इटहरी । ‘मर्निङ सोज द डे’ भन्ने भनाइलाई धरानका नवनिर्वाचित मेयर हर्कराज राई (साम्पाङ) ले चरितार्थ गर्न थालेका छन् । सडक अभियानबाट एकाएक मेयर बन्न पुगेका हर्कले पदबहाली गरेलगत्तै पहिलो दिन बुधबार धरानी जनताले खाने पानीको मुहान क्षेत्रमा पुगेर आवश्यक सरसफाइ गराएका छन् । उनले अभियन्ताका रूपमा लामो समयदेखि धराने जनतालाई खानेपानी उपलब्ध गराउनुपर्ने विषयमा पैरवी गर्दै आइरहेका थिए ।
यति मात्रै होइन राईले बिहीबार सम्पूर्ण धरानवासीलाई कुचो लिएर धरानको सरसफाइ गर्न आउन आह्वान गरेका छन् । उनले आपूm धराने जनतासँगै सरसफाइमा जुट्ने बताएका छन् ।
– पहिलो दिनमै खानेपानीको मुहानमा सरसफाइ
– आज (बिहीबार) दोस्रो दिन कुचो लिएर सडकमा जाने
– करोडको गाडी नचढ्ने, टेम्पो नै चढ्ने प्रतिबद्धता
– काकाकुल धरानवासीलाई पानी खुवाएरै छोड्ने
मेयर हर्कले बुधबार सर्दुखोलाको मुहानमा पुगेर स्थलगत अध्ययन गरेका हुन् । धरानमा पानीको हाहाकार भएकाले उनले चुनावी एजेन्डामा पनि यो विषयलाई विशेष रूपमा उठाएका थिए । उनले धरानवासीलाई आफूले जसरी पनि खानेपानी दिलाउने प्रतिबद्वता जनाउँदै आएका छन् ।
बुधबार खानेपानी बोर्डका प्रमुख इन्जिनियर राजु पोखरेललाई निर्देशनसमेत दिए । ‘खानेपानीको मुहान अवलोकन गरी कमजोरी सच्याउने र फोहोर गर्न नदिने निर्देशन दिइयो,’ साम्पाङले भने । आजको राजधानी दैनिकमा यो समाचार छ ।
उनले जनताको सेवक भएकाले महँगो गाडी नचढ्ने र आफूसँग भएको पुरानो मोटरसाइकल चढेर जनताको सेवा गर्नेसमेत बताए । उनले भने, ‘म करोडौं पर्ने गाडी चढेर हिँडे भने बाटोका खाल्टा र भत्केका सडक देखिँदैनन्, त्यसैले म सडकमै हिँडन चाहन्छु किनकि ती भत्केका खाडल पुर्नेछु, बिग्रिएका बाटो मर्मत गर्नेछु ।’
यस्तै, मेयर राईले बिहीबार धरानको मुख्य चोक भानुचोकमा सरसफाइ गर्नका लागि पनि आह्वान गरे । उनले भनेका छन्, ‘भानुचोकमा झाडु लिएर आउनुहोला १ भानुचोक वरिपरि सफाइ गरौं, आइन्दा बाटोमा फोहोर फाल्न नहुने नियम लागू गर्न, गराउन सहयोग गर्नुहोला ।’