जनप्रतिनिधिमाथि आरोपै आरोप

समाचार

 

काठमाडौं । सरकारले आगामी वैशाख ३० गते स्थानीय निर्वाचनको मिति तय गरेपछि नेताहरू उम्मेदवार बन्ने होडबाजीमा लागेका छन् । स्थानीय नेताहरूबीच विभिन्न पार्टीबाट मेयर, उपमेयर, गाउँपालिकाको अध्यक्ष, वडाका अध्यक्ष तथा सदस्य पदको उम्मेदवार बन्न होडबाजी चलेको छ । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनलाई लक्षित गरेर घरदैलो सुरु गरेको छ । नेकपा एमालेले अहिलेसम्म स्थानीय चुनावमा कसरी जाने भनेर कुनै नीति तय गरेको छैन । माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले स्थानीय चुनावको बारेमा केही बोलेका छैनन् ।
एमाले फुटेको छ, कांग्रेसमा गुटबन्दी छाएको छ । स्थानीय निर्वाचन आउन दुई महिना पनि बाँकी छैन । स्थानीय निर्वाचनमा नेता बन्नको लागि होडबाजी चलिरहेको छ । गाउँ–गाउँमा राजनीतिक पार्टीका कार्यकर्ता चुनाव प्रचार–प्रसारमा लाग्न थालेका छन् । स्थानीय तहमा आफू कसरी नेता बन्न सकिन्छ भन्दै प्रत्येक नेपालीको घरदैलोमा पुगेर आमाबुवा, दाजुभाइ, दिदीबहिनी सबैलाई आगामी चुनावको लागि भोट फकाउन नेताहरू लागिपरेका छन् । कतिपय दलनिकट कार्यकर्ताले आफ्नो पार्टीबाट टिकट नपाउने अवस्था बुझेर अन्य पार्टी प्रवेश गर्न लागेका छन् ।
पार्टी प्रवेशमा कांग्रेसबाट एमाले, एमालेबाट कांग्रेस, माओवादीबाट एमाले, एमालेबाट माओवादी, एमालेबाट नेकपा समाजवादीमा प्रवेश गर्ने गरेका छन् । राजनितिक दलका नेताले खादा र माला लगाएर स्वागत गर्ने गरेका छन् । यसरी पार्टी प्रवेशलाई खेती बनाएका छन् । राजनितिक पार्टीले स्थानीय निर्वाचनलाई ध्यानमा राखेर वडास्तरदेखि गाउँपालिका, महानगरसम्मका ठाउँमा भेला, सम्मेलन गरिसकेका छन् । नयाँ कमिटी गठन गरिए पनि सातवटै प्रदेशमा गाउँ कमिटी, जिल्ला कमिटी, प्रदेश कमिटीमा राम्रोभन्दा पनि हाम्रो खेमाको कार्यकतालाई पार्टी कमिटीमा राख्ने गरिएको छ । पार्टी कमिटीमा लामो सयमसम्म काम गरेर जीवन बिताएका र क्रियाशील सदस्य भएका व्यक्तिलाई पाखा पार्दै पार्टीका नेताका चाकडी र चाप्लुसी गर्ने व्यक्तिहरू हाबी भएका छन् । नयाँ कार्यसमितिमा ल्याउन सहमतिको नाममा नेताको पछि लाग्ने, नेताको चाकडी गर्ने, नेताको गीत गाउने व्यक्ति हाबी भएका छन् । वास्तवमा जनताको कामको लागि खट्ने व्यक्ति पार्टी कमिटीबाट बञ्चित भएका छन् । पार्टीमा गद्दारी गर्ने व्यक्ति हाबी भएका छन् । पार्टीको नाम भजाउने, नेताको नाम भजाउने, चोरी गर्ने, जनताको कुरा नसुन्ने, जनताको नाममा भ्रष्टाचार गर्ने जिउँदो मानिसलाई मरेको बनाउने, एकल महिलाको र वृद्धभत्ता खाइदिने, गाउँ–गाउँमा आएको विकास बजेट एमाले, माओवादी, कांग्रेस मिलेर उपभोक्ता खडा गर्ने उपभोक्ताबाट ठेक्कापट्टा लगाउने, सो ठेक्कावापत कमिसन खाने, गाउँघर छिमेकीको झैझगडा र अंश मुद्दामा पैसा खाने, बहुविवाह, अन्तरजातीय विवाहजस्तो काम मिलाएवापत वडाका जनप्रतिनिधि र गाउँपालिकाका प्रतिनिधिले मागी खाने भाँडो स्थानीय तहलाई बनाएका छन् ।
स्थानीय तहमा सबैभन्दा बढी कर असुलिँदै छ । मेयर, उपमेयर, गाउँपालिकाको अध्यक्षदेखि अन्य जनप्रतिनिधि मिलेर भ्रष्टाचार गरिराखेका छन् । सो पैसा आगामी चुनावमा खर्च गर्ने बताइन्छ । यदि आफूले टिकट नपाएको खण्डमा अन्य पार्टीलाई सहयोग गर्ने, पैसा खर्च गर्ने सम्मको कुरा नगरपालिका, गाउँपालिका, वडाकमिटीका जनप्रतिनिधिले बताउने गरेका छन् । जनताको नाममा सेवा भन्दै जनतालाई भजाउँदै खान थालेका छन् । ७५३ स्थानीय तहमा एमालेको बहुमत छ ।
एमालेमा बहुमतको घमण्ड छ । एमालेबाट महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिका जिते पनि खासै जनताको भरोसामा काम नगरेको जनताले गुनासो गरेका छन् । कतिपय स्थानीय सरकारले काम गर्दा मेयर, उपमेयरको समन्वयकारी भूमिका नभएको, मेयरले एकलौटी काम गरेको, उपमेयर थपना मात्र भएको आरोप छ । महिला उपमेयर अथवा पुरुष उपमेयर भएको जिल्ला या प्रदेशमा व्यापक भ्रष्टाचार भएको र पदलाई दुरूपयोग गरिएको आरोप छ । यस्तै मेयर, उपमेयरले राम्रो काम नगरेको, अन्य धन्दामा लागेको आरोप खेप्दै आएका पनि छन् ।
स्थानीय स्तरमा बेरुजु बढेको छ । भ्रष्टाचार बढेको छ । मेयर, उपमेयर गाउँपालिका अध्यक्ष राजा भएका छन् । कसैले भनेको मान्दैनन्, मतलब राख्दैनन् । उदाहरणको लागि दोलखा जिल्ला भीमेश्वर नगरपालिकाका मेयर भरत केसीले धेरै भ्रष्टाचार गरेको गुनासो छ । भीमेश्वर नगरपालिकाका मेयर भरत केसीको दादागिरी कहिलेसम्म चल्ने हो भन्दै एक स्थानीयवासीले गुनासो गरेका थिए । भरत केसीले एमालेको नाम भजाएर खानसम्म खाएको आरोप छ । दोलखामा एमाले एकढिक्का छ भने पनि दोलखामा गुट हाबी भएको छ ।
गुट, उपगुटको कारण यसपाली एमाले फुटेको र सैलुङ गाउँपालिकाको अध्यक्ष भरत दुलालले सैलुङमा माखो नमारेको, एमालेको नाम भजाएको, एमाले कार्यकतालाई भन्दा अन्य पार्टीका कार्यकर्तालाई सहयोग गरेको, गाउँपालिकाको अध्यक्ष भएर यौनजन्य काम गरेको भनेर सामाजिक सञ्जालमा भाइरल भएको छ । यस्तो भएपछि कसरी एमालेलाई किन भोट दिने भन्दै थिए एक स्थानीयबासी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *