भारतको प्रभावबाट मूक्त हुन् सहज छैन

लेख

भगवान पशुपतिनाथ हिन्दूहरूको सर्वोच्च आराध्य देवता हुन् । पशुपतिनाथको मन्दिर नेपालको राजधानी काठमाडौंको वाग्मती नदीको किनारमा अवस्थित भए पनि यसको पूजारी दक्षिण भारतमा पर्ने महाराष्ट्रका मराठी ब्राह्मण परिवारबाट नियुक्त हुन्छन् । पशुपतिनाथका पूजारीलाई ‘भट्ट’ भनिन्छ भने मुख्य पूजारीलाई ‘मूल भट्ट’ र अन्यलाई ‘भट्ट’ मात्रै भनिन्छ । यस्ता सहायक ‘भट्ट’हरू ७ जना सम्म हुन्छन् भन्ने सुनिएको छ । पशुपतिनाथको मन्दिरमा परापूर्व कालदेखि चल्दै आएको यस्तो चलन कुनै राजा महाराजाले चलाएको होइन । स्वयं भगवान् शंकरकै अवतार मानिएको आदि–शंकराचार्यले नै पशुपतिनाथको मन्दिरमा पूजा गर्ने गराउने यस्तो विधि–विधान र प्रणाली स्थापित गर्नुभएको हो भन्ने चर्चा धर्मशास्त्रमा लेखिएका छन् । इसाइहरूको धर्म गुरु पोप बस्ने ठाउँलाई भ्याटिकनसिटी भनिन्छ र त्यो सानो भ्याटिकनसिटीभित्र पोपकै शासन चलेको हुन्छ । इटालीभित्र यो भ्याटिकनसिटी भए पनि त्यहाँ इटाली सरकारको शासन चल्दैन । नेपालको पशुपतिनाथ मन्दिर परिसर भ्याटिकनसिटीजस्तो होइन किनकी पशुपतिनाथको मन्दिर परिसर नेपाल सरकारकै शासन र व्यवस्थापनमा चल्दै आएको छ । भौगोलिक वा व्यवहारिक रूपमा यस्तो देखिएता पनि अघोषित रूपमा भारतको प्रभूत्व पशुपतिनाथ मन्दिर परिसरभित्र कायम छ भन्ने महसुस गर्न सकिन्छ ।

हिन्दूहरूको आराध्यदेव भगवान पशुपतिनाथको मन्दिर परिसरभित्र हिन्दूस्तानको मात्र होइन संसारकै हिन्दूहरूलाई बेरोकटोक प्रवेश गरी पूजा–आजा, आराधना गर्न पाउने अधिकार छ । तर, अन्य धर्मकालाई भने यो छुट छैन । आराध्यदेव भगवान पशुपतिनाथको पूजा गर्ने सबैभन्दा महत्वपूर्ण दिन महाशिवरात्री हो र यो साधारनतया फागुन महिनामा पर्ने गरेको छ । उक्त महत्वपूर्ण दिनमा संसारकै शिव भक्तहरू पशुपतिनाथको मन्दिरमा आएर पूजाआजा, आराधना गर्ने गरेका छन । नांगो योगीहरू र योगिनीहरू भगवान शंकरको जस्तै भेषभूषामा नांगै खरानी घसी, दाउरा बालेको आगोको धुनी ताप्दै र भगवान शंकरको प्रिय वस्तुहरू भाङ, धतुरो खाँदै आराध्यदेव भगवान शंकरको भक्तिमा डुब्ने गर्दछन् । सबै शिव भक्तहरूको सुरक्षा, भोजन र वासको प्रवन्ध नेपाल सरकारले गर्दै आएको छ र उनीहरूलाई फर्केर जाने खर्चसमेत नेपाल सरकारले दिने चलन छ । नेपाल सरकारको तर्फबाट यसको व्यवस्थापनको जिम्मा गुठीसंस्थानलाई दिएको छ भने श्री पशुपतिनाथ मन्दिर परिसरको व्यवस्थापन पशुपति क्षेत्र विकास कोषले हेर्ने गरेका छ ।

यिनै दुई संस्थाहरूमार्फत नेपालको राजनीति आराध्यदेव भगवान पशुपतिनाथसित जोडिएका छन । उक्त दुवै संस्थाहरूको पदाधिकारीहरूको राजनीतिक नियुक्ति गरिने हुँदा नेपालमा राजनीतिक परिवर्तन हुन साथै राजनीतिक नियुक्ति पाउनको लागि चलखेल सुरु गरिन्छ र परिणाम स्वरूप पशुपतिनाथ मन्दिर परिसरको व्यवस्थापन प्रभावित हुन्छ । यसै सिलसिलामा भएको एउटा घटना निकै चिन्ताजनक थियो । माओवादीसँग शान्ति सम्झौता भएपछि आम चुनाव भयो र शीर्ष नेता प्रचण्ड उक्त चुनावमा ठूलो पार्टीको नेता बनेपछि नेपालको पहिलो कम्युनिस्ट प्रधानमन्त्रीको रूपमा नियुक्त भए । त्यो बेला वाइसिएलको जगजगी खुबै चलेको थियो जताततै जनकारबाही भन्दै धेरैलाई बिना कारण दुःख दिने गरेका थिए ।

त्यसैबेला श्री पशुपतिनाथको पूजारी भारतीय हुन नहुने अर्थात् नेपालीलाई नै पूजारी वा भट्ट नियुक्त गरिनुपर्छ भन्ने माग कतैबाट कसैले प्रधानमन्त्री प्रचण्डसमक्ष प्रस्तुत गरेका थिए । यही समयमा अचानक श्री पशुपतिनाथ मन्दिरको पूजारी भट्टहरूलाई वाइसिएलले पक्राउ गरी प्लास्टिकका पाइपहरूले कुटेर निकै दुःख दिनुको साथै मूल भट्टलाई श्री पशुपतिनाथको मन्दिर परिसर छाडि भारत घर जान बाध्य तुल्याएका थिए । साथै मूल भट्टको ठाउँमा नेपाली पूजारीलाई नियुक्त गर्न तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई दबाब दिएका थिए । नेपाली मूलको पूजारी त्यतिबेला नियुक्ति भए पनि त्यसले हिन्दूस्तानको स्वीकृति पाउन सकेन त्यसैले माओवादीहरूले चलाएको उग्र कारबाही त्यसै तुहियो वा धर्म र संस्कृतिमा परिवर्तन गर्ने माओवादीहरूको प्रयासलाई भारतले सफल हुन् दिएन ।

यो पशुपतिनाथको पूजारीहरूलाई वाइसिएलले कुटेको काण्डमा शीर्ष नेता प्रचण्डको हात भएको वा नभएको बारे हालसम्म खुलासा आएको छैन तै पनि यो काण्डले उहाँलाई ठूलो राजनीतिक क्षति भयो । भारतले उहाँलाई हेर्ने दृष्टिकोणमा नै ठूलो परिवर्तन आयो र आजसम्म सो बदलिएको छैन । नेपालको संविधान ०७२ अनुसार नेपाल एकाएक हिन्दू राष्ट्रबाट धर्मनिरपेक्ष राष्ट्र बन्न पुग्यो । यो धार्मिक परिवर्तन ल्याउने सम्बन्धमा नेपाली जनतालाई सोधिएन । जनमत संग्रह गरी यस्तो धार्मिक परिवर्तन गरेको भए नेपाली जनताको चित्त बुझ्ने थियो । तर, त्यसो नगरी नेताहरूले विदेशी गैरसरकारी संस्थाहरूको कुरा मात्रै सुनेर नेपाली जनताको धार्मिक आस्था माथि नै प्रहार गरेका थिए । सबैलाई थाहा भएकै कुरा हो तत्कालीन सरकार र माओवादीबीचको शान्ति सम्झौता भारतकै रोहबरमा भारतकै राजधानी नयाँदिल्लीमा भएको हो । तर, उक्त शान्ति सम्झौता कै आधारमा बनेको नेपालको संविधान ०७२ लाई भारतले पूर्णरूपले अहिलेसम्म स्वीकार गरेको छैन । यसको मुख्य कारण हिन्दू राष्ट्रलाई हटाएर धर्मनिरपेक्ष राष्ट्र बनाउनु नै हो ।

अन्य कारणहरूमा संघीयताको संरचना र गणतन्त्रको खाका बनाउँदा शान्ति सम्झौता कै अर्को महत्वपूर्ण राजनीतिक पक्ष राजतन्त्रलाई कुनै भूमिका नदिनु पनि हो । परिणाम स्वरूप नेपालमा राजनीतिक स्थिरता र दिगो शान्ति कहिले आउन नसक्ने अवस्था नेपालको संविधान२०७२ बाटै निर्माण भएको छ । यिनै कुराहरू माथि छलफल र संसोधन गरी नेपालको संविधान ०७२ लाई पुनर्लेखन नगरेसम्म नेपालमा दिगो शान्ति र स्थिर सरकार बन्ने सम्भावना नदेखेको हुँदा भारतले नयाँ संविधानको खुलेर स्वागत नगरेको हो भन्ने भेद खुल्दै गएको छ । हिन्दू धर्म र पशुपतिनाथ एक अर्कासित जोडिएका विषय हुन् । भारत हिन्दूहरूको प्राकृतिक बासस्थान पनि भएको हुँदा सबैभन्दा ठूलो र धेरै हिन्दूहरूले बसोबास गरेको मुलुकको नाताले संसारकै हिन्दूहरूको संरक्षक पनि भारत नै हो । त्यसैले भन्नै पर्दैन नेपालको हिन्दूहरू र नेपालमा भएको पशुपतिनाथलगायत अन्य सबै हिन्दू मठ, मन्दिरहरूको अप्रत्यक्ष संरक्षक पनि भारत नै हो । नेपालको मात्रै के कुरा संसारको कुनै पनि कुनामा हिन्दूहरूमाथि अन्याय परेमा वा भएमा भारतले अभिभावक झै अघि सरेर रक्षा गर्नै पर्ने हुन्छ । श्री पशुपतिनाथकै मन्दिर परिसरसित जोडिएको अर्को एक राजनीतिक घटना पनि छ, जसको चर्चा अहिलेको प्रसंगसित जोड्न सकिन्छ । कुरा सार्क राष्ट्रहरूको शिखर सम्मेलन ताकाको हो ।

भारतको तत्कालीन प्रधानमन्त्री राजीव गान्धी पत्नी सोनिया गान्धीसहित नेपालको राजधानी काठमाडौंमा आयोजना भएको सार्क शिखर सम्मेलनमा पाल्नु भएको थियो । श्री पशुपतिनाथको दर्शन गर्न जाने क्रममा प्रधानमन्त्री पत्नी सोनिया गान्धीलाई पशुपति विकास कोषको त्यो बेलाको संरक्षक महारानी ऐश्वर्यले इसाई भएको जनाउँदै श्री पशुपतिनाथको दर्शन गर्ने अनुमति दिन मान्नु भएन । तत्कालीन महारानी ऐश्वर्यले देखाएको धार्मिक भेदभावकै कारण भारतका तत्कालीन प्रधानमन्त्री राजीव गान्धी रिसाउनु भयो र भारत फर्किने बित्तिकै नेपालविरुद्ध व्यापार नाकाबन्दी लाग्यो । यही नाकाबन्दीको प्रभावले गर्दा नेपालमा विस्तारै राजनीतिक परिवर्तनको वातावरण बन्दै गयो र अखिरमा तत्कालीन पञ्चायती व्यवस्थालाई ढाली बहुदलीय व्यवस्था ल्याउन सहायकसिद्ध पनि भयो । त्यसैले धर्म र संस्कृतिको विषयलाई दलहरूले हलुका रूपमा लिनुहुँदैन । भारतले नेपालको राजनीतिक, धार्मिक, साँस्कृतिक वा अन्य कुनै विषयमा भौतिकरूपले हस्तक्षेप गर्न पर्दैन बोलिदिए मात्रै पुगिहाल्छ । भारतीय मूलका नेपाली व्यापारीहरू र व्यवसायीहरू त्यसैका लागि हरहमेसा तयारीमा बसेका हुन्छन् । नेपालको अर्थतन्त्रको आधारहरू जस्तो उद्योगहरू, बैंकहरू, व्यापारिक संस्थाहरू, वाणिज्य संघ÷ संस्थाहरू सबै भारतीय मूलकै उद्योगी व्यवसायीहरू र व्यापारीहरूद्वारा नै नियन्त्रित छन् । नेपालको राजनीतिक दलहरू सबै तिनीहरूले नै दिएको चन्दा, भत्ता, र कमिसनले चलेका हुन्छन् । राणा शासकहरूदेखि लिएर राज त्रिभुवनसम्मलाई भारतले नै सहयोग गरी सत्तामा टिकाएर राखेका थिए ।

भारतकै नुन खाएर भारतकै गुण गाउँदै हिँड्ने विज्ञहरू, निजामति कर्मचारीहरू, राजनीतिक दलका नेताहरू कति छन् कति गनेर सकिन्न । नागरिक समाजमा पनि भारतको प्रभाव कम छैन । राजा त्रिभुवन र तत्कालीन राणा शासकहरूबीच शान्ति सम्झौता गराउने पनि भारत नै हो भने माओवादी र तत्कालीन नेपाल सरकारबीच नयाँदिल्लीमै शान्ति सम्झौता गराउने पनि भारत नै हो । यस्तो शान्ति सम्झौता चीनको रोहबरमा भए÷गरेको कुनै एउटा उदाहरण पनि छैन । शान्ति सम्झौता भएपश्चात त्यसलाई दिगो अडिलो शान्तिपूर्ण बनाउनको लागि पनि राजा त्रिभुवनलाई भारतले नै सहयोग गरेका थिए । दिल्ली सम्झौताको घोर बिरोधी सहिद भिमदत्त पन्तलाई साम्य पार्न पनि भारतीय सेनालाई नै नेपालमा परिचालन गरिएको थियो । आधुनिक शैलीमा राज्यको तीन अंगहरूजस्तो व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकालाई छुट्टा–छुट्टै पारी व्यवस्थित बनाउन राजा त्रिभुवनलाई भारतले नै सघाएका थिए । राज्य सञ्चालन गर्न चाहिने न्यायाधीशहरू, प्रशासकहरू, प्रोफेसरहरू, इन्जिनियरहरू, मेडिकल डाक्टरहरू सबै भारतले नै नेपाललाई उपलव्ध गराएका थिए । यति सम्मकी मन्त्रिपरिषद्को क्याबिनेट सेक्रेटरीसमेत भारतीय नै हुने गरेको थियो भनिन्छ ।

आधुनिक नेपालको जग भारतले नै बसाइदिएको प्रष्टरूपमा नै देखिन्छ । त्यो बेला भारतले चाहेको भए नेपाललाई भारतमा नै गाभ्न पनि सक्ने थियो, तर भारतले त्यसो गरेन । यसको अर्थ के हो भने भारतले नेपाल र नेपालीलाई पराई ठान्दैन । एकै आँतको सन्तान झै व्यवहार गर्दै आएको देखिन्छ । हिन्दू राष्ट्र भएकै हुनाले भारतले नेपाललाई पराई ठानेको छैन । नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाएर नेपालको इसाइकरण गर्न लागेका दलका नेताहरू त्यसैकारण सचेत हुन जरुरी छ । हिन्दूराष्ट्र र हिन्दूहरूविरुद्ध नेपालमा षड्यन्त्र भएमा पूरा हिन्दूस्तान नेपाली हिन्दूहरूकै पक्षमा उभिने छन् र इसाइहरूले नेपालमा धर्म परिवर्तन गराउन थालेको अभियान सफल हुन दिने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *