अमेरिकी सहायक विदेश मन्त्रीको अभिव्यक्तिले ल्याएको तरंग

सम्पादकीय

सम्पादकीय

नेपालका प्रमुख दलका शीर्ष नेताहरू प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष दलका नेता केपी ओली र सरकारको प्रमुख घटक दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई फोन गरेर अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले मिलिनियम च्यालेन्ज कर्पोरेसनका सम्बन्धमा व्यक्त गरेको विचार र दिएको चेतावनीले नेपालको राजनीति गम्भीर मोडमा प्रवेश गरेको छ ।

सरकारका दुई घटक दल माओवादी केन्द्र र एकीकृत समाजवादीले संशोधन नभई एमसिसीलाई संसद्मा अगाडि बढाउन र स्वीकार गर्न नसकिने अडान राखेको कारण यस सम्बन्धमा निर्णय हुन ढिलाइ भइरहँदा अमेरिकी सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री देउवासहित सरकारको प्रमुख घटक माओवादी केन्द्रका अध्यक्ष प्रण्चड र प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई फोन गरेर यही फ्रेबुअरी महिनाको २८ तारिखसम्ममा संसद्बाट एमसिसी परियोजना अनुमोदन नभए फिर्ता लैजाने चेतावनी मात्र दिएनन् की अमेरिकी सहायक विदेशमन्त्री लुले यसका लागि चीनलाई जिम्मेवार ठह¥याउने भन्दै लगभग ७५ वर्ष पुरानो नेपाल–अमेरिका सम्बन्धमा पनि पुनर्विचार गर्नेसम्मको चेतावनीसमेत दिएका छन् ।

प्रधानमन्त्री देउवाले एमसिसी परियोजनालाई संसद्को यही हिउँदे अधिवेशनबाट अगाडि बढाउने गृहकार्य गरी रहँदा र सत्तारुढ गठबन्धनका दुई दल माओवादी केन्द्र र एकीकृत समाजवादीले राष्ट्रहितविपरीतका बुँदाहरू संशोधन नगरी एमसिसी परियोजनालाई अगाडि बढाउन नसकिने अडान लिइराखेको अवस्थामा अमेरिकी सहायक विदेशमन्त्री लुले एमसिसीका सम्बन्धमा नेपालका सत्तारुढ तथा प्रतिपक्ष दलका नेतालाई यो चेतावनी दिएका हुन् । कूटनीतिक मर्यादाभन्दा बाहिर गएर अमेरिकी सहायक विदेशमन्त्री लुले नेपाललाई दिएको यो चेतावनीले नेपालको राजनीतिमा ठूलो तरंग उत्पन्न गरेको छ । अमेरिकी सहायक विदेशमन्त्री लुको यो चेतावनीको बाबजुद पनि माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रहितविपरीतको बुँदाहरू संशोधन नभई संसद्मा दुई वर्ष अगाडि नै दर्ता भएको एमसिसी प्रस्तावलाई अगाडि बढाउन नसकिने आफ्नो दृढतालाई दोहो¥याएका छन् ।

गठबन्धनका दुई दल माओवादी केन्द्र र एकीकृत समाजवादीको तर्फबाट अध्यक्ष प्रचण्ड र अर्का अध्यक्ष नेपालले यस्तो अडान राख्दा प्रधानमन्त्री देउवा भने यही संसद्बाट एमसिसीलाई अनुमोदन गरेर अगाडि बढाउने पक्षमा छन् । सरकारका दुई घटक माओवादी केन्द्र र एकीकृत समाजवादीका तर्फबाट कायम राखिएको यो अडानलाई ध्यानमा राख्दा प्रधानमन्त्री देउवाले अहिले गठबन्धनको रोज्ने की एमसिसी रोज्ने भन्ने स्थितिमा पुगेका छन् । यो स्थितिलाई टार्नका लागि प्रधानमन्त्री देउवासँगै प्रचण्ड र नेपालले पनि वैकल्पिक उपायको खोजी गरिराखेका भए पनि यो मामिलामा अहिलेसम्म विकल्पको संकेत देखिएको छैन । त्यस कारण प्रधानमन्त्री देउवासँगै माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष नेपालले आफ्नो अडान कायम राख्दा उत्पन्न भएको एमसिसी कि गठबन्धन भन्ने विवादले गठबन्धनमाथि नै खतरा उत्पन्न हुन थालेको देखिएको छ । जबकि सत्तारुढ गठबन्धनका दुई दलका नेताहरू प्रचण्ड र नेपाल भने एमसिसीको मामिलामा आफ्नो अडान कायम राख्दै यो गठबन्धनलाई आम निर्वाचनसम्म लैजाने कुरा दोहो¥याई राखेका छन् ।

तर, यतिखेर चुनावले भन्दा पनि अमेरिकी विदेश सहायक मन्त्री लुको भनाइको कारण मुलुकको राजनीतिमा एमसिसीले ठूलो तरंग उत्पन्न गरी दिएको छ । तर, यो तरंगलाई सहज रूपमा निकास दिने ठोस पहल भने अहिलेसम्म भएको देखिएको छैन । प्रधानमन्त्री देउवा र नेताद्वय प्रचण्ड र नेपालका बीचमा यो मामिलामा वार्ता गर्ने सहमति बाहेक अन्य कुनै सहमति हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *