दलहरुकै कारणले दुर्गतिमा राष्ट्र

लेख

 
दलहरुले राज गरेपछि के न गर्ला भन्ने नेपाली जनताले सोचेका थिए । नेपालमा दलहरुले शासन गरेको तीन दशक भइसक्यो तर पनि नेपालको विकासमा कुनै ठूलो परिवर्तन आएको छैन । दलहरुले भन्नका लागि चुनावको घोषणापत्रमा नै लेखेर अनेक विकास गरी देखाउने वाचा नेपाली जनतासित एकबार मात्र होइन, अनेकबार गरेका छन् तर चुनाव जितेपछि ठिक उल्टो गर्दै दलहरुले आफैँले नेपाली जनतासित गरेको वाचा बन्धन तोडी बारबार गलत काम गरेका छन् । नेपालको कम्युनिस्टहरुले बनाएको गठबन्धनले केही गरी देखाउने छन् भन्ने विश्वासका साथ गत आमचुनावमा नेपाली जनताले उहाँहरुलाई दुई तिहाइ बहुमत दिएर नेपालको शासन सत्ता सुम्पेका थिए । उक्त नेपाली कम्युनिस्टहरुको गठबन्धनले चुनाव जितेपछि आपसमा एकता गरी ठूलो र शक्तिशाली कम्युनिस्ट पार्टीमा पनि रुपान्तरित भएका थिए । उक्त कम्युनिस्टहरुको संयुक्त पार्टीलाई नेकपा नामाकरण गरी शीर्ष नेता ओलीको नेतृत्वमा नेपाल सरकार बनाई पूरा तीन वर्षसम् शासन सत्ता सम्हाल्ने अवसर प्राप्त भएको थियो । अहिले त्यो शक्तिशाली कम्युनिस्ट पार्टीको सरकार मात्र होइन, त्यसमा संलग्न भएका दलहरु समेत भताभुंग भएका छन् । दलहरुले विगतमा राजतन्त्र र पञ्चायती व्यवस्थाको विरोधमा धेरै जनआन्दोलनहरुको नेतृत्व गरेका थिए । फलस्वरुप दलहरु आमनेपाली जनतासित नङ र मासुझैँ जोडिएका थियो । अविकासको मुद्दालाई जोडतोडले राजतन्त्र र पञ्चायती व्यवस्थाको विरुद्ध प्रयोग गर्न दलहरु सफल भएका थिए । दलहरुले नेपाली जनताको साथ पाएको हुँदा पहिले पञ्चायती व्यवस्था र त्यसपछि राजतन्त्र फालिएको थियो । दलहरु अहिले भन्छन्, ‘उहाँहरुले नेपालमा बहुदलमा आधारित संसदीय व्यवस्था र गणतन्त्र ल्याएर नेपाललाई लोकतान्त्रिक मुलुक बनाएका छौँ ।’ यो सबै कुरा ठिकै हो भनी नेपाली जनताले पनि मान्दै आएका पनि छन् तर जुन अविकास र नरंकुशाताको मुद्दाहरुलाई उठाएर उनीहरुले नेपाली जनतालाई आफ्नो पक्षमा तानेका थिए उक्त मुद्दाहरु आज पनि उस्तै छन् र झन्झन खराब बन्दै गएका छन् । भ्रष्टाचार र अपराधका मुद्दाहरुमा दलहरुले राजतन्त्र र पञ्चायती व्यवस्थालाई धेरै पछाडि पारेका छन् । सदाचारिता र आर्थिक अनुशासनलाई दलहरुले लगभग नेपालबाट उन्मूलन नै गरिसकेका छन् । दलहरु यतिबेला विदेशीका दलालझैँ बनेर नेपालमा शासन गर्दै छन् । संसारभर नेपालको पहिचान नै बनिसकेको हिन्दूधर्मलाई दलहरुले संविधानमा राखेको छैन । हिन्दूधर्मको ठाउँमा धर्मनिरपेक्षता राखेर ‘नेपालको संविधान, ०७२’ ल्याएका छन् । हिन्दूधर्मलाई हटाउने र बदलामा धर्मनिरपेक्षता संविधानमा राख्नेजस्ता नेपाली जनतासित जोडिएका मुद्दाहरुबारे नेपाली जनतालाई सोधिएन । दलहरुले विदेशीको प्रभावमा परी नेपालको इसाईकरण गर्न विदेशीलाई साघाउने उद्देश्य राखी नेपाललाई हचुवाको भरमा धर्मनिरपेक्ष राष्ट्र भनी संविधानमा राखेका छन् । यति ठूलो परिवर्तन गर्दा नेपाली जनताको राय लिने मामुली प्रयाससम्म पनि नगर्ने दलहरुलाई नेपाली जनताले कसरी लोकतान्त्रिक मानेका हुन् भन्ने प्रश्न अहिले उब्जिएको छ । यहि कुरालाई दलहरुले सत्ताबाट हटाएको राजाले भन्दै छन् भने पञ्चहरुले पनि नेपाली जनतालाई बुझाउन कोसिस गर्दै छन् । दलीय व्यवस्था अहिले विदेशीको प्रभावमा चल्ने दलाल व्यवस्था भएको हुँदा नेपालको राष्ट्रियता अत्यन्तै नाजुक र कमजोर भएको छ । दलहरुले नेपाल राष्ट्रको सीमानाहरुको सुरक्षा गर्न सकिरहेको छैन । नेपाली जनतालाई शान्ति र सुरक्षित तरिकाले नेपालमा नै व्यापार व्यवशाय गरी जीवनयापन गर्न सक्ने वतावरण बनाउन दलहरुले सकेको छैन । भ्रष्टाचार र अपराधले सीमा नाघिसकेको हुँदा नेपाली जनताको मन अशान्त भएको छ । नेपालमा अनिश्चितता, अन्योलता र नैरास्यता फैलिएको छ । भ्रष्टाचार र अपराधले गर्दा देश लुट्ने र देश बेच्ने दलालहरुको लागि नेपाल स्वर्ग नै भएको छ । दलहरुले राजनीतिक सहमतिलाई तोड्दै गाढा राष्ट्रियता भएको राजा र राजावादीहरुलाई राष्ट्रको मुलधार राजनीतिबाट अलग राखेपछि झनै नेपालको भविष्य असुरक्षित बनेको महशुस नेपाली जनताले अहिले गर्न थालेका छन् । दलहरु विदेशीका दलाल शासक भएको हुँदा नेपाललाई विदेशीको हातमा बेच्ने हुन् कि भन्ने त्रास चारैतिर फैलिएका छन् । नेपाली जनता शीर्ष नेता ओलीले सुरुसुरुमा देखाएको राष्ट्रबादबाट निकै प्रशन्न भएका थिए । समयकालसँगै उनमा आएको विचलनले गर्दा नेपाली जनता उनीबाट अहिले टाढिएका छन् । सबैलाई उनको राष्ट्रवाद देखावटी र झुटो भएको जानकारी भएको छ । जुन कारणबाट उनले नेतृत्व गरेको गठबन्धनले चुनावमा दुई तिहाइ बहुमत प्राप्त गरेका थिए । सोही कारण नै झुटा भएको निस्केपछि नेपाली जनता अहिले ठूलो धोका भएको अनुभूति गर्दै छन् । झुटलाई आधार बनाई प्राप्त गरेको दुई तिहाइ बहुमत आखिरमा कसैलाई पनि काम लागेन । दुई तिहाइ बहुमतले गर्दा नेपालका अज्ञानी कम्युनिस्टहरुको मनमा अहंकार र लोभलालच उत्पन्न भयो र त्यसैले उनीहरुलाई उँधो गति उँधै मति बनाएर छाड्यो र छोटो समयमा उनीहरुको एकता सकिएर आफैँ बर्बाद भए । यसरी नेपाली जनताले दिएको दुई तिहाइ बहुमत तुहियो र त्यसले नेपालको विकास पनि हुन सकेन, नेपालमा समृद्धि पनि आएन र नेपाली जनता सुखी पनि बन्न पाएनन् । अन्तिममा दुई तिहाइ बहुमत बाँदरको हातमा नरिवल बनेर समाप्त भयो । भ्रष्टाचार र अपराध नेपालमा लगातार बढेर गएको गएकै छन् । यसलाई बढ्नबाट रोक्नका लागि प्रभावकारी कदम चाल्न जरुरी भएको छ । नत्र यसले राष्ट्रको नामो निशाना नै मेटाउन सक्ने रुप धारण गर्ने देखिन्छ । भ्रष्टाचार र आर्थिक अपराधको परिणाम भनेको राष्ट्रलाई गरिब, कंगाल र कमजोर बनाउँदै लाने हो । सबैलाई थाहा भएकै कुरा हो गरिब, कंगाल र कमजोरसित आफ्नो रक्षा गर्न सक्ने शक्ति हुँदैन । नेपाल राष्ट्र पनि भ्रष्टाचार र अपराध बढेसँगै दिनानुदिन गरिब, कंगाल र कमजोर बन्दै गएको छ र कालन्तरमा परनिर्भर मुलुक बन्दै विदेशीको गुलाम मुलुक बन्नुबाहेक अन्य उपाय बच्ने छैन । त्यसैले समय काल नघर्र्काइ अहिले नै भ्रष्टाचार र अपराधको विरुद्धमा अभियान थाली हाल्नु पर्छ पछि पश्चताप गरेर कुनै काम लाग्ने छैन । भ्रष्टाचार भनेको राष्ट्रका लागि पानीजहाजमा भएको सानो प्वाल जस्तै हो जसबाट पानी बिस्तारै छिरेर आखिरमा उक्त पानीजहाजलाई नै डुबाइदिन्छ । पानीजहाजमा भएको सानो प्वालजस्तै नेपाल राष्ट्रका लागि भ्रष्टाचार एक प्रकारको प्वाल हो जसबाट बिस्तारै राष्ट्रको लगानी चुहिएर आखिरमा नेपाललाई कंगाल मुलुक बनाएर नै छाड्ने छ । तीस वर्षदेखि अहिलेसम्म दलहरुलाई हेरियो कुरियो तर अब धेरै हेर्ने वा कुर्ने समय छैन । दलहरुले भ्रष्टाचारीहरुमाथि कार्यबाही चलाएर नेपालमा भ्रष्टाचार रोक्लान् भन्ने कुरामा विश्वास हुने अब कुनै ठोस आधार छैन । दलहरुको बोली र व्यवहारमा ठूलो अन्तर रहेको छ । राजाजस्तै स्वतन्त्र व्यक्ति वा राजतन्त्रजस्तै स्वतन्त्र निकायले मात्रै अब गैरसदाचारी र अनुशासनहिन दलहरुलाई तह लगाउन सकिन्छ अन्यथा दलहरुले नै जुकाले झैँ यो मुलुकलाई चुसेर समाप्त पारी दिन केही बेर लगाउने छैन । दलहरुले राष्ट्रको नाममा लिएको १४ खर्ब विदेशी ऋण कता लगेर लगानी गरेका छन् भन्ने कुरा प्रमाणित गर्न नसके पनि महालेखाको प्रतिवेदनले यो कुरालाई प्रष्ट तुल्याएको छ । ऋण गरेको १४ खर्ब पैसा भ्रष्टाचारीहरुले नै खाएर सकेका छन् र दलहरुले भनेको जस्तो सो लगानीबाट अब नेपालको विकास पनि हुँदैन, नेपालमा समृद्धि पनि आउँदैन र भ्रष्टाचारीहरु बाहेक नेपाली जनता कोही सुखी पनि हुने छैनन् । यसरी नपाउनेले पायो बोक्रैसित खायो भनेझैँ दलहरुले नेपाल राष्ट्रको दुर्गती मात्रै बढाएका छन् र प्रगति केही बढाएका छैनन् । दलहरुले राष्ट्रको ऋण बढाएका छन्, वैदेशिक रोजगारीको नाममा मानव तस्करी बढाएका छन्, मुद्रा तस्करी हुन्डीको व्यापार बढाएका छन्, सुन र लागुऔषधीहरुको तस्कारी बढाएका छन् । नेपाललाई आत्मनिर्भर मुलुकबाट परनिर्भर मुलुक बनाएका छन् । नेपालको विकास र राजनीतिमा विदेशीको प्रभावलाई नेपालको नामनिशाना नै मेटाउन सक्ने गरी दलहरुले बढवा दिएका छन् । नेपालैभरी विदेशी गैरसरकारी संस्थाहरुलाई काम गर्ने छुट दिएर नेपालको इसाईकरण गर्नमा सघाएका छन् । दलहरुको नेपाल सरकारले एक लाखसम्मको नगद सहयोग पनि स्वीकार गरेको समाचार प्रकाशित भएका छन् । अमेरिकन एमसिसी परियोजना विवाद यसैको परिणाम हो । दलहरु ज्यान फालेर उक्त सहयोगलाई स्वीकृत गराउन लागेका छन् । उल्लेखित सबै बिषयहरुलाई निचोडमा भन्नु पर्दा दलहरुले राष्ट्रको दुर्गति नै बनाइदिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *