अराजकता दलहरूको संस्कार बन्यो

लेख

हालै निर्माणमन्त्री माननीय श्रीमती रेणु यादवज्यूको एक सार्वजनिक अभिव्यक्तिले गरम समचारको रूपमा ठूलो चर्चा पायो । चौतर्फीबाट उहाँको बिरोध भयो र उहाँको राजीनामाको जोडदार माग आयो । तर, उहाँले अहिलेसम्म उक्त अमर्यादित अभिव्यक्तिको लागि माफी माग्नु भएको छैन । साथै नेपाल सरकारको तर्फबाट पनि उहाँलाई आतंक फैलाउने अभिव्यक्ति दिएकोमा मन्त्री पदबाट हटाउने कारबाही थालेको छैन । कानुनी राज्यको खिल्ली उडाउने गरी सरकारको मन्त्रीले नै दिएको अराजकता फैलाउने खालको त्यस्तो अभिव्यक्तिको लागि देउवा सरकार चुपचाप बस्ने र कुनै कारबाही नगर्ने हो भने नेपालका बाहुबली अपराधीहरू सबै झन् प्रोत्साहित हुनेछन्् । बहालवाला मन्त्रीकै उक्त भड्काउ अभिब्यक्तिले कमजोर कानुनी राज भएको नेपालजस्तो मुलुकको शान्ति सुरक्षाको अवस्थालाई अझ दयनीय बनाउने पक्का छ । माननीय उपेन्द्र यादवज्यूले नेतृत्व गर्नु भएको जसपाबाट मन्त्री बन्नु भएकी माननीय मन्त्री रेणु यादवज्यूले गौर नरसंहार काण्डको स्मरण गराउँदै मधेसकै अर्को राजनीतिक दल जनमत पार्टीका नेता डा. सि.के. राउतलाई सावधान गराउनु भएकी थिइन् । गौर नरसंहार काण्डमा सयौँ माओवादीहरूको हत्या माननीय उपेन्द्र यादव कै नेतृत्वमा रहेको तत्कालीन मधेसी जनाधिकार फोरमबाट भएको थियो । यो हत्या काण्डलाई त्यसै सामसुम पारियो र सयौँको संख्यामा साधारण माओवादी कार्यकर्ताहरू मारिएको मारिकै भए । माधेसमा फेरि त्यस्तो घटना नदोहरिएला भन्न सकिन्न, किनकि त्यसपछि पनि राजापुर हत्याकाण्ड घटेको स्मरण जनमानसमा ताजै छ । फरक यति मात्र छ कि राजापुर नरसंहार काण्डमा संलग्नहरूलाई सजाय पनि भएको छ । गौर नरसंहार हत्याकाण्डमा संलग्नहरू आज पनि स्वतन्त्र र सम्मानित भएर नेपालमा राजनीति गर्दैछन् । आफ्नै कार्यकर्तालाई मराएर केही गन्यमान्य माओवादी नेताहरू पनि अहिले सोही पार्टीमा भर्ना भएका छन् । यसरी माथि–माथिका ठूला नेताहरू मिल्दा रमिता हर्न गएका सामान्य आफ्नो आत्मसुरक्षा गर्न पनि नजान्ने कार्यकर्ताहरू चेपुवामा पर्दछन् र अनाहाकमा अकाल मारिन्छन्् । माओवादी नेताहरूले मृत्यु र मुक्तिको नाराको साथ १० वर्षे जनयुद्ध नामाकरण गरिएको राज्यसँगको संघर्षमा पनि अनेक निहत्था माओवादी कार्यकर्ताहरूको राज्यद्वारा हत्या गरिए । माओवादीहरूले पनि अनेक निहत्था नेपाली जनताको बिनाकसूर राज्यको लागि जसुसी गरेको आरोप लगाउँदै शंकाकै भरमा अमानवीय तरिकाले काट्ने र मार्ने कामहरू गरिए । दिल्ली शान्ति सम्झौता पछाडि अनेक मेलमिलाप र जाँचबुझ आयोगहरू बनाएको भए पनि दलहरूका आपसी मनमुटाप र स्वार्थले गर्दा कुनै पक्षले पनि कानुनी सहायता वा न्याय पाउन सकेका छैन । यस्तै एक पीडित गोरखाका अधिकारी दम्पत्ति पनि हुन् । माओवादीद्वारा एक छोराको हत्या गरी अन्य सबै छोराहरूलाई गाउँबाट भगाएपछि अधिकारी दम्पत्ती न्याय खोज्दै रातारात घरगोठ त्यसै अलपत्र छाडी भागेर काठमाडौं आएका थिए । न्याय माग्ने संघर्ष गर्दागर्दै श्रीमान अधिकारीको काठमाडौंमा नै मृत्यु भयो । उहाँको मृत्युपछि अधिकारी पत्नीले संघर्ष जारी राखेकी छन्, तर अहिलेसम्म कतैबाट पनि सुनुवाइ भएको छैन । श्रीमान् अधिकारीको लास निसाफ नपाएसम्म काजक्रिया नगर्ने भनी शिक्षण अस्पताल महाराजगञ्जमा अलपत्र राखिएको धेरै वर्ष बित्यो । उहाँहरूलाई पीडा दिने दलका नेताहरूको राज नेपालमा चलेसम्म अधिकारी दम्पत्तिले निसाफ कहिले पनि नपाउने पक्का जस्तै भइसकेको देखिन्छ । अधिकारी दम्पत्तिका गाईहरू पनि दाम्लोमा बाँधिएको बाँधिएकै घाँसपानी खान नपाएको र गाउँलेलाई उनीहरूको सहयोग गर्न माओवादीले रोक लगाएको हुँदा त्यतिकै दाम्लामा नै सुकेर मरेका थिए । माओवादीहरूले गरेको यस्तो पापकर्महरू धेरै छन्, सुन्नको लागि पनि धर्यता चाहिन्छ, हेर्न सक्ने त कुरै भएन । नेपालमा हाल भएका दलहरूको राजनीतिक जग भनेको सबैको अपराध नै हो । त्यसैले राज्यको जति पैसा कुम्ल्याए पनि राजनीतिक दलका नेताहरू कहिले सुखी हुन सकेका छैनन् । विगतमा आफैँले गरेका अनेक पापकर्महरूबाट पीडित नेताहरूले नेपालको विकास गरी राष्ट्रलाई समृद्ध र नेपाली जनतालाई सुखी बनाउन पनि सकेका छैनन् । दलका नेताहरूको मनमा शान्ति छैन र सबै आआफ्नो स्वार्थ र लोभलालचबाट ग्रसित छन् । देशको सेवा गर्ने भन्ने उहाँहरूको आफ्नो बाध्यता मात्रै हो । उहाँहरू अहिले नेपालमा सबैभन्दा असुरक्षित भएको हुँदा पूर्वराजालाई भन्दा पनि धेरै गुणा बढी सुरक्षाको व्यवस्था शीर्ष नेताहरूलाई जरुरत हुन थालेको छ । आफ्नै असन्तुष्ट पूर्व कार्यकर्ताहरूले मार्ला कि भन्ने डरले दलका शीर्ष नेताहरूको मनमा अड्डा जमाइसकेको छ । २००७ सालभन्दा अगाडि निरंकुश राणा शासनविरुद्ध सशस्त्र संघर्ष नेपाली कांग्रेसको नेतृत्वमा चलेको थियो । नेपाली कांग्रेसको नेतृत्वमा प्रजातन्त्र स्थापनाको लागि भएको उक्त संघर्षमा भाग लिएका लडाकूहरूलाई मुक्ति सेना भन्ने गरिएको थियो । राणा शासकको पक्षमा लडेका तत्कालीन सरकारी सेनालाई मुक्ति सेनाले परास्त गर्दै ल्याएर काठमाडौं उपत्यकाभित्रै मात्र सीमित तुल्याउन सफल भएको थियो । यस्तैमा भारत सरकारको संयोजनमा राजा, राण शासक र नेपाली कांग्रेसका बीचमा त्रिपक्षीय प्रथम दिल्ली सम्झौता भएको थियो । नेपालमा पहिलो पटक राजाकै नेतृत्वमा प्रजातन्त्रको निव राख्ने इतिहासिक कार्य सम्पन्न गरिएको थियो । त्यो बेला पनि संघर्षको दौरानमा मुक्ति सेनाले गरेको अत्याचारबाट धेरै नेपाली जनता पीडित भएका थिए । कतिलाई बिना कसूर मारिएको थियो भने अनेक महिलामाथि यौन दुव्र्यवहार हुँदा सामूहिक आत्माहत्या गर्न बाध्य पारिएको थियो । पछिसम्म आम जनताले एक अर्कालाई सराप धराप गर्दा पनि ‘तेरो घरमा कांग्रेस पसोस्’ भनी सराप दिने आम चलन नै बसेको थियो । नेताहरूले विभिन्न कालमा चलाएका यस्ता जनसंघर्षहरूबाट सबैभन्दा ज्यादा पीडित नेपाली जनता नै हुने गरेका छन् । २०५२ सालदेखि २०६२ सालसम्म माओवादी नेताहरूले भनेको १० वर्षे जनयुद्धमा पनि १७ हजार नेपाली जनताको ज्यान गएको थियो । यसमा केही लडाकूहरू र केही सुरक्षा फौजहरू पनि छन् भने बाँकी सबै आम नेपाली जनताहरू नै मारिएका छन् । सरकारी सुरक्षा फौज र माओवादी लडाकूहरूको चेपुवामा परी अनाहाकमा नै कैयौँ रमाइलो गर्न हिँडेका आम नेपाली जनताकै ज्यान गएको थियो । अहिले प्रमुख प्रतिपक्ष बनेको एमाले पार्टीका शीर्ष नेताहरूले पनि झापाबाट जमिन्दारको टाउको काट्ने अभियानबाटै राजनीति सुरु गरेका थिए । केही जमिन्दारहरूको टाउको काटेपछि जेल परेका शीर्ष नेता ओली अहिले पनि एमालेको नेतृत्व गर्दैछन् । के राम्रो के नराम्रोभन्दा पनि सबै दलहरूको राजनीतिक जग भने सुरुमा अपराध नै भएको देखिएका छन् । विश्वका अन्य मुलुकहरूमा नेपालमा जस्तो उदाहरण छैन । प्रायःगरी अन्य देशका राजनीतिक दलहरूले विदेशी आक्रमणकारीहरू वा उपनिवेशवादीहरूका विरुद्ध जनपरिचालन र आन्दोलनहरूको नेतृत्व गरी ठूलो योगदान गरेका हुन्छन् । भारतका राजनीतिक दलहरू र तिनको नेतृत्व गर्ने ठूला नेताहरू अंग्रेजका विरुद्ध बहादुरीका साथ लडेकाहरू मात्रै छन् । चिनियाँ कम्युनिस्ट पार्टीको के कुरा गर्नु उक्त पार्टी र पार्टीका नेताहरूले एकै साथ देशी विदेशी सम्राज्यवादीहरूका विरुद्ध लडेका थिए । रुसको कम्युनिस्ट पार्टीको पनि त्यस्तै गौरवमय इतिहास कायम छ । विदेशी मुलुकहरूमा जस्तो राष्ट्रियताले ओतप्रोत पार्टीहरू नेपालमा हुन सक्ने कुरै भएन किनकि नेपालमा जे जति संघर्षहरू भए त्यो सबै नेपालीहरूको आपसका मात्रै छन् । त्यसैले नेपालका राजनीतिक दलहरू र त्यसलाई नेतृत्व गर्ने नेताहरू कहिले राष्ट्रवादी भएनन् । सबैले आपसी लोभलालच र स्वार्थ पूरा गर्ने खालको राजनीति गर्दै व्यस्त भएर कपाल फुलाएका छन् । नेपालका सबै राजनीतिक दलहरू अपराधिक पृष्ठभूमिबाटै आएको हुँदा उनीहरू अराजक छन् । भ्रष्टाचारीहरू, बलात्कारीहरू र ज्यानमारा अपराधीहरू दलहरूका विगत हुन भने राज्यसत्ता र राज्यसत्ता चलाउँदा निर्वाह गर्नुपर्ने जिम्मेवारीहरू वर्तमान हुन् । दलहरूको विगत र वर्तमान परस्पर विरोधी हुनको साथै पृथ्वीको उत्तरी र दक्षिणी ध्रुबझै छन् । त्यसैले दलहरूको लागि विधिको शासन, अनुशासन, सदाचारिता, इत्यादी ‘बाँदरको हातमा नरिवल’जस्तो मात्रै भएको छ । अराजकता दलहरूको संस्कार नै बनिसकेको हुँदा भ्रष्टाचार र अपराधलाई दलहरूले नियन्त्रण गर्नको साटो बढवा दिएका छन् । दलहरू नियम कानुन र प्रणालीभित्र बसेर काम गर्नुभन्दा त्योभन्दा माथि बसी राजाले झै देश हाँक्ने अभ्यासमा जुटेको पाइन्छ । यस्ता अराजक संस्कारबाट प्रभावित दलहरूले विकास गरी राष्ट्रलाई समृद्ध बनाई नेपाली जनतालाई सुखी बनाउँलान भन्ने कुरामा कहिले पनि विश्वास हुँदैन । यस्ता अराजकतालाई आफ्नो संस्कार बनाएका राजनीतिक दलहरूबाट राष्ट्रको सुरक्षा हुन सक्दैन । साथै निकट भविष्यमा नै नेपालको राजनीतिमा परिपक्वता आई मुलुकमा शान्ति, अमन, चयन कायम हुने संभावना पटक्कै देखिएको छैन । राजनीतिक दलहरूभित्रै भ्रष्टाचारीहरू र अपराधीहरू घुसेर बसेका छन् । प्रमुख राजनीतिक दलहरूको पदाधिकारीहरू नै बलात्कारलगायत अन्य अपराधको आरोपितहरू छन् । आफ्ना पार्टीका भ्रष्टाचारीहरू र अपराधीहरू जेल पर्दा छुटाउन दबाब दिने र जेलबाट छुट्दा फूलमालाले स्वागत गर्ने चलन नै बसेको छ । सार्वजनिक पदमा बसेर अपराध गर्नेहरूलाई झन कडा सजाय हुनु पर्नेमा नेपालमा त्यस्तो भइरहेको छैन । सानालाई ऐन, कानुन लाग्ने र शक्तिशाली ठूलाले जति अपराध गरे पनि चैन गर्न पाउने अवस्था नेपालमा रहेसम्म अपराधीहरूकै राज नेपालमा चल्दै रहने देखिन्छ । सत्तामा बसेका राजनीतिक दलहरू आफैँ अराजक भएपछि उनीहरूले कानुनी राजको प्रत्याभूति नेपाली जनतालाई दिन सक्ने कुरै भएन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *