर्न विरामीको अलग–अलग रगत पनि चाहिँदो रहेछ । दौडधुप गर्दै जोरजाम गरियो ।
३ बजे तिरबाट अप्रेसन सुरु भयो । अप्रेसनका लागि औषधि ल्याउन लगाइयो । हामी दुई भाइले बल्ल–बल्ल बोक्न सक्ने भारी नै बोकेर लगियो । यति धेरै औषधि लाग्ने रहेछ भन्दै थियौँ । पछि पो थाहा भयो त्यति मात्रा र मूल्यका त्यस्ता औषधि पछि आधा दर्जनभन्दा बढीपटक जति खरिद गरियो होला ।
अप्रेरेशनपछि काटेको मासुको टुक्रा एउटा बट्टामा राखी हामीलाई फोटो खिच्न दिइयो । अनि ल्याव टेष्टको लागि शुल्क तिरेर बुझाइयो । यस्तो रिपोर्ट चाहिँ १० दिन पछि आउँछ रे ।
विरामी बुबालाई पोष्ट अपरेसन वार्डमा राखियो । सीमित समय भेट्न दिइयो । बुबाको दुखाइमा कुनै कमी आएन । जति औषधि दिँदा पनि काम गरेन । जोडिएका पाइपहरू फालेर हिँड्न खोज्नुभयो । थेग्नलाई मुस्किल प¥यो । डाक्टरसँगको सल्लाहमा औषधि थप्दा पनि काम गरेन । अप्रेसनको पहिलो रात कठिनाइमै बित्यो । अप्रेसनको पहिलो रात अस्पतालमा जेठो दाजु बस्नु भयो । दोस्रो रात कान्छो भाइ, अनि तेस्रो र चौँथो रात भान्जा गोपीबाट बुबाको रेखदेखको काम गरियो । जेठी दिदी, म, अनि बुहारी अनिता चाहिँ दिउँसो–दिउँसो अस्पतालमा जाने गर्दथ्यौँ । बुबाको स्वास्थ्य अवस्थालाई लिएर धेरैले फोन गर्नुभयो । चासो देखाउनुभयो अनि स्वास्थ्यलाभको कामना गर्नु भयो, सबैलाई धन्यवाद छ ।
अप्रेसन गरेको केही घन्टापछि कालो चिया खान अनुमति दियो । त्यसपछि झोलिलो पदार्थ अनि जाउलो । जाउलो पकाएर लगेको खान मान्नु भएन । ब्राम्हण भएकोले पकाएर घर बाहिर लगेको कुरा खानु हुन्न । अस्पताल बसाइँभरि भात खानु भएन ।
चौँथो दिनमा अस्पतालले बुबालाइ घर जान अनुमति प्रदान ग¥यो । बचेखुचेका औषधि पछि नचाहिने जति फिर्ता गरियो । केही औषधि थपियो । अस्पतालले अप्रेसन शुल्कको १० प्रतिशत र बेड शुल्कको २० प्रतिशत छुट पाइयो । यसका लागि चिनजान शुभेच्छुकको भूमिका प्रधान रह्यो ।
मेरो अनुभवमा यति लामो अस्पताल बसाइँ भएको थिएन । त्यो पनि कोरोना महामारीको समयमा । अस्पतालमा दूरी पालनाको कुनै गुञ्जाइस थिएन । हामीले पनि पालना गर्न सकेनौँ, तर मास्क भने सबैले लगाएकै हुन्थे । कोरोना भाइरस कहाँबाट कसरी सर्छ थाहै हुन्न, तर पनि सजकता अपनाउन जरुरी छ । मास्कले कोरोना भाइरस मात्र हैन अन्य रुघाजस्ता सर्ने रोगबाट बच्न समेत सहयोग पुग्ने रहेछ । भिडभाडमा सधैं यसको प्रयोग गर्नु नै अति उत्तम हुने देखियो ।
सामान्य बेलामा पनि अस्पतालको बसाइँ कष्टकर नै हुन्छ । अझ, कोभिडको महामारीको बेलामा अस्पतालको बास र आउजाउ जोखिमयूक्त हुन्छ नै । अस्पताल बसाइँलाई सुरक्षित बनाउने अनेक कोसिस गरियो । त्यो जोखिमबाट जोगिएर फर्केका छौँ । अस्पताल, संलग्न डाक्टरदेखि स्वास्थ्यकर्मी, शुभचिन्तक, परिवार सदस्य सबैलाई धन्यवाद । बुबाको शीघ्र स्वास्थ्य लाभको कामना पनि ।