चौतर्फी दबाब परेपछि संयन्त्र भयो बाध्य स्थानीय निर्वाचन बैशाखमा हुने

समाचार

काठमाडौं । सरकार सञ्चालन गरी राखेको पाँच दलको गठबन्धन आगामी वैशाखमा स्थानीय निर्वाचन गर्न सहमत भएको छ । यस सम्बन्धमा अन्तिम निर्णय गठबन्धनले आज बैठक गरेर गर्ने भएको छ । हिजो बसेको गठबन्धनको बैठकमा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल अनुपस्थित भएको कारण आगामी बैशाखमा स्थानीय निर्वाचन गर्ने सहमति भए पनि सरकारलाई स्थानीय निर्वाचनको मिति तोक्ने गरी सिफारिस गर्ने सम्बन्धमा भने कुनै निर्णय हुन सकेन र सरकारलाई आगामी वैशाखमा स्थानीय निर्वाचन गर्ने गरी मिति तोक्न आज बस्ने बैठकले सुझाव दिने भएको छ । निर्वाचन आयोगले आगाी वैशाख १४ र २२ गरी दुई चरणमा स्थानीय निर्वाचन गर्नुपर्ने सिफारिस सरकारसमक्ष गरेको थियो र निर्वाचन आयोगले दुई चरणमा नभए बैशाखमा नै एक चरणमा गर्ने गरी स्थानीय निर्वाचन गर्न समेत सरकारलाई सुझाव दिएको थियो । यस सम्बन्धमा निर्वाचन आयोगका अधिकारीहरूले गत ९ पुसमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर आवश्यक सुझाव दिएका थिए । तर, आफूले दिएको सुझावअनुसार सरकारको तर्फबाट निर्णय नभएपछि गत शुक्रबार निर्वाचन आयोगका उच्च अधिकारीहरूले कानुनी रूपमा आगामी बैशाखमा स्थानीय निर्वाचन गर्नैपर्ने स्थिति रहेको र स्थानीय निर्वाचन सम्पन्न गर्नका लागि १ सय २० दिन आवश्यक पर्ने उल्लेख गर्दै पर्सी शुक्रबारसम्ममा यस सम्बन्धमा निर्णय गर्न सरकारलाई दबाबपूर्ण सुझाव दिएको थियो । निर्वाचन आयोगको यही सुझावलाई ध्यानमा राखेर सत्तारुढ गठबन्धन आगामी बैशाखमा स्थानीय निर्वाचन गर्न सहमत भएको छ । आगामी बैशाखमा कति चरण र कुन मितिमा स्थानीय निर्वाचन गर्ने सम्बन्धमा भने सरकारले संयन्त्रको सुझावअनुसार पर्सी शुक्रबारसम्ममा अन्तिम निर्णय गर्ने छ ।
सत्तारुढ गठबन्धनका दुई घटक दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी स्थानीय निर्वाचनलाई कम्तीमा ६ महिना पछाडि सार्ने पक्षमा थिए । यसका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा समाजवादीका अध्यक्ष माधव नेपालले आगामी मंसिरमा ३ तहकै निर्वाचन एकै पटक गर्ने समेत प्रस्ताव गरेका थिए । तर, स्थानीय निर्वाचन ऐन ०७३ अनुसार बैशाखभित्रै स्थानीय तहको निर्वाचन गर्नैपर्ने र म्याद थपको प्रावधानसमेत कानुनमा नभएको र प्रमुख प्रतिपक्ष नेकपा एमालेसँगै विभिन्न नागरिक समाजले समेत आगामी बैशाखमा नै स्थानीय निर्वाचन गर्न चर्को दबाब दिन थालेपछि सत्तारुढ गठबन्धनले आगामी बैशाखमा निर्वाचन गर्ने सहमति गरेको हो । समाचार सूत्रका अनुसार स्थानीय तहमा पार्टीको संगठन सन्तोषजनक नभएको कारण माओवादी केन्द्र र एकीकृत समाजवादी स्थानीय निर्वाचनलाई कम्तीमा ६ महिना पछाडि सार्ने र संघीय निर्वाचनसँगै स्थानीय निर्वाचन पनि गर्ने पक्षमा रहेका थिए । आगामी बैशाखमा स्थानीय निर्वाचन गर्दा त्यो निर्वाचन परिणामको असर आगामी मंसिरमा हुने आम निर्वाचनको परिणाममा हुने विश्लेषण गरेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा समाजवादीका अध्यक्ष माधव नेपाल स्थानीय निर्वाचनलाई सकेसम्म पछाडि धकेल्ने र आफूले नेतृत्व गरेको पार्टीको संगठन बलियो हुन थालेपछि मात्र निर्वाचनमा जाने सोच बनाएका थिए । तर, प्रमुख प्रतिपक्ष नेकपा एमालेसँगै नागरिक समाजबाट समेत चर्को दबाब आउन थालेपछि र नेपाली कांग्रेस पनि स्थानीय निर्वाचनलाई पछाडि धकेल्न नहुने पक्षमा रहेको कारण आगामी बैशाखमा नै स्थानीय निर्वाचन हुने अवस्था बनेको हो । आगामी बैशाखमा स्थानीय निर्वाचन हुने लगभग निश्चित भए पनि सरकारमा रहेका राजनीतिक दलहरू भने यो स्थानीय निर्वाचनमा कसरी प्रस्तुत हुन्छन् भन्ने अहिलेसम्म निश्चित भएको छैन । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको जोड सत्तारुढ गठबन्धन नै मिलेर स्थानीय निर्वाचनको चुनावी मैदानमा उत्रनुपर्छ भन्नेमा रहेको छ । तर, गठबन्धनको नेतृत्व गरी राखेका प्रधानमन्त्री शेरबहादुर देउवाले यस सम्बन्धमा अहिलेसम्म मुख खोलेका छैनन् । तर, नेपाली कांग्रेसको संस्थापना इतर पक्षका नेता शेखर कोइरालादेखि उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापा भने अब हुने सबै तहका निर्वाचन नेपाली कांग्रेस एक्लैले लड्छ र स्पष्ट बहुमत ल्याउँछ भन्ने दाबी गरी राखेका छन् ।
सत्तारुढ गठबन्धनका दलहरू नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीको जोड भने स्थानीय निर्वाचनमा मात्र होइन, प्रदेश र आम निर्वाचनमा समेत गठबन्धनले मोर्चा गरेर चुनावी मैदानमा उत्रनु पर्छ भन्ने रहेको छ । संविधान र प्रजातन्त्र विरोधी शक्तिलाई पराजित गर्न र संविधानलाई सक्रिय बनाउनका लागि गठबन्धन एक ठाउँमा उभिएर चुनावी मैदानमा उत्रनु पर्ने आवश्यकता अझै पनि रहेको तर्क माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गरी राखेका छन् । खास गरेर प्रमुख प्रतिपक्ष नेकपा एमालेलाई राजनीतिक हानी पु¥याउने र त्यसको फाइदा लिने उद्देश्यले माओवादी अध्यक्ष प्रचण्ड र माधव नेपालले यो तर्क गरेको विश्लेषण पनि राजनीतिक क्षेत्रमा हुने गरेको छ । उता नेपाली कांग्रेसका संस्थापना इतर पक्षका नेताहरू अब हुने सबै तहको चुनावमा कांग्रेस कार्यकर्ता र कांग्रेस समर्थकको मत रुख चिह्न भन्दा अन्यत्र नजाने भनेर चुनावी गठबन्धनप्रति अहिलेदेखि नै खबरदारी गरी राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *