प्रकाशमान सिंहलाई पुरस्कारमा गृहमन्त्रालय

समाचार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा अहिले मन्त्रिपरिषदलाई पूर्णता दिने कसरतमा लाग्न थालेका छन् । पार्टीको १४औँ महाधिवेशनको क्रममा नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा महामन्त्रीमा पराजित भएपछि मन्त्री मिनेन्द्र रिजालले रक्षा मन्त्रालय अहिले पनि रिक्त अवस्थाबाट गुज्रिराखेको छ । यसैगरी गत असार गठन भएका मन्त्रिपरिषदलाई प्रधानमन्त्री देउवाले गत असोज २२ गते पूर्णता दिएका थिए । मन्त्रिपरिषदलाई पूर्णता दिने क्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त भएका गजेन्द्र हमालको यो प्रकरण प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासँग जोडिन पुगेपछि र प्रधानन्यायाधीश राणालाई आफ्ना जेठान हमाललाई राजनीतिक भागबण्डाका आधारमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बनाएको भनेर चर्को आलोचना भएपछि नियुक्ति भएको दुई दिनमा नै मन्त्री हमालले पदबाट राजीनामा दिएका थिए । त्यसपछि यो मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री देउवा आफैँले सम्हालिराखेका छन् ।
समाचार सूत्रका अनुसार १४औँ महाधिवेशनको क्रममा सभापतिको लागि भएको निर्वाचन दोस्रो चरणमा प्रवेश गरेसँगै पहिलो चरणबाट नै सभापतिको उम्मेदवारबाट बाहिरिएका प्रकाशमान सिंहले आफूलाई सहयोग गरेको र त्यही सहयोगको कारण आफू सभापतिम निर्वाचित हुन सफल भएको विश्लेषण गर्दै कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्रालयको जिम्मेवारीसहित उपप्रधानमन्त्री बनाएर प्रकाशमान सिंहलाई चाँडै हुने पुनर्गठनमार्फत मन्त्रिपरिषदमा समावेश गर्ने भएका छन् ।
यसैगरी गजेन्द्र हमालले राजीनामा गरेपछि रिक्त रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हाल्ने राज्यमन्त्री उमेश श्रेष्ठलाई लैजाने भएका छन् । समाचार सूत्रका अनुसार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेले भने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी तेजुलाल चौधरीलाई दिनुपर्ने पक्षमा देखिएका छन् । प्रकाशमान सिंहलाई उपप्रधानमन्त्रीसहित गृहमन्त्रालयको जिम्मेवारी दिएर सरकारमा सामेल हुने सम्बन्धमा प्रधानमन्त्री देउवा र प्रकाशमान सिंहबीच गत शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा लामो वार्ता भएको छ । प्रकाशमान सिंहले गृहमन्त्रालयको जिम्मेवारी सम्हालेको स्थितिमा बालकृष्ण खाँड रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुग्ने बताइन्छ ।
यसैगरी प्रधानमन्त्री देउवाले आफ्नो सचिवालय पनि गठन गर्ने भएका छन् । प्रधानमन्त्री नियुक्त भएको ६ महिना भइसक्दा पनि अहिलेसम्म सचिवालयको सबै जिम्ेमवारी प्रमुख स्वकीय सचिव भानु देउवाले सम्हालिराखेका छन् । अब प्रधानमन्त्री देउवाले प्रशासनिक सल्लाहकारमा जाँदै नेपाल र स्वास्थ्य सल्लाहकारमा डा. आरपी दिक्षालाई नियुक्ति गर्ने भएका छन् । यसैगरी आर्थिक सल्लाहकारमा पोषराज पाण्डेको नाम चर्चामा छ भने प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा गेजा शर्मा वाग्लेको नाम चर्चामा छ । गेजा शर्मा प्रेस सल्लाहकार भएको स्थितिमा अहिलेका प्रेस सल्लाहकार गोविन्द परियारले प्रेस संयोजकको भूमिका निर्वाह गर्ने बताइन्छ । यसैगरी प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले पनि प्रधानमन्त्री प्रेस सल्लाहकार हुन प्रयास गरिराखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *