कांग्रेसी कर्मचारीहरूको नेतृत्व पोखरेलले गर्ने

प्रशासन

काठमाडौं । ‘तन्नेरी बाघको अघि बूढो स्याल’को हविगत कस्तो होला ? यस पटक कमलादीमा उस्तै हालतमा पुगे केही कांग्रेसी कर्मचारीहरू । गत शनिबारदेखि सुरु भएर मंगलबारसम्म भएको आठौँ महाधिवेशनबाट फेरि कांग्रेसी कर्मचारीहरूको नेतृत्व गर्ने जिम्मेवारी गोपालप्रसाद पोखरेलले पाएका छन् । टे«ड युनियनको आडमा लामो समयदेखि अर्थ मन्त्रालयमा बसेर रजगज गर्दै आएका पोखरेल यसअघि सभापति शेरबहादुर देउवा खेमाका राजेन्द्र बुढाथोकीलाई हराएर एक कार्यकाल अध्यक्ष खाइसकेका थिए । यसपटक ३४८ मत ल्याएर उनी प्रतिस्पर्धी सुरेन्द्र अधिकारी र सुशील केसीलाई हराउँदै पुनः नेपाल निजामती कर्मचारी संघको नेतृत्वमा दोहोरिएका हुन् । पोखरेलका प्रतिस्पर्धी सुरेन्द्रले २६१ मत ल्याउँदा अर्काे अध्यक्षका प्रत्यासी सुशीलले लज्जाजनक ११ मतमा चित्त बुझाउनु परेको थियो । यस पटक सुरेद्रलाई उठाएकै कारण गोपालले जितेका कांग्रेसी कर्मचारीहरू सुनाउँछन् कारण सुरेन्द्र अबको तीन महिनापछि नै उमेर हद (५८ वर्षे) लागेर घर जानेछन् । निजामती सेवामा चार महिनामात्र जागिर अवधि भएका सुरेन्द्रको स्थानमा अरु कुनै कर्मचारी उठाएको भए उसले गोपाललाई हराउने कांग्रेसी कर्मचारीहरूको भनाइ छ ।
रमाइलो चाहिँ अहिले शक्ति र सत्तामा देउवा हुँदासमेत अहिले कांग्रेसी कर्मचारीहरूको चुनावमा उनीभन्दा विपरीत खेमाका कर्मचारीहरूले जित हासिल गर्नुलाई मानिएको छ । एक जना महासचिव, केही प्रदेशका अध्यक्ष र कोषाध्यक्ष देउवा पक्षधरले पाउँदा अधिकांश देउवाविपरीत खेमाबाट कर्मचारीको नेतृत्वमा पुगेका छन् ।
युनियनको महासचिवमा जनकबहादुर रावल, दुर्गा फुयाँललाई पराजित गर्दै निर्वाचित भएका छन् । रावलले ३३८ मत ल्याउँदा फुँयालले भने २७७ मतमा चित्त बुझाउनु परेको छ । यस्तै युनियनको महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा उत्तम कट्वाल, खुला उपाध्यक्ष यज्ञबहादुर ओलीले जित हासिल गरेका छन् । कट्वालले २९८ मत ल्याउँदा उनीसँग मैदानमा भिडेका सुवास कोइरालाले २९४ मत ल्याएका थिए । कोइरालाले जम्मा चार मतले चुनाव हारेका छन् । यस्तै प्रदेश अध्यक्षहरूमा क्रमशः मानबहादुर वन, मधेश प्रदेशमा राजकिशोर राउत, वाग्मती प्रदेशमा श्रीराम लम्साल, गण्डकी प्रदेशमा दीपक रेग्मी, लुम्बिनी प्रदेशमा मदन गौतम, कर्णाली प्रदेशमा चन्द्रबहादुर खड्का, सुदूरपश्चिम प्रदेशमा धर्मबहादुर देउवा निर्वाचित भएका छन् । त्यसैगरी संघीय अध्यक्षमा तेजबहादुर केसी, महिला उपाध्यक्षमा निर्मला शर्मा, जनजाति उपाध्यक्ष पुरण गुरुङ, मधेसी उपाध्यक्षमा अशोककुमार रौनियार पिछडिएको क्षेत्र उपाध्यक्षमा कृष्णबहादुर सेजुवाल र श्रेणीविहीन उपाध्यक्षमा सोम कोइराला निर्वाचित भएका छन् । जसमध्ये देउवा पक्षधरबाट चुनिएका राजकिशोर राउत, श्रीराम लम्साल, धर्मबहादुर देउवा र पुरन गुरुङ छन् । यसअघि नै निर्विरोध चयन भएकी निर्मला शर्मा र राजकिशोर राउतलाई दुवै पक्षको समर्थन रहेको बताइन्छ । यस्तै उपमहासचिवमा इन्दु शर्मा र गणेश भण्डारी, खुला सचिवहरूमा कुलप्रसाद भट्टराई, जगतबहादुर पाठक, प्रकाश भट्टराई र झविन्द्र पोखरेल निर्वाचित भएका छन् । युवा सचिवमा भुपेन्द्र अधिकारी, जनजाति सचिवमा शान्तराज राई, मधेसी सचिवमा चिन्तन अचार्य निर्वाचित भएका छन् भने कोषाध्यक्षमा प्रयास घिमिरे निर्वाचित भएका छन् । कोषाध्यक्षमा निर्वाचित भएका प्रयास र सचिवमा छानिएका प्रकाश देउवा खेमाबाट छानिएका हुन् । युनियनको अध्यक्षमा निर्वाचित पोखरेल पहिलो पटक अध्यक्षमा निर्वाचित हुँदा कांग्रेसको रामचन्द्र पौडेल पक्षधर थिए । युनियनका पूर्वअध्यक्ष सुवोधकुमार देवकोटा, सुरेन्द्र अधिकारीको पक्षमा लागेका कारणसमेत पोखरेल विजयी हुन सफल भएको कांग्रेसी वृत्तमा चर्चा छ । सबैभन्दा लोकप्रिय मतसहित विजयी हुन सफल भएका छन् कोषाध्यक्ष प्रयास घिमिरे उनले ४०३ मत ल्याएर विजय हासिल गरेका हुन् ।
यता अस्तिमात्र कांग्रेसी कर्मचारीहरूले आफ्नो विधान संशोधन गर्न भ्याएका छन् । यस अघि ८१ सदस्यीय निर्वाचित र चार सदस्यीय मनोनयन गरिँदै आएकोमा अब १५ जना थपेर १०१ सदस्यीय बनाइएको छ । नयाँ व्यवस्था अनुसार जनजातितर्फबाट उपाध्यक्ष एक जना र केन्द्रीय सदस्य १५ जना थपेर १०१ जनाको जम्बो कमिटि बनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *