बालेन्द्रले आजदेखि औपचारिक रुपमा काठमाडौं महानगरपालिकाको नेतृत्व हाँक्दै

राजनीति समाचार

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको जित सुनिश्चित भएको छ । युवा उमेरका बालेन्द्र अब आगामी पाँच वर्षका लागि काठमाडौं महानगरको पिताका रूपमा रहनेछन् । बालेन्द्रले प्रमुख दल कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितलाई भारी मतान्तरले पछि पार्दै आफ्नो जित सुनिश्चित पारेका हुन् ।

यस्तै, उपमेयरमा एमालेकी सुनिता डंगोल पपुलर मतसहित विजय हुने निश्चित भएको छ । काठमाडौंमा एक महिनाभित्र बालेन्द्रको क्रेज असाधारण रूपमा बढेकोमा दलहरूका शीर्ष नेताहरूसमेत अचम्ममा छन् । काठमाडौंको मेयरमा संस्थापन राजनीतिलाई चुनौती दिँदै हिजोसम्म र्याप गायकका रूपमा चिनिएका स्वतन्त्र उम्मेदवार बालेन्द्रलाई एकाएक समाज परिवर्तनका नायकका रूपमा जनताले विश्वास गरिदिएका छन् ।

वर्षौंदेखि राजनीतिमा होमिएका नेतृत्वका लागि बालेन्द्रको यो जित ठूलो सवक र झड्का हो । बुधबार रातिसम्म बालेन्द्र साहले ५५ हजार ७ सय ७७ मत ल्याएका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहको ३५ हजार ३ सय ७१ मत रहेको छ । यस्तै, नेकपा एमालेका भेट्रान उम्मेदवार मानिएका केशव स्थापितको ३४ हजार ६ सय २६ मत रहेको छ । उनी तेस्रोमा पुगेका छन् ।

त्यसैगरी, सम्पदा संरक्षक स्वतन्त्र उम्मेदवार सुमन सायमीको १० हजार ३ सय २२ मत रहेको छ । राप्रपाका मदनदास श्रेष्ठले २९ सय ९६ र विकेकशील साझा पार्टीकी समीक्षा बास्कोटाको ३ सय ४४ मत रहेको छ । उपप्रमुमा नेकपा एमालेकी सुनिता डंगोल भारी मतअन्तरका साथ विजयी घोषित हुन मात्र बाँकी छिन् । उनको ५३ हजार ६ सय ४२ मत रहेको छ ।

गठबन्धतर्फका उम्मेदवार नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठको १७ हजार ७ सय ६५ मत रहेको छ । राप्रपपाकी विनिता मगैयाको ९ हजार २ सय १२, स्वतन्त्र विद्या श्रेष्ठको ८ हजार ९ सय ९९, स्वतन्त्र वेनीसिंह महर्जनको ४ हजार ९ सय ८९, विवेकशील साझाकी कृति कंसाकारको २ हजार ५१ मत रहेको छ । मत गणना हुन बाँकी रहेको मतभन्दा बढी मतअन्तर रहेकाले प्रमुख र उपप्रमुखको जित सुनिश्चित भइसकेको हो ।

सम्भवतः बिहीबार काठमाडौंको नतिजा आइसक्ने छ । काठमाडौंमा मेयर र उपमेयरमा युवाको नेतृत्वले नयाँ आशा जगाएको छ । यसका साथै उनीहरूमा ठूलो चुनौती रहेकाले पाँच वर्षसम्म उनीहरूको यो क्रेज कायम रहला ना नरहदा भन्नेमा प्रश्न खडा भएको छ । बालेन्द्रलाई समर्थन गर्ने चर्चित अनुहारहरूले पनि बालेन्द्रको जित सुनिश्चित भएसँगै सचेत गराउन थालिसकेका छन् ।

सुरक्षा पन्तले बालेन्द्रको जोस र होसको सन्तुलनले जादु गरेको भन्दै सामाजिक सञ्जालमा प्रतिक्रिया जनाएकी छन् । ‘एक जनाको मात्र इच्छाले नपुगेर धेरै काम रोकिने वा नहुने अवस्था भएको प्रत्यक्ष देखिरहेको हो । आफ्नो हकमा नियुक्ति गर्न मिल्ने टिम चाँही विचार गरेर छान्नुहोला । जसले तपाईंलाई काम गर्न सजिलो गरिदियोस् । तपाईंको अनुपस्थितिमा पनि अर्को बालेन भएर काम गरोस्,’ उनले पनि बालेन्द्रलाई अब ब्युरोक्रेसीबाट चुनौती हुन सक्ने संकेत गरेको हुन सक्छ । आजको राजधानी दैनिकमा समाचार छ ।

बालेन्द्रले भक्तपुर र ललितपुरसँग सहकार्य गरेर अगाडि बढ्ने बताउँदै आएकोमा ललितपुर महानगरमा दोस्रोपटक निर्वाचित प्रमुख चिरिबाबु महर्जनले बालेन्द्रलाई डाइनामिक स्ट्रक्चरल इन्जिनियर भएको र त्यो ज्ञान आफ्नो महानगरमा पनि प्रयोग गर्न सक्ने बताउँदै बालेन्द्रसँगको सहकार्यको संकेत दिइसकेका छन् । बालेन्द्रले भक्तपुरसँगको सहकार्यमा काठमाडौंको सम्पदाको संरक्षण गर्ने यसअघि नै बताउँदै आएका हुन् । ‘मेरो एक्पेरिएन्स र उहाँको विज्ञता । यो दुवैको फ्युजन गर्दाखेरि राम्रो रिजल्ट निस्किन्छ भन्ने मेरो ठम्याइ हो,’ चिरिबाबु महर्जनले भने ।

बालेन्द्रको उम्मेदवारी घोषणादेखि नै समर्थनमा उत्रिएका कलाकार निर्मल शर्माले बालेन्द्रको जित सुनिश्चित भएपछि अब विकास निर्माण हेर्न देख्न अनि भोग्न पाइयोस् भनेर प्रतिक्रिया जनाएका छन् । उनीहरूको मात्र होइन आमयुवाले बालेन्द्रबाट आशा राखेका छन् । मतगणना सुरु भएदेखि नै सभागृहमा उपस्थित बालेन्द्र समर्थकले नाचगान, कविता वाचन गरेर माहोल तताइरहेका छन् । बालेन्द्र त्यो भिडमा बेलाबेलामा उपस्थित भएर कसैलाई पनि गाली नगर्न भनिरहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *