भाँडभैलोमा सकियो माओवादीको केन्द्रीय समिति बैठक

समाचार

भाँडभैलोमा सकियो माओवादीको केन्द्रीय समिति बैठकमिलिनियम च्यालेन्ज कर्पोरेशन प्रस्तावमा गरेको समर्थनको कारण माओवादी केन्दं्रमा उत्पन्न भएको चर्को विवादलाई अध्यक्ष प्रचण्डले थामथुम पारे लगत्तै गत शुक्रबारबाट सुरु भएर अस्ति सोमबार सम्पन्न भएको केन्द्रिय कार्य समितिको बैठकमा अध्यक्ष दाहालले केन्द्रीय सदस्यमा मनोनयनका लागि अगाडि प्रस्ताव गरेका ९७ जनाको नामले माओवादीमा अर्को विवाद जन्माई दिएको छ । र, यो विवाद समाधान हुन सक्ने अवस्था नदेखिएपछि यसको असर पदाधिकारी चयनमा समेत पर्ने विश्लेषण गर्दै अध्यक्ष प्रचण्डले ९७ जना केन्द्रीय सदस्य मनोनयमा समेत निर्णय नगराई केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ २० गतेसम्मका लागि स्थगित गरेका छन् ।

अध्यक्ष दाहालले ९७ जना केन्द्रीय सदस्य मनोनयनका लागि प्रस्चाव गरेको नाममा ज्वाई जीवन आचार्य, छोरी गंगा दाहाल सँगै बदनाम व्यापारी लार्केल लामा समेटिँदा पार्टीका वरिष्ठ र त्यागी नेताहरु नसमेटिएको भन्दै चर्को विरोध भएपछि अध्यक्ष प्रचण्डले सुरुमा खाजाको लागि ब्रेक भन्दै केन्द्रिय कार्य समितिको बैठकलाई रोकेका थिए भने आफूले प्रस्ताव गरेको सूचीमा उल्लेख नामहरुमा सहमति बन्न नसक्ने देखिएपछि अध्यक्ष प्रचण्डले पदाधिकारीहरुको नाम समेत प्रस्ताव नगरी अस्ती सोमबारबाट केन्द्रीय कार्य समितिको बैठका आगामी जेठ २० गतेसम्मका लागि भनेर स्थगित गरेका छन् । पार्टीका वरिष्ठ र त्यागी नेताहरु केन्द्रिय कार्य समितिमा गरिएको मनोनयनमा छुटेको सम्बन्धमा छलफल गरेर समेटिने आश्वासन दिएपनि यो विवाद थप चर्किने अवस्था आउन सक्ने देखिएपछि अध्यक्ष प्रचण्डले केन्द्रिय कार्य समितिको बैठक नै लामो समयका लागि स्थगित गरेका छन् ।

गत पुषमा सम्पन्न भएको महाधिवेशनले केन्द्रीय कार्य समितिको पहिलो बैठकले विधान अनुसार थप केन्द्रीय सदस्य मनोनयन गर्ने र पदाधिकारीहरुको चयन पनि गर्ने निर्णय गरेको थियो । महासमितिको त्यही निर्णय अनुसार गत शुक्रबारबाट ९७ जना केन्द्रीय समिति सदस्य चयन र पदाधिकारीहरु चयन गर्ने कार्यतालिका समेत बनेको थियो । तर अध्यक्ष प्रचण्डले प्रस्ताव गरेका केन्द्रीय समितिका केही नाम प्रति उक्त बैठकबाट चर्को आलोचना हुँदै पार्टीका वरिष्ठ नेताहरुलाई छुटाएकोमा पनि त्यसैगरी असन्तोष व्यक्त गरेपछि गत सोमबार विना निष्कर्ष माओवादी केन्द्रको केन्द्रिय कार्य समिति बैठक तीन महिना पछि बस्ने गरी स्थगित गरिएको छ । गत शुक्रबारबाट बसेको केन्द्रिय समितिको बैठकले पार्टी विधान अनुसार एक जना वरिष्ठ उपाध्यक्ष, पाँच जना उपाध्यक्ष, एक जना महासचिव यसैगरी दुई जना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष चयन गर्ने कार्य तालिका तय भएको थियो । तर एक जना महासचिवमा वर्षमान पुन र जनार्दन शर्माका बीचमा कडा प्रतिश्पर्धा भएको र यस सम्बन्धमा अध्यक्ष प्रचण्डले निर्णय गर्न नसकेको तथा यसैगरी वरिष्ठ उपाध्यक्षमा पनि कृष्ण बहादुर महरा र नारायणकाजी श्रेष्ठको दाबी रहेको कारण वरिष्ठ उपाध्यक्षको चयनको मामिलामा पनि अध्यक्ष प्रचण्डले निर्णय गर्न सक्ने अवस्था नभएपछि र महासचिव तथा वरिष्ठ उपाध्यक्ष चयनलाई लिएर पार्टीमा अर्को विवाद उत्पन्न हुन सक्ने स्थितिलाई ध्यानमा रोखर स्थानीय निर्वाचन पछि मात्र पदाधिकारी चयन गर्ने भन्दै केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ २० गतेसम्मका लागि स्थगित गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *