यता छोरी उता बुहारी

समाचार

काठमाडौं । नेपाली कांग्रेसका तमाम कार्यकर्ताको चर्को विरोधको बाबजुद पनि आफ्नो पार्टीका लागि भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवारी फुत्काउन सफल भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो पदमा छोरी रेणु दाहाललाई दोहो¥याएर मेयर बनाउने उद्देश्य सहित उम्मेदवार बनाउने भएका छन् । छोरी रेणुलाई भरतपुर महानगरपालिकाको मेयर बनाउन कस्सिएर लागि परिराखेका माओवादी अध्यक्ष दाहालले पोखरा महानगरपालिकाको उपमेयरमा बुहारी सृजना त्रिपाठीलाई उम्मेदवार बनाउने योजना अगाडि बढाएका छन् । पोखरा महानगरपालिकाको मेयरलाई लिएर नेपाली कांग्रेस र एकीकृत समाजवादीको बीचमा चर्को विवाद भई रहँदा माओवादी केन्द्रका अध्यक्ष दाहालले भने आफ्नो दिवंगत छोरा प्रकाश दाहालकी दोस्री श्रीमती सृजनालाई पोखरा महानगरपालिकाको उम्मेदवार बनाउने योजना अगाडि सारेका छन् र यसको लागि कास्की माओवादी केन्द्रले अध्यक्ष दाहालकी बुहारी सृजनाको नाम उपमेयरका लागि सिफारिस समेत गरी सकेको छ ।
केही दिन अगाडि मात्रै माओवादी अध्यक्ष दाहालले आफ्ना भाई नारायण प्रसाद दाहाललाई राष्ट्रियसभाको सदस्यमा मन्त्रिपरिषदको सिफारिसमा नियुक्त गर्न सफल भएका छन् । छोरी रेणुलाई भरतपुर महानगरपालिकाको मेयर र बुहारी सृजना त्रिपाठीलाई पोखरा महानगरपालिकाको उपमेयर बनाउन माओवादी अध्यक्ष दाहाल कति सफल हुन्छन् भन्ने चाहीं यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनको परिणामले नै बताउने छ । सृजना त्रिपाठी आफ्नो माईती पोखरामा नै बस्ने गरेकी छन् भने उनी माओवादी केन्द्र कास्कीको जिल्ला सदस्य समेत रहेकी छन् । स्व. प्रकाश दाहालकी अर्की श्रीमती विना मगर भने एमाले अध्यक्ष केपी ओली नेतुत्वको तत्कालीन सरकारमा खानेपानी मन्त्री थिइन् । र, उनी कञ्चनपुरबाट सांसद सदस्य रहेकी छन् । गठबन्धनको शीर्ष नेताहरुलाई अहिले आफ्ना नजिकका नातेदारको चिन्ता बढी नै हुन थालेको छ । त्यही चिन्ताले सताएर माओवादी अध्यक्ष प्रचण्डले भरतपुर महानगरपालिकको मेयर छोड्नु पर्ने अवस्था आए गठबन्धन नै भत्कने चेतावनी दिएका थिए भने केही समय अगाडि २० जना राजदुत नियुक्ति गर्दा राजनीतिक कित्ताबाट भएका १२ जना योग्यता र क्षमताको आधारमा नभएर गठबन्धनका शीर्ष नेताहरुसँगको पारिवारिक सम्बन्धको आधारमा राजदुत नियुक्त हुने अवसर प्राप्त गरेका थिए । यसरी अवसर प्राप्त गर्नेमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका ज्वाईदेखि उर्जा मन्त्री पम्फा भुसालकी बहिनीकी श्रीमान समेत रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *