राजनीतिक महत्वकांक्षाले ल्याएको विभाजनको नियति

सम्पादकीय

सम्पादकीय

अन्ततः शीर्ष नेताहरूको स्वार्थ विवादले नेकपा एमाले र जनता समाजवादी पार्टीले विभाजनको नियतिलाई भोग्नु परेको छ । वर्तमान सरकारले पार्टी विभाजनका लागि सजिलो हुने गरी राजनीतिक दल सम्बन्धी कानुन संशोधन गरेर अघिल्लो महाधिवेशनबाट निर्वाचित २० प्रतिशत केन्द्रीय सदस्य अथवा २० प्रतिशत सांसद भएको अवस्थामा पार्टी विभाजनले वैधानिकता पाउने गरी अध्यादेश जारी गरेको केही घन्टामा नै गत भदौ १० गते एमाले नेता माधवकुमार नेपाल र जनता समाजवादीको प्रथम अध्यक्षबाट निस्कासित भएका महन्थ ठाकुर आफ्नो नेतृत्वमा नयाँ पार्टी गठन गर्न भनेर निर्वाचन आयोग पुगेका थिए । सरकारले जारी गरेको राजनीतिक दल सम्बन्धी अध्यादेशको आधारमा निर्वाचन आयोगले पनि गत भदौ १० गते नै माधव कुमार अध्यक्ष रहने गरी नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी गठन गर्ने निर्णय गरेको छ ।
निर्वाचन आयोगले नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी र महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेसँगै नेकपा एमाले र जनता समाजवादीमा लामो समयदेखि चल्दै आएको विवाद नयाँ चरणमा प्रवेश गरेको छ । केपी अ‍ोली नेतृत्वको तत्कालीन सरकारलाई हेर्ने दृष्टिकोणका कारण जनता समाजवादीमा दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवका बीचमा उत्पन्न भएको विवादलाई निर्वाचन आयोगले मत संख्याको आधारमा निर्णय गर्दै जनता समाजवादीको आधिकारिकता यादव पक्षलाई दिएसँगै यादव पक्षले पार्टीका प्रथम अध्यक्ष ठाकुरलगायत उनी पक्षका शीर्ष नेतालाई पार्टीको साधारण सदस्य मात्र रहने गरी अपमानपूर्ण व्यवहार गरेको थियो । यादव पक्षले यस्तो व्यवहार गरे पनि ठाकुर पक्षले विद्रोह गर्ने स्थिति जनता समाजवादीमा कानुनी रूपमा थिएन । र, राजनीतिक दल सम्बन्धी कानुनअनुसार ४० प्रतिशत केन्द्रीय कार्य समितिका सदस्य र चालिस प्रतिशत नै सांसद संख्या नपु¥याई विद्रोह गरेर नयाँ पार्टी खोल्दा सांसद सदस्य नै समाप्त हुने स्थिति थियो । यही स्थितिबाट अध्यक्ष ओलीसँग चर्को विवाद गरी राखेका नेकपा एमालेका वरिष्ठ नेता नेपाल र उनी पक्षका अन्य नेताहरू पनि गुज्रिराखेका थिए । यही अवस्थामा सरकारले गत भदौ ९ गते राजनीतिक दलसम्बन्धी कानुन संशोधन गरेर पार्टी विभाजनका लागि २० प्रतिशत केन्द्रीय सदस्य अथवा सांसद भए पुग्ने गरी अध्यदेश जारी गरेपछि माधव नेपालले आफ्नो नेतृत्वमा नेकपा एकीकृत समाजवादी र ठाकुरले आफ्नो नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी गठन गर्ने प्रक्रिया निर्वाचन आयोगमा अगाडि बढाएका थिए । नेपाल र ठाकुरले प्रक्रिया अगाडि बढाएकै दिन नेपालको राजनीतिक क्षेत्रमा दुई वटा नयाँ पार्टी अस्तित्वमा आएका छन् ।
राजनीतिक दलको नेतृत्व तहमा विचार, सिद्धान्त र कार्य१ि०ामा विवाद भए त्यसले अन्ततः पार्टी विभाजनलाई ल्याउने गर्दछ । तर गत भदौ ९ गते नेकपा एमाले र जनता समाजवादीको विभाजन सिद्धान्त, विचार तथा कार्य१ि०ाको कारणले नभएर नेतृत्व तहमा रहेका नेताहरूको राजनीतिक महत्वकांक्षाको कारण भएको छ । नेकपा एमालेका अध्यक्ष केपी ओली र नेता नेपालका बीचमा लामो समयदेखि चल्दै आएको महत्वकांक्षाको विवादले अन्ततः यो पार्टीलाई नै विभाजित गरी दिएको छ । यसैगरी जनता समाजवादीलाई पनि दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव बीचको राजनीतिक महत्वकांक्षा र प्रतिश्पर्धाको कारण जनता समाजवादीले नै विभाजनको नियतिलाई भोग्नु परेको छ ।
नेताको राजनीतिक महत्वकांक्षाको कारण एमाले र जसपा विभाजित भएर नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी गठन भएको घटनालाई नेपाल र ठाकुर पक्षले आफ्नो विजयको रूपमा लिए पनि पार्टीमा विवाद चर्किएर विभाजनको नियति भोग्नु परेको यो स्थितिले मुलुकको भोलिको राजनीतिलाई कस्तो असर पार्छ भन्ने प्रश्नको भने आगामी राजनीतिले नै जवाफ दिनेछ । तथापि, यो विभाजन प्रक्रियालाई सकारात्मक र लोकतन्त्र अनुकूल भने मान्न सक्ने अवस्था छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *