मधेशको दबाब अब १ नं. माथि

समाचार

काठमाडौं । २ नं. प्रदेशले आफ्नो नाम र राजधानी तय गरेसँगै १ नं. प्रदेश सरकारमाथि नाम तय गर्न दबाब बढेर गएको छ । २ नं. प्रदेशमा गत सोमबार प्रदेशको नाम मधेश र स्थायी राजधानी जनकपुर तय गरेसँगै १ नं. प्रदेश सरकारमाथि प्रदेशको नाम तय गर्न दबाब बढ्न गएको हो । तर, १ नं. प्रदेशका मुख्यमन्त्री राजेन्द्र राई भने प्रदेशको नाम तय गर्ने एजेण्डालाई अरु पछाडि धकेल्न विभिन्न बहानाबाजी गरी राखेका छन् । प्रदेश संसदमा जम्मा १० सदस्य भएर पनि सरकारको नेतृत्व गर्ने अवसरमा पुगेका एकीकृत समाजवादीका नेता राजेन्द्र राईले यही १२ गते राष्ट्रियसभामा रिक्त रहेको १९ स्थानका लागि हुने निर्वाचनपछि मन्त्रिपरिषद विस्तार गर्ने र त्यसपछि प्रदेशको नाम तय गर्ने सम्बन्धमा अगाडि बढ्ने बताएका छन् । तर, १ नं. प्रदेशका मुख्यमन्त्री राईलाई मन्त्रिपरिषद विस्तार गर्न नै महाभारत परी राखेको अवस्था छ । मन्त्रालय फुटाएर मन्त्रिपरिषदको आकार ठूलो बनाएर आफूले नेतृत्व गरेको सरकारलाई बहुमतमा कायम राख्ने रणनीतिमा रहेका मुख्यमन्त्री राईका निम्ति प्रदेशको नाम तय गर्नु फलामको च्यूरा चपाउनु जस्तै चुनौतीपूर्ण रहेको छ । १ नं. प्रदेशको नाम कोशी, सगरमाथा, विराट चर्चामा छन् भने पहिचानको आकारमा कोशी किरात, सगरमाथा किरात राख्नु पर्ने माग पनि केही सांसदहरूको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *