२ नं. प्रदेशमा देखियो भ्रष्टाचारको पराकाष्ठ

मधेस प्रदेश

काठमाडौं । नेपालका सबैजसो राजनीतिक दल भ्रष्टाचारको आहालमा फसिराखेका छन् भन्दा अन्यथा हुँदैन । किनभने नेपालका राजनीतिक दलहरूले विकास निर्माण तथा सर्वसाधारण जनताको समस्याका सम्बन्धमा होइन भ्रष्टाचारमा नै प्रतिष्पर्धा गरी राखेका छन् । राजनीतिक दलका नेताहरूले सत्ता र शक्तिको आडमा गर्ने गरेको भ्रष्टाचारलाई लोकतन्त्रसँग जोडेर आफ्नो बचाउ गर्ने फोहोरी खेल पनि नेपालका नेताहरूले गर्दै आएका छन् । केही समय अगाडि मात्र ललिता निवास जग्गा प्रकरणमा संलग्न भएको भन्दै अख्तियारले विशेष अदालतमा कांग्रेस उपसभापति विजय गच्छारविरुद्ध मुद्दा दर्ता गरेको थियो । तर, उनले आफ्नो चरित्र हत्या गर्ने गरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आफूविरुद्ध भ्रष्टाचार मुद्दा अगाडि बढाएको टिप्पणी गरेका थिए । जबकी, भ्रष्टाचारको मामिलामा कांग्रेसका नेताहरूमा विजय गच्छदार सबभन्दा अगाडि आउने नेतामा पर्दछन् । आफूमाथि लागेको भ्रष्टाचारबाट जोगिनका लागि यस्तो घिनलाग्दो टिप्पणी कांग्रेस उपसभापति गच्छदारले गरेको केही दिनमा नै राजनीतिक दल तथा सत्तामा रहेका नेताले भ्रष्टाचार गर्न पाउनु पर्छ भन्ने सन्देश दिने गरी प्रदेश २ मा सरकारको नेतृत्व गरी राखेको जनता समाजवादीले गत शनिबार प्रदेश २ का आठ ओटै जिल्ला सदरमुकाममा राके जुलुस निकाल्ने र गत आइतबार विरोध प्रदर्शन गर्ने काम गरेको छ ।
‘बेटी पढाउ बेटी बचाउ’ भन्ने मुख्यमन्त्रीको कार्यक्रमअन्तर्गत चार चरणमा ४१ हजार २६२ वटा साइकल खरिद गर्दा व्यापक भ्रष्टाचार भएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्रीको कार्यालयमा छापा मारेर आवश्यक कागजात आफ्नो नियन्त्रणमा लिएको घटनाप्रति प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत मात्र होइन, उनको पार्टी जनता समाजवादीसमेत आक्रोशित भएर सडकमा उत्रिएको छ । ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रमअन्तर्गत साइकल खरिद गर्दा ठूलो भ्रष्टाचार भएको भनेर प्रदेश २ संसदमा नियमति रूपमा छलफल भइराखेको छ र संसदीय समितिले यस सम्बन्धमा मागेको कागजात समेत उपलब्ध नगराएर मुख्यमन्त्री राउतले संसदको अपमान गर्ने काम समेत गर्दै आएको थिए । यही क्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुख्यमन्त्रीको कार्यालयमा छापा मारेर अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आवश्यक कागजात आफ्नो नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा मुख्यमन्त्री राउतले आफूलाई खबर नगरी अख्तियारले छापा मारेर कागजात लगेको भनेर आक्रोश व्यक्त गरेका छन् र उनको पार्टी जनता समाजवादीले अख्तियारले भ्रष्टाचार नियन्त्रणको मामिलामा गरेको यो कारबाही विरुद्धमा राके जुलुस निकाल्ने तथा विरोध प्रदर्शन गर्ने काम समेत गरेको छ ।
मुख्यमन्त्री राउतका अनुसार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आवश्यक काजगात लुकाउने समय उपलब्ध गराउने गरी पूर्व सूचना दिएर मात्र छापा मार्नु पर्ने थियो । मुख्यमन्त्री राउतले ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रमअन्तर्गत स्कुले छात्रालाई निःशुल्कमा उपलब्ध गराउन भनेर राज्यकोषबाट खरिद गरेको २१ हजार २६२ थान साइकल प्रकरणमा ठूलो भ्रष्टाचार भएको कागजातले नै देखाइराखेको छ । आर्थिक नियमविपरीत यी साइकलहरू कहाँ, कसले निर्माण गरेको भन्ने समेत उल्लेख छैन । यसरी हचुवाको भरमा मनपरी मूल्य राखेर ठूलो परिणाममा साइकल खरिदको नाममा भएको भ्रष्टाचारको सम्बन्धमा प्रदेश सांसदमा व्यापक कुरा उठेपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले समेत यस सम्बन्धमा चासो राखेको थियो र प्रारम्भिक चरणको अनुसन्धानबाट यो प्रकरणमा भ्रष्टाचार भएको र भ्रष्टाचारमा मुख्यमन्त्री राउतसमेत संलग्न भएको विश्लेषण गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत साताको बुधबार प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेर आवश्यक कागजात आफ्नो नियन्त्रणमा लिएको छ ।
ठूलो परिणामको साइकल खरिदमा व्यापक भ्रष्टाचार भएकै कारणले गर्दा मुख्यमन्त्री राउत अहिले राजकीय सत्ताको समेत दुरूपयोग गरेर अख्तियारको कारबाहीलाई प्रभावित पार्ने नियतले आफ्ना चम्चाहरूलाई सडकमा उतार्ने काम गरी राखेका छन् । मुख्यमन्त्री राउतले आफ्ना चम्चाहरूलाई सडकमा उतारेर अख्तियारको कामलाई प्रभावित पार्नेतिर नलागी यदि यो खरिद प्रकरणमा भ्रष्टाचार भएको छैन भने त्यसै अनुरूप प्रमाणहरू पेस गरेर अख्तियारलाई चुनौती दिने काम मुख्यमन्त्री राउतले गर्नु पर्ने थियो । करोडौँ रूपैयाँ भ्रष्टाचार हुने गरी ठूलो परिणाममा साइकल खरिदका सम्बन्धमा पार्टी उपाध्यक्षसमेत रहेका मुख्यमन्त्री राउतको प्रत्यक्ष संलग्नता देखिएको सम्बन्धमा उनको पार्टीले भ्रष्टाचार सम्बन्धी यो प्रकरणमा निष्पक्ष छानबिन र कारबाही अगाडि बढ्नु पर्छ भन्ने ठाउँमा उल्टो मुख्यमन्त्री राउतको बचाउ गर्दै जनता समाजवादी पार्टीले सडकमा उत्रिएको छ । यो घटनाले नेपालका राजनीतिक नेताहरू मात्र होइन, दलहरू समेत भ्रष्टाचारमा लिप्त छन् भन्ने प्रष्ट हुन्छ । र, नेपालमा भ्रष्टाचार बढ्नुको कारण के होला भन्ने खोजी राख्नु पर्ने स्थिति पनि रहँदैन ।
नेपालमा भ्रष्टाचार लोकतन्त्रको पुनस्र्थापना भएसँगै भएको हो । र, भ्रष्टाचार नियन्त्रण गर्न संवैधानिक रूपले गठन भएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई पदाधिकारी नियुक्तिमा राजनीतिक रूपले प्रभाव पारेसँगै यो अधिकार सम्पन्न र स्वतन्त्र आयोगलाई राजनीतिक क्षेत्रले प्रभावित पार्दै ल्याएको छ । यो कारणले गर्दा पनि नेपालमा राजनीतिक क्षेत्रले लिप्त रहेको भ्रष्टाचारले फैलिने मौका पाएको हो । यही क्रममा जनता समाजवादीका उपाध्यक्ष तथा प्रदेश २ का मुख्यमन्त्री राउतको प्रत्यक्ष संलग्नता रहेको यो साइकल खरिद भ्रष्टाचार प्रकरण सार्वजनिक भएको छ । तर राजनीतिक हैसियतका र प्रदेश २ का मुख्यमन्त्री समेत रहेका राउतलाई अख्तियारले अनुसन्धान गर्न र कारबाही गर्न समेत पाउँदैन भन्ने सन्देश दिने गरी जनता समाजवादी प्रदेश २ का आठ वटै जिल्लामा सडकमा उत्रिएको छ । भ्रष्टाचारीलाई कारबाही गर्नु हुँदैन र उन्मुक्ति दिनुपर्छ भन्ने सन्देश दिएर राजनीतिक दल नै सडकमा उत्रिएको यो विश्वकै लागि पहिलो घटना हुनुपर्दछ । २०४६ सालमा राजनीतिक परिवर्तन भएसँगै मुलुकमा भ्रष्टाचार र विकृति बढेको कारणले गर्दा मुलुकमा माओवादी विद्रोहीले अपार सफलता पाउने अवसर प्राप्त गरेको थियो । यही क्रममा २०६२÷०६३ सालमा भएको राजनीतिक परिवर्तनपछिको स्थितिमा पनि नेपालका राजनीतिक दल तथा नेताले इतिहासबाट शिक्षा लिएको देखिएको छैन । यसैले गर्दा विश्वव्यापी रूपमा भई राखेको भ्रष्टाचारको अनुगमन गर्ने ट्रान्सपरेन्सी इन्टरनेशनले समेत नेपालमा हरेक वर्ष भ्रष्टाचार बढेको प्रतिवेदन सार्वजनिक गरी राखेको छ । लालबाबु पण्डितजस्ता नेता र जनता समाजवादीजस्तो राजनीतिक दल भएपछि मुलुकमा भ्रष्टाचार नबढ्ने त कुरै भएन । तथापि भ्रष्टाचार गर्न पाउनु पर्छ भन्ने माग अप्रत्यक्ष रूपमा राखेर राजनीतिक दल नै सडकमा उत्रनुलाई भने विकृतिको पराकाष्ठ मान्नु पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *