नेकपा (एमाले) दशौँ राष्ट्रिय महाधिवेशनको तयारीमा होमिएको छ । आउँदो मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनको तयारी तीव्र बनिरहँदा महाधिवेशन तयारी, अघिल्ला महाधिवेनहरूभन्दा फरक, केन्द्रीय नेतृत्व र कमिटीमा पनि सर्वसम्मत गर्ने भनिएको छ, त्यो सम्भावना, तीनवटै पक्षलाई कसरी मिलाएर लैजान सकिएला या सकिदैन आदि सेरोफेरोमा आनन्द पोखरेलसँग गरिएको कुराकानीको अंशः
० दशौँ राष्ट्रिय महाधिवेशन नजिकिएको छ, तपाईंलाई चाहिँ कत्तिको लागेको छ महाधिवेशन ?
नेपालको कम्युनिस्ट आन्दोलनमा विधान महाधिवेशनबाट नीति र राष्ट्रिय महाधिवेशनबाट नेतृत्व छनोट गर्ने कुरा नयाँ हो । हामीले नवौँ महाधिवेशनबाट यो विषय पारित ग¥यौँ र त्यसैअनुसार विधान महाधिवेशन सकेर अहिले राष्ट्रिय महाधिवेशनको तयारीमा छौँ । अब राष्ट्रिय महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ । त्यसअन्तर्गत सबै तयारी धमाधम चलिरहेको छ । खासगरी अहिले महाधिवेशनस्थलको तयारी र व्यवस्थापनको काम भइरहेको छ । त्यो पनि चितवनमा जुन म आफै वाग्मती प्रदेशको अध्यक्ष पनि हुँ । त्यसै कारणले स्वाभाविकै कारणले अरुलाई भन्दा धेरै मलाई लागिरहेको छ । देशभर प्रतिनिधि छनोटको काम पनि भइरहेको छ । महाधिवेशन प्रतिनिधि छनोट भइसकेपछि हामी महाधिवेशनका बाँकी तयारीमा लाग्छौँ । अहिले नै पार्टीको नेतृत्वमा को आउने र कसरी आउने भन्ने कुराको चाहिँ कुनै तयारी भएको छैन । यो पनि समयक्रममा तयारी हुन्छ नै ।
० नेकपा (एमाले) को आउँदै गरेको १०औँ महाधिवेशन पार्टीका अघिल्ला महाधिवेशनहरू भन्दा फरक छ भन्दै आउनुभएको छ । के–के कुरामा फरक हुन्छ ?
हामी एउटा विषम परिस्थितिमा महाधिवेशन गर्दैछौँ । नेकपा बनायौँ, त्यो रहन सकेन । एमाले पनि सग्लो रहेन । यस्तो परिस्थितिमा महाधिवेशन गर्दैछौँ । अप्ठ्यारो, तर राम्रो सम्भावना या उज्यालोको नेतृत्व गर्ने गरी यो महाविधेशन गर्दैछौँ । प्रबन्ध र व्यवस्थाका हिसाबले पनि फरक छ । विगतमा विचारको बहस र नेतृत्वको चुनाव एकैसाथ हुन्थ्यो । अहिले हामीले विचारको बहस विधान महाधिवेशनमा सकेर नेतृत्व चयनको लागि मात्रै राष्ट्रिय महाधिवेशन गर्दैछौँ । यो अहिलेको परिस्थितिमा आएको विचार होइन । २०७१ सालको नवौँ महाधिवेशनले नै विचारमा छलफल हुन सकेन, विचार र नेतृत्वको बहस एकैचोटी नगरौँ भनेर दुईटा महाधिवेशन गर्ने सर्वसम्मत धारणाका आधारमा विधानमा व्यवस्था ग¥यौँ । र, विधान महाधिवेशनबाट राजनीतिक दस्तावेजहरू पारित गरिसक्यौँ । अब राष्ट्रिय महाधिवेशनमा अरु दस्तावेज ल्याउने कुरा हुँदैन । त्यसैले, नेतृत्व छनोटमा मात्रै केन्द्रित हुन्छौँ । यस अर्थमा यो पृथक छ । २०७१ मा हामी भिन्न परिस्थितिमा थियौँ । अहिले हामी सरकारमा पुगेर बाहिरिएको छौँ । केन्द्र र प्रदेश सरकारमा नभएको अवस्थामा प्रमुख प्रतिपक्षीको हैसियतमा महाधिवेशनमा गइरहेका छौँ । यस मानेमा हाम्रा अवसर र चुनौती धेरै छन् । एमालेविरुद्ध बनेको गठबन्धन परास्त गर्नेगरी हामी अघि बढ्नुपर्ने देखिएको छ । नयाँ चुनौती र सम्भावनाबीच यो महाधिवेशन गर्दैछौँ ।
० दशौँ महाधिवेशनमा तपाईंको उम्मेद्वारी कुन पदमा हुन्छ ?
म अहिले वाग्मती प्रदेशको अध्यक्ष हुँ । मैले वाग्मती प्रदेशको नेतृत्व लिइरहेको छु । मलाई साथीहरूको सल्लाहअनुसार केन्द्रिय कमिटीको उम्मेद्वार हुँ । कुन पदमा के मा भन्ने कुरा साथहिरूसँग सहमति गरेर पार्टीको आवश्यकताअनुसार जुन पलमा उठ्न निर्देशन हुन्छ सोही पदमा मेरो उम्मेद्वारी हुन्छ ।
० केपी शर्मा ओलीलाई र्निविकल्प अध्यक्ष मान्न सबै तयार भएकै कारण महाधिवेशन सर्वसम्मत हुन लागेको भनिन्छ नि ?
जसको नीति, कार्यक्रम, विचार उही कम्युनिस्ट पार्टी नेता भनिन्छ । मुलुकको राष्ट्रिय राजनीतिक नेता नै केपी शर्मा ओली हुन् । सर्वसम्मत रूपमा पदाधिकारी चयन हुनुपर्छ भनेर मैले भनिरहँदा अध्यक्ष पनि सर्वसम्मत हुनुपर्छ भन्ने त भइहाल्यो । तर, सर्वसम्मत हुन सकेन भने त प्रतिष्पर्धा भइहाल्छ नि । प्रतिष्पर्धा हुँदा कोही जित्छ, कोही हार्छ । त्यो स्वभाविक कुरा हो । सकेसम्म सर्वसम्मत गर्नुपर्छ भन्ने मेरो मान्यता हो । अधिकतम् रूपमा त्यसका लागि प्रयत्न गर्नुपर्छ । अहिले विशेष अवस्था छ । पदाधिकारी सबै सर्वसम्मत गर्ने भनेको त अध्यक्षदेखि सबै सर्वसम्मत हुने नै हो । प्रतिष्पर्धा हुने भएपछि को–को उठ्ने, के मा उठ्ने भन्ने कुरा त त्यति बेला नै सम्बन्धित व्यक्तिले सोच्ने कुरा हो ।
० वडा र पालिकाहरूमा केन्द्रकै जोडबलमा सर्वसम्मत नेतृत्व चयन गरिए । अब केन्द्रीय नेतृत्व र कमिटीमा पनि सर्वसम्मत गर्ने भनिएको छ, त्यो सम्भव होला ?
एमालेलाई हराउन लाग्नुपर्छ भनेर उनीहरूले उद्घोष नै गरिसकेका छन् । त्यसले गर्दा एमालेसामू गम्भीर चुनौती छ । त्यो चुनौतीको सामना गर्नका लागि एकमात्र औषधि र उपाय भनेको नेकपा (एमाले)का सात लाखभन्दा बढी पार्टी सदस्य र नेता–कार्यकर्ता हुन् । यी सबै पार्टी सदस्य र नेता–कार्यकर्ता एकताबद्ध रूपमा अगाडि बढ्नुपर्छ । यो महाधिवेशनलाई सर्वसम्मत रूपमा निष्कर्षमा पु¥याउन सकियो भने नेकपा (एमाले)लाई हर कुनै चुनौतीको सामना गर्नेगरी तयार पार्न सकिन्छ । यदि त्यसो गर्न सकिएन भने एक त पार्टी विभाजन भएको छ । त्यसमै फेरि विभिन्न अन्तरविरोधहरू सिर्जना गरियो र तिनलाई बढाउन थालियो भने त्यसले आउँदो निर्वाचनमा एमालेलाई कमजोर बनाउँछ । एमाले कमजोर हुनु भनेको अन्ततः नेपालको कम्युनिस्ट आन्दोलन कमजोर हुनु हो । त्यसो भएको हुनाले एमालेलाई हर कुनै हालतमा सुदृढ, सशक्त र एकताबद्ध पार्टीको रूपमा अगाडि बढाउनुको विकल्प छैन । पार्टीभित्र विभिन्न खालका कमीकमजोरीहरू हुन सक्छन् । तिनलाई आन्तरिक रूपमा हल गर्दै क्रमशः अगाडि बढाएर जानुपर्छ । कमीकमजोरी हटाएर, सच्याएर, सुधार गरेर जानुपर्छ । समस्या हरेक पार्टीमा हुन्छन्, एमालेमा पनि छन् । तिनलाई हल गर्दै अगाडि बढ्ने हो । तसर्थ यो महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन सर्वसम्मत नेतृत्व चयन गरेर जानुपर्छ । सकेसम्म केन्द्रीय कमिटी नै सर्वसम्मत निर्वाचित हुने प्रयत्न गर्नुपर्छ । हुन त केन्द्रीय कमिटी २२५ जनाको हुनेछ । यति ठूलो पंक्तिलाई सर्वसम्मत बनाउन कत्तिको सम्भव होला वा नहोला भन्ने आफ्नो ठाउँमा छ । सबैले चाहने हो भने त्यो असम्भव पनि होइन । केन्द्रीय कमिटीमा आकांक्षीहरू धेरै हुन्छन्, कसरी रोक्ने भन्ने स्थिति हुन्छ भने कमसेकम पदाधिकारीहरू सर्वसम्मत चयन गर्न सक्दा राम्रो सन्देश जान्छ । त्यसले परिणाम पनि राम्रो दिन्छ । त्यसकारण यसपटक अलि फरक अवस्था छ । यही मानसिकता, सोचाइका साथ सकारात्मक दृष्टिकोणबाट सबैले चिन्तन मनन गर्नुपर्छ । पदाधिकारीमा सर्वसम्मत गर्न त्यति समस्या छ भन्ने मलाई लाग्दैन । यदि योग्यता, क्षमता र योगदानका आधारमा व्यक्तिलाई कामको जिम्मा दिने तरिकाले जाने हो भने समस्याको समाधान हुन्छ । होइन, आग्रह–पूर्वाग्रह राखेर संकीर्ण मानसिकतासाथ अगाडि बढ्न खोज्ने हो भने त्यसले अन्तिममा सबैलाई नोक्सान हुन्छ । केही निश्चित व्यक्तिहरू हार्लान्, कुनैले जित्लान् ।
० पाँच दल गठबन्धन गर्दैछ भनेर आन्तरिक लोकतन्त्र खुम्च्याउँदा एमाले बाँच्छ कसरी ?
हामीले चुनाव नगर्ने त भनेका छैनौँ । तर, कोही उठेन भने उठ्नैपर्छ भन्ने हुन्छ र ? म ३२ वर्षदेखि पार्टी केन्द्रीय कमिटीमा छु । चौँथौदेखि सबै महाधिवेशनमा छु । त्यसबेला अध्यक्ष मण्डलको प्रस्तावमा केन्द्रीय समिति बनाउने व्यवस्था थियो । योग्य मान्छेलाई अगाडि बढाइन्थ्यो, नेतृत्व प्रस्तावमा दायाँबायाँ हुँदैनथ्यो । त्यो लोकतान्त्रिक हैन र ? पछि पाँच–दश जनाको केन्द्रीय कमिटी बढेर सय जना बन्यो । १०० जना छान्न कठिन हुँदै गएपछि पार्टी चुनावी बन्दै गयो । नयाँ परिवेशको आवश्यकताअनुसार निर्वाचनमा गयौँ । चुनावी प्रक्रियामा रहँदा पनि सर्वसम्मत नेतृत्व चयन भइरहेको छ । यसलाई अलोकतान्त्रिक भन्न सकिएला र !
० अहिले एमालेमा तीन ओटा पक्ष छन् पदाधिकारीमा संख्या धेरै छैन, यी तीनवटै पक्षलाई कसरी मिलाएर लैजान सकिएला ?
पदीय भागवण्डामा भगडा गर्ने साथीहरू अहिले पार्टीलाई चोइटाएर बाहिर गइसकेका छन् । आकांक्षी निश्चित रूपमा धेरै छन् । धेरै भए पनि नेतृत्वमा ल्याउनका लागि त्यसको निश्चित मापदण्ड हुनुप¥यो । आकांक्षीमध्ये पनि छनोट गर्दा सिनियरलाई हेर्नुपर्छ । क्षमता, योग्यता र योगदानलाई हेर्नुपर्छ । अहिले त पार्टीलाई कसरी एकताबद्ध गर्ने भन्ने कुरा नै महत्वपूर्ण छ नि । पार्टीभित्र विभिन्न विषयहरू छन्, त्यसको भावनात्मक पक्षलाई ध्यान दिनुपर्छ । पूर्वमाओवादी साथीहरू पनि तलदेखि माथिसम्म एमालेमा समाहित भएर अगाडि बढिरहनुभएको छ । दशबुँदे सहमति भनेर अगाडि बढिरहेको पंक्ति छ । यी सबै पक्षलाई ध्यानमा राख्नुपर्छ । यद्यपि, यसलाई गुटबन्दीको रूपमा, भागबण्डाको रूपमा लिन हुँदैन । एउटा पार्टीभित्रको भावनात्मक पक्ष भनेर बुझ्नुपर्छ । नेतृत्वले यसमा ध्यान दिनुपर्छ । भागबण्डा चाहिन्छ भन्ने अर्थमा मैले भनेको होइन, यी कुराहरूमा ध्यान दिनुपर्छ भन्ने हो । योग्यता, क्षमता र योगदान गरेका पार्टी सदस्यहरूबाट चुनिएर आएका प्रतिनिधिहरूमध्येबाट धेरै लामो समयसम्म योगदान गरेका, क्षमता भएका व्यक्ति चाहिन्छ । पुरानो भएर मात्र हुँदैन, अनुभव पनि चाहिन्छ । सक्रियता र क्षमतालाई पनि ध्यान दिनुपर्छ । यी सबै ख्याल गर्नुपर्छ । पार्टीलाई आवश्यक पर्दा जिम्मेवारी पूरा गरेका, पार्टीले विभिन्न समयमा दिएका भूमिका सफल पारेका नेताहरू हुनुहुन्छ ।
० नवौँ महाधिवेशनमा त प्यानल नै बनेर दुई समूह प्रतिष्पर्धामा थिए । सर्वसम्मत भएन भने त्यसैगरी प्रतिष्पर्धा हुन सक्ने सम्भावना छ कि छैन?
हामी प्यानल बनाउँदैनौँ । सर्वसम्मत हुन नसके प्रतिस्पर्धा हुन्छ नै । गुटगत रूपमा हुँदैन । प्रतिष्पर्धा के हिसाबले हुन्छ भने नेकपा (एमाले) भित्रको एउटा उम्मेदवार एकजना व्यक्तिको हैसियतले प्रतिस्पर्धा हुन्छ । व्यक्ति–व्यक्ति आफू उठ्न चाहेको पदमा उठ्छन् । प्रतिनिधिहरूले आफूले मन लागेका व्यक्तिलाई प्रतिनिधिले भोट हाल्छन् । बहुमत ल्याउनेले जित्छ, नल्याउने हार्छ । त्यसैले नवौँ महाधिवेशनमा भएजस्तो प्यानलगत रूपमा प्रतिस्पर्धा हुँदैन । अब महाधिवेशनहरूमा प्यानल बनाउने र लिस्ट बाँड्ने कुरालाई प्रतिबन्ध लगाउनुपर्छ । व्यक्तिगत रूपमा कसैले भोट माग्न विभिन्न माध्यम प्रयोग गर्न सक्लान् तर, प्यानल नै बनाएर प्रतिष्पर्धामा जानु हुन्न । कतै त्यो देखिएमा प्रतिबन्ध लगाउनुपर्छ र कारबाहीको विषय बन्नुपर्छ । पार्टीभित्र अर्को पार्टी त हुँदैन नि । पार्टीभित्र व्यक्ति–व्यक्तिको प्रतिस्पर्धा हुने हो । व्यक्तिगत रूपमा नै विषय उठाउने हो । सही भए सबैले समर्थन गर्छन्, नभए आलोचना गर्छन् । निर्वाचनमा जाँदा पनि व्यक्तिगत रूपमा नै उम्मेदवारी दिने हो । प्यानल बनाउने गुट बनाउने होइन । पार्टी चलाउने तरिका नै यही हो । हामीले त्यो गर्न नसक्दा क्षति बेहोर्दै आएका छौँ । सबै पार्टी सदस्यहरूमा यस्तो चिन्तन र क्षमताको विकास भयो भने साँचो अर्थमा कम्युनिस्ट पार्टी हुन्छ र समाजवादको आधार तयार हुन्छ । नत्र समाजवाद कुरामै सीमित हुन्छ । सधैँभरि गुटबन्दी गरेको छ, पार्टी विभाजन गरेको छ । कोही कता कोही कता हिँडेको छ । यस्तो तरिकाले कहीँ पुगिन्न । पार्टीभित्र लोकतान्त्रिक परिपाटी हुनुपर्छ भन्नुको अर्थ छाडा र अराजक हुनुपर्छ भन्ने होइन ।