काठमाडौं । २०७८÷७९ सालमा नेपालमा विकासको कामभन्दा पनि राजनीतिक दलको विकास बढी भएको देखिन्छ । नेपालमा भौतिक विकासभन्दा पनि राजनीतिक विकास भएको छ । खासगरी नेपाली कांग्रेस, नेकपा एमाले तथा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनले नयाँ कार्यसमिति गठन गरेको थियो । उही प्रवृत्ति, उही व्यक्ति र उही व्यवहार दोहोरिएको छ । राप्रपा नेपालले नयाँ मोडल अपनाएको छ भने एमाले, कांग्रेस र माओवादी पुरानै ढाँचा र पुरानै व्यक्तिहरूले भरिएका छन् । नेपालको विकासको बजेट खर्च गरेर नेपालका राजनीतिक पार्टीको नेताले आआफ्नै विकास गरेका छन् । राजनीतिक दलभित्र महाधिवेशन आएपछि नयाँ नेतृत्व छान्नलाई होडबाजी चल्ने गरेको छ । पुराना नेताले विश्राम लिने भने पनि पुरानै नेता चुनिने परम्परा अहिलेसम्म हाबी भएको छ । एउटा पार्टीमा एउटै व्यक्ति वर्षौंवर्षसम्म अध्यक्ष, सभापति भइरहने कारणले अधिकांश पुराना नेतादेखि कार्यकर्ताले नेतृत्व सम्हाल्न सकेका छैनन् । नेकपा एमालेका नेता केपी ओलीले १०औँ महाधिवेशनमा आफैँ अध्यक्ष बने । पार्टीको अधिवेशनमा करोडौं खर्च गरेर ओली अध्यक्ष बन्न सफल भए । नेपाली कांग्रेसको लामो समयसम्म १४औँ महाधिवेशन गर्न नसकेर पार्टीलाई बन्धक बनाई राजनीति गर्दै आएका सभापति शेरबहादुर देउवाले बल्लतल्ल १४औँ महाधिवेशन समापन गरे । त्यो पनि आफैँ सभापति बन्ने वातावरण बनाएर करोडौँ खर्च गरेर आफैं सभापति बनेका छन् । यता नेकपा माओवादी केन्द्रले बल्लबल्ल आठौँ महाधिवेशन ग¥यो । त्यो पनि आफैँ अध्यक्ष बनेका छन् पुष्पकमल दाहाल ‘प्रचण्ड’ । उनले नेतृत्व गरेको र आफैँ अध्यक्ष भएको २०औँ वर्ष हुँदासमेत अध्यक्ष छाडेका छैनन् । त्यो मात्र नभएर अन्य पदाधिकारी छान्नसमेत सकेका छैनन् । जम्बो केन्द्रीय सदस्यता बनाएर बैठक स्थगित गर्दै आएका छन् । माओवादीले त महासचिव, उपमहासचिव, अध्यक्षसमेत छान्न सकेको छैन । माओवादीले सम्मेलन गर्दा एक हप्ताभन्दा बढी समय लगाउँदासमेत अन्य पदमा निर्वाचन गर्न सकेको छैन ।
यस्तै एमालेबाट फुटेका माधव नेपाल आफैँ अध्यक्ष भएका छन् । राप्रपा नेपालमा कमल थापाले महाधिवेशन हारेपछि नयाँ पार्टी खोलेर पार्टी अध्यक्ष भएर बसेका छन् । उता तराईको राजनीतिमा पनि भाँडभैलो मच्चिएको छ । पार्टी फुटाएर आफैँ अध्यक्ष बन्ने होडबाजी चलिराखेको छ । कहिले महन्थ ठाकुर, कहिले उपेन्द्र यादव, कहिले बाबुराम भट्टराईबीच पार्टी अध्यक्ष बन्नलाई तँछाडमछाड भइराखेको छ । यता माओवादीबाट टुक्रिएर विद्रोह गरिराखेको नेत्रविक्रम चन्द पनि पार्टी अध्यक्ष छन् । पार्टीको नाममा चन्दा, लेबी आतंक मच्चाउने, नेपाल बन्द गराउनेजस्ता गतिविधि गरिराखेका थिए । तर, तत्कालीन एमालेका प्रधानमन्त्री केपी ओलीले वार्तामा ल्याएर भूमिगत भएको चन्दको पार्टी अहिले राजनीतिक गतिविधि गरिराखेको छ । नेपालका राजनीतिक दल दर्ता गरी राख्ने र पार्टी अध्यक्ष आफैँ भइराख्ने, जनतालाई महँगीको भार खेप्न लगाउने, नेपालमा विकासको काममा अघि नसर्ने, पार्टीको नाम भजाउने, चन्दा, लेबी उठाउने, विदेशीको इशारामा चल्ने, नेपालको विकासमा ध्यान नदिने प्रवृत्ति हाबी भएको छ । २०७८ सालभित्र राजनीतिक पार्टीले महाधिवेशन सम्पन्न गरेका छन् । कांग्रेस, एमाले, माओवादी, राप्रपा नेपालले महाधिवेशन गर्दा लाग्ने खर्च भनेको राज्यले विकासमा लगाउने खर्चभन्दा बढी खर्च गरेर पार्टीको महाधिवेशन सम्पन्न गरेका छन् । राजनीतिक नेतृत्व फेरिए पनि नीति नियम सिद्धान्त फेरिएको छैन । अहिले सबैभन्दा सजिलो राजनीतिक पार्टीले गर्न थालेको अभ्यास चुनाव हैन सहमति भन्दै चुनावबाट चुनिएर आउने भन्दा पनि आफ्नो वरिपरि घुम्ने नेताको चाकडी गर्ने आफू सधैँ नेता भइरहने, नयाँ आउनेलाई पाखा लगाउने काम हुँदै आएको छ । आफ्नो वरिपरिका व्यक्तिलाई नेता चुन्ने प्रवृत्ति बढेको छ । चाँहे त्यो नेपाली कांग्रेस पार्टीमा होस् या एमाले, माओवादी, मधेसी, एकीकृत समाजवादी, राप्रपामा नेपालमा होस् । सबै पार्टीमा यो लागू भएको छ । यो लागू भएपछि नयाँ भिजन, नयाँ योजना, नयाँ विचार पार्टीमा लागू हुन सकेको छैन । योसँगै राजनीतिक दलनिकट रहेका संघ संगठनमा समेत नयाँ नेतृत्वले इतिहास रच्न सकेको छैन । राजनीतिक दलको सम्मेलनसँगै अन्य संघ संगठनमा समेत भन्नको लागि नयाँ नेतृत्व भन्ने गरेका छन् । सम्मेलन गर्नलाई मञ्च बनाउने नेतालाई प्रमुख अतिथि बनाउने, लाखौँलाख खर्च गर्न सम्मेलन गर्नेलाई हाम्रो पार्टीको या हाम्रो संस्थाको सम्मेलन गर्नुछ, तपाईंले सहयोग गर्नुप¥यो, चन्दा दिनुप¥यो भन्दै चन्दा उठाउने, लेबी उठाउने गरेको पाइन्छ । कार्यकर्तालाई लेबी तिर्न लगाएर मनोनयन दर्ता गराउन लगाउने र चुनाव गराउने भन्ने अनि सबै कार्यकर्तालाई हप्ता दिनसम्म कुराएर राख्ने अनि सहमतिको नाममा भागवण्डा लगाउने गरिएको पाइन्छ । यस्तो राजनीतिक व्यवहारले कसरी नेपालको विकास र नेपालको राजनीति फस्टाउँछ, अगाडि बढ्छ । यो भने सोचनीय विषय भनेको छ । नेपालको राजनीतिमा गुटैगुट हाबी भएको छ । गुटको कारण र व्यक्तिको कारण एउटा समूह अगाडि बढेर जानेछ भने दोस्रो पक्ष विलय भएर जाने अवस्था छ ।
