१०औँँ महाधिवेशन र उत्सुकतामा रहेको एमालेको रणनीति

लेख

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेको १०औँँ महाधिवेशन पर्सी मंसिर १० गतेबाट चितवनको भरतपुरमा हुन गई राखेको छ । नेकपा एमालेको यो महाधिवेशनप्रति यो पार्टीका नेता तथा कार्यकर्ताको मात्र होइन, अन्य राजनीतिक दलको समेत गम्भीर चासो रहेको छ । किनभने सत्तारुढ गठबन्धनका दलहरूले नेकपा एमालेलाई एक्ल्याएर अब हुने निर्वाचनहरूमा मैदानमा उत्रने योजना बनाई रहँदा नेकपा एमालेले महाधिवेशन गरी राखेको छ । त्यस कारण प्रमुख प्रतिपक्ष नेकपा एमालेले अबका दिनका लागि कस्तो रणनीति र योजना बनाउँछ भन्नेमा गठबन्धनका दलहरू माथि गम्भीर चासो रहेको छ । किनभने गठबन्धनमा रहेका पाँच दलले नेकपा एमालेलाई एक्ल्याएर अगाडि बढ्ने र एमालेलाई मूलधारको राजनीतिबाट किनारा लगाउने योजना बनाई राखेका छन् । पार्टी विभाजित भएर पनि सबभन्दा ठूलो दलको हैसियतमा रहेको नेकपा एमालेले सत्तारुढ गठबन्धनबाट आउने यो चुनौतीलाई कसरी सामना गरेर अगाडि बढ्ने भन्ने सम्बन्धमा ठोस निर्णय गरेर पर्सी १० गतेबाट सुरु हुने १०औँँ महाधिवेशनले योजना बनाउने निश्चितजस्तै देखिएको छ ।
बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीको नेतृत्व एकपटक फेरि केपी ओलीले नै लिँदैछन् । सर्वसम्मतिबाट दोस्रो कार्यकालका लागि नेतृत्व लिने प्रयास अध्यक्ष ओली र उनीनिकटका नेताहरूबाट भई राखेको भए पनि विभाजित हुनु अगाडिदेखि नै एमालेमा उत्पन्न भएको विवादको क्रममा अध्यक्ष ओलीको विपक्षमा रहेर राजनीति गर्दै आएका उपाध्यक्ष भीमबहादुर रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेर केपी ओलीलाई निर्विरोध रूपमा अध्यक्ष हुनबाट रोक्ने भएका छन् । सांकेतिक रूपमा रावलले अध्यक्ष ओलीको विरोधका लागि उम्मेदवारी दिने भए पनि केपी ओलीलाई यो महाधिवेशनबाट थप राजनीतिक शक्ति आर्जन भने रावलको उम्मेदवारीले रोक्न सक्ने देखिँदैन ।
सत्तारुढ गठबन्धनमा रहेका पाँच दलले अब हुने निर्वाचनहरूमा नेकपा एमालेलाई एक्ल्याउने रणनीति र योजना बनाई रहँदा निर्वाचन आयोगले राष्ट्रियसभाका रिक्त रहेको १९ स्थानका लागि आगामी माघ १२ गतेका लागि निर्वाचनको मिति तोकेको छ । यसैगरी २०७९ साल सुरु भएसँगै पाँच वर्षीय कार्यकाल पूरा हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले आगामी चैत ५ गते निर्वाचन गर्न सरकारसमक्ष सिफारिस गरेको छ । स्थानीय निर्वाचन सम्पन्न भएपछि निर्वाचन आयोग मात्र होइन राजनीतिक दलहरू समेत आम निर्वाचनको तयारीमा लाग्ने छन् । किनभने आगामी मंसिर महिना लागेसँगै यो प्रतिनिधिसभा र प्रदेशसभाको पाँच वर्षीय कार्यकाल पूरा हुनेछ । सत्तारुढ गठबन्धनमा रहेका नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा अहिलेको सत्तारुढ गठबन्धन नै चुनावी मैदानमा उत्रनु पर्छ भन्ने पक्षमा रहेका छन् । तर, नेपाली कांग्रेसको तर्फबाट गठबन्धनका यी दलहरूको यो योजना र प्रस्तावप्रति अहिलेसम्म सकारात्मक जवाफ आएको छैन । एक्लै सबै तहका निर्वाचनमा उत्रनु पर्छ भन्ने मत नेपाली कांग्रेसमा बलियोसँग आइराखेको छ । गठबन्धनको अन्य दलहरूसँग सहकार्य नगरी नेपाली कांग्रेस एक्लै चुनावी मैदानमा उत्रियो भने कांग्रेसको सिधा प्रतिष्पर्धा नेकपा एमालेसँग हुने स्थिति रहेको छ । तर, नेपाली कांग्रेस गठबन्धनमा रहेका सबै दलसँग मिलेर चुनावी मैदानमा उत्रँदा प्रमुख प्रतिपक्ष नेकपा एमालेको राजनीतिक हैसियत कमजोर हुने सम्भावना छ । तर, गठबन्धनमा सामेल सबै दलसँग तालमेल गरेर चुनाव लड्दा नेपाली कांग्रेसले चुनावपछिको दिनमा राजनीतिक हैसियत गुमाउनु पर्ने हुन्छ । किनभने तालमेल गर्दा कांग्रेसले कतिपय सिट गठबन्धनका अन्य दललाई छाड्नु पर्ने अवस्था आउने निश्चित छ । यही कारणले गर्दा र अहिले आफ्नो लागि अनुकूल परिस्थिति रहेको विश्लेषण गर्दै नेपाली कांग्र्रेसका नेताहरूले अब हुने सबै तहको निर्वाचनमा नेपाली कांग्रेस र यो पार्टीका समर्थकले रुखमा मात्र मतदान गर्छ भन्दै चुनावी गठबन्धनलाई अस्वीकार गरी राखेका छन् ।
प्रमुख प्रतिपक्ष नेकपा एमालेले पर्सी मंसीर १० गतेबाट चितवनको भरतपुरमा हुने १०औँँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन मात्र गर्नु पर्ने छैन की यो दुवै स्थितिलाई ध्यानमा राखेर चुनावी रणनीति पनि बनाउनु पर्ने छ । गठबन्धनका अन्य दलसँगै राजनीतिक क्षेत्रको प्रमुख चासो नै एमालेको भावी नेतृत्वप्रति भन्दा पनि चुनावलाई केन्द्रमा राखेर यो महाधिवेशनले तय गर्ने भावी कार्यदिशाप्रति बढी रहेको छ । किनभने नेकपा एमालेलाई १०औँँ महाधिवेशनबाट पनि अध्यक्ष केपी ओलीले नै दोहो¥याएर नेतृत्व गर्ने लगभग तय भएको छ । त्यस कारण नेतृत्वलाई लिएर खासै चासो राख्नु पर्ने अवस्था छैन । तर, १०औँँ महाधिवेशनले तय गर्ने भावी कार्यदिशाप्रति भने अन्य राजनीतिक दलहरूको समेत गम्भीर चासो रहेको छ । नेकपा एमालेले भरतपुर महाधिवेशनबाट तय गर्ने भावी कार्यदिशाको विश्लेषण गरेर मुख्य रूपमा सत्ता गठबन्धनमा रहेका राजनीतिक दलहरूले पनि आफ्नो चुनावी रणनीति बनाउने छन् । खासमा प्रतिपक्ष नेकपा एमालेले गठबन्धनमा रहेका सबै दलसँग सामूहिक रूपमा अब हुने निर्वाचनहरूमा प्रतिष्पर्धा गर्नुपर्छ भन्ने मनस्थिति बनाई सकेको छ । यो मनस्थितिअनुसार नै यो महाधिवेशनले नेकपा एमालेको भावी कार्यदिशा तय गर्ने छ । तर, सरकारको नेतृत्व गरी राखेको नेपाली कांग्रेसमा अब हुने निर्वाचनहरूमा गठबन्धनबाट होइन, एक्लै चुनाव लड्नु पर्छ भन्ने दबाब नेतृत्व तहलाई चर्को रूपमा आई राखेको र अहिलेको कम्युनिस्ट विभाजित भएको अवस्था पनि नेपाली कांग्रेस अनुकूल भएकोले अब हुने राष्ट्रियसभाको बाहेक स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचनमा कांग्रेस एक्लै चुनावी मैदानमा उत्रने सम्भावना बलियो छ । यो कुरालाई समेत ध्यानमा राखेर पर्सिबाट सुरु हुने एमालेको १०औँँ महाविधेशनले भावी कार्यदिशा तय गर्ने देखिन्छ । प्रमुख प्रतिपक्ष भएर पनि सबभन्दा ठूलो दलको हैसियतमा रहेको नेकपा एमालेको महाधिवेशनले तय गर्ने भावी रणनीतिले मुलुकको समग्र राजनीतिमा समेत असर पार्छ भन्ने वास्तविकतालाई पनि अहिले बिर्सन हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *