लाखौं लिँदै कित्ताकाट गर्दै

समाचार

काठमाडौं । करोडौं लेनदेनमा गैरकानूनी कित्ता काट गर्दै आएका छन् । प्रमुख नापी अधिकृत र मालपोत अधिकृत तथा वडासम्मै सेटिङमा ललितपुर मालपोत र नापी कार्यालयहरुले कानून विपरीत कृषियोग्य जमिनको कित्ताकाट निरन्तर रुपमा गरिरहेका छन् । नापी कार्यालयले गैरकानूनी कित्ताकाट गर्दै आएको छ । खेतीयोग्य जग्गा खरिद बिक्री गर्नको लागि रजिष्ट्रेशन समेत पास गरिदिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले खेतीयोग्य जग्गाको खण्डीकरण नगर्न तथा लिखत पास नगर्न दिएको लिखित निर्देशन विपरीत नापी कार्यालयहरुमा कित्ताकाट भइरहेको छ । गोदावरी नगरपालिकामा एकैपटकमा ८ वटा कित्तालार्य ६० बनाउने गरी नीति निर्णयको धज्जी उडाउने गरी कानून विपरिीत कित्ताकाट गरेको पाइएको छ । महाभ्रष्ट ललितपुर नापी कार्यालय प्रभुख दामोदर वाग्लेको ठाडो निर्देशनमा कित्ताकाट भइरहेको छ । २०७५ पुस २७ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट देशभरका मालपोत तथा नापी कार्यालयमा जग्गाको खण्डीकरण रोक्ने सम्बन्धमा निर्देशन नै जारी गरिएको थियो । जग्गा प्लटिङ वा अन्य प्रक्रियाबाट जग्गाको खण्डीकरण गरी हक हस्तान्तरण गर्ने व्यक्ति, फर्म वा कम्पनीले खेती योग्य जग्गा कुनै प्रकारले खण्डीकरण (कित्ताकाट) गरि घडेरीको रुपमा बिक्री वितरण गर्न वा हक हस्तान्तरण गर्ने गरी लिखत पास गर्न आएमा सो लिखत पास नगर्ने निर्देशन प्रष्ट छ । नापी कार्यालय र मालपोत कार्यालय ललितपुरले विभागबाट गरिएको उक्त निर्देशनविपरीत गैरकानूनी कित्ताकाट गर्नुका साथै जग्गाको हक हस्तान्तरणको रजिष्ट्रेसन पास समेत पारित गरी धमाधम भइरहेको छ । गोदावरी नगरपालिका निवासी बुद्ध महर्जन, चनमाया महर्जन र तिलकुमारी महर्जनको नाममा दर्ता रहेको कित्ता नं. ७०४ लाई १२ वटा कित्तामा कित्ताकाट गरेका छन् । कित्ता नं. ९६५, ९७६, ९७५, ९७३, ९७४, ९७२, ९७१, ९७०, ९६९, ९६८, ९६७, ९६६ जम्मा १२ वटा कित्ताकाट गरिएको छ । कित्ता न. ९७६ भने बाटो कायम गरिएको छ । कित्ताकाट भएका जग्गाहरु सबै बिक्री भइसकेका छन् ।
राष्ट्रिय सतर्कता केन्द्रका उपसचिव राजेन्द्र बुढाथोकी र शाखा अधिकृत बासुदेव भण्डारीसहितको छानबिन टोलीले पनि भूमिसुधार तथा मालपोत कार्यालय र नापी कार्यालय ललितपुरका कर्मचारीको बदनियत देखिएकोले थप अनुसन्धानको लागि सक्कल फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने प्रतिवेदन पेश गरिसकेको छ । प्रमुख मालपोत अधिकृत कृष्णप्रसाद चापागाईंसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन् ।
कित्ताकाट गरिएका ती जग्गा आवास भित्र परेको हुनाले कित्ताकाट गरिदिन भन्दै वडा कार्यालयबाट आएको सिफारिसका आधारमा कित्ताकाट गरिएको अभिलेखमा उल्लेख छ । अभिलेखमा कित्ताकाट गर्ने नापी अधिकृतको हस्ताक्षर भने चिनिदैँन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *