राज्यको सम्पत्तिमा कर्मचारीको रजाइ“ ३ सय ६० दिनमा २ सय ३१ दिन विदा

सम्पादकीय

काठमाडौं । विश्वमा नेपालमात्र यस्तो मुलुक होला,जहाँका कर्मचारी सात महिना सुतेर,पाँच महिना काम गरेर बर्षभरीको तलब भत्ता खान पाउँछन् । त्यति हुँदा पनि नपुरेर सेवाग्राहीको काम नगर्ने,सानो र आजै हुने कामलाई समेत भोलि भन्दै झुलाउने र घुस खाने गर्दछन् । नेपालका कर्मचारीहरु कतिसम्म बलिया छन् भने सरकारमा बस्ने प्रधानमन्त्रीदेखि मन्त्रीहरुसम्मलाई प्रभावित पारेर सातामा दुई दिन बिदा दिने व्यवस्था मिलाई छाडे । जबकी यस्तो व्यवस्था बीस बर्ष अघि नै कृष्णप्रसाद भट्टराईको सरकारले लागू गरेर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाकै सरकारले खारेज गरेको थियो । दुई दशक अघि आफैंले खारेज गरेको निर्णय प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले किन व्युँताए ? देउवा सरकारले यही जेठ एक गतेदेखि सातामा दुई दिन शनिवार र आइतबार बिदा दिन थालेको छ । यो निर्णय कार्यन्वयनमा आएको अब तेश्रो साता हो । यसै त नेपाल अत्याधिक सार्वजनिक बिदा हुने देशमा पर्दछ । हरेक जात जाती वा धर्मावलम्बीहरुको पर्वमा सार्वजनिक बिदा दिन थालिएको छ । अर्काेतिर अहिले सातामा दुई दिन सार्वजनिक बिदा दिने र कार्यालय समय बिहान साढे ९ बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यन्वयन गर्ने कुरा व्यवहारिक रुपमा अप्ठ्यारो भएको नभएको कर्मचारीहरु नै बताउन थालेका छन् ।
यसरी सातामा अरु थप एक दिन बिदा थपिँदा बार्षिक अरु ५२ दिन बिदा थपिने भयो र शनिवारसमेत सार्वजनिक बिदा हुँदा १०४ दिन सार्वजनिक बिदा पाइने भयो । चाड पर्व बिदा समेत जोड्दा अरु ४३ दिन बिदा थपिन्छ । यो हिसाबले १४७ दिन बिदा हुने भयो । जो राजपत्रमै प्रकाशन भएको सूचना भयो । यस्का अलवा कर्मचारीले बर्षभरमा अरु ५४ दिन बिदा पाउँछन् । निजामती सेवा नियमावली अनुसार कर्मचारीका लागि पर्व बिदा ६ दिन पाउँछन् । यस्तै भैपरी बिदा ६ दिन, घर बिदा हरेक १२ दिन काम गरेपछि १ दिन बिदाको दरले वर्षमा ३० दिन बिदा पाउँछन् । यो १२ दिनभित्र सार्वजनिक बिदा परे पनि सो कार्यदिनमै गनिने नियमावलीमै लेखिएको व्यवस्था हो । यस्का अलवा विरामी बिदा वर्षको १२ दिन पाउँछन् । यो ५४ दिन पनि जोड्ने हो भने ३६० दिनमा कर्मचारीहरुले २०१ दिन त बिदा नै पाउने भए । यस्का अलवा भैपरी आउने बिदामा किरिया बिदा १५ दिन, महिला कर्मचारीको हकमा सुत्केरी बिदा ९८ दिन, श्रीमती सुत्केरी हुँदा पुरुष कर्मचारीलाई सुत्केरी स्याहार बिदा १५ दिन पाउने व्यवस्था नियमावलीमा गरिएको छ । यसैगरी कर्मचारीले असाधारण बिदा आवश्यकता अनुसार र अध्ययन बिदा कार्यकाल भरिमा ३ वर्ष पाउँछन् । एउटा कर्मचारीलाई राज्यले ज्वाई पालेझैं पाल्छ,पोस्छ । अझैं तिनै कर्मचारीहरुले सेवाग्राहीलाई गर्ने र हेर्ने व्यवहार भने सेवक होइन शासकको जस्तो बनिदिन्छ । भन्नलाई त राष्ट्रसेवक भनिएको छ तर उनीहरुको सेवक कम र शाषक बढी लाग्दछन् ।
यसरी यी सबै बिदाको उपयोग गरेर पनि कर्मचारीले बर्षभरको तलवमात्र होइन दशै भत्ता देखि अनेकन प्रकारका भत्ता पाउँछन् । कतिसम्म पनि कतिपय मन्त्रालयका कर्मचारीले त भत्तै बुझ्नका लागि दिनमा तीन पटक सम्म विना एजेण्डा,विना उदेश्य बैठक बसेर भत्ता बुझेको समेत देखिएको छ । अनेकन पर्वका नाममा दिइने बिदा तथा कर्मचारीहरुले पाउने सेवा सुविधाको बिदाको पुनरावलोकन समेत नगरी हचुवाका आधारमा बिदा दिँइदा सार्वजनिक सेवा प्रवाह ध्वस्त हुने भन्दै प्रशासनसिवद्हरुल चिन्ता व्यक्त गरेका छन् । अहिले तर्क तेर्साइएको छ कि, सातामा दुई दिन बिदा दिँदा इन्धन, विद्युत्, पानी, सरसफाइ, यातायातजस्ता शीर्षकमा सरकारी खर्च १६ देखि २० प्रतिशत खर्च घट्दछ । दुई दिन सार्वजनिक बिदा दिए १ अर्ब ६४ करोड ९१ लाख रुपैयाँ सार्वजनिक खर्च बचत हुने सरकारी अधिकारीहरुको दावा छ । विश्वव्यापी मान्यता अनुसार हप्तामा ४० घण्टा काम गर्ने गरी बिहान साढे ९ देखि बेलुका साढे ५ बजेसम्म कर्मचारीलाई दैनिक आठ घण्टा काममा लगाउने भनिएको छ । तर बिहान साढे नौ बजे कार्यालयमा पुग्दा कुनै कर्मचारी अफिस पुगेको हुँदैन भने न त बेलुका साढे पाँचसम्म कोही कर्मचारी टेबलमा भेटिन्छ । अनि खाजा र खाना खाने नाममा दैनिक दुई घण्टा क्यान्टिनमा हराउने र त्यहाँ राजनीतिक गफ जोतेर बस्ने कर्मचारीबाट कसरी मुलुकको आमूल परिवर्तनको अपेक्षा गर्न सकिएला र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *